प्रसूति गृह भन्छः पुरुष कुरुवा निषेध


प्रकाशित मिति :2018-07-03 17:59:43

–सन्दिप वि.क–

मिति : असार १८ गते सोमबार
समय : रातको १० बजे ।

काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल । महिला बिरामीको खचाखच । आकस्मिक कक्षदेखि सबै वार्डमा महिला मात्रै । जहाँ देशभरका महिलाहरू श्रीमानसँग वा आफन्तसँग स्वास्थ्य समस्या लिएर आउँछन् ।

सेतो विल्डिङको ३ तलामाथिको गेटमा सोमबार राती १० बजे सुरक्षा गार्डलाई श्रीमतीको कुरुवा बस्न पाउँ भन्दै पटक –पटक अनुरोध गर्दै थिए, सिन्धुली घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय रमेश खत्री ।

२४ वर्षीया उनकी श्रीमती फूलकुमारी दुई महिनाकी गर्भवती हुन् । बिरामी भएसँगै श्रीमान खत्रीले आइतबार राती अस्पताल भर्ना गराएका थिए ।

‘त्यो दिन दाजुभाउजु सँगै आयौं । श्रीमतीको कुरुवा भाउजु बस्नुभो । हामी चाहिँ अस्पतालको टिकट काउन्टर नजिए गएर सुत्यौं’ रमेशले भने ।
भाउजुको पनि सानो बच्चा भएकाले उनीहरू भोली पल्ट कोठामै फर्किए । अस्पतालमा बाँकी रहे रमेश मात्रै ।
रमेशकी श्रीमतीको गर्भ पाठेघर नलिमा बसेकै कारण तुहियो । श्रीमतीको अपरेशन गर्नुपर्ने भो । अपरेशनपछि आइतबार फूलकुमारीलाई आइसीयूमा राखियो । श्रीमतीलाई आइसीयूमा राख्दा समेत रमेशले भेट्न पाएनन् । उनलाई श्रीमतीको बेडसम्म जाने अनुमति भएन ।

सोमबार फूलकुमारीलाई आइसीयूबाट वार्डमा राखियो । तर उनका आफन्त महिला नहुँदा फूलकुमारी एक्लै भइन् । डाक्टर र नर्सको सोधपुछ बाहेक उनीसँग मुख बोल्ने मान्छेसमेत कोही भएन । धेरै पटक अनुरोध गर्दा समेत रमेशले वार्डको गेटसम्म बस्न पाएनन् ।

उनले भने, ‘श्रीमतीको अवस्था गम्भीर छ । कतिखेर के हुन्छ थाहा छैन । श्रीमतीलाई यो अवस्थामा समेत कुरुवा बस्न पाइएन । श्रीमतीलाई यस्तो हालतमा छोडेर बाहिर कता जानु ।’
अस्पतालका नर्सहरूले श्रीमतीको अवस्था गम्भीर भएकै कारण भित्र बस्ने व्यवस्था मिलाइदिन्छु भन्थे तर पछि केही नगरेको उनले बताए ।
रमेश मात्रै होइन भक्तपुरकै ३० वर्षीया श्रीजन अवालको समस्या पनि त्यस्तै छ । उनी पनि दुई महिनाको गर्भवती श्रीमती लिएर अस्पतालमा शनिबार भर्ना भएका थिए । उनले पनि श्रीमतीलाई कुरेर बस्न पाएनन् ।

अवाल भन्छन्, ‘आफ्नो बिरामी श्रीमतीलाई कुरेर बस्न पाउँदैनौ । त्यस्तो अवस्थाकी श्रीमतीलाई छोडेर बाहिर बस्न बाध्य छु ।’
अवालकी श्रीमतीको पनि अपरेशन भयो । आइसीयूमा राखेर वेडसम्म ल्याए पनि श्रीमतीलाई कुर्ने मान्छे नहुँदा समस्या भएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘श्रीमतीलाई तीन तलामाथि राखिएको छ । कति खेर के हुन्छ थाहा हुँदैन । जतिबेला पनि औषधि चाहिन सक्छ । यस्तो अवस्थामा के गर्ने ?’

बर्खाको बेला पानीमा रुज्दै बिरामी श्रीमती त्यसै छोडेर हिँड्नुपर्ने बाध्यता रहेको अवाल गुनासो गर्छन् ।
गोरखा घर भई हाल ललितपुर लुभु बस्दै आएका निशान बराम पनि अस्पतालले पुरुषलाई बिरामी कुरुवा बस्न नदिँदा समस्या भएको बताउँछन् ।

‘गाउँबाट श्रीमानहरू श्रीमती लिएर आउँछन् । तर उनीहरू बिरामी श्रीमती कुर्न पाउँदैनन् । बिरानो शहरमा आफ्नो श्रीमती कुरिदिने कुन महिला खोज्नु ?’ उनले भने, ‘अस्पतालले यो नियम परिवर्तन गरे सबैलाई राहत हुन्थ्यो ।’

अस्पतालमा २८ वर्षदेखि सुरक्षा गार्डको रुपमा काम गर्दै आएका टिकाराम खत्री प्रशासनको आदेश अनुसार नै आफूहरूले रातीको समय पुरुषलाई भित्र छिर्न नदिएको बताउँछन् ।

खत्री भन्छन्, ‘पहिलेदेखि नै पुरुषलाई कुरुवा बस्न प्रतिबन्ध लगाइएको छ । कसैको कुरुवा पुरुष हुन्छन् । तर उनीहरू श्रीमती एक्लै छोडेर बाहिर जान बाध्य हुन्छन् । हामीले भनेर मात्रै के गर्ने, माथिकै आदेश यस्तो छ ।’

पाठेघरमा भएको सिस्टको अपरेशन गर्न सोमबार प्रसूति गृहमा भर्ना भएकी लमजुङकी एक महिलाले पनि कुरुवा बिना नै रात काटिन् ।
काठमाडौंमै पत्रकारिता गर्ने उनका श्रीमान सोमबार श्रीमती भर्ना गराए ।

अस्पतालले दिएको गेट पासमै लेखिएको छ ‘यो कार्डबाट रातीलाई एक जना महिला कुरुवा राख्न दिइनेछ । पुरुष कुरुवा बस्न दिइने छैन ।

गेटपासमा लेखिएको कुराले पत्रकार झस्किए । उनले श्रीमती कुर्न आफन्त, नातागोतामा महिला खोजे । तर सम्भव भएन । त्यसपछि श्रीमतीलाई एक्लै छोडेर आफू कोठामा फर्किए ।

श्रीमती कुर्न महिला नपाएका पत्रकारले महिला खबरसँग भने, ‘बिरामीका कुरुवा श्रीमानको विश्वास हुन्न भने बिरामीको उपचार गर्ने पुरुष डाक्टरको पनि के विश्वास त ? पुरुषलाई बिरामी कुर्न नदिने अस्पतालले सबै फाँटमा महिला कर्मचरी राख्नु पर्दैन ? यो सरासर गल्ती हो । अस्पताल प्रशासनले यो नियम फेर्नु पर्छ ।

अस्पतालका प्रमुख डा. जागेश्वर गौतम भने महिलाको सुरक्षाको लागि नै अस्पतालले पुरुष कुरुवा बन्देज गरेका बताउँछन् ।

अस्पतालमा पुरुष कुरुवा राख्दा महिलाहरू बलात्कृत समेत भएको उनले उदाहरण दिए । अस्पतालमा एउटै नियतले मान्छेहरू नआउने भन्दै महिलामाथि हुन सक्ने सम्भावित दुव्र्यवहार रोक्न यस्तो नियम बनाइएको उनको दाबी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: