– प्रा. डा गोविन्दमान सिंह कार्की
योगमाया भोजपुरको सिम्लेमा १९२५ सालमा जन्मिनुभएको हो । उहाँले आजैको दिन अर्थात् १९९८ असार २२ गतेको दिन ६८ जना अनुयायी सहित जल समाधी लिनुभएको हो ।
उहाँले सामाजिक विकृति विसंगती, जातीभेदको विरुद्धमा, सती र दासको विरुद्धमा, महिला माथि भएको शोषणको विरुद्धमा आवाज उठाउनुभयो । अझ विशेष गरी उहाँले असमानताको विरुद्धका आवाज उठाउनुभयो ।
अर्को, आर्थिक असमानताका विरुद्ध धनी र गरिबबीच भएको असमानताको विरुद्धमा उहाँले आवाज उठाउनुभएको छ । साना पाथी, ठूला पाथीका कुरामा आवाज उठाउनुभयो ।
त्यतिबेला भएको धार्मिक विसंगती विरुद्ध पनि उहाँले आवाज उठाउनुभयो । आडम्बरी धर्मको विरोध गर्नुभयो । खासगरी ब्राम्हणबाटै भएको विसंगतीको विरुद्ध आवाज उठाउनुभयो ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको राजनीतिक सुधारको विषय हो । उहाँले न्याय क्षेत्रमा भएका विकृति विसंगती, राजनीतिमा भएको निरंकुश प्रवृत्तिका विरुद्दमा पनि उहाँले जुद्ध शमशेरलाई भेटेरै कुरा राख्नुभयो ।
तर उहाँले भने अनुसार विसंगती हटेन । त्यसको विरोध स्वरुप उहाँले १९९५ सालमा २४० जना अनुयायीहरु सहित अग्नी दाहको योजना बनाउनुभयो ।
तर सरकारले ५ सय जना सेनाको फौज पठाएर पक्राउ गरी असफल पार्यो । त्यसपछि १९९८ साल असार २२ गते आफ्ना ६८ जना सहयोगी सहित अरुण नदीमा जल समाधी लिएर जीवन समाप्त गर्नुभयो ।
धेरै मुद्दाहरु जुन योगमायाले उठाउनुभएको थियो त्यो अझै पूरा भएको छैन । आज पनि छाउपडीका कुरा छन्, महिला हिंसाका कुरा छन्, बेचविखनका कुरा छन्, बलात्कार र हिंसाका कुरा छन् । ति विकृतिहरु हिजोभन्दा अझ संवेदनशिल रुपमा आएका छन् ।
त्यसैले महिला मुक्तिका विषयमा अझै पनि योगमायाले उठाएका कुराहरु, जातीभेद अझै पनि समाजमा छन् । त्यसैले यी सबै उन्मूलनको लागि अहिलेको समाजले योगमायाले उठाएका समाज सुधारका कुराहरु बोक्नुपर्ने देखिन्छ ।
(प्रा. डा. कार्की योगमायाको विषयमा खोज अनुसन्धान प्रकाशित पुस्तक समाजसुधारक योगमाया किताबका लेखक हुन्)
Comment Here!