बाल्यकालमै विहे : न बन्यो जीवन, न रह्यो घरबार


प्रकाशित मिति :2018-05-22 11:59:06

-बसन्तप्रताप सिंह

बझाङ  । विवाह हुँदा लक्ष्मी धामीको उमेर १४ वर्षको थियो । अहिले उनी २७ वर्षकी भईन् । उनको दुवै परिवारको सहमतिमा मागी विवाह भएको थियो । लक्ष्मीको घर मष्टा गाउँपालिका भातेखोला हो । विहे भएकोे ४ वर्षपछि श्रीमानले सौता हाले ।

त्यसपछि उनको दुर्दिन सुरु भयो । परिवारका सबैले कुट्न थाले । घरमा बस्नै नसक्ने भइन् । घरमा असुरक्षा भए पछि लक्ष्मीले ३ वर्ष अघि घर छोडिन् । लक्ष्मीको पाँच वर्षकी छोरी पनि छिन् । अहिले सदरमुकाम चैनपुरमा मजदुरी गरेर जीवन चलाईरहेकी छिन् ।

‘सौता आए पछि सबै परिवार मिलेर कुट्न थाले’ उनले भनिन् ‘कुन दिन मार्छन् जस्तो लागेर भागेर चैनपुर आएँ ।’ अहिले लक्ष्मीसँग नागरिकता पनि छैन । न त छोरीको जन्मदर्ता नै छ ।

मुद्धा हाल्छे भनेर ससुराले नागरिकता समेत खोसिदिए । उनले भनिन् ‘अहिले पनि चैनपुरमा कोसँग सल्केकी छस् ? तँलाई मारिदिन्छु भनेर धम्काउँछन् । मलाई घरमा पनि बस्न दिएनन् । घर छोडेर आउँदा पनि मार्ने धम्की दिन्छन् ।’

 

०००

जयपृथ्वी नगरपालिका ३ कि रुद्री जोशी अहिले ३१ वर्षकी भइन् । उनको १३ वर्षको उमेरमै मागी विवाह भएको थियो । सुरुमा सम्बन्ध पनि राम्रै थियो । उनका श्रीमान पढ्न काठमाडौं गए । एक वर्ष काठमाडौं बसेर फर्के पछि उनलाई ‘तँ काली मेरो लायक छैनस् । घरबाट निस्केर जा’ भनेर कुटपिट गर्न थाले ।

रुद्री भन्छिन्, ‘अर्काे वर्ष त उतैबाट अर्काे विहे गरेर ल्याए ।’ छोराले अर्काे विहे गरेपछि रुद्रीका सासूससुरा र जेठानीले पनि कुटपिट गर्न थाले । दिनहुँको मारपिट सहन नसकेर उनी घर छोड्न बाध्य भइन् ।

रुद्रीले दुई वर्षदेखि सदरमुकाम चैनपुरको छेउमा रहेको सेती नदीमा गिट्टी कुटेर जीवन निर्वाह गर्दै न्यायको लागि लडिरहेकी छन् । जिल्ला अदालत बझाङमा गत असारमा अंश मुद्दा हालेकी छन् ।

रुद्रि भन्छिन् ‘सानै उमेरमा विवाह गराइदिएर बुबाआमाले धर्म कमाउने नाममा पाप गरे । त्यसको सजाय मैले भागिरहेकी छु ।’

०००

१३ वर्षको उमेरमा दौलीचौर गाविसकी राजुला बोहराको तामझामका साथ विवाह भयो । नेपाली समाजमा विहे पछि महिलाको घर बस्छ । राजुलाले पनि विहेपछि बेघर भइएला भन्ने कल्पनासम्म गरेकी थिईनन् ।

तर, उनको मिठो जीवनको कल्पना साकार भएन । श्रीमानले विहे पछि निरन्तर कुट्न थाले । निरन्तरको कुटाइबाट २८ वर्षको उमेर मै उनको जिउ कटकटी दुख्छ । ८ वर्षको अवधिमा ३ सन्तान जन्माएकी उनको तल्लो पेट पनि दुखिरहन्छ । डाक्टरले पाठेघरमा घाउ भएको बताएका छन् । तर उनीसँग उपचार गर्ने खर्च छैन ।

बाहुलीगाड खोलाको किनारमा गिट्टी कुट्दै राजुला बोहरा ।

श्रीमानले अर्काे विवाह गरेपछि घरबाट निकालिएकी उनी सकिनसकी बाहुलीखोलाको किनारमा गिट्टी फुटाउँछिन् । गिट्टी फुटाएर दैनिक ५÷६ यस रुपैयाँ कमाई गर्छिन् । त्यही कमाईले ६ वर्षको छोराको पढाई खर्च, खाना र डेरा भाडा पुर्याउँछिन् ।

‘छोराको माया लाग्छ र बाँचेकी छु’ उनी विरह पोख्छिन् ‘छोरो कसैको जिम्मा लाउन पाए सेतीमा हाम फालेर मर्ने थिएँ ।’

विहे गर्दाताका त श्रीमानले माया नै गर्थे । विहे गर्दा उनका श्रीमान् ८ कक्षा पढ्दै थिए । १० कक्षा पास भए पछि थप पढ्न धनगढी गए । धनगढी पढ्न गएको २ वर्ष पछि कान्छी भित्र्याए । त्यस पछि सुरु भयो दिनदिनैको कुटपिट ।

राजुला सझिन्छन् ‘२०७२ सालको मंसिरतिर हुनुपर्छ । कुट्दा कुट्दा बेहोस बने पछि मलाई मरिसकी भनेर छोडेका थिए । हातखुट्टाले घिस्रेर स्वास्थ्य चौकी पुगें । घरका कसैले पनि सहयोग गरेनन् ।’ उनी मौखिक निवेदन लिएर महिला अधिकार मञ्चको शरणमा गइन् । तर, परिवारमा अझै फर्किन पाएकी छैनन् ।

०००

छबीस पाथीभेरा गाउँपालिका वडा नं ७ कि कौफली धामी ७ वर्ष अघि १५ वर्षकी थिइन् । जंगलमा दाउरा लिन गएका बेला छिमेकी गाउँका केटाले तानेर लगे । ५ दिनसम्म गोठमा राखेर जबरजस्ती शारीरिक सम्पर्क गरे ।

श्रीमान नस्वीकार्दासम्म बाहिर निस्कन दिएनन् । उनले बाध्य भएर श्रीमान स्वीकारेको बताईन् । श्रीमान् मन नपरेकाले कहिले माइती कहिले श्रीमानको घर बस्ने गरेकी थिईन् ।

सदरमुकाम चैनपुरस्थित एक होटलमा भाँडा माझ्दै कौफली धामी ।

त्यही बिचमा उनका श्रीमानले अर्की विहे गरे । सौता भित्रिए पछि घरका सबैले उनलाई कुटपिट गर्न थाले । यार्सा टिप्न लेक गएको बेला उनका श्रीमानले मरणासन्न हुने गरी कुटे । कौफली भन्छिन् ‘मरिसकी भनेर छोडेको रहेछ । यार्सा टिप्ने मान्छेले बेहोस अवस्थामा भेटे पछि उपचार गरेर बचाए ।’

त्यसपछि उनले घर छोडिन् । सदरमुकाम चैनपुरमा भाँडा माझेर जीवन चलाउन थालिन् । दुई वर्षअघि उनले जिल्ला अदालत चैनपुरमा सम्बन्ध विच्छेदको मुद्दा दिएपछि सासूले ६ महिनाको छोरो पनि खोसेर लगिन् ।

अदालतले उनलाई २ लाख ५० हजार बराबरको सम्पत्ती पाउने आदेश गर्दै सम्बन्ध विच्छेद गरिदियो । तर उनले आदेश बमोजिमको सम्पती पाएकी छैनन् ।

जिल्ला अदालत कै कर्मचारीको रोहबरमा एक लाख रुपैयाँ पाएको बताईन् । उनले थपिन्, ‘त्यो एकलाख रुपैयाँबाट पनि २६ हजार छोराको खर्च भनेर श्रीमानले नै फिर्ता लगे । १० हजार अदालतको सुब्बाले सापटी भनेर लगे । १५ हजार होटलको मालिकले लगे ।’

०००

पुनमकुमारी सिंह कक्षा ६ मा पढ्दा १४ वर्षकी थिईन् । त्यहीबेला उनको छिमेकी गाउँका १५ वर्षीय गगन सिंहसँग प्रेम बस्यो । पुनमकुमारी ६ कक्षा पढ्थिन् । गगन ७ कक्षा ।

माया बसेपछि केटाकेटी विवाह गर्न तयार भए । परिवारले पनि यी दुईको विवाह स्वीकार गर्यो । तल्कोट गाउँपालिका ५, घरभएकी पुनमलाई २० वर्षमै श्रीमानसँग सम्बन्ध टुट्ला भन्ने कल्पना थिएन ।

विवाह अघि पुनमको राम्रो पढाई थियो । नियमित विद्यालय जान्थिन् । सँधै गृहकार्य सक्थिन् । १४ वर्षकी स्कुले छात्रा बुहारी भईन् । त्यसपछि घरको चुलो चौकोदेखि मेलापातसम्मको काम थपियो ।

उनले बुहारीको जिम्मेवारी पूरा गर्दै विद्यालय पनि गईन् । स्थानीय विद्यालय तल्कोटबाट कक्षा ११ पास गरिन् । त्यतिबेलासम्म श्रीमानसँग सम्बन्ध राम्रो थियो ।

तर, गगनको भर्ने अर्कै केटीसँग चक्कर चले पछि पुनमका दुःख थपिए । श्रीमानले यातना दिन थाले । ‘तँ नराम्री भइस्’ भनेर पुनमलाई दैनिक कुट्न थाले ।

‘आफैले रोजेको लोग्ने हो भनेर सहेकै थिएँ’ पुनम भन्छिन्, – ‘गत वर्ष छिमेकी गाउँकी केटी भित्र्याए । आशा भरोसा सबै टुट्यो ।’ पुनम थप्छिन्, ‘यो उमेरमा श्रीमानले छोड्यो । अब म कहाँ जाउँ ?’

०००

किशोरावस्थामै विवाह गरेका कारण विवाह गर्ने उमेर पुग्दा बेघर भएका माथिका पाँच महिला उदाहरण मात्रै हुन् । बालविवाह पछिको बहुविवाह अनि हिंसामा परेर घरवारविहीन भएपछि जीवन निर्वाहको विकल्प खोज्दै बझाङ सदरमुकाम चैनपुर आएका महिलाको संख्या ५० जनाको हाराहारीमा छ ।

जिल्लामा हिंसा प्रभावित महिलाको हकहितमा काम गर्दै आएको संस्था महिला अधिकार मञ्चको अनुमानमा हजार भन्दा बढि महिला बालविवाहका कारण परिवारबाट निकालिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित महिला हिंसा सम्बन्धी एक कार्यक्रममा सहभागी । यस कार्यक्रममा सहभागी मध्य अधिकांश बाल विवाह पछि बहुविवाह भएर विचल्लीमा परेका महिलाहरू थिए ।

महिला अधिकार मञ्चले संचालन गरेको महिला सुरक्षा गृहकी प्रमुख सिता सिंहका अनुसार यस वर्ष मात्र महिला अधिकार मञ्चमा न्यायको लागि ४२ जना महिलाले निवेदन दिएका छन् । ती मध्य १६ जना महिलाले बालविवाह पछिको बहुविवाहका कारण हिंसा भोगेको बताएका छन् ।

‘बालविवाह गरेका महिलाहरू अधिकांश निरक्षर र अर्धसाक्षर छन् । विहेपछि महिलाहरूले पढ्न पाउने सम्भावना अत्यन्तै कम हुन्छ’ सीता भन्छिन्, ‘सानैमा विवाह गरे पछि घरमा श्रीमती छोडेर पुरुषहरू शहरतिर पढ्न जान्छन् । अनि पढेलेखेकी केटी विहे गरेर ल्याउँछन् । घरकी श्रीमतीमाथि हिंसा हुन्छ ।’


श्रीमानले बहुविवाह गरेर कुटपिट गरेको भन्दै महिला अधिकार मञ्चमा उजुरी दिन आएकी मष्टाकी भुजी कठायत, जनपा ५ की शान्ती जोशी र भातेखोलाकी रमा उपाध्याय ।

महिला तथा बालबालिका कार्यालय बझाङकी प्रमुख लिला घले पनि बालविवाहका कारण महिलामाथि हिंसा थपिएको बताउँछिन् । उनका अनुसार बालविवाहका कारण पुरुषले बहुविवाह गर्ने प्रचलन बढ्दै गएको छ । उनी भन्छिन् ‘अहिलेसम्म जति पनि बहुविवाहका घटनाहरू हाम्रो जानकारीमा आएका छन् । त्यसमा सबैजसोको बालविवाह भएको देखिन्छ ।’

६६ प्रतिशत बालविवाह

राष्ट्रिय जनगणना २०६८ का अनुसार बझाङ जिल्लाको कूल जनसंख्या १ लाख ९५ हजार १ सय ५९ छ । ती मध्य महिलाको संख्या १ लाख २ हजार ३ सय ६५ छ ।

महिला तथा बालबालिका कार्यालय बझाङका अनुसार जिल्लामा ६६ प्रतिशतले बालविवाह गर्छन् । तर, बालविवाह गरेका मध्य कतिले बहुविवाह गर्छन् भन्ने आधिकारीक तथ्याङ्क भने छैन ।

जिल्ला समन्वय समिति बझाङले २०७० सालमा गरेको अध्ययन अनुसार ५ सय २८ जना बालिकाले १० वर्ष भन्दा कम उमेरमा, ८ हजार ८ सय ४२ जनाले १० देखि १४ वर्षमा, ३३ हजार १ सय ३१ जनाले १५ देखि १९ वर्षको उमेरमा विवाह गरेका छन् । त्यसयता बझाङमा सरकारी तहबाट बालविवाहको अध्ययन भएको छैन ।

कक्षा ७ मा पढ्ने सुनिता बोहराले कक्षा १२ पढ्ने सुरेश महरसँग डेढ वर्ष अघि विवाह गरिन् । गत कात्तिकको अन्तिमसम्म श्रीमान श्रीमती आलोपालो स्कुल आउँथे । मंसिर पहिलो साता सुरेश मजदुरी गर्न भारतको बागेश्वर गए पछि उनलाई घर र स्कुल भ्याउन मुश्किल परिरहेको छ । 

अधिकारकर्मी जयन्ती जोशी बालविवाहका कारणले बनेका अधिकांश सम्बन्धहरू बहुविवाहमा परिणत हुने गरेको बताउँछिन् । बालविवाह गरेका अधिकांश महिलाको नागरिकता र विवाह दर्ता पनि हुँदैन ।

उनी भन्छिन्, ‘विहे दर्ता र नागरिकता पनि नभएपछि बहुविवाहमा परेका महिलालाई कानुनी उपचार खोज्न कठिन हुने र विचल्लीमा पर्ने गरेका छन् ।’

नागरिकता र विहेदर्ता नहुँदा महिलाहरूको हातमा सम्पत्तीको अधिकार पनि हुँदैन । त्यसैले श्रीमानले यातना दिने र मन नपरे घरबाट निकाल्नु संस्कार जस्तै भइसकेको उनको भनाइ छ ।

विहेपछि अालाेपालाे स्कूल

साविक देउलेक गाविसकी मनिषा बोहरा स्थानीय देवेश्वरी उच्च माध्यामिक विद्यालयमा कक्षा ९ मा पढ्छिन् । उनका श्रीमान राजेश बोहरा पनि सोही स्कुलका १० कक्षाका छात्र हुन् ।

घरको काममा सघाउनु पर्ने भएकोले उनीहरू आलोपालो विद्यालय आउँछन् । ‘दुवै जना त कहिलेकाहीँ मात्रै स्कुल आउन पाइन्छ’ एक वर्षअघि मनिषासँग प्रेम विवाह गरेका १५ वर्षीय राजेशले भने ‘एक जनाले त आमाबुबालाई सघाउनु पर्छ । घर पनि त चलाउनु पर्यो ।’

सुनिता र राजेन्द्र विद्यालय परिसरमा । राजेन्द्रका श्रीमती र सुनिताका श्रीमान त्यो दिन विद्यालय गएका थिएनन्

यस विद्यालयमा आलोपालो स्कुल आउनु पर्ने बाध्यतामा रहेका बोहरा दम्पती मात्रै होइनन् । उनीहरू जस्तै १९ जोडी श्रीमान श्रीमती आलोपालो गरेर पढिरहेको उनले बताए । राजेशकी श्रीमती मनिषा १४ वर्षकी छिन् । तुलनात्मकरुपमा मनिषा भन्दा आफू नै बढी विद्यालय आउने गरेको बताउँदै राजेशले भने ‘घरमा उनले गर्ने काम बढी हुन्छ । त्यही भएर उनी नै बढी घरको काम बढी गर्छिन् ।’

सोही विद्यालयमा कक्षा ७ मा पढ्ने सुनिता बोहराको कथा बेग्लै छ । उनले कक्षा १२ पढ्ने सुरेश महरसँग डेढ वर्ष अघि विवाह गरिन् । गत कात्तिकको अन्तिमसम्म श्रीमान श्रीमती आलोपालो स्कुल आउँथे । मंसिर पहिलो साता सुरेश मजदुरी गर्न भारतको बागेश्वर गए पछि उनलाई घर र स्कुल भ्याउन मुश्किल परिरहेको छ ।

६ कक्षामा पढ्दै गर्दा गर्भवती भएपछि स्कुल छोडेकी देउलेककी कलामती बोहरा ३ वर्षीया छोरीका साथमा । उनी अहिले १७ वर्षकी भइन् ।

१३ वर्षको कलिलो उमेर मै दोहोरो जिम्मेवारी सम्हालिरहेकी उनको पढाई बिग्रँदै गएको उनले बताइन् । सुनिता भन्छिन्, ‘६ कक्षामा त प्रथम भएकी थिएँ । यसपाला त नियमित विद्यालय जान पाइएकै छैन । पास हुन पनि गाह्रो छ ।’

उनका श्रीमान जेठमा हुने वार्षिक परीक्षा दिन फागुनमा घर फर्किने र त्यसपछि फेरि आलोपालो स्कुल जान आफूहरूलाई सजिलो हुने सुनिताको भनाइ छ ।

यस्तै कक्षा १० मा पढ्ने १५ वर्षीया ममता विक १०/१५ दिनमा एक दिन मात्र स्कुल आउँछिन् । हाजिर गरेर २ पिरियड पढेपछि घर हिँडिहाल्छिन् । उनकी साथी निर्मला ढांटले भनिन् ‘असारमा छोरी पाई । जेठदेखि नै लाजले स्कुल आउन छोडेकी उ महिनामा एक दुई दिन मात्र स्कुल आउँछे । बच्चालाई दुध खुवाउनु पर्छ भनेर एक दुई घण्टी पढेर गैहाल्छे ।’

कक्षा छोडेर आफ्नो बच्चाको जांच गराउन स्वास्थ्य चौकी आएकी देउलेककी प्रभा बोहरा उनि ९ कक्षा की विद्यार्थी हुन् ।

स्कुले उमेरका केटाकेटीहरू सानैमा विवाह गर्ने चलन बढ्दो क्रममा रहेकोले उनीहरूको पढाईमा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक कवी महर बताउँछन् । ‘विवाह भयो कि आलोपालो स्कुल आउन थाल्छन् । विवाह गर्नु भन्दा पहिला राम्रो जान्ने विद्यार्थीको पढाई पनि विवाह पछि बिग्रने गरेको छ’ प्रधानाध्यापक मरले भने ।

देवेश्वरी उच्च माध्यामिक विद्यालयका छात्राहरु ।

अभिभावकहरूले नै बालविवाहको लागि सहमती दिने भएकोले जिल्लामा बालविवाह बढ्दै गएको र यसको प्रत्यक्ष असर उनीहरूको शिक्षामा पर्ने गरेको महरको भनाइ छ ।

‘धेरै जसो छात्राहरू त विवाह भए पछि विद्यालय नै छोडिदिन्छन्’ उनले भने ‘कतिपय गर्भवती भए पछि छोड्छन् । १/२ जनाले मात्र मुश्किलले १० कक्षासम्म पढ्छन् ।’

विद्यालयमा अध्ययनरत विद्यार्थी मध्य १ सय ३० जना भन्दा बढीले विवाह गरेको र उनीहरू ७ कक्षा देखी १० कक्षाका विद्यार्थी रहेको महरले बताए ।

साविकको देउलेक गाविस जिल्लामा धेरै बालविवाह हुने गाविस मध्य पर्दछ । २०७२ सालमा यस गाविसमा १ सय ९२ जनाले बाल विवाह गरेको गाविसको तथ्याङ्क छ ।

२०७३ सालमा पनि यहाँका १ सय २२ जनाले उमेर नपुगी विवाह गरे । यस्तै २०७४ सालमा यसै गाविसमा १ सय १४ जनाले बालविवाह गरेको साविक देउलेक गाविसका सचिव समेत रहेका वित्थड चिर गाउँपालिकाका नायब सुब्बा भुरिप्रकास जोशीले बताए ।

बाल विवाहले घरेलु हिंसा

बालविवाह भएको कारणले महिलाहरू बढी जसो घरेलु हिंसामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । चालु आर्थिक वर्षको बैशाखसम्म घरेलु हिंसाका ७२ वटा उजुरी दर्ता भएका छन् ।

ति मध्य अधिकांश बालविवाहसँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय बझाङको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख बागमती धामीले बताइन् ।

‘कतिपयले अर्काे विवाह गरेर ल्याए पछि दुःख दिन थाल्छन्’ धामीले भनिन् ‘धेरै जसो पुरुषले त छोड्ने मनसायका साथ घरेलु हिंसा गर्ने गरेको देखिएको छ । हिसांका उजुरीहरूको पछाडी अधिकांशमा बालविवाह नै कारण रहेको देखिन्छ ।’

घरेलु हिंसा सहन नसके पछि महिलाहरूले आत्महत्याको बाटो समेत रोज्ने गरेको उनको भनाइ छ । उनले बाल विवाह अत्याधिक रहेको र यसकै कारण घरेलु हिंसा हुने गरेको भए पनि बालविवाह भयो भनेर एउटा पनि उजुरी जिल्ला प्रहरी कार्यालयमा नपरेको बताईन् ।

बझाङ बालविवाह बढि हुने जिल्ला

युएनएफपीएले २०७२ सालमा गरेको अध्ययन अनुसार बझाङ नेपालमा बालबिबाह बढी हुने जिल्लाहरू मध्य बझाङ पहिलो छ जिल्ला भित्र पर्दछ । बझाङसँगै बैतडी, दैलेख, कपिलवस्तु, रौतहट र सप्तरी पनि बढी बालविवाह हुने जिल्लाहरू भएको युएनएफपीएको अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार किशोरावस्थाको गर्भवती दर उच्च छ । महिलाहरूको विवाह गर्ने औषत उमेर १६.५ वर्ष रहेको छ । बालबिबाहले गर्दा घरेलु हिंसा र बहुविवाह धेरै हुने गरेको छ ।

अध्ययनले बाल विवाह भएकाहरू मध्यमा ६१ प्रतिशतको मागी विवाह, ३३ प्रतिशतको भागी विवाह र ६ प्रतिशतको जबरजस्ती विवाह हुने गरेको देखाएको छ ।

किशोरीहरूको माथिल्लो कक्षाहरूमा विद्यालय छोडने दर उच्च रहेको छ । किशोरावस्थाको गर्भवती हुने र कुपोषित र कम तौलको बच्चा जन्मने गरेको छ । किशोरकिशोरीहरूमा यौन तथा प्रजनन् स्वास्थ्यबारे न्यून जानकारी छ ।

अध्ययनले बाल विवाह भएकाहरू मध्यमा ६१ प्रतिशतको मागी विवाह, ३३ प्रतिशतको भागी विवाह र ६ प्रतिशतको जबरजस्ती विवाह हुने गरेको देखाएको छ ।

सोही अध्ययन अनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरूको सामान्यतया कम उमेरमा विवाह हुने गरेको पाईएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्नेमध्य ४३ प्रतिशत र शहरमा बस्ने मध्य २७ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बिहे गर्छन् ।

प्रवेशिका वा सोभन्दा धेरै पढेका महिलाहरूको विवाह गर्ने उमेर २२ वर्ष रहेको देखिन्छ भने विद्यालय नगएका महिलाहरूको विवाह गर्ने उमेर १७ बर्ष भएको देखिन्छ ।

उक्त अध्ययनमा केही समय यता उमेर नपुग्दै किशोर किशोरी भागेर विवाह गर्ने र विभिन्न हिंसामा पर्ने क्रम पनि बढेको पाइएको थियो ।

बालविवाह, कानूनी रुपमा दण्डनीय

नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाईने गरी बालवालिकाको हकको रुपमा स्थापित गरेको छ ।

यी कार्यहरूलाई संघीय कानुन बमोजिम दण्डनीय हुने गरी प्रतिबन्ध लगाएको छ र त्यस्तो कार्यवाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरिएको छ ।

पछिल्लो पटक केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ ।

मुलुकी ऐन, २०२० जारी हुदाँका बखत ‘१४ वर्ष नपुगेकी स्वास्नी मानिस र १८ वर्ष नपुगेको लोग्ने मानिसले विवाह गर्न नपाउने’ व्यवस्था गरिएकोमा पछि स्वास्नीमानिसको उमेर १६ वर्ष कायम गरियो ।

मुलुकी ऐनको एघारौं संशोधनबाट महिला र पुरुष दुवैको उमेर संरक्षकको मञ्जुरीले १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष तोकियो ।

पछिल्लो पटक केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ ।

उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा बालवालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ । तर, बझाङमा बालविवाह विरुद्ध एउटा पनि उजुरी न्यायिक निकायमा छैन ।

(पत्रकार बसन्तप्रताप सिंह कान्तिपुर दैनिकको लागि बझाङ संवाददाता हुनुहुन्छ । )

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: