बाउ नामका बलात्कारी


प्रकाशित मिति :2018-06-24 16:11:11

–प्रतिक्षा काफ्ले–

स्याङजा । स्याङजाको विकट ठाउँकी ति दुई वर्षकी बालिकालाई आमाले खाना खुवाइन् । अनि विस्तारामा सुताइन । छोरी सुताएर घाँस लिन आमा घर मुनि बारीमा गइन् । त्यही मौका छोपेर बालिकाको ठूलो बुवाले बलात्कार गरेछन् ।

आमालाई थाहा थिएन । घर आएर सुताएकी छोरी हेर्दा मुर्छित अवस्थामा थिईन् । ओच्छ्यानमा रगत लत्पतिएको थियो । त्यसपछि छोरी बलात्कृत भएको थाहा भयो ।

उनले घटना लुकाईनन् । घरपरिवार र समाजमा भनिन् । न्यायको लागि सबैलाई गुहारिन् । तर, उनको कुरा कतैबाट सुनुवाई भएन ।

श्रीमानलाई उनकै दाजुले नाबालक छोरीमाथि बलात्कार गरे भनिन् । श्रीमानले पत्याएनन् । विश्वास गरेनन् । जतिसुकै कोशिश गरेपनि गाउँमै न्याय संभव भएन । अनि छोरी बोकेर न्यायको खोज्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जा आइन् ।

अन्तर पार्टी महिला सञ्जालको सहयोग लिएर प्रहरीमा उजुरी दिइन् । छोरीको लागिको लागि निस्किएकी उनी घर फर्किनै पाइनन् । उजुरी दिन सदरमुकाम झर्दा उनी बस्ने कोठाबाट लत्ता कपडा निकालिएको थियो ।

आफ्नी छोरीमाथि बलात्कार गर्ने जेठाजुलाई कारबाही माग्दा उनी परिवारबाटै विस्थापित हुनुपर्यो । परिवारले घर फर्किन नपाउने गरी लखेटे । ज्यान मार्ने धम्की दिए ।

अन्ततः उनी घर फर्किने अवस्था पनि रहेन । दुई वर्षअघि यो घटना भएपनि आजसम्म ती नाबालक र उनकी आमाले न्याय पाएका छैनन् । जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । फैसलाको प्रतीक्षामा आमाछोरी छन् ।

केही महिना अगाडि पुतलीबजारकी एक बालिकालाई सौतेलो बाबुले बलात्कार गरे । उनले आफूले मात्र नभई छिमेकीलाई समेत बोलाई छोरी बलात्कार गर्न लगाए ।

न्यायको लागि आमा छोरी जिल्ला प्रहरीमा गए । त्यसपछि आमा छोरीलाई नै मार्ने धम्की दिए । उजुरी दिएको भोलिपल्ट प्रहरीमा गएपछि उनले बयान फेरिन् ।

ज्यानकै धम्की आएपछि छोरीलाई पनि होइन भन्न दबाब दिइन । तर, सरकारी वकिल कार्यालयको पहलमा बालिकालाई बाल गृह पठाइयो र बलात्कारको मुद्दा दर्ता भयो । उनीहरुको असुरक्षाको कारण अहिले बालिका र आमालाई भेट्न समेत बञ्चित गरिएको छ ।

अर्को घटना, दुई महिना अगाडि आँधीखोला गाउँपालिकाकी एक बालिका सहोदर काकाद्वारा बलात्कृत भइन् । न्यायको लडाईंमा निस्किएको भए थप जोखिममा पर्ने त्रासले पीडितकी आमाले उजुरी गरिनन् ।

तर बाल कल्याण समिति र राष्ट्रिय मानव अधिकार आयोगल दबाब दिएर पीडितको स्वास्थ्य परीक्षण गरि कास्की प्रहरीमा मुद्दा दिए । कास्की प्रहरीले मुद्दा दर्ता गर्न मानेन ।

मानव अधिकारकर्मीको दबाबपछि मुद्दा बालिकाको स्थायी ठेगाना स्याङजा पठाइयो । स्याङ्जा प्रहरीले पनि लामो दबाबपछि मात्रै मुद्दा दर्ता गर्यो । टुंगो भने अझै लागिसकेको छैन ।

माथिका घटनाले प्रष्ट हुन्छ कि बालिकाहरु आफ्नैबाट कति असुरक्षित छन् । अनि आफ्नैबाट भएका बलात्कारका घटनामा न्याय नपाईने संभावना अझ धेरै हुन्छ ।

घरभित्रै असुरक्षित भएपछि बालिकाहरुका लागि न्याय लडाईं लडिदिने कोही हुँदैन । बालिकाको नजिक भनेको एउटी आमा मात्रै हुन् । यदि आमा कमजोर र आर्थिक सहयोगको लागि श्रीमानसँग भर पर्नुपर्ने अवस्थाकी छन् भने ति आमाले छोरीको न्यायको लडाईंमा पाइला चाल्न थप जोखिम उठाउनुपर्छ ।

एकातिर परिवारबाट विस्थापित अर्कोतिर आफ्नो रोजीरोटीको टुंगो नभएपछि महिलाले चाहेर मात्रै पनि न्यायको बाटो सहज हुँदैन । अर्कोतिर हाम्रो न्यायिक प्रकृया झनै झन्झटिलो छ । न्यायको लागि अदालतको ढोका पुगेको अधिकांश पीडितहरु झनै पीडाको महसुस गर्छन् ।

लम्बेतान न्यायिक प्रकृयाले उनीहरुलाई न्यायको लागि अदालतसम्म जान पनि सजिलो हुँदैन । त्यसको सिधा असर अपराध गर्नेको मनोबलमा पर्ने गरेको छ । पछिल्लो २० दिनको अन्तरालमा स्याङ्जामा ७ बालिका बलात्कृत भएको तथ्याङ्क छ । यसको अर्थ अपराधी मानसिकता मानिसमा बढ्दै गएको छ ।

अघिल्लो हप्ता पुतलीबजारकी १७ वर्षीया किशोरी बालिका आफन्तबाटै बलात्कृत भइन् । वालिङ निवासी १३ वर्षीया वर्षीया बालिका सामान किन्न किराना पसल जाने क्रममा पसलेबाटै बलात्कारमा परिन् ।

सानीमाकोमा बसेर अध्ययन गर्दै आएकी बालिकालाई गाउँमा नै केही रकम दिई घटना बाहिर नल्याउन समाजका अगुवाहरुले दबाब दिए । जबरजस्ती मिलाउन लगाई पीडितलाई झन् पीडा दिएको भन्दै वाइसिएलका जिल्ला अध्यक्ष रमेश अर्यालले वडा प्रहरी कार्यालय वालिङमा मुद्दा दर्ता गराए । यस घटनापनि प्रहरीले अनुसन्धान गरेको बताएको छ ।

‘जर्वरजस्ती करणी/उद्योग आफन्त नातेदारबाट भएको रहेछ भने पीडितले मुद्दा दर्ता गर्न खोज्दैनन्’ जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटा भन्छन, ‘२० दिन ७ वटा जबरजस्ती करणीका घटना हामीकहाँ आयो । ३ वटा मुद्दामा पीडितले मुद्दा दर्ता गर्ने खोज्नुभएन । हामीले कन्भीन्स गराएर मुद्दा दर्ता गरायौं ।’

आफन्तबाट भएका बलात्कारका घटनामा बलात्कृत बालिकालाई फकाई आफन्तहरु नै प्रहरी समक्ष आइपुग्ने र मिलाइदिन अनुरोध गर्ने गरेको बताए । सापकोटाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा जबरजस्ती करणीका १३ मुद्दा दर्ता भएका छन् । भने उद्योगमा ३ वटा रहेका छन ।

आर्थिक वर्ष ०७३/७४ मा ५ वटा करणी र ६ वटा उद्योग, ०७४/७५ मा ११ वटा करणी र ३ वटा उद्योगका मुद्दा दर्ता भएका छन ।

‘यस्ता घटनाहरु अझैपनि समाजमा मिलाउने प्रबृत्ति कायमै छ’ सापकोटाले दोहोर्याए, ‘घटना प्रहरीमा नल्याउने र स्थानीय तहमा मिलाउन जनप्रतिनिधिले नै भुमिका खेलेका छन् । जनप्रतिनिधिले नै हामीलाई मुद्दा मिलाउन दबाब दिन्छन् ।’

जिल्लाका अधिकारकर्मीका अनुसार पीडित कम आय भएका परिवारका हुँदा एक त पैसामा अर्को आफन्तबाट घटना हुँदा इज्जतको डरमा मिलापत्र गर्ने गरेका छन् ।

अधिकारकर्मी अमृता अर्याल भन्छिन, ‘बलात्कारको घटनामा पीडितकी आमाले साथ दिनुपर्छ । बालिकाले केही बुझेका हुँदैनन । तर आमा पनि फकाए फकिन्छन, ध्रम्काए डराउँछन् अनि मुद्दा अघि बढ्नै सक्दैन ।’

बलात्कारीहरु घरपरिवार भित्रकै सदस्य हुने हुदाँ दबाबका कारण पीडितकी आमाले खुलेर बोल्न सक्दिनन् । प्रहरीको अनुसन्धानबाट पनि बलात्कार गर्नेहरुमा आफन्त, छिमेकी र अपराधी मानसिकता भएका व्यक्ति रहने गरेको भेटाइन्छ ।

आ“धीखोला गाउँपालिका न्यायिक समिति संयोजक शर्मिला पौडेलले यस्ता प्रकृतिका घटनामा घरपरिवाले नै बालिकालाई पीडा दिने गरेको बताइन । ‘यसका प्रमुख दोषी नै परिवार हुन्’ उनले भनिन, ‘न्याय खोज्नुपर्छ भनेर सिकाउँदा र बुझाउँदा समेत नबोल्दिने, अनुसन्धानमा सहयोग नगरिदिने र पीडकलाई बचाउनतर्फ लाग्ने गर्दा ठुलो घटनाले पनि सामान्य रुप लिएका छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: