– महिला खबर
ललितपुर । खानेपानी मन्त्री बिना मगरले छाउ प्रथा सुदुर र मध्यपश्चिममा मात्रै नभई नेपाल भर रहेको बताएकी छन् । राष्ट्रिय मर्यादित महिनावारी दिवस २०७५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले नेपालका अन्य ठाउँ भन्दा सुदरपश्चिममा यो प्रथा बिकराल भएपनि अन्य ठाउँमा समेत विद्यमान रहेको बताईन् ।
उनले छाउ प्रथाको अन्त्यका लागि सबैले लाग्नुपर्ने बताएकी हुन् । महिनावारी प्राकृतिक नियम भएपनि यसलाइ धर्म, संस्कृतिसँग जोडेर महिलाको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार हनन् भइरहेको उनको भनाइ छ ।
छोरी जन्मेको समयदेखि सीमा तोकेर छुट्याउने चलन अहिले पनि रहेको भन्दै मन्त्री मगरले दुःख व्यक्त गरिन । जबसम्म महिला आफ्नो विषयमा खुलेर कुरा राख्न सक्दैनन् तबसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै अब सबैले आफ्नो परिवारबाटै यो प्रथाको अन्त्य गर्नुपर्ने उनको जोड थियो ।
विद्यालयमा रहेका हरेक शौचालय छात्रा मैत्री र अन्य शौचालय पनि महिलामैत्री हुनपर्ने भएकाले यसमा सरकारले कदम चाल्ने बताइन् । मे २८ तारिखमा मनाइने अन्र्तराष्ट्रिय महिनवारी दिवसलाई यो वर्षदेखि नेपाल सरकारले पनि विशेष कार्यक्रम गरी बनाउन थालेको छ । ‘अब त अति भो महिनावारीका सबै सिमा तोडौँ’ भन्ने नारासहित आज सरकारले महिनावारी दिवस काठमाडौँमा मनाएको हो ।
Comment Here!