प्राकृतिक विपद्ः थप जोखिममा महिला, बालबालिका


प्रकाशित मिति :2018-07-02 13:10:45

–सन्दिप वि‍‍.क–

ललितपुर । यस वर्षको मनसुन देशैभरि फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभावले धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

प्रत्येक वर्ष वर्षा शुरु भएदेखि अन्त्य नहुन्जेल बाढी पहिरोका कारण जोखिमयुक्त क्षेत्र र तराई क्षेत्रका नागरिक त्रासमा बाँच्ने गरेका हुन्छन् ।
बाढी पहिरोका कारण वर्षेनी सयौंको ज्यान जाने गरेको छ । गएको सोमबार राती पहिरोले घर पुर्दा बागलुङको बरेङ गाउँपालिका–१, लुरुमा एकै परिवारका एक महिला, एक बालिका र एक पुरुषको ज्यान गयो ।

गत वर्ष साउन महिनामा भारी वर्षाकै कारण देशभरको जनजीवन प्रभावित बन्यो । पुरै तराई जलमग्न भयो । वर्षाले सप्तरीको कोइलाडी– ६ मा एक बालकको मृत्यु भयो । मृतक बालकको शव गाड्ने ठाउँ समेत नहुँदा कोशीमा बगाएको समाचार र तस्विरले समेत खुब चर्चा पायो ।
बाढी, पहिरो लगायत प्राकृतिक विपद्का कारण बढीजसो महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त र अपांगता भएका व्यक्तिहरु बढी जोखिम भोग्छन् ।

यस्तै महिलामा पनि सुत्केरी, गर्भवती महिला बढी जोखिममा पर्ने गर्दछन् । प्राकृतिक विपद्ले महामारीको रुप पनि लिने गर्दछ । फोहोर पानी, उचित बासस्थानको समस्याले विभिन्न सरुवा रोगहरु फैलने गर्दछन् ।

राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका अनुसार नेपालमा प्राकृतिक विपद्कै कारण अकालमै ज्यान गुमाउनेको संख्या उच्च छ ।
केन्द्रको तथ्यांक अनुसार तीन वर्षको अवधि २०७३ वैशाखदेखि २०७५ को असार १३ सम्म बाढी, पहिरो, चट्याङ, आगलागी लगायतका प्राकृतिक विपद्ले एक हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा १ सय ८५ जना वेपत्ता भएका छन् भने ३ हजार ७ सय ९१ घाईते भएका छन् । मृत्यु, घाइते र वेपत्ता हुनेमा अधिकांश महिला, बालबालिका, वृद्धवृद्धा र अशक्त छन् ।

तथ्यांक अनुसार तीन वर्षको अवधिमा प्राकृतिक विपद्बाट मृत्यु हुनेमा महिलाको संख्या ४ सय ७ छ । यही अवधिमा प्राकृतिक विपद्बाट १४ सय ५० महिला घाइते भएका छन् ।

सरकारले विपद् जोखिम न्यूनीकरण गर्नका लागि ‘राष्ट्रिय नीति, २०७५’ बनाएर लागू समेत गरिसकेको छ । नीतिमा विपद् जोखिम न्यूनीकरणका सबै चरण तथा संरचनामा समावेशी विपद् व्यवस्थापनको अवधारणा अनूरुप महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, आर्थिक तथा सामाजिक रुपले पछाडि परेका समुदायको पहूँच, प्रतिनिधित्व तथा प्रभावकारी संलग्नता सुनिश्चित गरिने उल्लेख छ ।

सोही नीतिमा विपद् संवेदनशीलताको अवधारणा अनुरुप सार्वजनिक भौतिक संरचना (सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सामुदायिक भवन, आश्रयस्थल आदि) लाई जेष्ठ नागरिक मैत्री, लैंगिक मैत्री, अपाङ्गतामैत्री एवं बालमैत्री बनाइनेछ भनिएको छ ।

‘विपद् सम्वन्धी सचेतना हुनु आवश्यक छ’

        केदार नाथ न्यौपाने

 विपद् व्यवस्थापन शाखा गृहमन्त्रालय

प्राकृतिक विपद् बढीजसो कस्ता व्यक्ति जोखिममा पर्दछन् ?

पहिलो त महिला, बालबालिकाहरुमा आफूभन्दा ठूलाले जोगाइदेलान् भन्ने सोच हुन्छ । जस्तो बाबु, आमा, श्रीमानले जोगाउँछन् भन्ने भावना हुन्छ ।

अझ अधिकांश महिलामा त जन्मजात नै म कमजोर छु भन्ने भावना हुन्छ । त्यसकै कारण उनीहरुले मनोवल कमजोर बनाएका हुन्छन् । मनोवल प्रदर्शन गर्न नसक्दा, शाहस प्रदर्शन गर्न नसक्दा नै महिला बालबालिकाहरु बढी जोखिममा परिरहेका छन् ।

अर्को कुरा महिलाहरुमा पनि बिरामी, साना बालबालिका, गर्भवती, सुत्केरी, औषधि खाइराखेका बिरामी नै बढी प्रभावित हुने गर्दछन् । जसको हेरचाह गर्ने मान्छे समेत हुँदैनन् ।

प्राकृतिक विपद्मा कसरी जोगिने भन्ने चेतनाको पनि कमि छ । कुनै महिला गर्भवती भइन्, बिरामी भइन् भने त्यस्तो बेलामा प्राकृतिक विपद्मा के गर्ने भन्ने सिकाइएको हुँदैन । यसले गर्दा पनि बढीजसो वृद्धवृद्धा, महिला, गर्भवती, औषधि खाइरहेका बिरामी प्रभावित हुने गरेका छन् ।

विपद्का बेला मानसिक रुपमा बलियो व्यक्ति सजिलै उम्कन सक्छ । तर कमजोर उम्कन सक्दैन । त्यो भनेको महिला, महिलामा पनि गर्भवती, भर्खरै सुत्केरी भएकी, सुत्केरी, अशक्त, साना बालबालिका, वृद्धवृद्धा नै हुन् ।

त्यस्ता व्यक्तिलाई सचेत गराउनुपर्छ । विपद् सम्बन्धी सचेतना आवश्यक छ । हाम्रो देशमा सचेतनाको अभावले गर्दा मानिसहरु जोखिममा पर्ने गरेका छन् ।

सचेतनाका लागि महाशाखाले केही गरेको छैन ?

सचेतनाका कामहरु गरिरहेको छ । रेडियो कार्यक्रम पनि सञ्चालन गरेको छ । हाम्रो जस्तो विपद्को सचेतना कम भएको देश विश्वमै सायद कम छन् ।

प्राकृतिक विपद्बाट पनि नेपाल उच्च जोखिममा छ । बढी मनसुनी वर्षा हुन्छ । भूकम्पको जोखिम पनि त्यति नै छ । त्यही ठाउँमा लु, त्यहि ठाउँमा सितलहरको समस्या आउँछ । हामीले गर्ने भनेको सचेतनाको कार्यक्रम नै हो ।

सरकारसँग विपद् पूर्व तयारीको लागि स्रोत साधनको अवस्था कस्तो छ ?

सरकारको प्राथमिकतामा पनि पर्नुप¥यो । हाम्रो देशमा प्राकृतिक विपद्लाई प्राथमिकता नपारेको स्थिति छ । जापानमा विपद्लाई सरकारले प्राथमिकतामा राखेको छ । यहाँ विपद् मेरोमा पर्देन भन्ने सोचाइ छ । विपद् व्यवस्थापन गाउँपालिका, नगरपालिकाको प्राथमिकतामा पनि नपरेको स्थिति छ ।

यस्तै विपदमा सरकारको मात्र भर पर्नु हुँदैन । सरकारको योजनामा पर्ने कुरा आफ्नो ठाउँमा छ । तर पहिला व्यक्ति आफैले तयारी गर्नुपर्छ ।

प्राकृतिक विपद्बाट बच्न के गर्ने त ?

महत्वपूर्ण कुरा सचेतना नै हो । घरपरिवारका व्यक्तिले पनि विपद्लाई प्राथमिकतामा राख्नुपर्छ । जस्तो म त भाग्छु । तर भाग्न नसक्ने घरका सदस्यलाई कसरी जोगाउने भन्ने सोच्नुपर्छ । योजना बनाउनु पर्छ ।

अर्को घर प्रविधिमैत्री हुनुपर्छ । हाम्रो घरको संरचना नै सुरुङ जस्तो छन् । घरको सिँढी अप्ठ्यारो खालको हुन्छ । त्यसैले संरचना नै विपद्मैत्री हुनुपर्छ । यसले धेरै हदसम्म जोखिमबाट बचाउँछ ।

प्राकृतिक विपद् कतिखेर आउँछ थाहा हुँदैन । जापानमा ७ रेक्टरको भूकम्प गयो भने १० जना मर्छन् । तर हाम्रो देशमा त्यही भूकम्पले १० हजार मर्छन् । अझ त्यसमा पनि बढी महिला, बालबालिका, अशंक्त र बिरामी नै पर्छन् ।

यसको कारण के हो भने जापानका घरहरु विपद्रहित छन् । बाटो जाम नहुँने खालको छ । हाम्रोमा बाटो जामले गर्दा बिरामी हस्पिटल पुग्न नपाउँदै एम्बुलेन्समै मर्नुपर्ने अवस्था छ ।

हाम्रो समाजमा विपद् व्यवस्थापन भनेर खोजी गर्ने, उद्धार गर्ने, अलिकति चाउचाउ, भुजिया बाँड्ने भन्ने बुझाइ छ । तर यो परिवर्तन हुनुपर्छ ।

विपद् व्यवस्थापनका बारेमा नगरपालिकाका मेयर, गाउँपालिकाका प्रमुख र वडा अध्यक्षले बुझ्नु अत्यन्त आवश्यक छ । यसमा विपद् व्यवस्थापन, पूर्व तयारीका लागि स्थानीय तहमा स्वयम्सेवक उत्पादन गर्नुप¥यो । स्थानीय सरकारको प्राथमिकतामा पर्नुप¥यो । अनिमात्रै विपद्बाट हुने जोखिम कम गर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: