‘इज्जत’ धान्ने ठेकदार महिला !


प्रकाशित मिति :2018-05-13 17:16:38

बिहीबार एक डाक्टर महिलासँग भेट भयो । उनीसँग अन्तरवार्ता गर्ने पूर्व सल्लाह अनुसार कै भेट थियो त्यो । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ । तर, भेटको उद्देश्य उनको विषय विज्ञतामा केन्द्रित थिएन । टेलिफोनमा नै विवाहपछि श्रीमान् र उनका परिवारबाट भएको हिंसाको विषयमा कुरा गर्ने टुंगो लागेको थियो ।

उनीभित्र विवाहको १० वर्षसम्म हिंसाबाट प्रताडित हुनुपरेको पीडा उकुसमुकुस भएर बसेका रहेछन् । तर, कुराकानी एक १७ वर्षकी किशोरी आफ्नै काकाबाट बलात्कृत भए पछि उनीकहाँ आएको घटनाबाट शुरु गरिन् ।

घटना यस्तो थियो,

९ महिने गर्भवती किशोरीका बुबाआमा छोरी बोकेर उनीकहाँ आए । अबको विकल्प के भनेर उनीसँग रोइकराई गरे । उनले प्रहरीमा उजुरी गर्न सुझाइन् । तर, उनीहरूले ‘इज्जत’ को तँगारो देखाएछन् । डाक्टरले नै दिएको सुझाव अनुसार किशोरीका बुबाआमाले छोरीलाई पुनस्र्थापना केन्द्र पठाए ।

किशोरीले सन्तान जन्माइन् । शिशु धर्म सन्तानको रुपमा हस्तान्तरण भयो । तर, आफ्नै काकाबाट बलात्कृत किशोरी न्यायको ढोकासम्म पुगिनन् । उनीहरूले काकालाई कारबाही गर्नुको सट्टा घटना गुपचुप नै राखे ।
‘यस्तो अपराधमा त उजुरी गर्नुपर्ने नि !’

मेरो प्रश्नमा डाक्टरले आफ्नै भोगाई सुनाइन् ‘आफूलाई भएको हिंसा विरुद्ध न्यायको लडाइँमा निस्किए त्यहि महिलाले थप सयौं हिंसा सहनुपर्छ । बरु गुपचुप राखेकै बेस ।’

उनले १० वर्ष लामो वैवाहिक जीवनमा हिंसाको रुप चरम भएपछि सम्बन्ध विच्छेद गरेको बताइन् । कानूनी रुपमा न्यायको लडाइँ लड्न पटकपटक हिंसामा परेको आफ्नै अनुभव रहेछ उनको ।

आफूले भोगेको यातना संक्षेपमा सुनाईन् :

मेरो माइती पोखरा हो । २०६३ मंसिर २० गते काठमाडौंको घरानियाँ केटासँग मेरो विवाह भयो । तर विहेको तेस्रो दिनदेखि दाइजो नल्याएको निहुँमा हिंसा सुरु भयो । माइतीमा गएर रुँदै हिंसाबारे सुनाएँ पनि । बुबाआमाले सहनुपर्छ भन्नुभयो । सहें पनि ।

४ वर्षसम्म घरमै बसें । जागिर गरें । श्रीमान्लाई पनि डाक्टर पढाएँ । गर्भवती नहुन्जेल त सहें । तर गर्भमा छोरी भएको थाहा भएदेखि हिंसाको रुप चरम हुन थाल्यो ।

१८ हप्ताको गर्भ जाँचका क्रममा गरिएको भिडियो एक्सरेमा छोरी भएको रेडियोलोजीष्टले श्रीमानलाई भनिदिए । त्यसपछि त एबोर्सन (गर्भपतन) गराउन दबाब दिन थाले ।

गर्भवती नहुन्जेलसम्म आफ्नो सबै कमाई लगेर सासुलाई दिन्थें । मलाई एटिएम मेसिन झैं ठानेका रहेछन् । जब गर्भमा छोरी आई, त्यसपछि त घरमा बस्नै नसक्ने भयो ।

छोरी जन्मिएर न्वारान नहुन्जेल घर बस्दा पनि राम्रो स्याहार पाइन । मेरो छोरीलाई कसैले देखि सहन्थेनन् । त्यसपछि माइतीको संरक्षणमा बसें । आमाले छोरी हुकाईदिनुभयो । मेरो छोरीले कहिल्यै बुबा र उसको परिवारबाट माया पाइनन् । अहिले मेरो छोरी ८ वर्षकी भईन् ।

विहेको ४ वर्षपछि म घर बसिन । जहाँ मलाई र मेरो छोरीलाई सम्मान छैन, त्यहाँ बस्न उपयुक्त पनि ठानिन । म आफै पनि सक्षम छु । छोरी हुर्काउन सक्छु भन्ने आत्मविश्वास बढ्यो । १० वर्षपछि २०७३ सालमा जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदको मुद्धा दिएँ ।

श्रीमानसँग सम्बन्ध विच्छेदको प्रकृया अघि बढेपछि पाइला पाइलामा हिंसा थपियो । सम्बन्ध विच्छेदअघि श्रीमानका परिवारबाट हिंसा भयो । मैले सहेको थिएँ । बाहिर अरुलाई श्रीमानको व्यवहारबारे थाहा थिएन । त्यतिबेलासम्म मलाई हेर्ने नजर राम्रो थियो । किनकी जस्तो रुपमा भए पनि श्रीमान छ भन्ने हुन्थ्यो ।

जब म सम्बन्ध विच्छेदको प्रकृयामा गएँ त्यसपछि मैमाथि सहकर्मीबाट समेत हिंसा भयो । अदालत गयो वकिलबाट, न्यायाधीशबाटै अपमानजनक शब्द प्रयोग, कार्यालयमा आफूभन्दा जुनियरबाट हिंसा ।

न्यायको लडाइँमा निस्किए पछि त पाइलै पिच्छे हिंसा भोगे मैले । श्रीमानको यातना सहेर बसुन्जेल कहिल्यै नराम्रो नदेख्ने समाज, न्याय माग्न निस्किएपछि मलाई नै नराम्रो देख्न थाल्यो । सरकारी अस्पतालमा काम गर्थें, म न्यायको लडाईंमा छु भन्ने थाहा भएपछि जागिरबाट पनि हात धुनुपर्यो ।

मलाई अदालती प्रकृया अघि बढाउन मन लागेन । २०७४ सालमा मेलमिलापबाट सम्बन्ध बिच्छेद गर्न राजी भएँ । अहिले छोरी र म स्वतन्त्र छौं । खुसी छौं । कसैबाट दबाब अनि प्रभाव सहनु परेको छैन ।’

आफूमाथिको हिंसाको श्रृङ्खला सुनाइसकेपछि उनले एउटा सर्त राखिन्, ‘नामसहित डिटेलमा घटना नलेखिदिनु ।’ आफ्नो परिचयसहित घटना नखुलाउनुपर्ने उनको कारण एकमात्रै थियो, ‘इज्जत’ ।

०००

अब अर्को घटना तर्फ लागौं । बैतडीको एक गाउँपालिकाकी उपाध्यक्षले महिलाखबर सहकर्मी इन्द्रसरा खड्कासँग सम्पर्क गरिन् । आफूमाथी छोरा नजन्माएको निहुँमा भएको हिंसाको श्रृङ्खला लेखिदिनुस् भनिन् । श्रीमान्ले कुटेको चोटसहित फोटो पनि पठाईन् । (महिलाखबरसँग उनले पठाएको तस्बिर सुरक्षित छ ।)

यस्तो रहेछ गाउँपालिका उपाध्यक्षले खेपेको हिंसाः

२०६७ असार १ गते मेरो बिहे भयो । हजुरआमाको रहरले १८ वर्षकै उमेरमा मेरो गरिदिए । केटा कस्तो छ मलाई थाहा थिएन । घरपरिवारले बिहे गरिदिन केटा खोजिसकेपछि मैले असहमति जनाउन सम्भवै थिएन ।

श्रीमान शिक्षक हुन् । शिक्षक श्रीमान पाएपछि राम्रै परिवारमा परेछु भन्ने थियो । तर, त्यो खुसी दुई दिनसम्म पनि टिकेन । बिहेको तेस्रो दिनदेखि सुरु भयो, सासूससुराको कचकच ।

एक संस्थामा सहजकर्ताको रुपमा काम गररे आफ्नो खर्च आफै जुटाउन थालें । फिल्डमा काम गर्दा पनि घरपरिवारले अनेकथरी कुरा गर्ने गर्थे । घरको काम नगरी बाहिर हिँड्छे भनेर कुटपिट भयो । घरपरिवारको कुरा सुनेर श्रीमानले पनि कुटपिट गर्न थाले । सासूले त कति दिन पिटिन् कति, सहेरै बसें ।

पहिलो सन्तानका रुपमा छोरी जन्मिइन् । छोरा जन्माउन नसकेको टोकसो सुरु भयो । दोस्रो पनि छोरी नै जन्मी । जेठी छोरी ३ वर्षकी छे । कान्छी छोरी १३ महिनाकी । कान्छी छोरी जन्मेपछि श्रीमानको कचकच झन् बढ्यो । आफ्नै परिवारको कुरा बाहिर ल्याएर के बदनाम गर्नु भन्ने लाग्यो । त्यसैले उजुरी कतै गरेको छैन ।

मैले विद्यार्थी उमेरदेखि राजनीति गरें । बिहे पछि राजनीति गर्न पनि छोडिसकेको थिएँ । स्थानीय तहको चुनावमा नेकपा एमाले पार्टीले टिकट दियो । त्यतिखेर कान्छी छोरी ६ महिनाको थिइ । छोरी पिठ्यूँमै बोकेर प्रचारप्रसार गरें । चुनाव जित्न सफल पनि भएँ ।

स्थानीय तहको चुनाव भएको १ वर्ष भयो । जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता गरिसकेपछि अहिले जहाँ कार्यक्रम भयो पुग्नै पर्छ । दिनरात भन्न पाईंदैन । जतिखेर जहाँ काम पर्यो, हिँड्नैपर्छ ।

यो काम श्रीमानलाई मन पर्दैन, घरपरिवारलाई त झनै मन पर्दैन । कार्यक्रममा जाँदा पनि केटासँग संगत छ भन्दै चरित्रमा प्रश्न उठाउँछन् । कुटपिट हुन्छ ।

अहिले त श्रीमानले छोरा चाहियो भन्दै दिनरात कुटपिट गर्छन् । म कसरी जन्माउँ ? छोरा जन्माउने मेरो वशको कुरा पनि होइन । यो कुरा शिक्षक श्रीमानले बुझेर पनि बुझ पचाउछन् । छोरा नजन्मिनुको दोष मेरो थाप्लोमा छ ।

म त गाउँपालिकाको उपाध्यक्ष । न्यायिक समितिको संयोजक पनि । म आफै हिंसामा छु । दिनहुँ मेरो जस्तै पीडा बोकेर महिलाहरू आउँछन् । आफैले न्याय पाउन सकेकी छैन । उनीहरूलाई कसरी न्याय दिउँ !’

आफ्ना कुरा राखिसकेपछि उनले फेरि सम्पर्क गरिन् । अनि अनुरोध गरिन्, ‘अहिले समाचार नलेखिदिनु ।’ हामीले प्रश्न गर्यौं किन ? उनको पनि डाक्टरको जस्तै जवाफ थियो, ‘परिवारको इज्जतको कुरा छ । यो कुरा बाहिर आए पछि लाज होला ।’

०००

माथिका दुवै महिला सम्मानित पदमा छन् । आफ्नो जीवन चलाउन दुवै सक्षम पनि छन् । श्रीमान र परिवारको आम्दानीमा भर परेका पनि छैनन् । तर पनि उनीहरू तथाकथित ‘इज्जत’ का कारण आफूमाथिको हिंसा लुकाएर राखेका छन् ।

हिंसा सार्वजनिक गर्दा ‘इज्जत’ जाने डर छ । त्यो ‘इज्जत’ नामको तँगारोभित्र आफूलाई गुम्स्याएर राखेका छन् यी महिलाहरूले । अनि ‘श्रीमान’ नामको पुरुष जसले दिनदिनै यातना दिन्छ । हो, उसैको प्रतिष्ठाका खातिर – आफ्नो स्वतन्त्रलाई बन्धकी राखेर ।

उनीहरूलाई राम्रो ज्ञान छ, आफूजस्तै मान्छेहरूको समूह नै समाज हो । तर, हिंसाबारे मुख खोले समाजको अगाडि कसरी मुख देखाउने ? यिनै प्रश्नहरूले घेरिएका छन्, सक्षम महिला पनि ।

पाइला पाइलामा पाएको यातना लुकाएर ‘इज्जत’ जोगाइदिनुपर्ने ठेक्का महिलाको मात्र हो ?

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: