प्रिय पतिदेव !


प्रकाशित मिति :2018-06-28 16:28:04

प्रिय पतिदेव !
जुन दिन तिमीले मलाई अपनायौ
त्यस दिनबाट म मनभएर एउटी स्वास्नी भएकी छु
तिमीले हाँस्न चाहेमा हाँस्नुपर्ने, रुवाउन चाहेमा रुनुपर्ने
जसरी नचाउन चाहन्छौ, त्यसरी नाचिदिनु पर्ने
एउटी नृत्यांगना भएकी छु ।

म ममात्रै हुन नपाएकी हुँ र ?
म त बम्बईको कोठीमा आफ्नै बाउले बेचिदिए कि
काईंली भन्दा पनि पीडित छु
प्रत्येक दिन उसको साससहितको लासलाई हजारौं नरपिचाशले चुसिरहेका छन्
उसका भावनाहरू खुकुरीको धारमा रेटिईरहेको खसी झैं छियाछिया भएका छन्
तर पनि त्यहाँबाट निस्कन पाएँ, नयाँ जीवन पाउँथे भन्ने आश छ काईंलीलाई
तर मेरो त यस समाजरुपी कोठीबाट निस्कने आशले नै आत्महत्या गरिसकेका छन् ।

हिरा दाहाल

म ममात्रै हुन नपाएकी हुँ र ?
म त आफ्नो कोख भाडामा दिएर
अरुको लागि बच्चा जन्माईदिन बाध्य भएकी सरोगेट मदर भन्दा पनि लाचार छु
२८० दिनसम्म रगत र मासुका बार अनि मायाको छानो दिएर एउटा नयाँ जीवन सृजना गर्छे उ
अनि आफूलाई संसारकै अभागिनी आमा ठान्दै आफ्नै मुटु झिकेर अरुलाई सुम्पन्छे
तर पनि समय बदलिने छ
ह्रदयको आगो बिस्तारै चिसिने छ भन्ने झिनो आश त छ उसलाई
तर मेरो त बदलिने समयको घडिका सुईहरू नै चल्न छोडिसकेका छन् ।

म ममात्रै हुन नपाएकी हुँ र ?
म त आफ्नै काकाबाट बलात्कार गरिएकी कान्छीभन्दा पनि मर्माहत भएकी छु
बाउसरह आफूले सम्मान गरेको काकाले
भर्खर टुसा पलाउन थालेका गुलाब जस्ता कोमल अंगमा त्रिशुलजस्तो धारिलो अंग प्रहार गर्दा
कान्छीका कुन अंगचाहिँ चिरिन बाँकी रहे होलान र ?
त्यसपछि उनलाई बाँच्नु र मर्नुमा कति नै फरक लाग्न थाल्यो होला र ?
यो जिउनु र मर्नुको तौल बराबर हुँदा पनि कान्छिलाई कतै जीवनतिरको तौल बढ्छ कि भन्ने एक चिम्टी सपना त छ
तर मेरा तराजुले त, मरेर जिउनु पर्ने बाध्यताले जिउनुको तौलमात्रै देखाउन थालिसकेका छन् ।

म ममात्रै हुन नपाएकी हुँ र ?
म त महिनावारी भएर छाउगोठमा धकेलिएकी सानिभन्दा पनि अपहेलित छु
यो तापरहितको गोठमा पनि रापसहितको मन लिएर, हत्यारा अनि बलात्कारी कैदि झैं थुनिएकी छ सानी
यो गोठरुपी जेलमा न त कैदीलाई झैं सुविधा दिईन्छ, न त सुत्ने ओछ्यान नै
तर पनि छैठौं दिनमा त घर जान पाईहाल्छु नी फेरि अर्को २५ दिनको लागि भन्ने आश त छ सानीलाई
तर मेरा त ती बाँकि २५ दिन पनि यही समाजरुपी छाउगोठमै बित्छन् ।

म ममात्रै हुन नपाएकी हुँ र ?
मेरो दुखाई प्रसव पीडामा भएकी ठूली भन्दा पनि कैयौं गुना गहिरो छ
उ बच्चा निकाल्न बल गर्दैछे
नर्सले उसको यौनीद्धारलाई तिखो ब्लेडले चरररर चिरेर ठूलो बनाई दिन्छिन्
तर अहँ उसलाई त्यो ब्लेडले आफ्नै यौनिद्धार चिरेको पत्तो नै हुँदैन, त्यो प्रसव पीडाको अगाडि
बच्चा बाहिर निस्कन्छ
उसले संसारकै सबैभन्दा सुखको अनुभव गर्नेछ भन्ने आश त छ ठूलीलाई
तर मेरो त सुखको मुहानमा नै खडेरी लागिसकेका छन् ।

म ममात्रै हुन नपाएकी हुँ र ?
मेरो बन्धन डान्स बारमा काम गर्न बाध्य भएकी साईंलीको भन्दा कैयौं गुना कडा छ
आमालाई पाल्ने आशमा
नाम फेरेर, लुगा, अनुहार र जिउ फेरेर
ती गिद्धे आँखाका वरीपरि नाचेको नाटक गर्न उ बाध्य छे आफ्नो परिचय लुकाएर
बहिनीलाई राम्रो स्कुलमा पढाउने आशमा अनेकौंलाई शरीर बेच्न उ होमिएकी छे
तर पनि एकदिन यो बाध्यताको साङ्लोबाट निस्कन्छु, अनि स्वतन्त्र जीवन बाँच्छु भन्ने आश त छ उसलाई
तर मेरो जीवनको साङ्लोको त गाँठो नै कहिल्यै नखुस्किने गरी कसिएको छ ।

त्यसैले त म फेरि पनि भन्छु,
प्रिय पतिदेव !
जुन दिन तिमीले मलाई अपनायौ
त्यस दिनबाट म मनभएर एउटी स्वास्नी भएकी छु
तिमीले हाँस्न चाहेमा हाँस्नुपर्ने, तिमीले रुवाउन चाहेमा रुनुपर्ने
अनि तिमीले जसरी नचाउन चाहन्छौ
त्यसरी नाचिदिनु पर्ने एउटी नृत्यांगना भएकी छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: