कागज मिल्छ, मन मिल्दैन


घरेलु हिंसामा हुने बारम्बारको मिलापत्र

प्रकाशित मिति :2018-06-14 14:54:47

राजेन्द्रबहादुर सिंह\सत्यराज सिंह

बझाङ । बझाङको थलारा गाउँपालिका ८ देवस्थली बाँझ गाउँकी २३ वर्षीया देवकी सिंहमाथि परिवारका सदस्यले नै हिंसा गरे । दिपकबहादुर सिंहसँग ७ वर्ष अघि विहे गरेकी उनका दुईटा छोरी छन् ।

छोरा जन्माउन नसकेको भन्दै उनलाई श्रीमान र सासूले कुटपिट गर्न थाले । सासू लिलादेवी सिंह र श्रीमान दीपकले ‘छोरा जन्मिदैन, छोरी मात्र जन्मिन्छन् । तँ घर छोड्दे’ भनेर दैनिक कुटपिट गरे र घरभित्र बस्नै दिएनन् ।

लगातारको हिंसा सहन नसकेर देवकीले २०७४ मंसिर १५ गते थलारा इलाका प्रहरी चौकीमा न्यायका लागि निवेदन दिईन् । प्रहरीले लीलादेवी र दिपकबहादुरलाई पक्राउ गर्यो ।

देवकी सिंहले प्रहरीलाई दिएको निवेदन ।

प्रहरीमा छलफल पश्चात अबदेखि देवकीमाथि हिंसा नगर्ने सर्तमा प्रहरीकै रोहबरमा मेलमिलाप गराइयोे । श्रीमान् र सासूले आफूले गरेको हिंसा स्वीकार्दै आगामी दिनमा हिंसा नगर्ने भनी कागजमा दायाँ बाँया ल्याप्चेसहित हस्ताक्षर समेत गरे ।

देवकी घर फर्किन् । प्रहरीमा मेलमिलाप गरेको दुई हप्ता नपुग्दै मंसीर कै २८ गते लिलादेवीले देवकीबाट छोरा जन्मिदैन भन्दै छोरालाई दोस्रो विवाह गर्न उकासिन र नजिकैको जिल्ला बैतडी पठाइन् ।

छोरा जन्माउने रहरमा दिपक दोस्रो विवाहका लागि बैतडी पुगे । केटी खोज्दै बैतडीको दुर्गम गाउँ पुगेका उनले सरस्वती चन्द नाम गरेकी किशोरीलाई भगाएर ल्याए ।

दोस्रो विवाह पछि दिपकसँगै सरस्वती समेत मिलेर देवकीलाई दैनिक कुटपिट गर्न थाले । ज्यान मार्ने धम्की दिन थाले । ज्यान जोगाउनै मुस्किल भएपछि न्याय खोज्दै देवकी पुनः २०७४ पुस २ गते थलारा इलाका प्रहरी चौकी पुगिन् ।

प्रहरीले दिपक र सरस्वतीलाई खोज्यो । तर उनीहरू भारत भागिसकेका थिए । दिपक भागेको थाहा पाएपछि प्रहरीले देवकीकी सासूसँग सोधपुछ गर्यो । उनले पनि आफूलाई केही थाहा नभएको बताईन् ।

निवेदन उपर केही छानबिन भएन । देवकीको घर फर्किने बाहेक विकल्प पनि भएन । त्यसपछि देवकीमाथि फेरि सासूबाट हिंसा शुरु भयो । लिलादेवी तेरो कारणले मेरो छोराले घर छोड्नु पर्यो, अर्को विवाह गर्नुपर्यो । अलच्छिनी तँ घरबाट निस्किहाल भन्दै देवकीलाई यातना दिन थालिन् ।

प्रहरीसँग देवकीको विश्वास टुटिसकेको थियो । त्यसैले तेस्रोपटक उनी प्रहरीकहाँ गइनन् । सासूलाई कारबाही गरिपाउँ भनी उनले २०७४ पुस ९ गते महिला अधिकारको लागि काम गर्ने संस्था महिला अधिकार मञ्चमा पुगिन् र उजुरी दिइन् ।

देवकीले घरेलु हिंसा र बहुविवाहको जाहेरी दिँदै कारबाहीको लागि आवश्यक सहयोग गरिदिन भन्दै महिला तथा वालबालिका कार्यालयमा पनि निवेदनसहित अनुरोध गरिन् ।

उनको उजुरी महिला अधिकार मञ्चले जिल्ला प्रहरी कार्यालय बझाङमा पुर्यायो । जिल्ला प्रहरी कार्यालय बझाङको महिला तथा बालबालिका सेवा केन्द्रले देवकीको उजुरी दर्ता गरि कारबाहीको प्रक्रिया अगाडि बढायो । दिपकको खोजी गर्यो । तर दिपक नभेटिएपछि प्रहरीले दिपकलाई फरारको सूचीमा राखेको छ ।

दुई छोरी बोकेर न्यायका लागि जिल्ला सदरमुकाम चैनपुर पुगेकी देवकी सिंह घरबाट निकाला भएपछि जिल्लास्थित एक सुरक्षित आवास गृहको आश्रयमा छिन् ।

०००

खप्तडछान्ना गाउँपालिका २ (साविकको लामातोला गा.वि.स ७) तल्लाबगरकी २४ वर्षीया सन्जु गिरी पनि घरेलु हिंसा पीडित हुन् । सन्जुको विवाह ७ वर्ष पहिले तल्लाबगरका २६ वर्षीय कलक गिरीसँग भएको थियो ।

विवाहको ३ वर्षपछि सन्जुबाट एक छोरी जन्मिइन् । छोरी जन्मिएको २ वर्ष नबित्दै सन्जुमाथी श्रीमान्, जेठानु, जेठानीबाट हिंसा शुरु भयो । उनमाथि दिनहुँ कुटपिट र गाली बेइज्जत हुन थाल्यो ।

हिंसा बढ्दै गयो । अन्ततः हिंसा सहन नसकेर सन्जुले २०७४ असोज १२ गते छान्ना प्रहरी चौकीमा उजुरी दिइन् । उजुरीको आधारमा प्रहरीले कलक गिरीलाई नियन्त्रणमा लियो । प्रहरीको नियन्त्रणमा पुगेपछि कलकले अब आइन्दा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता गरे । ‘हामी मिलेर बस्न तयार छौं’ भनी प्रहरीको रोहबरमा मिलापत्र कागज बनाइयो । दुवै जनाले हस्ताक्षर पनि गरेपछि प्रहरीले छोडिदियो ।

मेलमिलाप भएको दुई महिना नबित्दै कलकले सन्जुमाथि कुटपिट शुरु गरे । कलकले कुटपिट गर्दै घरमा बस्न नदिने जस्ता कृयाकलाप दिनहुँ गर्न थालेपछि असह्य भएर सन्जु नाबालक छोरी लिएर माइती बस्न थालिन् ।

माइती बसेको केही महिनापछि कलकले फेरि फोन गरे । आफूलाई आत्म ग्लानी भएको बताए । माफी माग्दै घर बोलाए । अबदेखि घरमा नबस्ने र कैलालीको धनगढीमा सँगै बसौं भन्दै ‘अब आइन्दा हिंसा गर्ने छैन’ भनेर माफी पनि मागे ।

सन्जुले पनि विश्वास गरिन् । घर फर्किइन् । केही दिनपछि दुवै धनगढी गएर बस्न थाले । धनगढी बसेको एक महिनापछि कलकले सन्जुमाथि हिंसा दोहोर्याए । उनले श्रीमतीमाथि मात्रै होइन, नाबालक छोरीलाई समेत कुटपिट गर्न थाले ।

कलकको हिंसा नरोकिएपछि सन्जुले धनगढीस्थित ओरेक नेपालको सुरक्षित आवास गृहमा शरण लिइन् । जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन पनि दिईन् । तर आफ्नो पीडाको सुनुवाई नभएको उनले बताईन् ।

सन्जु सधैंभरी आश्रय गृहमा बस्ने कुरा भएन । उनी घर फर्किइन् र माइतीमा बस्न थालिन् । तर कलक सम्पर्कमा आएनन् । त्यसपछि सन्जुले २०७४ चैत १९ गते जिल्ला प्रहरी कार्यालय बझाङमा ‘पीडक कलकलाई आवश्यक कारबाही गरिपाउँ’ भनी निवेदन दिइन् ।

सन्जुले अहिलेसम्म न्याय पाएकी छैनन् । परिवारबाट विस्थापित भएपछि माइतीको आश्रयमा बसिरहेकी उनले छोरीलाई माइतीकै सहयोगमा विद्यालय पढाउने गरेकी छन् । हरेक निकायमा न्यायको खोजी गर्दा न्याय नपाएपछि उनी भन्न थालेकी छिन्, ‘मेरो त भाग्य नै खोटी रहेछ ।’

०००

बुङगल नगरपालिका (साविक खिरातडी गाविस वडा नं ५- कि हर्का कुँवरले न्याय पाउन निकै संघर्ष गर्नुपर्यो ।

२०५९ सालमा खिरातडी गाउँका गणेश कुँवरसँग हर्काको विवाह भयो । विवाहको एक वर्षसम्म हर्का र गणेशको दाम्पत्य जीवन राम्रै चल्यो । विवाह भएको ५ वर्षमा हर्काबाट २ छोरा, एक छोरी जन्मिए ।

तर गणेश भने मदिराको कुलतमा फसे । गणेशले मदिरा सेवन गरि हर्कालाई कुटपिट, गालीगलौज गर्ने, चरित्रमाथि प्रश्न गर्ने घर छोड्न दबाब दिने गर्न थाले । हर्काले पकाएको खाना समेत नखाने, मेरा छोराहरूम पाल्छु तँ घर छोड् भन्ने कुटपिट गर्ने गर्न थाले । दिनदिनै यो क्रम बढ्न थाल्यो ।

हिंसा बढ्न थालेपछि हर्काले २०६४ असार ५ गते इलाका प्रहरी चौकी झापामा न्यायका लागी उजुरी दिइन् । प्रहरीले गणेशलाई चौकीमा झिकायो । दुवैबिच छलफल गरायो । अनि प्रहरीकै रोहबरमा मेलमिलाप भो ।

प्रहरीको रोहबरमा मेलमिलाप भएपछि हर्का र गणेश सँगै बस्न थाले । तर एक महिनापछि गणेश फेरि पुरानै रुपमा फर्किए । हर्कामाथि हिंसा गर्न थाले ।

श्रीमानको ज्यादती बढ्दै गएपछि हर्काले प्रहरी कार्यालय बझाङमा २०७४ साउन ५ गते दोस्रो पटक निवेदन दिइन् । प्रहरीले गणेशलाई बोलाएर छलफल गरायो र फेरि मिलमिलाप गरायो ।

मेलमिलापको ७ दिनपछि २०७४ पुस १२ गते गणेशले छोरीलाई कुटपिट गरे । हर्कालाई समेत गाली र कुटपिट गरे । त्यसपछि हर्का माइती रुपाइल गएर बसिन् ।

माइती बसेको केही दिनपछि हर्काले आफ्नी जेठी छोरी मन्जु कुँवरलाई फकाई फुल्याई घर पठाइन् । मन्जुलाई मामाघरबाट घर फर्किने क्रममा बाटोमा अरुबाट दुव्र्यवहार भयो । स्थानीय डेगडी कार्कीले कुटपिट गरि लुगा च्याती हातपात समेत गरेको हर्कादेवीले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

स्थानीयको दुव्र्यवहारपछि छोरी मन्जु मावली फर्किइन् । छोरीमाथि हातपात हुँदा समेत गणेशले कुनै निकायसम्म कुरा पुर्याएनन् । तर हर्काले आफू र छोरीमाथि भएको हिंसा सहन सकिनन् । उनले २०७४ माघ २ गते श्रीमान गणेश कुँवर र डेगडी कार्कीमाथी कारबाही गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइन् ।

प्रहरीले गणेश कुँवर र डेगडे कार्कीमाथि अनुसन्धान गर्यो । अनि पक्राउ पनि । तर प्रहरीले तेस्रोपटक पनि गणेश र हर्काबीच छलफल गराई मिलापत्र गरायो ।

तेस्रो पटकको मेलमिलाप पछि अहिले हर्का आफ्नै घरमा बस्दै आएकी छन् । तेस्रो मिलापत्रको पाँच महिना भो । अहिलेसम्म भने श्रीमानले आफूलाई दुव्र्यवहार नगरेको उनले बताएकी छन् ।

०००

जिल्लाको मष्टा गाउँपालिका ३ (साविक भातेखोला गाविस ५) की ३५ वर्षीया विजा कठायत पनि घरेलु र सामाजिक हिंसाबाट पीडित छन् ।
साविकको भातेखोला गाविस ५ का वहिक कठायतसँग १५ वर्ष पहिले उनको विवाह भयो । विवाहको ४ वर्षमा ३ छोरा जन्मिए । त्यसपछि उनका श्रीमान वहिक कमाउन भारत गए ।

विजाले प्रहरीलाई दिएको निवेदन ।

श्रीमान भारत गएपछि विजालाई घर, खेतीपाती र बालबच्चा हेर्न निकै कठिन भयो । विजाले नजिकैका छिमेकी पर्ने जंगी दुवाललाई खेतीपातीको आवश्यक पर्ने सरसामान ल्याइदिन सहयोग मागिन् ।

सहयोग लिनेदिने क्रममा जंगी दुवाल विजाको घरमा आउने जाने गर्न थाले । तर विजाका आफन्त र छिमेकले उनीहरुबिच अनैतिक सम्बन्ध रहेको आरोप लगाउन थाले ।

विजा र जंगीले आफूहरुबिच त्यस्तो केही नभएको दाबी गरिरहे । उनीहरुको गल्ती नभए पनि झुटा आरोप लगाई जंगीसँग जानुपर्छ भन्दै विजाका आफन्तले उनलाई कुटपिट गर्न थाले ।

विजाका अनुसार ससुरा गेड्या कठायत, जेठा ससुरा गोर्ख कठायत लगायत ८ जना गाउँले भेला भई जबरजस्ती विजालाई जंगी दुवालको जिम्मा लगाउने निर्णय गरे ।

जंगीले २ लाख जारी तिर्ने सर्तमा स्थानीय जोग कठायतले कागज लेखे । दोष नहुँदा पनि गाउँलेको कर कापमा विजालाई जिम्मा लिने सर्तमा जंगी दुवालले २ लाख तिरे । त्यसपछि विजा जंगी दुवालको घरमा बस्न थालिन् ।

हुँदै नभएको सम्बन्ध स्थापित गरिदिएर गाउँलेले जबरजस्ती विजालाई जंगीको जिम्मा लगाइदिएपछि जंगीले विजालाई हिंसा गर्न थाले । जंगीको घरमा बसेको ४ महिनामै विजामाथि हिंसा शुरु भयो ।

२०७२ साल बैशाख २४ गते जंगीले विजालाई कुटपिट गरे । ‘तेरो कारणले मैले २ लाख तिर्नु पर्यो । मेरो बदनाम पनि भयो’ भन्दै विभिन्न निहुँ बनाएर कुट्ने, गाली गर्ने क्रम रोकिएन । जंगीले कुट्दा विजाको देव्रेहात नै भाँच्चियो ।

आफ्नो कुनै दोष नहुँदानहुँदै पनि चरित्र हत्या गरेर पर पुरुषको जिम्मा लगाउने गेड्या कठायत लगायतका व्यक्ति र हिंसा गर्ने जंगी दुवालमाथि कारबाहीको माग गर्दै विजाले जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन दिईन् ।

उनले पहिलो पटक २०७२ बैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिईन् । ‘आफूलाई गाई वस्तु झैं २ लाख रुपैयाँमा बिक्री गर्नेहरुलाई कारबाही हुनुपर्ने’ विजाले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।

विजाको उजुरीपछि प्रहरीले गेड्या कठायत लगायतका व्यक्तिलाई पक्राउ गरि विजालाई फेरि वहिक कठायतले फिर्ता लिने सर्तमा मेलमिलाप गरायो ।

तर यसको केही महिना नबित्दै वहिकले पनि विजालाई कुटन थाले । वहिकले दिएको यातना सहन नसकेपछि विजाले २०७२ साल मंसीर ८ गते न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् ।

प्रहरीले खोजी गर्दा वहिक कठागत भारत गइसकेछन् । प्रहरीमा निवेदन दर्ता भएता पनि विजाको निवेदनमाथि हालसम्म कुनै सुनुवाई भएको छैन । विजा आजकाल परिवारसँग छुटिएर अलग बस्दै आएकी छन् ।

अधिकांश उजुरीमा मिलापत्र

जिल्ला प्रहरी कार्यालय बझाङले घरेलु हिंसा अन्तर्गत परेका अधिकांश उजुरीमा मिलापत्र गर्ने गरेको छ । महिला तथा बालबालिका सेवा केन्द्रको ४ वर्षको तथ्याङ्क हेर्दा अधिकांश उजुरीमा मिलापत्र भएको देखिन्छ ।

आर्थिक वर्ष २०७२।०७३ मा जिल्ला प्रहरी कार्यालय बझाङमा १ सय १४ ठाडो उजुरी परे । जसमा ६३ घरेलु हिंसा र ५१ महिलामाथि भएका सामाजिक हिंसाका उजुरी थिए ।

तिमध्ये १ सय ५ उजुरी मिलापत्र भए । अन्य ९ उजुरीमा पीडक फरार रहेको महिला बालबालिका सेवा केन्द्रकी प्रमुख बागमती धामीले बताईन् ।

यस्तै आर्थिक वर्ष २०७३\०७४ मा प्रहरीमा ८९ महिलामाथि भएका हिंसाका उजुरी परे । तिमध्ये ६५ घरेलु हिंसा सम्बन्धी थिए भने २४ वटा सामाजिक हिंसाका उजुरी थिए । ६२ उजुरीमा सहमतिका आधारमा मिलापत्र भइसकेको छ भने ३ उजुरी पीडितले नै फिर्ता लिए । बाँकी उजुरीका पीडक भने फरार रहेको हवल्दार धामीले बताईन् ।

त्यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा घरेलु हिंसाका ५५ उजुरी प्रहरीमा दर्ता भएका छन् । तिमध्ये २७ उजुरीमा प्रहरीले मेलमिलाप गराएको जनाएको छ ।

पीडितको चाहाना अनुसार मेलमिलाप गर्छौंः प्रहरी

जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी हवल्दार बागमती धामीका अनुसार पीडितको उजुरी परेपछि प्रहरीले पहिले अनुसन्धान गर्छ । र प्रतिवादीलाई पक्राउ गर्छ ।

विशेष गरेर घरेलु हिंसासँग सम्बन्धित घटनामा प्रहरीको पहिलो प्राथमिकता आपसी छलफल र मेलमिलाप नै हुन्छ । उनले भनिन्, ‘पीडितले चाहेमा र पीडकले सहमति गरेमा अब आइन्दा यस्तो नगर्ने भनेपछि प्रहरीको रोहबरमा कागज बनाउछौं । मेलमिलाप गरेर दुवैलाई यस्तो घटना नदोहोर्याउन सचेत गराई घर पठाउँछौं ।’

उनका अनुसार श्रीमान, सासू ससुरा र अन्य नातेदारबाट भएका हिंसाका घटना, कुटपिट, गाली गलौज, घर निकाला बहुविवाह जस्ता उजुरीमा प्रहरीले मेलमिलाप गर्ने गरेको छ ।

अधिकांश घटना दोहोरिन्छन्

महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशी पटकपटकको मेलमिलापले महिला थप हिंसामा पर्ने गरेको बताउँछिन् ।

उनका अनुसार मेलमिलाप गरेर घर पठाउदा अधिकांश हिंसाका घटना दोहोरिन्छन् । महिला अधिकार मञ्चमा चालु आर्थिक वर्षमा मात्रै महिला हिंसाका १० घटना दोहोरिएर आएको उनले बताइन् ।

‘मेलमिलाप गर्नु भन्दा मुद्दा दर्ता गरेर न्यायिक छिनोफानो गर्नु ठिक छ’ जोशीले भनिन्, ‘एक पटक मेलमिलाप गरेर घर पठाउछौं । महिना नपुग्दै हिंसा भयो भनेर फेरि उजुरी आउँछ ।’

पटकपटकको मेलमिलापले पीडकको मनोबल बढ्छ । जेल बस्नु पर्ने होइन सोचेर थप हिंसा गर्न प्रेरित हुन्छन् । त्यसैले मेलमिलापले महिलालाई थप हिंसाको जोखिम बढाउँछ ।

ऐनमा के छ ?

घरेलु हिंसा (कसुर सजाय) ऐन २०६६ ले पनि घरेलु हिंसाको घटना मेलमिलाप गर्न जोड दिएको छ । ऐन दफा ४ को उपदफा (८) ले ‘घरेलु हिंसा भएको देखिएमा र पीडितले चाहेमा प्रहरी कार्यालय र स्थानीय निकायले उजुरी परेको मितिले तीस दिनभित्र दुवै पक्षबीच मेलमिलाप गराइदिनु पर्नेछ’ भनेको छ ।

तर दफा ५ को उपदफा (२) ले पीडितले चाहेमा सोभैm अदालतमा उजुरी दिन सक्ने व्यवस्था गरेको छ ।

अधिकांश उजुरीमा प्रहरीले २ पक्ष मात्रै राखेर छलफल गर्छ । तर ऐनले भने मेलमिलाप गराउँदा आवश्यकता अनुसार उपलब्ध भएसम्म मनोचिकित्सक, समाजशास्त्री, समाजसेवी, पीडितले पत्याएको परिवारको सदस्य र अन्य साक्षी समेतको सहयोग लिन सकिने व्यवस्था गरेको छ ।

तर, ऐनले कति पटकसम्म मेलमिलाप गर्न सकिने भन्नेमा भने केही व्यवस्था गरेको छैन । जसका कारण पीडित जतिपटक प्रहरीकोमा पुग्दा पनि प्रहरी पीडकलाई बोलाएर मेलमिलाप गर्नै जोड दिन्छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा प्रहरीले सकेसम्म घर नफुटोस् भनेर घरेलु हिंसामा मेलमिलापमा जोड दिने गरेको बताउँछन् । उनले भने, ‘मिल्न सक्ने विकल्प रहेसम्म घर नटुटोस् भन्ने प्रहरीको मनसाय हुन्छ । तर, यतिपटकसम्म मिलापत्र गर्ने भन्ने चाहिँ हामीले तोकेका छैनौं ।’

कस्ता घटना मिलापत्र गर्नुहुँदैन ?

अधिवक्ता शशी बस्नेत घरेलु हिंसाका सबै मुद्दा मिलापत्र हुन्छ भन्ने बुझाइ नै गलत हो भन्छिन् । घरेलु सम्बन्धमा भएका सबै अपराधलाई घरेलु हिंसा (कसूर र सजाय) ऐनले मात्रै समेट्दैन । जस्तै योनीमा पाइप छिराको, पटकपटक धारिलो हतियारले कुटपिट गरेको वा गम्भीर चोटपटक हुने गरि कुटपिट गरेका घटनामा ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्दछ वा सम्बन्धित अपराध जुन कानुन अन्तरगतको फौजदारी अपराध हो सोही अनुसार मुद्दा चलाउनु पर्दछ । त्यस्ता अपराध मिलापत्र हुन सक्दैन । यदि कसैले यस्ता मुद्दा मिलापत्र गर्दछ भने त्यसमाथि कारवाही गर्नु पर्दछ ।

घरेलु हिंसाको कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुनेछ व्यवस्था घरेलु हिंसा (कसूर र सजाय) ऐनले गरेको छ ।

अधिवक्ता बस्नेत ऐनले घरेलु हिंसा कतिपटकसम्म मिलापत्र गर्न पाइन्छ भन्ने कुरा स्पष्टसँग नभनेका कारणले कानुनको कमजोरीको गलत प्रयोग भएको बताउछिन् ।

एक पटक विवाद भएर मिलापत्र गरिसकेपछि पनि पुन त्यही घरेलु हिंसा दोहोरेमा पुन मिलापत्र गराउन हुँदैन । पुन मिलापत्र गराएमा अपराधीको मनोवल बढ्छ भने पीडितको कानुनप्रतिको विश्वास घट्दछ । जसले गर्दा पीडितले हिंसा सहेर बसनुपर्ने अवस्था सृजना हुन्छ । जसको फलस्वरुप कुनै दिन घरेलु हिंसाले ठूलो रुपलिई पीडितको हत्या पनि हुन सक्दछ । पटकेलाई दोब्बर सजाय हुन्छ भने पटके आरोपित विरुद्धको उजुरीमा मिलापत्र हुनुहुँदैन । पटक पटकको मिलापत्रले धेरै पीडितहरूअन्यायमा परेका छन् । राज्यले तत्काल यसको समाधान खोज्न आवश्यक छ ।

(राजेन्द्रबहादुर सिंह र सत्यराज सिंह बझाङ्का क्रियाशील पत्रकार हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: