–महिला खबर–
ललितपुर । सांसद तथा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष शेख चाँद ताराले संचारमाध्यमले आफ्नो मान मर्दन गरेर हिंसामा पारेको आरोप लगाएकी छन् ।
आफूसँग सम्बन्धित नै नरहेको समाचारमा जबरजस्ती आफ्नो नाम जोडेर मानसिक यातना दिएको सांसद शेख ताराले बताइन् । शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि हालसम्म संचारमाध्यमले अनावश्यक रुपमा आफ्नो नाम जोडेर थप पीडा दिएको उनको आरोप छ ।
‘अरुका अधिकारका बारेमा वकालत गर्ने म जस्तो अधिकारकर्मी राजनीतिज्ञ याे आरोपले ठूलो पीडामा छु । यही पीडामाथि नुनचुक छर्किन सांसदको श्रीमानबाट बलात्कारको प्रयास भन्दै संचारमाध्यमले झन् हिंसा गरेको छ ।’ ताराले महिला खबरसँगको टेलिफोन वार्तामा भनिन् ।
आफू महिलामाथि हुने हिंसा विरुद्ध वर्षाैंदेखि आवाज उठाउँदै आएको र गल्तीलाई ढाकछोप गर्ने पक्षमा नरहेको पनि उनले प्रष्ट पारिन् ।
ताराले भनिन्, ‘सम्मानित अदालतले दूधको दूध, पानीको पानी छुट्याउला । म अदालतको फैसलाको सम्मान गर्नेछु ।’
बलात्कारको प्रयास जाेबाट भएको हो, सजायको भागीदार पनि उनी नै हुनुपर्ने भन्दै ताराले आफ्नो नाम जोडेर संचारमाध्यमले पीडा थपिदिएको बताईन् ।
‘मेरो श्रीमानले बलात्कारको प्रयास गर्नुसँग मेरो के सराकोर छ र ? म र मेरो पद उनीसँग जोडेर समाचार बनाईए’ ताराले भनिन्, ‘यस्तो कामले म जस्ता अधिकारकर्मी र राजनीतिज्ञ महिलालाई थप पीडा हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बिहीबार पक्राउ परेका थिए ।
झड्केलो छोराकै बुहारीलाई गएको मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेकोे २० दिन पछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएको थियो ।
पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि अदालतबाट म्याद थपी जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पत्रकार आचार संहिताले पनि घटनासँग असम्बन्धित व्यक्तिकाे नाम उल्लेख गर्न हुँदैन भनेकाे छ । पत्रकार आचार संहितामा पत्रकार वा सञ्चार माध्यमले गर्न नहुने काम अन्तर्गतको बुँदा नम्बर ५ (१) मा भनिएको छ – पत्रकार तथा सञ्चार माध्यमले कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन प्रशारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजिकका व्यक्तिको नाम असान्दर्भिक रुपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी कुनै पनि सामग्री प्रस्तुत गर्नुहुँदैन ।
याे पनि हेर्नुहाेस् :
Comment Here!