अनि म अश्लील देखिन्छु


प्रकाशित मिति :2018-06-19 16:21:15

शितको थोपाले
फूलको थुङालाई
चुम्मन गरेजस्तो
हरेक महिना
आलो रगतले चुम्मन गरेर
मलाई अश्लील बनाइदिन्छ
जब म रजस्वला भएकी हुन्छु
रगतमा मुछिएकी हुन्छु
छट्पटी र औडाहामा पिरोलिएकी हुन्छु
तब मेरा निधारका रेखाहरू
खच्याकखुचुक भैदिन्छन्
मन फुरुङ भएर मनसँगै रमाउने बेलामा ।

ऋचा लुइँटेल

जब
मेरो शरीरको नियन्त्रण म सँगै हुँदैन
तब तिमी र तिमीहरू भन्छौ
यी सब आइमाईका बहाना हुन्
कामै नगरी बसी खाने चाहाना हुन्
क्षितिजको सचित्र क्यानभासमा उतारे जस्तै
मेरा शारीरिक चुनौतीहरूको तस्विर
कहिल्यै उतार्न सक्दैनौ
तिमीले ।

रजस्वला हुँदा
अछुत मानेर हामीलाई
बिमुख गराइदिन्छौ
भात र भान्साको अधिकारबाट
बिस्तारा र सिरानीको सुबिधाबाट
अह कहिल्यै बुझ्न सक्दैनौ
रगतको आहालमा
सिकसिको लिएर बस्नुको पीडा
मन अमन हुनुको पीडा
झर्किएर दिएको चार गास भात
अपच भइदिनुको व्यथा
रजस्वला भएपछी
छोप्दा छोप्दै
लगाइरहेको लुगाबाट रगतका बाछिटाहरू
बाहिर छिचोलियो भने
भन्छौ,
अश्लील देखिन्छ तिम्रो अनुहार
कुर्सी सोफा तन्ना बिस्तरामा
बस्दै नबस्नु बिटुलिनेछ
घर सन्सार ।

भन्छौ तिमी खर्चालु छौ धनले कसरी धान्नु
महिनाका तीन चार प्याकेट विस्पर र स्टे फ्री
कसरी सकिन्छ किनेर लगाउन ?
टालाटुली च्यातेर बुजो लगाउ
तिम्रो नजरमा महिनाको पाँच सात सय रुपैयाँ
हामी नोक्सान गरिरहेका हुन्छौ
हाम्रा फाल्तु रहरहरूमा
रजस्वला हुनु भनेको
घामले जुनलाई चुम्मन गरेर
सितलता दिएजस्तै
जुनले तारालाई चुम्मन गरेर
यौवन दिएजस्तै हो
भनेर मेरी आमाले बुझाउन नसकेजस्तै
म पनि त बुझाउन सकिरहेकी छैन
तिम्रो पितृसत्तालाई
प्रिय ।

म रजस्वला भएपछी मात्रै तिमी बाबु बन्नेछौ
म सम्झाउन सक्दिन
रजस्वला हुनु भनेको छोरीबाट नारी हुनु हो
म भन्न सक्दिन
यसकारण अनि म अश्लील देखिन्छु
तिम्रो सभ्य समाजमा ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: