‘पापी’ महिला


प्रकाशित मिति :2018-05-28 12:46:56

–सञ्जय खड्का–

कोक्रोमा हल्लाई, पिठ्यूँमा बोकी
आमारहित जीवनमा आमा बनी
हुर्काएको मैले मेरो भाइ,
दिदीलाई जीवनमा खुशी दिन्छु
एक जोर सारी र चोली दिन्छु
भनेर खाडी हिँडेको मेरो भाइ ।

पाँच वर्षपछि हजुरको आशिर्वाद लिन
आउँदै छु भने जब
तब मेरो आँखाबाट आँशु बग्न थाले
खुशीको आँशु
सुखको आँशु
सोचे मेरो बाबुलाई अँगालोमा कस्छु
टीका लगाइ यथेष्ट आशिष् दिन्छु
तर, त्यो महान दिन
मेरोलागि कालो दिन भयो
मेरो आँखाबाट आँशु बग्न थाल्यो
दुःखको आँशु
पीडाको आँशु ।

आँखाबाट बगेर मुखमा झरेको नुनिलो आँशुमा
आफैंले आफैंलाई
भित्र भित्रै भनें
बाबु मलाई माफ गरिदेऊ
माफ गरिदेऊ मेरो भाइ,
माफ गरिदेऊ
मैले तिम्रो सानो इच्छा पनि पूरा गर्न सकिन,
मैले तिम्रा मेरालागि ठेला उठाएका
हातहरु सुम्सुमाउन सकिन,
निदारको बाह्र घामे पसिना पुछ्न सकिन,
वर्षौदेखि मैले देखेको सपना
म आफैंले पूरा गर्न सकिन,
आशिष्रुपी टीका लगाउन सकिन ।
माफ गरिदेऊ मेरो भाइ
मैले तिम्रो सानो इच्छा पनि पूरा गर्न सकिन
किनभने,
म महिनावारी भएकी छु,
म ‘पापी’ भएकी छु ।

 

आज फेरि म पापी भएकी छु
काठमाडौं भित्रै छाउ गोठमा
निरीह भई पल–पल काट्दै छु ।
हो,
म देशको मुटु काठमाडौं भित्र
आफ्नो मुटुको धड्कन सुन्दै समय काट्दै छु ।
फरक यति हो,
तिम्रो छाउ गोठ दुर्गममा छ
मेरो सुगममा छ ।
तिम्रो छाउ गोठ घर पर छ
मेरो कोठा पर छ ।
तिम्रो ओछ्याउने पराल छ
मेरो भुईँमा एक सरो तन्ना छ ।
तिम्रो गोठ खरको छ
मेरो पक्की छत छ ।
तर हे साती
फरक यत्ति छ,
त्यहाँ दुइ खुट्टे र चार खुट्टेले लुछ्ने डर छ
तर यहाँ त्यो डर छैन,
किन्तु साती,
तिम्रो र मेरो ‘पाप’ ले भरिएको
पापी पीडा उही छ,
दुःख उही छ,
कथा उही छ,
व्यथा उही छ ।

 

म पापै पापले भरिएको
पापी नै सही
म मेरो मनभित्र गुम्सिएको
प्रश्न तेसाउर्ने अर्को पापकृत
कुकर्म गर्न चाहान्छु
चाहे मलाई पापी भन,
या भन निर्लज,
या भन बास्यो है पोथी ।
म यो दुस्साहस गर्न चाहन्छु
के म साँच्चै पापी हुँ ?

 

सायद हुँ,
र त,
सरकारले छुवाछूत मुक्त घोषण
गरेको एक दशक कटिसक्दा पनि
घरघरमा अछूत भई बाँच्दा पनि
सरकार मौन रहेको होला !
र त,
रजस्वला भए पछि पापीको पाप
पखाल्न विदा दिइन्थ्यो होला !

 

मानव सभ्यतादेखि अहिलेसम्म
सायद भोली र जहिल्यै पनि
एउटा अनन्त बहस चल्दै
आएको छ
र सायद, चलिरहने छ,
के भगवानको अस्तित्व छ ?
के हाम्रो सृष्टि भगवानले गरेका हुन ?
के पशुपंक्षीको सृष्टि भगवानले गरेका हुन ?
के वनस्पतिको सृष्टि भगवानले गरेका हुन ?
के साँच्चै,
सम्पूर्ण जीवको सृष्टि भगवानले नै गरेका हुन ?
यो दुस्साहसपूर्ण प्रश्नको
म दुस्साहसपूर्ण उत्तर दिन चाहन्छु—
हो ।
हो सम्पूर्ण जीवको सृष्टि भगवानले गरेका हुन,
कमिलादेखि हात्तीसम्म,
भङ्गेरादेखि अस्ट्रिचसम्म,
सबै सृष्टि भगवानले गरेका हुन् ।
किनभने संस्कृतमा
‘भग’ अर्थात् महिलाको योनी
‘वान’ अर्थात् पुरुषको लिंग
जब ‘भग’ र ‘वान’को फ्युजन् भो
तब सारा जीवको सृष्टि भो ।
तर, यति बुझ्न पनि समाजलाई गाह्रो भो,
गाह्रो नै भको हो कि
गाह्रो भए जस्तो गरेको हो ?
त्यो बुझ्न झनै गाह्रो भो ।

 

म प्रश्न गर्न चाहन्छु,
यदि ‘भग’ले जैविक चक्र रोकेको भए,
प्राकृतिक नियम उल्लंघन गरेको भए,
के
सिताले लभकुशलाई जन्म दिन सक्थिन ?
यशोधाले कृष्णलाई जन्म दिन सक्थिन ?
कौशल्याले रामलाई जन्म दिन सक्थिन ?
मायादेवीले बुद्धलाई जन्म दिन सक्थिन ?
के सिता र यशोधा
कौशल्या र मायादेवी
सबै पापी हुन् ?
हो भने,
म गर्वसाथ भन्छु,
हो म पापी हुँ ।

 

म फेरि प्रश्न गर्न चाहन्छु,
यदि ‘भग’ले जैविक चक्र रोकेको भए,
प्राकृतिक नियम उल्लंघन गरेको भए,
के
तिमी बाबा बन्न सक्थ्यौ ?
तिमी हजुरबाबा बन्न सक्थ्यौ ?
तिमी मामा बन्न सक्थ्यौ ?
तिमी काका बन्न सक्थ्यौ ?
के म र म जस्ता
आधा आकाश र जमिन ढाक्ने
पापीबाट जन्मेका पनि पापी हुन् ?
हो भने,
म अवश्य पापी हुँ ।

जब–जब मलाई पापी बनाइन्छ,
तब–तब मनरुपी सुनामीका साथ
मलाई चिच्चाएर भन्न मन लाग्छ,
ए ! राज्य,
ए ! समाजवाद उन्मूख राज्य,
मलाई पटक–पटक अछूत व्यवहार गरिँदा
मलाई पापी बनाइँदा,
प्राकृतिक चक्रलाई अप्राकृतिकको आरोप लगाइँदा
सृष्टि मूललाई
वरदानरुपी चक्रलाई
अभिशाप भनी कलंकित गर्दै गर्दा
तँ किन चुप छस् ?
कहिले तोड्छस् तेरो मौनता ?

 

तर, म केही बोल्दिन, केही भन्दिन
किनभने,
म जस्तो पापीको आवाज कसले सुन्छ र ?
ज्यान मार्दा ८ वर्ष जेल काटेकालाई
माफी दिनेले
जन्म दिने म पापीलाई यो जीवनमा
१० वर्ष कैदी जीवन काट्दा
‘पाप गृह’ बाट मुक्त गर्ला र ?

 

आज म फेरि पापी भएकी छु,
म मभित्रको साथीसँग कुरा गर्दै
पल–पल काट्दै छु ।
जब शिशु कक्षा सकेर आएकी छोरीले
मलाई सोधिन ‘मामु’ के भ’को हजुरलाई ?
त्यो पल म स्तब्ध हुन्छु ।
उनीलाई भने सरह
म मनमनै भन्ने गर्छु,
छोरी म पापी भएकी छु,
तिमी पनि एकदिन पापी हुनेछौ,
र आजीवन पापी नै बनिरहने छौ,
किनकि,
मेरै पापको कारण तिमी जन्मिएकी हौ ।

 

जब छोरा स्कूलबाट फर्कन्छ,
छोरालाई माया गर्न मन लाग्छ,
मिठो खाजा पकाएर खुवाउन मन लाग्छ,
तर, जब छोरो भनी बोलाउँछु,
तब बरण्डामा खेलिरहेको छोरो
खुर्र कुदेर आउँछ र भन्छ,
‘आमाले भनेको हजुरलाई छुनु हुन्न रे !’
उनी फेरि खेल्न पुग्छन् ।

आफ्नै छोराले आफ्नै आमालाई
अछूत भन्दाको त्यो पल,
मन अमिलो भएर आउँछ,
मुटु चस्स दुखेर आउँछ
अनी म सम्झन पुग्छु,
राष्ट्रकविको गौरीअंश
“यी हाँसे पनि सुख छैन मनमा, बिर्से कि आमा भनी
यी रोए पनि सुख छैन मनमा, सम्झे कि आमा भनी ।”

 

त्यो पल मलाई लाग्छ,
छोरोलाई अँगालोमा कसी,
आशारुपी आँशुको थोपासँगै
सुम्सुमाउँदै भनूँ,
‘बाबु, तिमी जीवनमा कुनै महिलालाई
पापी नबनाऊ ल !’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: