अधर्मी महिला कि, धर्मका व्याख्याता ?


सन्दर्भ : राष्ट्रिय महिनावारी दिवस

प्रकाशित मिति :2018-05-28 14:37:33

-लोग्शरी कुँवर-

सात वर्ष अघिको कुरा हो । म स्नातक तहको परीक्षाका क्रममा काठमाडौँमा थिएँ । मसँगै मेरो एक जना नाता पर्ने दाइ बस्नुहुन्थ्यो । उहाँ गणित र विज्ञान विषयमा निकै पोख्त । काठमाडौँको ह्वाइट हाउस कलेजमा लामो समय विज्ञान पढाएका उहाँ केही समयदेखि हिन्दु धर्मका ग्रन्थहरूको अध्ययनमा तल्लिन देखिनुहुन्थ्यो । उहाँसँग गीता, रामायण, कृष्ण चरित्र, चार वटै वेद लगायत हिन्दु धर्मसँग सम्बन्धित थुप्रै अध्ययन सामग्रीहरू थिए ।

अछामको विकट गाविसमा हाइस्कुल पढ्दादेखि नै मैले उहाँको विज्ञान विषयप्रतिको रुचिका बारेमा थुप्रै कुराहरू सुनेकी थिएँ । काठमाडौँमा क्याम्पस पढ्दा छुट्टीको समयमा गाउँ गएका बेला उहाँले कहिलेकाहीँ म पढ्ने विद्यालयमा पनि गणित र विज्ञानको कक्षा लिनुहुन्थ्यो । मान्छेले सोच्दै नसोचेका विषयमा समेत विज्ञानले गरेको अनौठो खोज र सफलताका बारेमा हामीलाई सुनाउनुहुन्थ्यो । उहाँले त्यसो भनिरहँदा उहाँका कुरा हामीलाई दन्त्य कथा जस्ता लाग्थे । हामी निकै चाखपूर्वक दाइका कुरा सुन्थ्यौं ।

विज्ञानका असल शिक्षक भनेर चिनेका तिनै दाइले काठमाडौंको पुरानो बानेश्वरस्थित हामी बस्ने घरमा हिन्दु धर्म ग्रन्थको वर्णन र विश्लेषण गरेको सुन्दा मलाई अचम्म लाग्न थाल्यो । हिजोका दिनसम्म गाउँले स्कुलमा पढ्ने म जस्ता विद्यार्थीहरूलाई संसारमा विज्ञानले गरेको चमत्कारका बारेमा वर्णन गरेर नथाक्ने तिनै दाइको सोच परिवर्तन भएको देखेपछि मेरो मनमा अनेक विचारहरू उत्पन्न हुन थाले । एक महिनाभन्दा बढी सँगै बसिसकेपछि एक दिन उहाँले मलाई मेरो महिनावारीका बारेमा जिज्ञासा राख्नु भो । ‘तिमी आएको यति धेरै भइसक्यो । महिनावारी किन भएनौ ?’ भन्नु भो । मैले आफू अस्ति नै महिनावारी भइसकेको कुरा बताएपछि उहाँको अनुहार मलिन भयो । एक छिनपछि उहाँ कोठाबाट बाहिरिनु भो । त्यो दिन कोठामा आउनु भएन ।

उहाँ गइसकेपछि मैले सँगै बस्ने मेरो दाइको छोरालाई उहाँले किन त्यसो सोध्नु भो ? र, किन मेरो उत्तर पाइसकेपछि अनुहार मलिन बनाउनु भो ? भनेर सोधेँ । ऊ एकछिन हाँस्यो । उसले मलाई जानकारी गरायो कि, मैले आफू महिनावारी भएको कुरा उहाँलाई जानकारी गराउनुपथ्र्यो । खाना पकाउन हुने थिएन, छुन पनि हुँदैनथ्यो । अर्को दिन उहाँ कोठामा आउनु भो । गीता, महाभारत लगायत आफूसँग भएका सबै धर्म ग्रन्थलाई रातो कपडामा बाँध्नु भो, एक कुनामा थन्काउनु भो । त्यसको केही दिन पछि फेरि गीता लगायतका ग्रन्थहरू किनेर ल्याएर राख्नु भो । मलाई अबदेखि महिनावारी भएको कुरा जानकारी गराउने र त्यस्तो बेला आफू र धार्मिक ग्रन्थहरू नछुन आदेश दिनु भो ।

उहाँका सबै गतिविधि देखिसकेपछि र भोगिसकेपछि मैले तपाईं जस्तो विज्ञानमा विश्वास गर्ने मान्छेले महिनावारीलाई यसरी बुझ्न मिल्छ ! भन्दै जिज्ञासा राखेँ, तर उहाँलाई सहमत गर्न सकिनँ । महिनावारी हुनु प्राकृतिक नियम हो भनेर अरूलाई सिकाउने तपार्इंले महिनावारी भएकी महिलाले आफू जस्ता धर्ममा विश्वास गर्ने मान्छेलाई छुनु पनि हुँदैन भन्नु मूर्खता होइन र ? भन्दा उहाँले मलाई यस्तो गल्ती अर्को पटक नगर्न उपदेश दिनु भो । उल्टै वेद त महिलाले छुनु पनि हुँदैन । झन् महिनावारी भएका बेला वेद, गीता लगायतका हिन्दु धर्मका ग्रन्थ छोएर मैले आफ्नै खुट्टामा बन्चरो हानेको रे । भविष्यमा कुनै दिन त्यसको मूल्य चुकाउनु पर्ला भन्दै मलाई तर्साउन खोज्नु भो । मैले यदि वेद छोएर कुनै पाप भोग्नुपर्ने हो भने अहिले नै भोग्नुपर्छ । भविष्यमा अरू कुनै कारणले भोग्नुपर्ने समस्यालाई आज वेद छोएको घटनासँग जोड्न हुँदैन भनें, तर उहाँलाई मनाउन सकिनँ ।

 

उहाँले नै म महिला भएका कारण जुनसुकै अवस्थामा पनि पुरुष भन्दा तल्लो स्तरको हुँ भन्ने कुरा स्वीकार गराउने दुष्प्रयास गर्नु भो । महिला पुरुषभन्दा जान्ने, बुझ्ने हुँदैन । महिलाको रुद्र घण्टी हुँदैन । त्यसैले महिलाहरू कुनै पनि कुरा मनमा राख्न सक्दैनन् भन्ने उहाँको तर्क थियो । करिब डेढ महिनाको एउटै कोठाको बसाईमा हामीबिच हरेक दिन महिला र पुरुष बिचका भिन्नता, हिन्दु धार्मिक ग्रन्थहरूमा महिलाको स्थान, समाजमा महिलाहरूको अवस्था र भूमिकाका बारेमा बहस हुन्थ्यो ।

म लगायत कसैले पनि उहाँलाई जित्न सक्दैनथ्यौंं । बरु मैले महिला र पुरुषबिचका समानता यी हुन् र यस अर्थमा भिन्नता छ । महिला दोस्रो दर्जाको नागरिक होइन भन्दै तर्क राखे पनि उहाँले विभिन्न खालका संस्कृतका श्लोकहरू सुनाउनुहुन्थ्यो । धार्मिक ग्रन्थहरूले महिलाको विषयमा गरेका अनेक टिप्पणी लय मिलाएर भन्नुहुन्थ्यो । पुरुषहरू विद्वान् वा अविद्वान् जे भए पनि महिलाहरूले कुबाटोमा लगाई दिन्छन् भन्ने मनुस्मृतिको श्लोक पनि उहाँकै मुखबाट सुनेकी थिएँ । महिला दबिनै पर्छ । महिला विवाह नहुञ्जेल बुबाको, विवाह भईसकेपछि पतिको र वृद्धावस्थामा छोराको छत्र छाया र अधीनमा बसेको सुहाउँछ भन्नुहुन्थ्यो । मलाई पनि महिलाको अति स्वतन्त्रताका बारेमा कुरा नगर्न र पतिका सबै हर्कत सहन प्रेरित गर्नुहुन्थ्यो ।

दाइसँगको त्यो बसाइले मेरो जीवनमा नयाँ अनुभूति दिलायो । मेरो बाल्यकालमा मैले उहाँबाट सुनेका विज्ञानका कुरा र आजभोलि उहाँकै मुखबाट सुनिरहेका धर्मका कुराहरूलाई तुलना गर्न खोज्छु । हिजोका दिनसम्म महिनावारी हुनुलाई प्राकृतिक नियम भनेर सिकाउने दाइ आजभोलि महिनावारी हुनुलाई पापको रूपमा कसरी ब्याख्या गर्न थाले ? के दाइले भनेजस्तो महिनावारी भएका बेलामा पुरुषलाई छुँदा पाप लाग्छ ? महिलाले वेद पढ्नै नमिल्ने हो र ? अनि महिला परापूर्वकालदेखि नै पुरुषको अधीनमा बाँच्दै आएको अथवा पुरुषको संरक्षकत्वमा रहनुपर्ने कुरा सत्य हो ? भन्ने विषय मेरा लागि थप खोजीको विषय बन्दै गयो । हुन त महिलाप्रतिको दाइको दृष्टिकोण नेपाली समाजको प्रतिबिम्ब हो भन्ने कुरा मैले म पनि बुझ्दै छु ।

हिन्दु धर्ममा आस्था राख्ने परिवारमा हुर्के बढेकी मैले महिलाका बारेमा गरिने यस्ता खालका टिप्पणीहरू सुन्दै र भोग्दै आएकी छु । जीवनका हरेक पलमा म मान्छे हुँ भन्दा पनि म महिला हुँ, म हिन्दु हुँ भन्ने कुराको बोध गर्न बाध्य हुनुपर्छ । कहीँ कतै म पनि त मान्छे हुँ । अर्थात मेरो उमेर, मेरो हैसियतको एउटा पुरुषले आफ्नो इच्छा बमोजिमका काम गर्न सक्छ । आफूले चाहेअनुसार जीवन बाँच्न सक्छ । मन लागेको ठाउँमा घुम्न जान सक्छ । शहरका चोकचोकमा साथीहरूसँग गफिएर रमाउन सक्छ भने म किन नसक्ने ? भन्ने कुराहरू मनमा आउँछन् । तयार हुन्छु, आफ्नो खुसीको जीवन बाँच्न । यस्तै खालका विचारहरू मनमा आएपछि आफ्नो खालको जीवन रोज्ने क्रममा स्टेप–स्टेपमा परिवार र समाजको प्रहार खेप्न बाध्य हुनु हरेक नेपाली महिलाहरूको नियती बनिदिन्छ ।

तीज व्रतको अनुभव

किशोरावस्थामा एक पटक भाउजूहरूसँग तीजको ब्रत बसेँ । टोलमा आफूसँगैका सबै केटी साथीहरूले हरेक वर्ष तीजमा निराहार व्रत बसेर रमाएको देख्दा व्रतको अनुभूति गर्न म पनि व्रत बसेकी थिएँ । विहान उठेदेखि नै व्रतको लागि गर्नुपर्ने सबै काम भाउजूले सिकाएअनुसार गरेँ । बेलुकीपख मेरै उमेरका चिनेका पुरोहित पूजा गराउन आए । पूजाका क्रममा उनले परापूर्वकालमा पार्वतीले शिवजी स्वामी (श्रीमान्) पाऊँ भनेर निराहार व्रत बसेपछि शिवजी प्राप्त गरेको व्रत कथा पढे । उनले पटक पटक सबै व्रतालुहरूलाई ध्यानपूर्वक कथा सुन्न र विधिले पूजा गर्न भने । व्रत बसेर पूजामा सहभागी भए पनि उनले भनेका कुनै पनि कुरामा मलाई विश्वास लागेन । मैले अरू व्रतालु महिलाहरूलाई केही भनिनँ तर आफूले उनले भनेअनुसारका सबै विधि अपनाउन सकिनँ ।

किनकी मलाई भोको बसेर पार्वतीले शिवजी पाएको कुरा बनावटी लाग्थ्यो, लाग्छ । झन् व्रत बसेर मात्र आफूले चाहेको योग्य केटा श्रीमान्को रूपमा मिल्ने भए त किन पढ्नुपर्ने ? किन सिप सिक्नुपर्ने ? घरभित्र र बाहिरका सबै कुरा किन जान्नुपर्ने ? अर्थात व्रत बसेर मूर्ति पूजा गर्यो भने राम्रो केटा श्रीमान्को रूपमा पाउने, अनि महिलालाई खान लाउन उसैले दिइहाल्छ । नपढे पनि भो । सिप हाँसिल नगरे पनि भो । त्यसो हुँदा महिलाले आफू खुसी जीवन बाँच्न नपाउने निश्चित हो । अरूको भरमा बाँच्ने मानिसले उसले जे भन्छ, त्यो मान्नै पर्यो । पुरुषको दासी भएर बस्नुपर्यो । यस्तो विचारले मलाई पानीसमेत नपिएर भोकै व्रत बस्नुको कुनै औचित्य लागेन । मैले पानी पिउन मन लागेको बेला पानी पिएँ ।

अर्को दिन पञ्चमीको व्रत पूजा थियो । म पनि पूजामा सहभागी भएँ । पञ्चमीको व्रत कथा सुन्दै जाँदा त पुरोहितको हातबाट किताब खोसेर त्यही अग्निमा जलाउँ झै लाग्यो । महिनावारी भएका बेलामा कसैलाई छोएर गरेको पाप पखाल्न पो पञ्चमीको व्रत बस्न भनिँदो रहेछ । मलाई त्यो कुरा यति वाहियात लाग्यो कि, महिलाहरू त मान्छे नै होइनन् । महिला भएर जन्मिनु नै उनीहरूको पाप हो । त्यसैले पल पलमा उसले आफू महिला हुनुको पाप सम्झेर भाग्यलाई धिक्कार्दै बाँच्नुपर्छ भन्ने महसुस गर्न पञ्चमी व्रतले प्रेरित गर्दोरहेछ ।

पञ्चमीको व्रत कथानुसार यदि महिनावारी भएको बेला अरू कसैलाई छुँदा नराम्रो हुने भए मलाई किन भएन भन्ने कुरा मेरो मनमा आयो । मैले स्कुले जीवन सम्झिएँ । म ९ र १० कक्षा पढेको स्कुल अछामको लुंग्रास्थित श्री दया पिपलतोला माविको पर्खालसँगै त्यो ठाउँको सबैभन्दा ठूलो मानिने ‘खापर’ देवताको थान थियो । त्यसैले स्कुलको नामको पछाडिपट्टि ठेगानामा समेत खापरमाण्डौं भन्ने जोडिएको छ । मैले एसएलसी परीक्षा दिँदा त्यो स्कुल दोस्रो पटक एसएलसीमा सहभागी भएको थियो ।

म ९ मा पढ्दा १० कक्षामा तीन जना छात्रा थिए । तीनै जना छात्राहरू महिनावारी भएका बेला पाँच दिनसम्म विद्यालयमा अनुपस्थित हुन्थे । मेरो कक्षामा म लगायत दुई जना छात्रा थियौं । अर्की साथी पनि महिनावारी भएका बेला पाँच दिनसम्म विद्यालय आउँथिनन् । म भन्दा तल्लो कक्षामा थुप्रै छात्राहरू थिए । महिनावारी हुने सबै छात्राहरू महिनावारी भएका बेलामा कम्तीमा पाँच दिन बढीमा सात दिनसम्म स्कुल आउँदैनथे । कुनै छात्रा नियमित ४–५ दिन स्कुल आइन भने ऊ महिनावारी भएकी छे भन्ने अनुमान हुन्थ्यो । हाजिर लगाउँदा शिक्षकले पनि खोजी गर्दैनथे । त्यति बेला महिनावारी भएका बेलामा प्रयोग गरिने सेनेटरी प्याडका बारेमा हामी अनभिज्ञ थियौं । अझ कतिपय गरिब घरका केटीहरूले त अन्डरवेयर समेत पाउँदैनथे । जसले गर्दा उनीहरू महिनावारी भएको अरूलाई सहजै थाहा हुन्थ्यो । उनीहरूका कपडामा रगतका दागहरू सहजै देखिन्थे ।

९ कक्षामा पढ्दा महिनावारी भएकी म नियमित विद्यालय गएँ । मैले म महिनावारी भएकी छु भन्ने कुरा कसैलाई जानकारी पनि दिइनँ । बरु बेला बेलामा अरू साथीहरूलाई पनि विद्यालय आउँदा के हुन्छ ? भन्दा उनीहरू अरूले थाहा नपाए पनि देउताले थाहा पाइहाल्छन् भन्थे । देउता लागे भने पढाइ बिग्रिन्छ । विवाह पनि हुँदैन । महिनावारी रोकिन्छ । विवाह भएर गएको घरमा सुख शान्ति हुँदैन । बिरामी भइरहनुपर्छ । बाँझोपन व्यहोर्नुपर्छ । यस्तै यस्तै डर र त्रासहरू सुनाउँथे । मैले कहिल्यै त्यसमा मतलब गरिनँ । घरमा चाहिँ पाँच दिनसम्म घरसँगै जोडिएको होचो, झ्यालबिनाको गोठमा सुत्नुपथ्र्यो । मैले एसएलसी परीक्षा दिएँ । मेरो कक्षाको प्रथम हुने केटा (दीपक विक) जिल्लामा सबैभन्दा बढी नम्बर ल्याएर पास भए । म सेकेन्ड डिभिजनमा पास भएँ ।

अब म प्रश्न गर्न चाहन्छु, मेरो कक्षाका अरू साथीहरू पास नहुनुको कारण के थियो ? देउता रिसाएर या अरू कुनै कारण ? देउता रिसाउने भयले महिनावारी भएका बेला पाँच दिनसम्म विद्यालय नजाने मभन्दा अघिल्लो कक्षाका छात्राहरू समेत एसएलसीमा नियमित पास भएनन् । उनीहरूले त घर र समाजका सबैले भने बमोजिम देउतालाई चित्त बुझाएकै थिए । फेरि उनीहरूलाई नै किन पढाइमा असफलता ? त्यहाँको नियम तोड्ने पहिलो छात्रा त म थिएँ । बरु मलाई नै सबैभन्दा अगाडि सफलता किन मिल्यो ? यदि देउता रिसाउन सक्ने हुन्थे भने मैले त परीक्षामा लेख्नसमेत नसक्नुपर्ने होइन र ? उत्तर सहज छ । सबैलाई थाहा छ । मभन्दा अघिल्लो कक्षाका छात्राहरू महिनामा पाँच दिन स्कुल नजाँदा उनीहरू वर्षमा कम्तीमा ६० दिन गयल हुन्थे अर्थात १८० दिन विद्यालयमा नियमित पढाइ हुँदा अरू दिन नियमित विद्यालय जाने हो भने पनि उनीहरू १२० दिनमात्र पढ्न पाउँथे । जुन एउटा विद्यार्थीका लागि निकै घाटा हो । उनीहरूको असफलताको कारण पनि त्यहि नै हो ।

कुनै युगमा महिनावारी भएका बेला घरभन्दा टाढा राख्नुका केही कारण थिए । त्यो बेलामा अहिलेका जस्ता सुविधा सम्पन्न कोठैकोठा भएका घर हुँदैनथे । हजुरबा, हजुरआमा लगायत आमा बुबा, दाजु भाइ दिदी बहिनी, नाति नातिनी सबै एउटै घरमा बस्थे । एक वा दुई तले होचा, झ्यालविनाका घर हुन्थे । त्यसमा पनि भुइँ तलामा गाई गोरु राखिन्थे । माथिल्लो तलामा घरका सबै सदस्य एकै ठाउँमा सुत्नुपथ्र्यो । महिनावारी भएका बेला प्रयोग गरिने अहिलेको जस्तो आधुनिक प्याडको त के कुरा भो र ! उनीहरूसँग एउटा लुगा धुने हो भने फेर्नलाई अर्को लुगासमेत हुँदैनथ्यो रे ! महिनावारी हुँदा उनीहरूको कम्मरमुनिको शरीर रगतले पुरै भिजेको हुन्थ्यो । रगतमा किटाणुहरू चाँडै जन्मिने र त्यसले रोगसमेत फैलाउन सक्ने हुन्छ । त्यसकारण महिनावारी भएकी महिलालाई संयुक्तमा नराखेर घरभन्दा टाढा बनाइएका टहरामा राखिन्थ्यो ।

त्यस बेलामा उनीहरूलाई कामसमेत गर्न दिइदैनथ्यो रे । जुन कुरा अहिले तुलना गर्ने हो भने आधुनिक युग भनेर चिनिएको एक्काइसौं शताब्दीका मान्छेहरूका लागि लाजमर्दो विषय हो । अहिले पहिले जस्तो एउटै सानो कोठामा थुपै्र सदस्यहरू बस्नुपर्ने बाध्यता धेरैका लागि छैन । वर्षौंसम्म एउटै लुगाले गुजारा गर्ने मान्छेहरू पनि लगभग छैनन् भन्दा हुन्छ । अनि अहिलेका मान्छेहरू महिनावारीका नाममा घरमा प्रशस्त ठाउँ हुँदाहुँदै र लत्ता कपडा हुँदाहुँदै पनि महिलाहरूलाई ढुङ्गे युगसँग तुलना गर्न लाजमर्दो व्यवहार गरिरहेका छन् । घरमा प्रायः सबैका अलग् अलग् ओछ्यानहरू हुन्छन् । के तिनीहरूलाई फेरि पनि महिनावारीका नाममा गोठमै राख्न जरुरी छ त ? यसो भनिरहँदा सभ्य, शिक्षित र सम्भ्रान्त भनिने मानिसहरूले ‘अहिले पनि कहाँ छाउपडी प्रथा छ र ? यो खाली एनजीओहरूको कमाइ खाने विषय हो’ भनेर गाला बजाइरहेका हुन्छन् ।

अझ उनीहरूको भनाइअनुसार त अहिलेका महिलाहरूलाई राज छ । पहिलेका महिलाहरूले त कति दुःख गरे, गरे । छाउ (महिनावारी) भएका बेलामा राम्रोसँग खानासमेत पाउँदैनथे रे । उनीहरूको त्यस्तो भनाइ सुन्दा त लाग्छ, सकेको भए अहिलेका महिलाहरूले उपभोग गरिरहेका सबै सुविधाहरू खोस्न समेत तयार छन्, यी मानिसहरू । त्यस्ता व्यक्तिहरूका अभिव्यक्ति सुन्दा अब रिस उठ्न लगभग छोडिसक्यो । किनभने महिलालाई मान्छेको रूपमा बुझ्नुपर्छ भन्ने अभियानमा हिँड्ने क्रममा यस्ता थुप्रै मानिसहरू भेटिए, जसले महिला मान्छे होइन वस्तु हुन् भन्ने ठान्छन् । छाउ प्रथा हटिसक्यो भन्छन् । म त्यस्ता मानिसहरूलाई प्रश्न गर्न चाहन्छु, म महिनावारीमा केही बार्दिनँ । महिनावारी भएका बेला आराम गर्नुपर्छ; सफा बस्नुपर्छ; पोषिलो खानेकुरा खानुपर्छ भन्दै सञ्चार वकालत गर्ने मान्छे, तर मेरो घरमा हरेक महिना म महिनावारी भएको जानकारी गराइरहनुपर्छ ।

अझ मेरो गाउँ अछाममा त झन् गोठमै बस्नुपर्छ । म पत्रकार, अधिकारकर्मी जोसुकै किन न हुँ । म मान्छे हुँ । त्यसकारण मैले त्यो समाज, त्यसमा पनि कथित मेरो हिन्दु धर्मले अङ्गीकार गरेका सबै नीति नियम मान्नै पर्छ । महिनावारीको कुरा गर्दा सबैभन्दा बदनाम भएको नाम अछाम हो तर राजधानी काठमाडौँका धनी मानिसहरूले अछाममा भन्दा बढी नै छाउपडी मानेको मेलै देखेकी छु । अछाम लगायत सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाहरूमा पनि महिनावारी हुँदा गोठमै राखिन्छ । काठमाडौँमा गोठमा राखिन्न तर प्रथाको प्रभाव भने सबै ठाउँमा उस्तै छ । काठमाडौँमा चार दिनसम्म पूजा कोठा, भान्सामा जान दिइँदैन । मन्दिरको त कुरै छोडौँ । के यो प्रथा होइन ? तिनैका छोरीहरू डाक्टर, पाइलट, इन्जिनियर पढिरहेका छन् । उनीहरू आमा बुबासँगै बस्छन् । आमाबुबाका सबै कुराहरू शिरोपर गर्न बाध्य छन् । भोलिपर्सी जब उनीहरू बुझ्छन् र मनन् गर्छन् कि हाम्रा बुबाआमाले हामीलाई के सिकाए होलान् भनेर ? त्यतिबेला धर्म र संस्कारका नाममा आमा बुबाले आफूहरूमाथि थोपरेका अनावश्यक कुराहरूलाई उनीहरू लत्याउने छन् ।

भगवती र रजस्वला

यदि भगवान् मन्दिरमा बस्छन् भने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता जस्ता धनवान्, बुद्धिवान्, बलवान, विद्यावान् देवीहरू पनि त महिला थिए । उनीहरूका मूर्ति भएका मन्दिरहरू अनगिन्ती छन् । हामी तिनै मन्दिरमा पूजा गर्न जान्छौँ । त्यहाँ जानलाई कुनै महिना, समय वा बारले छेकबार गर्दैन । अनि सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता महिला नै हुन् भने उनीहरू पनि त हरेक महिना महिनावारी हुन्छन् होला । खै त उनीहरू महिनावारी भएका बेलामा मन्दिर छोडेर बाहिर बसेका ? कथित धर्मका व्याख्याताहरू किन मौन छन् यस बारेमा । यदि महिनावारी भएको बेला महिलाहरू अछुत हुन्छन् भने देवीहरूका मन्दिर बनाउन लगाउनेहरूले उनीहरू महिनावारी हुँदा बस्ने ठाउँ (गोठ) बनाउन लगाउनुपर्छ की पर्दैन ? त्यसैले महिनावारी हुनु प्राकृतिक नियम भए पनि महिनावारीको समयमा अरूलाई छुन हुँदैन । मठ मन्दिर जान हुँदैन । मिठो पोषिलो खान हुँदैन भन्ने मनगढन्ते कुरा मात्र हो । परापूर्वकालमा गरिबी, अशिक्षाका कारण एवं र चेतनाको अभावमा महिनावारीको समयमा घरबाहिर राखेको कुराको सिको गर्न खोजेर अहिलेका आधुनिक भनिने मान्छेहरू पूर्वजको खिल्ली उडाउँदैछन् जुन अत्यन्त चिन्ताको विषय हो ।

पाप होइन, प्राकृतिक नियम

हिन्दुहरूका समाजमा रजस्वलालाई निषेधका रूपमा लिइन्छ । किशोरावस्था सुरु भएदेखि चालिस÷पैँतालिस वर्ष नपुगेका सबै महिलाहरूको महिनैपिच्छे परिपक्व भएका तर निषेचन नभएका दुइटा डिम्ब फुट्छन् र गर्भाशयबाट त्यही फुटेको डिम्ब रक्तस्रावको रूपमा तीन दिनदेखि पाँच दिनसम्म शरीर बाहिर निस्कन्छ । जसलाई रजस्वला भनिन्छ । नेपालीहरू महिनावारी वा नछुने भएको भन्दछन् । महिनावारी सुरु हुने झन्डै दुई हप्ताअघि डिम्बाशयबाट परिपक्व डिम्ब गर्भाशयमा आइपुग्छ । डिम्बले डिम्बाशय छोडेपछि गर्भ रहँदैन । परिवार नियोजन गर्ने प्राकृतिक विधि अथवा क्यालेन्डर विधि अपनाउनेहरूले यी दुई हप्ताको हिसाब राख्छन् ।

महिनावारी नभई महिलाले सृष्टि नै गर्न सक्दैैनन् । त्यसैले रजस्वला, गर्भिणी र सुत्केरी भएको अवस्था नै हरेक महिलाको सबभन्दा पवित्र अवस्था हो । अरू कुनै उपाय नलगाएर रजस्वलालाई नै सामाजिक बहिष्कार गर्नु कडा धार्मिक अन्याय हो । यदि महिनावारी हुनु पाप हो भने यसलाई पापको संज्ञा दिन सक्ने ती व्यक्तिहरू पनि पापी हुनुपर्ने हो किनभने एउटा महिला महिनावारी हुनु भनेको ऊ आमा बन्न सक्षम भएको कुराको प्रमाण हो ।

रजस्वला भएको तीन दिन पनि गर्भ रहँदैन, तर चौथो दिनदेखि झन्डै दुई हप्तासम्म नयाँ डिम्ब निषेचनका लागि तयार हुने हुनाले गर्भ रहन सक्छ । सबै धर्महरू आधारभूत रूपमा सामाजिक न्याय वा अनुशासनका रूप हुन् । हिन्दु धर्म शास्त्रमा रजस्वला भएका तीन दिन सहवास निषेध गरिएको छ । रजस्वलाका बेला निषेध गरिएको मुख्य कुरो सहवास मात्र रहेछ तर यहाँ रजस्वलाबारे भ्रम, लोकाचार र निषेधको संस्कृति जटिल बनेको छ ।

महिनावारी नभई महिलाले सृष्टि नै गर्न सक्दैैनन् । त्यसैले रजस्वला, गर्भिणी र सुत्केरी भएको अवस्था नै हरेक महिलाको सबभन्दा पवित्र अवस्था हो । अरू कुनै उपाय नलगाएर रजस्वलालाई नै सामाजिक बहिष्कार गर्नु कडा धार्मिक अन्याय हो । यदि महिनावारी हुनु पाप हो भने यसलाई पापको संज्ञा दिन सक्ने ती व्यक्तिहरू पनि पापी हुनुपर्ने हो किनभने एउटा महिला महिनावारी हुनु भनेको ऊ आमा बन्न सक्षम भएको कुराको प्रमाण हो । त्यसैले जसले महिनावारी हुनुलाई पाप ठान्छ अथवा अछुतको व्यवहार गर्छ त्यो उसको अज्ञानताको पराकाष्ठा हो । तिनीहरूले मेरी आमा महिनावारी नभएको भए म कसरी यो धर्तीमा आईपुग्थेँ भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

धर्मको अपव्याख्या

समग्रमा मान्छेको कुनै जात र धर्म हुँदैन । तथापि सबैको सोच र चिन्तन एकै हुन्छ भन्ने कुरालाई स्वीकार्न भने सकिँदैन । सायद धर्मले कहिले पनि विभाजन र विध्वंसको सुत्रपात गर्दैन । धर्मलाई परिभाषित गर्ने तर त्यस धर्ममा अन्तर्निहित मान्यतालाई अध्ययन गर्न नसकेकाले नै धर्म, संस्कृति र परम्पराको नाममा महिला र पुरुषबिच यति धेरै विभेदहरू देखिइरहेका छन् । यो उनीहरूको अतिवादी सोच मात्र हो । त्यसैले मैले यहाँ उल्लेख गरेका दाइ पनि कथित धर्मको आडमा महिला र पुरुषबीच विभेद देख्ने धार्मिक अतिवादी सोच र मनोवृत्ति भएका व्यक्ति हुन् । उनले भनेजस्तो यदि हिन्दु धर्मले महिलालाई वेद जस्तो पुस्तकसमेत पढ्नमा बन्देज गर्छ भने त्यो धर्म नै होइन । त्यस्तो धर्मले पक्षपोषण गरेका रीति, संस्कृति र चालचलनहरू नमान्दैमा केही हुँदैन । पढ्ने लेख्ने मानिसहरू नै समाजमा अरूभन्दा अगाडि र चलाख हुने भएका कारण पुरुष सत्ताका पक्षपातीहरूले त्यसो भनेका हुन् ।

के हो धर्म ?

धर्मका बारेमा विभिन्न खालका बुझाइहरू छन् । नेपाली समाजमा धर्म भन्नाले भगवानलाई बुझाउँछ अर्थात् धर्म मान्ने भनेको भगवानलाई मान्नु हो । विद्यार्थी होस् या जागिरे; राजनीतिज्ञ होस् या पत्रकार; या अरू कुनै सचेत वा अशिक्षित मान्छेनै किन नहोस् । उसले कुनै ठाउँमा व्यक्तिगत विवरण उल्लेख गर्नु पर्यो भने उसको धर्म के हो ? भन्ने कुरा उल्लेख गर्नुपर्ने हुन्छ । अनि धर्म भन्नाले हिन्दु, इसाई, किराँत, शिख, बौद्ध आदि इत्यादी भन्ने बुझिन्छ । धर्मका नानाथरिका नाम छन् । धर्मलाई कसैले विचारको रूपमा बुझ्छन्; कसैले तथ्यको रूपमा; कसैले सिद्धान्तको रूपमा त कसैले योजना पनि । हुँदाहुँदा अहिले त धर्म भन्ने चिज धेरैका लागि व्यापार र आफ्नो निहित स्वार्थ पुरा गर्ने उद्देश्यसमेत भएको छ ।

त्यसैले त धर्मको मुकुण्डो लगाएकाहरू कोही बाल यौन दुराचारीको रूपमा सार्वजनिक भएका छन् भने कोही अकुत सम्पत्ति जम्मा गरेर आफू निकटका मानिसको व्यापार व्यवसायलाई मलजल गरिरहेका छन् । यदि कोही हिन्दु भएकै कारण त्यो धर्मका रीतिरिवाज मान्दैमा उसलाई मोक्ष प्राप्ति हुन्थ्यो भने यो संसारमा मान्छेले अरू के नै दुःख गर्नुपथ्र्यो र ? अथवा कोही बौद्ध, इसाइ वा अन्य कुनै धर्मावलम्बी भएकै कारण अरुभन्दा छुट्टै वा विशिष्ट हुन्थ्यो भने उसका हरेक कामहरू पुस्तौं पुस्तासम्मका लागि अनुकरणीय हुन्थे होलान् ।

तर त्यस्तो हुन सक्दैन र भएको पनि छैन । कुनै पनि व्यक्ति कथित कुनै धर्म विशेषको अनुयायी भएसम्म ऊ सबै मानवको हुन सक्दैन । अर्थात म हिन्दु धर्म मान्छु; म इसाइ हुँ; म बौद्ध धर्म मान्छु या अरू कुनै धर्म मान्छु भन्नु भनेको म त्योबाहेक अरू धर्मको विरोधी हुँ भन्नुसरह हो । उसलाई आफुले अनुसरण गरेको भन्दा अरु कसैको धर्ममा आस्था र भरोसा लाग्दैन । भलै उ देखिने गरी बिरोध नगर्ला । तर यो वा त्यो ढङ्गबाट उसले दोस्रो धर्मको विरोध गरिरहेकै हुन्छ । जुन कुरालाई उसकै धर्मले पनि गर्न छुट दिएको छैन । त्यसकारण म फलानो धर्म मान्छु भन्नु भनेको मान्छेले आफूलाई मान्छेको दर्जाबाट अलग राख्न खोज्नु मात्र हो । मान्छे सबै एउटै हुन् । उनीहरू सबैको एउटै धर्म हुन्छ ।

‘म तँलाई सुन चाँदी चढाउँछु भगवान् मेरो इच्छा पुरा गर्’ भन्नु भगवानलाई घुस दिएर आफ्नो मनोकांक्षा पुरा गर्ने दुष्प्रयास मात्र हो । जुन कुराले मान्छेलाई केही क्षणका लागि त शान्ति मिल्ला तर कालान्तरमा भने झन् बढी दुखी तुल्याएको हुन्छ । त्यसकारण मान्छेले त्यति मूर्ख बन्न पनि हुँदैन कि, एउटा शक्तिशाली, सम्पन्न मानिने भगवान् दुध, फुल, अक्षता, सुन, चाँदी, पैसाका भोका छन् भनेर । बरु भगवानले नै आफ्नो शरणमा आउने भक्तलाई सुन, चाँदी, पैसा दिएर पो आफ्नो शक्ति सम्पन्नताको प्रमाण दिन सक्नुपथ्र्यो त ।

संसारका सबै मानिसहरूको रङ्ग, भाषा, व्यवहार, लवाइ खवाइ एकैनासको छैन । कसैको रङ्ग कालो छ । कसैको गोरो छ । कोही अंग्रेजी बोल्छन्; कोही हिन्दी बोल्छन् । कोही नेपाली त कोही उर्दू, फारसी लगायत तमाम भाषाहरू छन् । तर मान्छे कालो भए पनि, गोरो भए पनि रगत सबैको रातै हुन्छ । शरीरमा चोट लाग्दा सबैलाई दुख्छ । पिर पर्दा सबैको आँखाबाट आँसु नै झर्छ । आत्मा सबैको एउटै हुन्छ । त्यस्तै धर्मका पनि धेरै हाँगाहरू छन् । ती हाँगाहरू मध्ये एउटाले अर्कोलाई दोषी देख्छ । अर्काले अर्कोलाई । तर हाँगाहरूको सास जरोमा अड्किएको हुन्छ । मूल जरो जीवित रहेसम्म मात्र हाँगाहरू रहन्छन् । जरो मरेको खण्डमा हाँगाहरू आफैँ सुक्छन् र कुहिएर झर्न थाल्छन् । त्यस्तै धर्म भनेको न त संस्कार हो न त रीतिरिवाज नै । यो मान्छेको विश्वास मात्र हो । धर्म भन्ने चिजमा विश्वास गर्नेहरू सबैले आफ्नै धर्म राम्रो छ भन्ने दाबी गर्ने हुन् ।

उनीहरू आफ्नो धर्ममा यो कुरा गलत छ यो कुरा सही छ भन्नु भन्दा पनि अरूले मानेको धर्मको विरोधमा मात्र कुरा गर्छन् । संसारमा यदि कुनै धर्म छ भने त्यो हो मानव धर्म । घण्टौँ लाइनमा बसेर मन्दिरमा पूजा गर्नु, फुल, अक्षता चढाउनु धर्म होइन । भगवान् भनिने मान्छेले बनाएका मूर्तिमा दुध चढाउनु, फलफुल चढाउनु, सुन चाँदी चढाउनु पनि धर्म होइन । बरु त्यो भनेको मान्छेले जानी नजानी गरेका गल्तीको चोरेर, लुकेर गरिने प्रायश्चित मात्रै हो । ‘म तँलाई सुन चाँदी चढाउँछु भगवान् मेरो इच्छा पुरा गर्’ भन्नु भगवानलाई घुस दिएर आफ्नो मनोकांक्षा पुरा गर्ने दुष्प्रयास मात्र हो । जुन कुराले मान्छेलाई केही क्षणका लागि त शान्ति मिल्ला तर कालान्तरमा भने झन् बढी दुखी तुल्याएको हुन्छ । त्यसकारण मान्छेले त्यति मूर्ख बन्न पनि हुँदैन कि, एउटा शक्तिशाली, सम्पन्न मानिने भगवान् दुध, फुल, अक्षता, सुन, चाँदी, पैसाका भोका छन् भनेर । बरु भगवानले नै आफ्नो शरणमा आउने भक्तलाई सुन, चाँदी, पैसा दिएर पो आफ्नो शक्ति सम्पन्नताको प्रमाण दिन सक्नुपथ्र्यो त ।

धर्मभिरुको रजाँई

धर्म के हो ? धर्म केलाई मान्ने ? भन्ने विषयमा मान्छेका आआफ्ना धारणा छन् । अरूलाई तिमीले मानिरहेको धर्म धर्म होइन भनेर भन्न पनि सकिँदैन । तर समग्रमा हामीलाई धर्म भनेर जुन कुरा बुझाइएको छ । हामी जुन धर्म मान्छौं भनेर भनिरहेका छौँ; वास्तवमा त्यो धर्म रहेनछ ।  किनकी धर्मले सायद मान्छे मान्छेबीच विभेदको बीजारोपण गर्दैन । सबैलाई मान्छे भएर बाँच्न सिकाउँछ । त्यो मान्छे जसले आफ्नो कारण अरूलाई दुःख हुने कुनै काम गर्न सक्दैन । बरु मान्छेमात्र होइन, समग्र प्राणी जगतकै भलो हुने काम गर्छ । हिन्दु ग्रन्थ मनुस्मृतिले भनेजस्तो, ‘पतिमा शील स्वभाव नभए पनि, दुराचारी भए पनि, दसवटी वेश्यासँग हिँड्ने भए पनि वा असल गुणहरूले वर्जित भएको अत्याचारी भए पनि पत्नीले देवता झैँ मानेर श्रीमानको निरन्तर सेवा गरिरहनुपर्दछ ।’ ‘विशीलः काम वृत्तोमा गुणेवा परिवर्जितः उपचय स्त्रिया साध्वा सततं देववत्पति ।’ (हेर्नुहोस् मनुस्मृति अध्याय ५, १५२,)

यही हो त धर्म ? महिला सधैँ पुरुषकी भोग्या भइरहनुपर्छ भन्ने यो कस्तो धर्म ? त्यसले धर्म यो हो भनेर कसैले भनिरहँदा त्यसलाई अंगीकार गर्नुभन्दा अगाडि हरेक मान्छेले म एक मान्छे हुँ, म मान्छे भएका कारण अरूको आत्म सम्मानमा ठेस पुग्ने खालका कुनै पनि काम गर्न मलाई छुट छैन भन्ने मनन गर्नुपर्दछ । त्यसो भए मात्र उसमा मान्छे हुनुको सार्थकता झल्किन्छ । कुनै धर्मको आस्थावान संघ सङ्गठनमा बसेर वा त्यो धर्मको प्रचारका रूपमा काम गर्ने व्यक्तिले भनेजस्तो धर्मले मान्छेलाई अरू धर्म मान्ने व्यक्ति विरुद्ध लाग्न प्रेरित गर्नु धर्मको काम होइन । तर यहाँ यस्तै भइरहेको छ । जसले गर्दा धर्मको नाम लिएर समाज भाँड्ने धर्मभिरुहरूलाई मनपरी गर्न सजिलो भएको हो ।

महान् विद्वान अरस्तुले पुरुषको तुलनामा महिलाका थोरै मात्र दाँत हुन्छन् भनेछन् । अरस्तुको यो भनाइलाई उदाहरण दिर्दै बेलायती लेखक बर्टेन रसेलले मान्छेका धारणा सम्बन्धमा लेखेको पुस्तकमा भनेका छन्, “अरस्तुले यसो भन्नुपूर्व एकपटक आफ्नी श्रीमतीलाई आँ गर्न लगाएर दाँत गनेको भए पनि त हुँदो हो ।” रसेलको भनाइमा प्राय मूर्ख मान्छेहरूले यस्तो धारणा बनाउँछन् रे । हो, वास्तवमा हिन्दु महिलाहरूले पनि अब बुझ्नै पर्ने बेला भइसकेको छ । भगवानले रचेका मानिने धार्मिक ग्रन्थहरूले नै तिमी महिलालाई पशु, मूर्ख, चरित्रहीन, बुद्धिहीन, अलच्छिनीको दर्जा दिएका छन् भने फेरि केका निम्ति तिनै ग्रन्थहरूको दुहाइ दिन्छौँ ? र भन्छौँ, हाम्रो धर्म महान् छ । हिन्दु धर्म नै सबैभन्दा उत्कृष्ट धर्म हो भनेर । तिमीलाई मान्छेको दर्जामै नराख्ने तिम्रो धर्म महान् भनिदै गर्दा तिमीले चाँही के पाउँछौं ? त्यसैले अरस्तुले आफ्नै जीवन साथीको मुखभित्रका दाँत समेत नगनेर पुरुषको भन्दा महिलाका दाँत कम हुन्छन् भनेर दिएको अभिव्यक्तिले उनको मूर्खतालाई पुष्ट्याइँ गरेजस्तै महिलालाई मान्छेको दर्जामा नराखेका धर्म ग्रन्थले देखाएको बाटोलाई अक्षरसः पालना गरी तिनैको रक्षाको पाठ जप्नु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: