सन्तान जन्माउन मृत्यु रोज्नुपर्ने


प्रकाशित मिति :2018-07-04 12:46:13

–सुजता लामा–

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकाली सिस्नेरीकी २१ वर्षीया सुनिता तामाङले अघिल्लो वर्ष जेठ ९ गते दिउँसो उनले घरमै छोरी जन्माएकी थिईन् । आफू भने बाँच्न सकिनन् ।

उनको घर नजिकै भद्रकाली स्वास्थ्य चौकी छ । तर त्यसमा प्रसूति सेवा छैन । त्यसैले उनी घरमै सुत्केरी भईन् । बिहान ७ बजेबाट सुनितालाई सुत्केरी बेथा लागेको थियो । बेथा लागेको ५ घण्टापछि अर्थात् दिउँसो १२ बजे उनले छोरी जन्माईन् ।

छोरी जन्मियो, साल भने झरेन । त्यसपछि लगातार रगत बग्न थाल्यो । सुनिता आलसतालस भईन् । आफन्तहरू अत्तालिए । सुनिताका श्रीमान अरुण तामाङले उनलाई जिल्ला अस्पतालमा लैजाने निधो गरे ।

घरदेखि गाडी चढ्ने सडकसम्म ल्याउनै लागि आधा घण्टा हिँड्नुपर्थ्याे । बिरामी बोकेर उकालो बाटो चढेर ल्याउन त झनै १ घण्टा लाग्थ्यो । उनको भने रगत बग्न थामिएको थिएन ।

त्यही पनि झोलुंगोमा बोकेर ल्याउँदै गर्दा बाटो मै तन्नाको झोलुंगो च्यातियो । सुनिता लडिन् । त्यसपछि भने उनलाई झनै गाह्रो भयो ।

झण्डै साढे २ घण्टामा सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइपुर्याईयो । सुनिताको अवस्था झन् झन् गम्भीर हुँदै गएको थियो । तर अस्पताल ल्याउनेबित्तिकै सुनिता सँधैको लागि विदा भईन् ।

जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमका अनुसार सुनितालाई समयमै अस्पताल ल्याइएको भए उनी बाच्थिन् । अत्याधिक रक्तश्रावका कारण शरीरमा रगतको मात्रा कम भएकाले उनको ज्यान गएको डाक्टर गौतमको भनाइ छ ।

ज्योमोमाया घिसिङको घर हरिहरपुरगढी गाउँपालिका १ हो । उनको गाउँ नजिक एउटा पनि बर्थिङ्ग सेन्टर छैन । हरिहरपुरगढी गाउँपालिकामा ५ वर्षको अवधिमा ४ जना महिला सुत्केरी हुन समयमा अस्पताल पुग्न नसक्दा ज्यान गएको हरिहरपुरगढी स्वास्थ्य चौकीका अहेव तेजनारायण शाहले बताए । हरिहरपुरगढीका अधिकांश महिला सुत्केरी हुन कि त काभ्रेको पालढुंगा कि मकवानपुरको हेटौंडा जाने गर्छन् ।

ज्योमोमाया पनि गर्भवती थिईन् । गएको फागुन ४ गते सुत्केरी बेथा लागेपछि उनलाई काभ्रेको पालढुंगामा लगियो । उनले शिशु जन्माइन् । तर बचाउन सकिएन ।

बेलैमा अस्पताल नल्याएका कारण शिशु बचाउन नसकेको डक्टरहरूले बताएको उनका श्रीमान स्याबाङ घिसिङले सुनाए ।

ज्योमोमाया भन्छिन्, ‘कति दुःख गरेर ९ महिनासम्म गर्भमा राखें । पीडा खपेर जन्माएँ । तर बेलैमा अस्पताल पुर्याउन नसक्दा सन्तान जोगाउन सकिएन ।’

ज्योमोमायाको एउटा पनि सन्तान छैनन् । त्यसैले उनलाई फेरि पनि सन्तान जन्माउनु छ । ‘एक पटक नै राम्रो भएको भए फेरि दुःख पाउनुपर्ने थिएन । फेरि दुःख खेप्नुपर्ने भयो’ उनले पीडा पोखिन् ।

 सिन्धुलीको हरिहरपुरगढी स्वास्थ्य चौकी

    ऋणको थप भार

हरिहरपुरगढीकै रीता घिसिङलाई गएको बैशाख ३ गते बेलुका ८ बजेबाट सुत्केरी बेथा लाग्यो । त्यसपछि उनलाई काभ्रे जिल्लाको पालढुंगाको स्वास्थ्य चौकी लगियो ।

गाडीको सुविधा नभएको हरिपुरगढीबाट पालढुंगासम्म पुग्न ४ घण्टा लाग्छ । रीताका श्रीमान सत्यमान घिसिङले छिमेकी दाजुभाईको सहयोगमा श्रीमतीलाई अस्पताल लगे । बाटो लामो भएकाले थोरै मानिसले बोक्न नसक्ने भएपछि गाउँका १३ जना छिमेकीको सहयोगमा रीतालाई अस्पताल लगियो ।

कतै जंगल, उकालो, ओरालो त कतै खोलाको बाटो हिँडेर ४ घण्टामा उनीहरू बल्ल पालढुंगा पुगे । रीतालाई भने ४ घण्टाको समय ४ वर्ष भन्दा बढी लाग्यो । तन्नाको डोलीमा बस्दा दुखेको खण्डमा यता उता हल्लिने स्वतन्त्रता समेत थिएन उनलाई ।

रीता भन्छिन्, ‘बाटो उकालो र ओरालो भएकाले हल्लिनेबित्तिकै लड्ने हुँदा एकदमै दुख्दा समेत हलचल गर्न पाइन । सासै रोकिएला जस्तो हुन्थ्यो, तर खपिरहें ।’

अस्पताल पुगेको करिव आधा घण्टा जतिमा उनले शिशु जन्माइन् । अस्पताल पुर्याउन एकै छिन् ढिलो भएको भए रीताको ज्यान समेत जान सक्ने डक्टरहरूले बताएका उनका श्रीमान सत्यमानले सुनाए ।

रीतालाई बोकेर गएका १३ जना र सत्यमानलाई ३ दिनसम्म खाने बस्ने गर्दा १० हजार भन्दा बढी खर्च लाग्यो । सत्यमानले भने, ‘आफ्नै ठाउँमा सुत्केरी गराउने ठाउँ भएको भए घरबाट खाना ल्याइन्थ्यो । खर्च पनि धेरै लाग्ने थिएन । लामो र अप्ठ्यारो बाटोमा बोक्नुपर्ने दुःख पनि हुन्थेन । हामी जस्तो बिहान बेलुकै काम गरेर खाने मानिसलाई ऋणको भारी मात्रै ।’

हरिपुरगढी सदरमुकामबाट सबैभन्दा टाढा रहेको गाउँ हो । त्यहाँ कच्ची सडक पुगेको ३÷४ वर्ष मात्रै भयो । त्यहि कच्ची सडक पनि वर्षात्को बेला मरिण खोलामा आउने बाढीले रोकिन्छ ।

अनि सुत्केरी, बिरामीलाई जिल्ला अस्पताल पुर्याउन सकिँदैन । अन्य जिल्लाहरूमा लैजान धेरै समय लाग्ने भएकाले कतिपय सुत्केरीले अकालमै ज्यान गुमाउन परेको छ । भने कतिपय नवजात शिशुको उपचार अभावमा जन्मिनेबित्तिकै ज्यान गएको छ ।

त्यतिमात्र हैन सुत्केरी हुन जिल्ला बाहिर लैजादा बिहान बेलुका मजदुरी गरी खानेलाई त ऋणको भार मात्रै थपिने गरेको छ । त्यसैले पनि हरिहरपुरगढीका अधिकांश महिलाहरू सुत्केरी हुनुलाई मृत्यु रोज्नुसरह ठान्छन् ।

रीताले भनिन्, ‘आफ्नो ठाउँमा सुत्केरी हुने अस्पताल नभएपछि आमा बन्दा पनि मरिन्छ कि भन्ने डर भयो ।’

१५ दिनअघि नै घर छोड्नुपर्ने बाध्यता

फिक्कल गाउँपालिका २ खाङसाङकी उषा ढकाललाई पनि गाउँको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुन निकै गाह्रो भयो ।

ढकाललाई डाक्टरले २०७३ असोज २१ गते सुत्केरी हुने मिति तोकिदिएको थियो । सुत्केरी हुने मितिसम्म गाउँमै बसे ज्यान जोखिममा पर्ने चिन्ता भयो ।

उनी असोजको पहिलो साता नै ओखलढुंगा गइन् । खाङसाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नभएका कारण प्रसूतिको लागि अगाडी नै ओखलढुंगा जिल्ला गएको उनले सुनाइन् ।

दुई हप्ता अघिदेखि श्रीमान श्रीमती घर छोडेर अस्पताल बस्दा घर व्यवहार समाल्ने मान्छे नभएको उषाका श्रीमान राजु ढकालले बताए ।
एउटा गाई र एक दर्जन भन्दा बढी बाख्रा स्याहार्न छिमेकीलाई अनुरोध गरेको ढकालले बताए ।

‘आफ्नै ठाउँमा सुत्केरी हुने अस्पताल भएको भए २ हप्तासम्म अरुको ठाउँमा गएर महंगोमा खानु बस्नु पर्ने थिएन । सुत्केरी हुने मिति भन्दा अगाडि नै बेथा लाग्यो भने के गर्नु । घरमै सुत्केरी हुँदा के हो के । ज्यान समेत जानसक्थ्यो । त्यसैले सुरक्षित हुन त अगाडि जानै पर्यो’ उषाले भनिन् ।

नभन्दै असोज २१ गते सुत्केरी हुने मिति दिइएको भए पनि उषाले १८ गते नै शिशु जन्माइन् । अस्पतालमा दक्ष प्रसूतिकर्मीको सहयोगमा सुत्केरी भएकोले आमा र शिशु दुवै स्वस्थ छन् ।

५५ मध्ये २५ मा मात्रै बर्थिङ सेन्टर

खाङसाङमा पनि सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर छैन । त्यहाँका अधिकांश गर्भवती महिला सुत्केरी हुन ओखलढुंगा वा उदयपुर जिल्ला जाने गर्छन् । सदरमुकाम सिन्धुलीमाढीको जिल्ला अस्पतालमा भन्दा उनीहरूलाई यी दुई जिल्ला नै नजिक पर्छ ।

आफ्नै ठाउँमा बर्थिङ सेन्टर नभएका कारण आमा र शिशु सुरक्षित हुन खाङसाङका गर्भवती महिला १/२ हप्ता अघिदेखि नै ओखलढुंगा र उदयपुर गएर बस्न बाध्य छन् ।

सिन्धुली जिल्लाको साविकका ५३ गाविसमा ५५ स्वास्थ्य चौकी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ५५ मध्ये २५ स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर छ ।

नेपाल सरकारको देशभरका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर लागु गर्ने कार्यक्रम भए पनि सिन्धुलीका आधा भन्दा धेरै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर नहुँदा सुत्केरी अवस्थामा महिलाहरूले निकै नै समस्या भोग्नु परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गौरब ढकाल भने स्वास्थ्य चौकीबाट बर्र्थिङ सेन्टरको माग नआएकाले सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर पुग्न नसकेको बताउँछन् ।

उनका अनुसार स्थानीयले हाम्रो ठाउँमा बर्थिङ सेन्टर आवश्यक छ भनेर स्वास्थ्य चौकीका इन्चार्जलाई भन्नुपर्छ । इन्चार्जले स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकमा कुरा राखेपछि त्यो माग बैठकले पास गरी जिल्लामा सिफारिस माग्न आउनुपर्ने हुन्छ ।

अहिले भइरहेका स्वास्थ्य चौकी बाहेकका अन्य स्वास्थ्य चौकीले बर्थिङ सेन्टरका लागि सिफारिस माग्नै नआएको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयमा सिफारिस माग्न आए सिफारिस गरिदिने अन्यथा जनस्वास्थ्य कार्यालयले केही गर्न नसक्ने उनको भनाइ छ ।

(सुजता लामा सिन्धुलीबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: