–महिला खबर–
ललितपुर । बालविवाह गरी जबरजस्ती करणी समेत गरेको आरोपमा प्रहरीमा परेको जाहेरी प्रहरीले दर्ता नगरेको आरोप लागेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ नौडिगौडीका २५ वर्षीय आषिस नाउ विरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको आरोप लागेको हो ।
आषिस नाउले २०७५ बैशाख १६ गते आफ्नी १५ वर्षकी बहिनीलाई दिउसो घरमा कोही नभएको मौका छोपी घरबाट भगाएर लिएको र आफ्नो घरमा लिई जवरजस्ती निकाह (विवाह) गरेको आरोप बालिकाका दाइको छ ।
घटना बारे आफूले प्रहरीलाई खबर गरेको र प्रहरीले दुवै पक्षलाई उपस्थित गराई बालिकालाई आफ्नो जिम्मा लगाइ पठाएको केही दिनमा फेरि असार ११ गते आषिसहित उनका आफन्तले बहिनीलाई घरबाटै लिएर गएदेखि हालसम्म बेपत्ता बनाएको आरोप पनि बालिकाका दाइको छ ।
उनले आषिसले बहिनी भगाएर लैजादा आफ्नो घरबाट कुखुरा बेचेर राखेको १ लाख ८१ हजार नगद समेत लिएको समेत आरोप लगाएका छन् ।
उनले लेखेको जाहेरीमा असार ११ गतेदेखि आषिसले बन्धक बनाइ राखेकी बहिनीको उद्धार गरी स्वास्थ्य परीक्षण गराई प्रचलित मुलुकी ऐन विहावरीको २ नम्बर ले गरेको कानुनी व्यवस्था विपरित कसुर गरेको भन्दै अन्यायीहरुलाई सोही ऐनको २ नं. को देहाय ३ बमोजिक कार्वाहीको माग गरिएको छ ।
उनको जाहेरीमा आषिस लगायत अन्य ६ जनालाई पनि विपक्षी बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका इनेस्पेक्टर रणबहादुर विष्टले बालिका यो पटक गरी ३ पटक आषिससँग भागेको र प्रहरीले दुवै पक्षलाई बोलाएर दुईपटक बालिकालाई उनका दाइको जिम्मा लगाएको बताए ।
उनले यसपटक प्रहरीले बोलाउदा बालिकाका दाइ जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभएको र उनको जाहेरीमा अन्य ६ जनालाई पनि विपक्षी बनाइएको हुँदा केटाकेटीले भागेर विहे गरेको घटनामा रिस फेर्नका लागि अरुलाई विपक्षी बनाइएकोले मुद्धा दर्ता नभएको बताए ।
Comment Here!