–महिला खबर–
ललितपुर । बलात्कारमा संलग्नलाई बचाउन घुस लिएको आरोपमा अख्तियार दुरुपयोग आयोगले वीर अस्पतालका दुई कर्मचारी सहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै जबरजस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा चार जनाकाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार पचास हजार रुपैयाँ घुस लिई गलत लिखत तयार पारेको अभियोगमा अस्पतालमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा कार्यरत सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्याल विरुद्द मुद्दा दायर गरिएको हो ।
यस्तै अस्पतालको कागजात अनाधिकृत रुपले हेरफेर गर्ने केदारनाथ पराजुली र नक्कली कागजात पेश गर्ने आरोपी उद्धवप्रसाद नेपाल विरुद्धसमेत कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
उनीहरुले प्रतिवादी नेपाललाई उक्त मुद्दाबाट छुटाउन करणी उद्योग गर्ने मितिमा उपचार गराएको देखिने नक्कली किर्ते कागजातहरु तयार गरी सो रकम लेनदने गरेको भन्ने प्रहरी प्रधान कार्यालय,केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज, काठमाडौंमा उजुरी परेको थियो ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उजुरीपत्रको सम्बन्धमा अनुसन्धान हुँदा निज राष्ट्रसेवकहरुले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्बवप्रसाद नेपालका ससुरा केदारनाथ पराजुलीसँग रू.५०,०००(पचास हजार) लेनदेन गरी उद्बवप्रसाद नेपाल चिकित्सा विज्ञान,वीर अस्पतालमा उपचारार्थ रहेको गलत लिखत तयार गरी नक्कली कागजात पुनरावेदन अदालत, पाटनमा पेश गरेको तथ्य पुष्टि भएको देखिन आएको हुँदा निज राष्ट्रसेवकद्वय कृष्णप्रसाद तिमिल्सिना र लक्ष्मणप्रसाद अर्यालले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसूर गरेको देखिन आएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
साथै वीर अस्पतालको कागजात अनधिकृत रुपमा गैरकानूनी तवरले थपघट तथा हेरफेर गर्ने केदारनाथ पराजुली तथा जबरजस्ती करणी मुद्दाबाट छुटकारा पाउने उद्देश्यले आफैले बनाएको किर्ते कागजात अदालतमा पेश गर्ने उद्बवप्रसाद नेपालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम जरिवाना र दण्ड सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’
Comment Here!