फ्याँकिएका बाआमाको पीडाः ‘मरौं काल आउँदैन, बाँचु सुख छैन’


प्रकाशित मिति :2018-06-01 15:56:11

–सन्दिप वि‍‍‍.क–

भानिज र छोरीले ल्याएर छोडिदिए

मेरो नाम इन्द्रकुमारी रिजाल । मेरो घर पर्साको सिमलटार । ९० सालको भुँइचालो जाँदा १० वर्षकी थिएँ । भूँइचालो गएको बेलाको सबै कुरा याद छ ।

११/१२ वर्षको उमेरमा विवाह भयो । १७ वर्षको उमेरमा छोरी पाएँ । पहिलो छोरीको ४/५ वर्षकी छँदा मृत्यु भो । फेरि पाएँ अर्को छोरी जन्मी । त्यो पनि खेर गई । छोरी पाएकै कारण श्रीमानले दोस्रो विहे गरे । कान्छीबाट पनि छोरा त भयो तर खेर गयो । कान्छीका तीन छोरी छन् । मालिक(श्रीमान) बितेपछि ऊ छोरीको घरमा गई । अहिले पनि उही छ ।

भानिज र देवरको छोरीले यहाँ ल्याइदिए । आधा सम्पत्ति लटनपटन भो । वर्षदिन भानिजको घरमा बसेँ । त्यसपछि यहाँ ल्याएर राखिदिए । भान्जाभान्जीको घरमा बस्न मन लागेन ।

देवरको छोरी अमेरिकामा छन् । अमेरिकामा तिन/चार तले घर छ अरे । देवरका छोरीहरु कोही नारायणघाट, कोही कतै छन् । एउटा छोरा कंलकीमा छ । घर नै बनाएर बसेका छन् । जागिर खाएका छन् । जेठो चितवन सिमलटारिमा छ । कान्छो पनि जागिरे । भेट्न त आउँछन् । छोरा बुहारी, कहिलेकाहीँ ।

भएको जग्गा पनि १० धुर भगवानको नाममा अर्पण गरे । दान गरियो । दुई कट्ठा देवरको जेठो छोरालाई दिए । किरीया गरेस् बाबु भनेर । राम्रोसँग काजकिरीया गर्दिए हुन्थ्यो । भानिजलाई पृथ्वी दान गरे ।

अमेरिकामा रहेकी छोरीले ठूली आमा यहाँ नबस्नुस्, सिरक, डसना देवघाटमा बस्दोबस्त गरेर आएको छु हिँड भन्थी । देवघाटमा यता पनि खोला, उता पनि खोला । बस्दिन भने । सिरक, डसना बनाएर राखेका थिए । तर यै पशुपतिमै बस्छु भने । यहीँ रोजे ।

खै यहाँ बसेको यत्रो वर्ष भयो, आफन्त कसैले जाम भनेका छैनन् । यहाँ ल्याइदिई हाले । नभनेको कुरा के बोल्ने देवताको थानमा बसेर । उनीहरुले पनि जाम भनेका छैनन्, मैले नि जान्छु भनेको छैन

मरु काल आउँदैन, बाँचौँ सुख छैन्

मायामोह छैन भने संसारमा मान्छेले जे पनि गर्दो रहेछन् । अहिलेको समय यस्तो छ, धन सम्पत्ति पाए सबै आफ्ना हुन्छन् । आफै धनि हुन पाए, मोजमस्ति गर्न पाए भयो ।

बाबुआमा भनेको को हो ? गुरु भनेको को हो ? कसैको मतलब छैन । । आफूलाई सुःख शान्ति पाए भयो । समयको परिवर्तन हो यो । हेदै जाऊँ हामी त जाने बेला भइसक्यो । मेरो नाम भोटु थापा । ९२ वर्ष भए । यहाँ पशुपति बसेको ११ वर्ष भयो । म आफै आए । पहिला इन्डियातिर घुमे । इन्डियामा चौकिदारी गरे । विवाह गरे । दुई वटा छोरा, एउटी छोरी थिए । छोराहरु बितिसके । छोरी कहाँ छ, कहाँ । उसका आफ्नै छोराछोरी भए । आफ्नै धन्दामा छ । हाम्रो के मतलब ।

बुहारीहरु थिए । थाहा छैनन् कहाँ छन् । नातिनी छन् । दाजुभाई छन् । कोही भेट्न आउँदैनन् । वास्ता पनि गर्दैनन् । मरु काल आउँदैन, बाचौँ सुःख छैन । दाजुभाई सबै मतलबी छन् । कोही पनि केही गर्दैनन् । सबैलाई चाहिएको छ, धनसम्पत्ति । धनसम्पति पाए सबै खुसी हुन्छन् । नपाए कसैले पनि हेर्देनन् ।

सम्पत्ति भए नातिनातिनी, दाजुभाई सबै भेट्न आउँथे । नहुँदा को आउँने ? जेठाको एउटा, कान्छाको एउटा छोरी छ । आउँदैनन् कहिले पनि । एक्लै आइयो, एक्ले जाने । कोही छैन संसारमा ।

कोही छैनन् आफ्ना

मेरो नाम विद्या दाहाल । घर ओखलढुंगा । अहिले ६३ वर्ष पुगे । घरमा आमा मात्रै । बाबु थिएनन् । १७÷१८ वर्षमा दाई खस्यो । दिदी खै कता छन् । थाहा छैन ।

बुबाको मुख देख्न पाइन । दाजुभाई पनि कोही छैन । विवाह हुँदा १५/१६ वर्षको थिएँ । खोटाङबाट विवाह भयो । मागी विवाह हो ।

श्रीमानसँग २०/२२ वर्ष बसे । २०३६ सालमा छोरी जन्मिई । छोरी पाएपछि श्रीमान कलकत्ता गए । फर्किएनन् । उतै अर्की श्रीमती ल्याएर बसेको भन्ने सुने । बेपत्ता भए । एउटा छोरी छ । त्यहि पनि कता पुगी थाहा छैन । स्कुल पठाएको । त्यहाँबाट बेपत्ता भई । त्यति बेला ४÷५ वर्षकी थिई ।

त्यसपछि गाउँगाउँमा काम गरेर हिँड्न थाले । कता–कताबाट आश्रममा आइपुगेँ । गोकर्णमा डेढ वर्ष बसँे । आफ्ना कोही छैनन् । अरुको आफन्त आउँदा दुःख लाग्छ । आफ्नो पनि भइदिएको भए भेट्न आउँथे । किन यहाँ आएर बस्नुपर्ने जस्तो लाग्छ । छोरीको अहिलेसम्म मुख देख्न पाएको छैन । घरजग्गा श्रीमानले पहिल्यै बेचेर सके ।

आफ्नैको वचन खप्न सकिदो रहेनछ

म धनमाया जंगम । अहिले ६८ वर्ष नाघे होला । बालखैमा बाआमा बिते । मामा घरमा हुर्किएँ । यहाँ आएको १० वर्ष भयो । एउटा छोरा, एउटी छोरी छ । नहुँनेलाई कहि पनि छैन । छोरा छन् । छोराले केही गर्दैनन् ।

श्रीमान खसेको ३० वर्ष भयो । विवाह गर्दा १०/११ वर्षको थिए । माइती काभ्रे धुलिखेल हो । बालखैमा बाआमा बितेपछि टुहुरो थिएँ । बुबाका ५ श्रीमती थिए । साइलीबाट छोरी म मात्रै । ४८ वर्षमा श्रीमानको मृत्यु भयो । श्रीमानको पनि म कान्छी श्रीमती ।

छोरा दोललघाटतिर छ अरे । आउँदैन । मैले बनाएको घर थियो, त्यो पनि बगायो । ज्वाइँले छोरीलाई भेट्न आउन दिँदैनन् । छोराले आफूखुसी विवाह ग¥यो ।

श्रीमतीले लिएर गई । बुहारी पोहोर जेठमा बिति अरे । छोरा अहिले उही जस्ताको छानामा बसेको छ भन्ने सुन्छु । सम्पत्तिको नाममा जेठीको छोराले मुद्धा पनि हाल्यो । छोरा, छोरी वर्षमा एक पटक दशैँमा टिका लगाउँन आउँछन् ।

आफ्ना छोरीछोरीसँग पनि भर छैन । उनीहरुको आधार पाएको भए म यहाँ आउने पनि थिइ होला । छोराछोरी हुँर्काएँ, बढाए । मसँग छोरी बोल्नु हुँदैन । ज्वाइँले बोलनु दिन्नन् रे । छोरा पनि उस्तै हो ।

आफ्नाको वचन खप्न सकिदो रहेनछ । छोरालाई अर्ती दिँदा उल्टै बुहारी नराम्रो शब्द बोल्थी । एउटा नाती छ । त्यो पनि विराटनगर छ अरे । कहिलेकाहिँ नातिनी बुहारी आउँछे, तर नाती आउँदैन । मर्न एक चोटी पर्छ । जब साँझ पर्छ तब बन्धनले बाँधे जस्तो हुन्छ । आफ्ना भन्ने कोही नहुँदा दिन अधेरै हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: