म पर सरें


प्रकाशित मिति :2018-05-28 14:02:14

–सुजाता ढुंगाना–

प्रत्येक वर्ष वैशाखे पुर्णीमाको दिन
बा ले मेरो निधारमा रातो टीका लगाईदिएर
पैसा सँगै एकदुना चामल दिनुहुन्थ्यो
छोरी जन्मिएकोमा गर्व गर्नुहुन्थ्यो
यहि क्रम उपक्रमले बिते साल सम्वत्हरु
तर जब म अग्लिएँ
मेरा अवयवहरु खास आकारमा आएँ
लाजका गहनाहरु मेरा अङ्गअंङ्गमा बासबस्नथाले
तिनले आआफ्नो ठेगाना पाएँ
यहि क्रमको एक साल,
त्यो साल त्यस्तो भएन
मेरो बा प्रतिको विश्वास छुट्यो
दुरी बढ्यो
अब म ठुली भएँ
बैशाखे पुर्णीमामा मेरो निधारमा टीका टाँसिएन
एकदुनो चामल दिने बा को हात पर सरेको मेरो ज्यानबाट टाढा भयो
घरको बार्दलीमा बा ले थाप्ने गरेको भगवानको घर
त्यो सालबाट मेरा लागि धेरै पर भयो
किनकी, जीवनका नियमको सुरुङ म भित्र छि¥यो
म पर सर्न थाले ।

सुजाता ढुंगाना

वर्षमा मुस्किलले २ पटक
लुक्दै त, घरि बाको धोतिको फेरो समाउँदै
बाँसको भर्याङ उक्लिएर सुटुक्क सिलिङमा पुगेपछि
हतारहतार म भन्ने गर्थे
भगवान मलाई धेरै पढ्न आओस्
मेरा उपर नियतीको क्षेप्यास्त्र नखसोस
मेरा बारिमा बैरीको दुश्मनी हुरी नसपोस
मेरा छातीमा कालो नपसोस
तर त्यहि साल
आमाले
घरको धुरी र मैले ताती थिगीरी गरेका
एउटै कलेजो सिरानी लगाएका भाईहरुको अनुहारको छाँया नहेर्न
घरको धुरीमा नजर नमिसाउन
अक्षर लेखिएका किताब नछुन
गोठका बस्तुको भकारो र खरबारीको घाँस बाहेक अन्त हात नपु¥याउन
आदेशको लिफाफा दिनुभयो
बजारबाट भर्खर आएका कक्षा ९ का ९ थान नयाँ पुस्तक राम्रोसँग चिन्न नपाई
म जन्मिएको धुरीले नदेख्नेगरि मलाई फुपुघर पठाइएको थियो
किनकी म पर सरें

बाले टीका नलगाई दिँदा चुपचाप बसेकी म
बा को निधन भएसँगै घरमा चालचलन बद्लियो
परसर्दा लाग्ने ढोकाको तघारो थोरै उघ्रियो
बुबाले पूजाको प्रसाद खाउ भन्न थाल्नु भो
बहिनी फूपू घर जानु परेन
हजुरआमाले आफ्नो महिनावारीको कथा सुनाउनु भो
आमाले आफ्नो बाध्यता भन्नु भो
तर उता
अस्ति फाल्गुनमा सुदुरपश्चिम पुगेपछि
महिनावारीका छाउ गोठसँग साक्षत भयो
मैले ४ वर्ष अघि बित्नु भएका मेरा हजुरबुबालाई सम्झिँए
मेरो बा सुदुरका दुर्गम घरहरुमा जिँउदै भेटें
छाउगोठमा सर्पले डसेर मरेका अभागिनीहरुको पानी छाँयामा आफ्नै अनुहार देखें
छाउगोठमा वलात्कार भएर मरेका तिनीहरुको तल्लो पेट फुटेर बगेको रगतका फाल्सामा लत्पतिएको अपराधी विर्य देखें
त्यहाँ मैलो कात्रोले छोपिएको आफ्नो अनुहार देखें
मेरा बाहरुले खाइरहेको विकुटमा तिनै अभागिनीहरुको पसिनाको नुनिलो स्वाद थियो
भगवान रिसाउँने डरले ढाडको गोलार्ध बढाँउदै मरिकुच्च भारी बोकेका स्कुले नानीहरु
लाग्यो, चालचलन कहिल्यै बद्लिएन
अरु त परको कुरा
मेरै उमेरका तिमी धेरै बुझ्ने छौ नि !
आफ्नी बहिनीलाई
छाउ गोठ नपठाउ
अनि पो मुस्कुराउँछिन बहिनी
सृष्टिको सुन्दर उपहार पाएकोमा
तिमीजस्तो दाजु आफ्नो भएकोमा ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: