मापदण्ड विपरीत बालगृह, जोखिममा बालबालिका


प्रकाशित मिति :2018-06-13 12:55:20

–इन्द्रसरा खड्का–

ललितपुर । नेपालका केही बालगृहमा रहेका बालबालिका जोखिममा छन् । सरकारी मापदण्ड विपरीत सञ्चालन भइरहेका बालगृहमा आश्रित बालबालिका जोखिममा पर्ने गरेका हुन् ।

३ वर्षको अवधिमा विभिन्न जिल्लामा सञ्चालनमा रहेका बालगृहबाट २ सय ९९ बालबालिकाको उद्धार गरि मापदण्डअनुसार सञ्चालनमा रहेका बालगृहमा राखिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

सूचना अधिकृत, राम बहादुर चन्द

नेपालमा हाल ४५ जिल्लामा बालगृह सञ्चालनमा छन् । ४५ जिल्लामा ५ सय ६६ बालगृह छन् । ती मध्ये काठमाडौंमा मात्रै १ सय ९९ बालगृह छन् ।

केन्द्रीय बालकल्याण समितिले ३ वर्षको अवधिमा ४४ जिल्लामा सञ्चालनमा रहेका २५ वटा बालगृह बन्द गर्न निर्देशन दिएको केन्द्रीय बालकल्याण समितिका सूचना अधिकृत राम बहादुर चन्दले बताए ।

उनका अनुसार बालगृह कसरी सञ्चालन भइरहेका छन् भन्ने जानकारी लिन हरेक वर्ष जिल्लामा रहेका जिल्ला बालकल्याण समिति तथा केन्द्रीय बालकल्याण समितिले स्थलगत अनुगमन गर्ने गर्दछ ।

केन्द्रीय बालकल्याण समिति तथा जिल्ला बालकल्याण समितिले आर्थिक वर्ष २०७२\०७३ मा १ सय ४९ बालगृहको स्थलगत अनुगमन गरेको थियो । जसमा १० वटा बालगृह मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइयो ।

यी बालगृहमा रहेका ७६ बालक र ६० जना बालिका गरि १ सय ३६ जना बालबालिकालाई उद्धार गरेको सूचना अधिकृत चन्दले जानकारी दिए ।

चन्दका अनुसार आर्थिक वर्ष २०७३\०७४ मा ४४ जिल्लाका ४ सय ६२ बालगृहको स्थलगत अनुगमन गर्दा ९ बालगृह मापदण्ड विपरीत सञ्चान गरेको भेटियो । ९ बालगृहबाट ४९ बालक, ३७ बालिका गरि ८६ जना बालबालिकाको उद्धार गरियो ।

यस्तै चालु आर्थिक वर्ष २०७४\०७५को बैशाखसम्म ३ सय १६ बालगृहमा स्थलगत अनुगमन गर्दा ६ बालगृह मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइयो । ती ६ वटा बालगृहबाट ४३ बालक र ३४ बालिका गरि ७७ जना बालबालिकाको उद्धार गरिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

कस्ता बालबालिकालाई राखिन्छ बालगृहमा ?

आमाबुवा दुवै नभएका बालबालिकालाई बालगृहमा राखिन्छ । आमाबुवा भएर पनि शारीरिक, मानसिक समस्याले हेरचाह गर्न नसक्ने, नजिकका नातेदारले पनि यस्तो अवस्थामा बालबालिकालाई सहयोग नगरेपछि बालगृहमा राख्न सकिन्छ ।

बालबालिकाको आधारभूत अधिकारको संरक्षण र उपभोग गर्ने वातावरणको लागि बालगृहमा राख्न सकिने बालकल्याण समितिको भनाइ छ ।

तर बालगृहमा बालबालिकालाई १८ वर्षसम्म मात्रै राख्न सकिने व्यवस्था रहेको छ । बालगृहबाट निस्कन मन लागे १५ वर्षसम्म र आत्म निर्भर बन्न चाहेका बालबालिकालाई १८ वर्षसम्म बालगृहमा राखिन्छ ।

यस्तो हुनुपर्छ बालगृहको मापदण्ड

– आवासीय बालगृह बालबालिकाको हेरचाहको अन्तिम उपाय भएको सुनिश्चीत गरिनु पर्दछ ।
– बालगृहमा भर्ना गरिने बालबालिकाको सम्पूर्ण परिचय खुल्ने व्यक्तिगत बिबरण तयार गर्नुपर्दछ ।
– दुव्र्यवहार, हिंसा, शोषण वा भेदभावबाट पीडित वा दुर्घटनामा परेका बालक वा बालिका बालगृहमा भर्ना हुन आएमा तत्काल आवश्यक स्वास्थोपचार, मनोसामाजिक हेरचाह र कानुनी कारबाहिको प्रक्रिया शुरु गर्नुपर्दछ ।
– बालबालिकालाई बालगृहमा भर्ना गर्नेबित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्दछ ।
– बालगृहले बालबालिकाको भर्ना, सेवा र सुविधा, दायित्व, गोपनियता, अनुशासन, बिदाई÷पुनर्मिलन योजना जस्ता बिषय उल्लेख भएको व्यक्तिगत विवरण फाराम र बालगृहको आन्तरिक निर्देशिका बनाई कार्यान्वयन गर्नुपर्दछ ।
– बालबालिकाका परिवारका सदस्य वा अन्य नातेदार पत्ता लागेमा उनीहरूलाई बालबालिकाका बारेमा सूचना दिइनुपर्दछ ।
– बालगृहमा भर्ना गरिएका बालबालिकाको हक लाग्ने पुख्र्यौली वा अन्य सम्पतीको खोजी र संरक्षण गर्ने व्यस्था गर्नुपर्दछ ।
– बालगृह रहेको भवन बालबालिकाका लागि सुरक्षित, सुविधाजनक र पहुँचयुक्त हुनुपर्दछ ।
– बालबालीकालाइ उमेर र अवस्थाअनुसार सुरक्षित, सहज र सुविधाजनक सुत्ने व्यवस्था मिलाउनुपर्दछ ।
– बालक र बालिकाका लागि अलग्गै शौचालय र स्नानघरको व्यवस्था हुनुपर्दछ ।
– बालबालिकालाई व्यक्तिगत सरसफाइका लागि आवश्यक स्वच्छ पानी उपलब्ध हुनुपर्दछ ।
– बालगृह रहेको भवनमा बालबालिकाको निम्ति आवश्यक सेवा र सुविधाका लागि चाहिने कक्षहरूको व्यवस्था हुनुपर्दछ ।
– बालगृहको परिसरमा बालबालिकाको संख्याअनुसार खेलकुदका लागि प्रयाप्त ठाउँ हुनुपर्दछ ।
– बालगृहको फोहरलाई दुर्गन्ध नफैलने र बालबालिकाको स्वास्थ्यमा हानि नपुग्ने गरि तह लगाउनुपर्दछ ।
– बालगृह रहेको भवनमा भुकम्प,आगलागी वा अन्य प्राकृतिक प्रकोपबाट सुरक्षित रहने र आपतकालिन् सुरक्षाको प्रबन्ध हुनुपर्दछ ।

तर अहिले नेपालमा सञ्चालन भएका अधिकांश बालगृहमा यस्ता कुनै पनि व्यवस्था नहुँदा बालबालिकालाई समस्या भइरहेको बालकल्याण समितिले जनाएको छ ।

बालगृहमा रहेका बालिका जोखिममा

उसो त बालगृहमा रहेका प्राय सबै बालबालिका जोखिम मै हुन्छन् । बालकल्याण समितिका सूचना अधिकारी चन्द परिवार जस्तो बालगृह नहुने बताउछन् । त्यसमा पनि बालक भन्दा बालिका बढी जोखिममा हुने उनको भनाइ छ ।

बालगृहमा आश्रित सबै बालबालिका एकै प्रकृतिका हुँदैनन् । उनीहरू छुट्टाछुट्टै भूगोल, सामाजिक परिवेश, परिवार, संस्कार र वर्गबाट आएका हुन्छन् । त्यसकारण आपसमा झै–झगडा समेत गर्छन् । यसका अलावा गलत नियतका संचालक भएको खण्डमा बालिकाहरू यौन शोषणमा पर्ने खतरा पनि उत्तिकै हुन्छ ।

बालगृहमा १८ वर्षसम्म राख्न सकिने भएकाले त्यो उमेरसम्म बालिका शारीरिक बनावटमा ठूली देखिन्छन् । यस्तो अवस्थामा बालिकाहरू बालगृहमै आश्रित बालक, सञ्चालक, र कर्मचारीबाटै यौन हिंसामा पर्ने गरेको पाइएको पनि सूचना अधिकारी चन्दले बताए ।

मापदण्ड बिपरित आशा अनाथालय

चितवनमा रहेको आशा अनाथालय नेपाल सरकारको मापदण्ड विपरीत सञ्चालनमा रहेको छ । २०५६ सालमा स्थापना गरिएको सो अनाथालय कोरीयामा रहेको खेङजिंङ ट्रेडिङ लिमीटेडले सञ्चालन गरिरहेको छ ।

सो अनाथालयमा ३ सय ३९ जना बालबालिका छन् । नेपाल सरकारसँग समन्यव नगरी सञ्चालन भइरहेको सो अनाथालयमा बालबालिका जोखिममा पनि उत्तिकै छन् ।

कोरीयाबाट सञ्चालन भइरहेको अनाथालयको बारेमा अहिले केन्द्रीय बालकल्याण समितिले विशेष अनुगमन गरिरहेको छ ।

यता अनाथालयका सन्तोष पौडेलले आशा अनाथालय बालगृहमा २ सय ८२ जना मात्रै रहेको बताए । करिब २० जना इपीएस प्रणाली अन्र्तगत कोरीकायाको भाषा सिकेर उतै गएको र बाँकीलाई परिवारसँग पुनर्मिलन गराएको उनले बताए ।

मापदण्ड विपरीत सञ्चालन भएको प्रसंगमा उनले अहिले केन्द्रीय बालकल्याण समिति र आशा अनाथालय बालगृहबिच संवाद भइरहेको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: