‘जनप्रतिनिधि सजग भए हिंसा न्यूनीकरण गर्न सम्भव’


प्रकाशित मिति :2018-06-28 17:45:58

–महिला खबर–

ललितपुर । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले जनप्रतिनिधि सजग भएमा महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न सकिने बताएकी छन् ।

साथी संस्थाले आज काठमाडौंमा आयोजना गरेको ‘महिलाको प्रतिभामा सामाजिक बाँधाहरूको सम्बोधन’ परियोजनाको समिक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री थापाले यस्तो बताएकी हुन् । उनले संविधानले महिलाका हक, अधिकारलाई समेटेको भन्दै पछिल्लो समय राजनीतिमा महिला सहभागिता बढे पनि सामाजिक, आर्थिक हिसाबमा भने अघि बढ्न नसकेको बताइन् ।

मन्त्री थापाले हिंसामुक्त समाज निर्माण गर्ने तर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘अहिले महिला हिंसा जडको रुपमा रहेको छ । यसलाई अन्त्य गर्न हरेक नगरपालिका, वडा लाग्नुपर्छ ।’

सरकारका तीन तहमध्ये स्थानीय तह शक्तिशाली भएको भन्दै मन्त्री थापाले हिंसामुक्त, समता मुलक समाज निर्माण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताइन् । जबसम्म हिंसा मुक्त समाज बनाउन सकिदैन, तबसम्म समृद्ध नेपाल, सुखी नेपालको नाराले सार्थकता नपाउने मन्त्री थापाले बताइन् ।

राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरले जनप्रतिनिधिहरूले महिलामाथि हुने हिंसा कम गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । स्थानीय तहको उपप्रमुखमा महिला रहेको भन्दै सचिव ठाकुरले यस्ता हिंसाका घटना न्यूनीकरण गर्न कसरी अघि बढ्ने भनेर सोच्नुपर्ने बेला आएको बताए ।

समाज कल्याण परिषदका तिर्थ अधिकारीले महिलालाई आयआर्जनमूलक काममा बढवा दिए हिंसा कम गर्न सकिने बताए । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विरबहादुर खड्काले हिंसा रोक्ने माध्यम खेलकुद समेत भएकाले जनप्रतिनिधिले यसलाई आफ्नो कार्ययोजनामा राख्नुपर्ने बताए ।

कार्यक्रममा साथीका पूर्व अध्यक्ष एवम् टिम लिडर बन्दना राणाले साथीले २५ वर्षदेखि घरेलु हिंसाका विरुद्धमा काम गर्दै आएको बताइन् ।संस्थाले पीडित पक्ष मात्र नभई पीडकसँग समेत मिलेर रहेर काम गरेको भन्दै परियोजनाले बाजुरा, कञ्चनपुर, दाङ, कपिलवस्तु, सिराह, महोत्तरी लगायतका जिल्लामा हिंसा पीडितसँग काम गर्न सफल भएको बताइन् ।

संस्थाले १४ वर्षको संघर्ष पश्चात घरेलु हिंसाको पहिलो मस्र्यादा तयार गर्न सफल भएको भन्दै सन् २००९ मा कानून बन्नु र अहिले अपराधको रुपमा लिनु उपलव्धीमूलक काम भएको बताइन् ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले हिंसा न्यूनीकरण गर्न बाधक तत्वका रुपमा रहेको सामाजिक मूल्य मान्यतालाई हटाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहने बताइन् । उनले सञ्चारिका समूहले समकोण कार्यक्रम र महिला खबर डटकममार्फत समेत महिलालाई न्यायमा पहुँच पु¥याउन वकालत गर्दै आएको बताइन् ।

महोत्तरी बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्की, बाजुराको बडिमालिकाकी उपप्रमुख कविता विष्ट, दाङ गडुवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी, कञ्चनपुर बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिंह लगायतले मन्तव्य राख्दै बालविवाह, दाईजो, छाउ प्रथा लगायतका सामाजिक कुरीति नै महिला हिंसाको मुख्य कारण भएको भन्दै यसलाई अन्त्य गर्न, नगरपालिका, गाउँपालिकाले आफ्नो नीति, कार्यक्रममा राखेको बताएका थिए ।

सो अवसरमा कार्यक्रम लागूभएका क्षेत्रका जनप्रतिनिधिलाई कदरपत्रसहित सम्मान गरिएको थियो । समिक्षा गोष्ठी भोली शुक्रबारसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: