– अश्विना ढकाल
आज साँच्चै,
सूर्यको तेज चम्किलो छ
हिमालको उचाइ बढेको छ
नदीको बहाव अझ चन्चले भएको छ
अनि,
हावाको बेगले दिने शितलता र
झरनाको झरझर आवाजमा
बढी नै माधुर्यता छाएको छ।
किनकी हिजो,
पखेरामा घाँस काट्दा लुटिएको अस्तित्व
समाजले हेर्ने गिद्दे नजर
पेटभित्रकी कोपिलाले भोग्ने तिरस्कार
अनि,
प्रसव पिडाका बेला घना जङ्गलको एक्लो बसाइ
पात-पतिंगरको सफाइ
भ्याकुर र कन्दमुलको खुवाइ
तर आज,
कोपिला फक्रिएर सुन्दर फूल भएकी छ
सोही फूल बिद्रोहमा उत्रिएकी छ
समानताको आवज घन्काएकी छ
समाजले गर्ने बिभेद र हेर्ने नजरमा फरक पाएकी छ ।
अझ,
पानीका धारामा सीमित
आफ्नी आमाका चौघेरा
आज संविधानका धारासम्म फिँजाएकी छ ।
सामन्ती संस्कारसँग पैँठेजोरी खेल्दै
अनगिन्ती जेलनेल भोग्दै
आज त्यही फूलले,
आमाको नामबाट नागरिकता लिएकी छ
आमाको बालसखालाई राष्ट्र प्रमुख पाएकी छ।
आँट छ, उर्जा छ अनि क्षमता पनि छ
फूलका लागि असम्भव केहि नलाग्ने भएको छ ।
किनकी,
प्रकृतिका दुई उपज महिला र पुरुष
दुवै बराबर भन्ने ध्वनी गुन्जिएको छ ।
हो साँच्चै,
हिम्मत र साहस बटुलेर
आमाको आशिर्वाद थापेर
समान अवसरका साथ
चुहिएको घरको छानो फेरि
आमालाई तातो पछ्यौरी किन्ने सपनामा
फूल विश्वविद्यालय धाएकी छ ।
Comment Here!