सडक संघर्षका १२ वर्ष


प्रकाशित मिति :2018-07-08 17:16:10

–इन्द्रसरा खड्का–

ललितपुर । आकासमा टम्म बादल । घरी घाम लाग्छ, घरी पानी पर्छ । वर्षाको समय कतिखेर पानी पर्छ, कतिखेर घाम लाग्छ थाहै नहुने ।

चर्को घाम लागे नजिकैको रुखमुनि ठेलागाडा सार्ने । पानी परे छाता ओढेरै चटपटे बेच्न व्यस्त हुन्छिन्, सानु कान्छि तामाङ ।

काठमाडौंकै कुलेखानीकी सानु कान्छिले जावलाखेलको खरीबोटमा ठेलागाडामा चटपटे र पानीपुरी बेच्न थालेको २ महिनामात्रै भयो । तर यसै गरी ज्यामी, मजदुरी गर्र्न सडकमै काममा ओर्लेको भने १२ वर्ष पुग्यो । यो भन्दा पहिले उनीे सडक, घर निर्माणमा विभिन्न ठाउँमा मजदुरी गर्थिन् ।

सानु कान्छी १३ वर्षकी छोरीको पूर्ण सहारा पनि हुन् । आमाछोरीको साँझ बिहानको छाक टार्नकै लागि ज्याला मजदुरी गर्नुपर्छ । उनले जाँगर नचलाए छोरीको पढाई लेखाई र साँझ बिहानको रोजीरोटी चल्दैन ।

उनी अहिले ३६ वर्षकी भइन् । उनको माईती काठमाडौंकै दक्षिणकाली हो । कुलेखानीका कुमार लामासँग बिहे गरेकी उनलाई विहे गरेको कति वर्ष भो भन्ने ठ्याक्कै थाहा छैन । उनले पढेलेखेकी पनि छैनन् ।

विहे गरेको २ वर्षसम्म श्रीमानले राम्रै व्यवहार गर्थे । गाडीचालक उनले गाडी त राम्रै चलाउँथे । तर आफ्नै जीवनको गाडीप्रति ध्यान दिएनन् । उनलाई श्रीमती र छोरीको जीवनसँग मतलव छैन । जस्तो गाडीको यात्रा हुन्छ, आज यता त भोली अर्कै ठाउँमा । हो ठ्याक्कै त्यस्तै छ उनको आफ्नो जीवन पनि । आज एउटा महिलासँग तर भोली अर्कै । उनले कति महिलासँग विहेको नाटक गरे, त्यसको पनि टुंगो छैन ।

‘गाउँलेहरू भन्छन् तेरो श्रीमान बिहे गर्दै हिँड्छ । तर मेरो आँखाले म भन्दा पछि २ जनासँग मात्रै बिहे गरेको देखे ।’ सानु कान्छीले निर्दोष पारामै यसो भनिन् ।

श्रीमानले अर्को विहे गरिसकेपछि उनी सल्यानको चाफागाउँमा गएर दिदीको घरमा बसिन् । तर पछि काठमाडौं नै फर्केर मजदुरी गर्न थालिन् ।

श्रीमान कहाँ बस्छन्, कोसँग बस्छन्, के गर्छन् अत्तोपत्तो छैन । २०७२ सालदेखि श्रीमान देखेकी पनि छैनन् उनले ।

तीन वर्षको प्रेमपछि सुटुक्क कुमारसँग भागेर विहे गरेको उनले बताइन् । ‘एक अर्का बिना बाँच्नै नसक्ने भयौं । जीवनभर एक अर्काको साथ नछोड्ने बाचा गर्यौं । तर उसले विहे गरेको २ वर्ष नपुग्दै बाचाकसम तोड्यो । मलाई धोका दियो ।’ तर आफैले मन पराएर विहे गरेको मान्छेले यसरी धोका दिएपछि भाग्यको खेल सम्झेर चुपचाप पीडा सहनुको विकल्प भएन उनलाई ।

छोरी मान्छेको जीवनमा बुबाआमा बाहेक साह्रो गाह्रो बुझ्ने अरु कोही हुन्छन् भन्ने थाहा छैन उनलाई । तर सानु कान्छीका बुबाआमाको भौतिक शरीर छैन । ‘बुबाआमा नै नभएपछि कसलाई सुनाउनु ?’ पीडामिश्रित आवाजमा बोलिन् उनी ।

जीवनभर प्रेम गर्छु भन्दै विहे गरेको लोग्नेले धोका दिएपछि उनलाई सबक सिकाउन मन लागेको छ सानु कान्छीलाई । तर प्रहरीमा उजुरी दिन पनि पैसा लाग्छ भन्ने सुनेकी रहिछन् । मजदुरी गरेको पैसाले पेट पाल्नै मुस्किल हुने मान्छेलाई अड्डा अदालत धाउने पैसा जुटाउने हिम्मत छैन । ‘पैसा भएको भए कार्वाही गराउने थिएँ’ उनको बोलीमा प्रतिसोध प्रष्टै देखिन्थ्यो ।

मन परेको मान्छेले छोटो समयमै दिएको धोकाले उनलाई जीवन निरस लागिरहेको छ । ‘जिन्दगी धिक्कार लाग्छ मलाई’ उनले भनिन्, सानोमा आमाबुवाको काखमा हुँदा जति खुसी भएँ भएँ । त्यो बेला दुःख सुख के हो थाहै भएन । जब सुख, दुःख, पीडा छुट्याउन सक्ने भएँ, त्यो बेलादेखि सुख नै छैन ।’

उनी अहिले चटपटे बेचेर दैनिक १५ सयदेखि २ हजारसम्म कमाउँछिन् । हिजो अरुकोमा दैनिक ज्याला मजदुरी गरेर कमाएको भन्दा आज आफ्नै व्यवसायको नाफासँग उनी सन्तुष्ट छिन् । यसैगरी चलिरहे छोरी र आफ्नो पेट पाल्न समस्या नहोला भन्ने लागेको छ उनलाई ।

मन परेको मान्छेले छोटो समयमै दिएको धोकाले उनलाई जीवन निरस लागिरहेको छ । ‘जिन्दगी धिक्कार लाग्छ मलाई’ उनले भनिन्, सानोमा आमाबुवाको काखमा हुँदा जति खुसी भएँ भएँ । त्यो बेला दुःख सुख के हो थाहै भएन । जब सुख, दुःख, पीडा छुट्याउन सक्ने भएँ, त्यो बेलादेखि सुख नै छैन ।’

अब उनलाई छोरीको भविष्यकै चिन्ता छ । छोरी ७ कक्षामा पढिरहेकी छन् । छोरीलाई राम्रोसँग शिक्षादिक्षा कसरी दिने भन्ने कुराले सताउँछ उनलाई । ‘कहिलेकाहिँ छोरीलाई दिदीसँगै छोडेर काम गर्न विदेश जाउँ कि जस्तो लाग्छ । यसको लागि पनि पहल गरिरहेकी छु’ उनले भनिन् ।

‘मेरो जस्तै दुःख मेरो छोरीले नपाओस् । म पढेलेखेको नभएर नै मैले यस्तो समस्या भोगिरहेकी छु कि जस्तो पनि लाग्छ । अब मेरो छोरीको लागि भए पनि मैले सडकमै काम गरेर बस्नु छ’ उनले छोरीको भविष्यप्रति चिन्तित हुँदै भनिन् ।

जीवन गुजाराका लागि दिनदिनै मजदुरी गर्नुपर्दा कस्तो लाग्छ त सानु कान्छिलाई ? भन्छिन्, ‘मभन्दा गरिव, बेसहारा र दुखीहरुलाई देख्छु । अनि आफ्नो जीवनसँग सन्तुष्ट हुने आधार देख्छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: