फलोअपः अछाममा रगतको सधैँ अभाव, चन्द्रालाई भारत लगिदै


प्रकाशित मिति :2018-06-26 16:05:20

–इन्द्रसरा खड्का–

ललितपुर । रगत र पैसाको अभावमा अस्पतालमा छट्पटाइरहेकी  चन्द्रा नेपालीलाई उपचार गर्न भारत लगिने भएको छ ।

अछामको पन्चदेवल बिनायक नगरपालिकाकी ३२ वर्षीया चन्द्राको शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदा उनलाई ओ नेगेटिभ रगतको आवश्यकता परेको थियो ।

स्वस्थ व्यक्तिमा हेमोग्लोबिनको मात्रा १२ ग्राम हुनुपर्नेमा चन्द्राको शरीरमा भने हेमोग्लोबिनको मात्रा ३‍‍.९ ग्राम मात्रै थियो ।

चन्द्रालाई चाहिने ओ नेगेटिभ रगत अछाममा नपाउँदा बयलपाटा अस्पतालले उनलाई नेपालगञ्ज रेफर गरेको थियो । तर नेपालगञ्जमा उपचार गर्ने पैसा नहुँदा चन्द्रालाई भारत लग्न लागेको चन्द्राका श्रीमान बलबहादुर नेपालीले बताए ।

एक वर्षे छोरीका साथमा बयलपाटा अस्पतालमा चन्द्रा नेपाली ।

बलबहादुर पनि भारतमै मजदुरी गर्छन् । श्रीमती बिरामी भएको खबर पाएपछि आफू केही दिन अघि मात्रै नेपाल आएको उनले बताए । नेपालमै श्रीमतीको उपचार गर्न आर्थिक रुपमा सम्भव नभएको र भारतमा आफूसँग राखेर मजदुरी गर्दै उनको उपचार गर्ने उद्देश्यले भारत जान लागेको पनि उनले बताए ।

चन्द्राका तीनजना भाइ पनि भारत मै काम गरिरहेको र उनीहरुले उपचारका लागि दिदीलाई भारत ल्याइदिन आग्रह गरेपछि आज भारत लैजान लागेको बलबहादुरले बताए ।

एक वर्षकी छोरी साथमै बोकेर घरमा रहेका तीन छोराछोरीलाई छोडी अस्पतालबाटै आज भारत जान लागेको उनले सुनाए ।

कारण नै पत्ता लागेन

बयलपाटा अस्पतालका मेडिकल अफिसर डाक्टर शितल खनालले चन्द्रालाई के कारणले हेमोग्लोबिनको मात्रा कम हुँदै गएको हो भन्ने कुरा पत्ता लगाउन नसकिएको बताए ।

चन्द्रालाई तत्काल चाहिने १ प्वाइन्ट रगत पनि नपाइएको र हेमोग्लोबिनको मात्रा किन कम भएको हो भन्ने पत्ता लगाउने प्रविधी पनि अस्पतालसँग नहुँदा उनको रोग पत्ता लगाउन नसकिएको डाक्टर खनालको भनाइ छ ।

रगत पाउनै मुस्किल

न्याय हेल्थद्वारा सञ्चालित अछामको बयालपाटा अस्पतालमा नर्मल रगत पाउन समेत गाह्रो भएको अस्पतालले जनाएको छ । अस्पतालमा ब्लड बैङकको व्यवस्था भए पनि रगतको अभाव भएका बिरामीलाई सजिलैसँग रगत उपलब्ध गराउन समस्या भएको अस्पतालका मेडिकल अफिसर डाक्टर शितल खनालले बताए ।

‘ओ नेगेटिभ रगत त झन् पाउनै मुस्किल । ओ नेगेटिभ रगत पाउनेहरु भाग्यमानी हुन्’ डाक्टर खनालले भने, ‘नर्मल रगत पनि सजिलैसँग पाउन सक्ने अवस्था छैन ।’ रगत दियो भने कमजोर भइन्छ भन्ने गलत बुझाइका कारण मान्छेहरु रगत दिन नमान्ने उनले बताए ।

अस्पतालमा रगतको आवश्यकता परेका बिरामीलाई समेत प्रहरी र अस्पतालकै कर्मचारीले रगत दिने गरेको डाक्टर खनालको भनाइ छ ।

श्रीमानले पनि रगत दिन्नन्

डाक्टर खनालले अस्पतालमा आएका बिरामीमध्ये यदि श्रीमानलाई रगत आवश्यकता छ भने श्रीमती रगत दिन तयार भइहान्छिन् । तर यसको उल्टो यदि श्रीमतीलाई रगत दिनु परे श्रीमन पछि हट्छन् ।

‘यी दृश्यले मन अमिलो बनाउँछ’ डाक्टर खनालले भने, ‘श्रीमतीकै लागि पनि श्रीमान रगत दिन मान्दैनन् ।’

अस्पतालले रगत संकलनको लागि विभिन्न चेतनामुलक कार्यक्रम गर्दा पनि नागरिकले रगत दिन नमान्दा समस्या हुने गरेको उनको भनाइ छ । रगतको लागि मात्रै पनि कतिपय बिरामीलाई अस्पताल बाहिर पठाउनुपर्ने समस्या रहेको अस्पतालले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: