गंगामाया बोलिन्, ‘सरकार मलाई फाँसी दे !’


प्रकाशित मिति :2018-07-10 14:48:12

-सन्दिप विक–

मेरो छोराको हत्यारामध्ये छविलाल पौडेलको आत्मसमर्पणपछि न्यायको दियो बल्छ कि भन्ने आशा जागेको छ । तर त्यो बल्छ कि निभ्छ थाहा छैन । छविलाल लगायत अझै पाँच जना पक्रिनुपर्ने हो । मेरो बच्चालाई मार्ने ६ जना छन् ।

 

मैले त हत्याका अपराधीलाई सर्वस्व हरणसहित आजीवन कैद भनेको छु । त्यो सरकारले गर्ने हो । अब सरकारले के गर्छ, हेर्न बाँकी छ ।
सरकारले मलाई कस्तो न्याय दिन्छ थाहा छैन ।

पटक–पटक झुक्याएकै कारण म यसरी तड्पिरहेकी छु । तड्पिनु मेरो चाहाना होइन । मेरा श्रीमान नन्दप्रसाद अधिकारीको पनि ३ सय ३४ दिनमा निधन भयो । उहाँलाई सरकारले फाँसी दिएको हो । मेरो छोरा अपराधीले मारिदिए । न्याय खोज्दा सरकारले मेरो सिउँदो पुछिदियो ।

त्यो छविलाल जेल गए पनि नगए पनि मेरो भन्नु त केही छैन । मैले अधिकार मागेको हो । माग्दैछु र मागिरहन्छु ।  एउटा अपराधी जेल गयो भन्दैमा म अनशन तोड्दिन । अब आउने साउन १६ गते यहाँ बसेको सात वर्ष पुग्छ । यो कात्रो (कपडा) ओडेको यतिका वर्ष भयो ।

यो कात्रो छोडेर म केही गरेर खान्छु भनेर उठ्दिन । न्याय पाएको दिन शरीरमा यही बेरेर बाहिर निस्कन्छु । अहिलेसम्म जिवितै छु ।
मेरा खुट्टा त चल्दैनन् । दाइने खुट्टा पुरै अप्रेशन गरेको छ । देव्रे खुट्टा सुन्निएर यत्रो भएको छ । चलाउन सक्दिन । दिसा पिसाब पनि यही बेडबाटै गर्छु ।

मैले सरकारसँग नचाहिने कुराको माग गरेकी होइन । मेरो छोरा मार्ने मान्छेलाई चिनेको छु । हत्यारालाई सजाय दे मात्रै भनेको हो ।
मलाई किन यसरी तड्पाएर राख्छस् सरकार ! अपराधीलाई जेल दिन सक्दैन् भने मलाई फाँसी दिन त सक्छस् होला नि !

सरकार चलाएर मात्रै केही हुँदैन । न्याय अन्याय पनि हेर्नुपर्यो । अहिलेसम्म सरकारी पक्षबाट मलाई सान्त्वना समेत आएको छैन ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय दवावले त्यो अपराधी छविलाल आफै बाध्य भएर अदालत गयो ।

मलाई जहाँ गए पनि पक्रिन्छन् भन्ने डरले त्यसले आफै आत्मसर्मपण गरेको हो । त्यसलाई कुनै प्रहरीले पक्रिएर ल्याएको होइन । यत्रो वर्षसम्म भागेको त्यो भगौडा हो । भगौडा बाध्य भएर आयो ।

त्यो इज्जत बचाउन, धर्म बचाउन के कारणले बाध्य भयो मलाई थाहा छैन । पाप गरेको छ त्यसले । त्यसकै कारणले मैले छोरा गुमाएँ । सिउँदोको सिन्दूर गुमाएँ । आधी रगत मेरो पनि खाइसकेको छ ।

अपराधीलाई कारबाही नभएसम्म म अनशन तोड्दिन । म बाँच्नु र मर्नुको कुनै अर्थ छैन अब । एक दिन मरिन्छ । मर्नै जन्मिएको शरीर हो । मेरो तहस नहस भएको छ । यिनीहरूले मेरो श्रीमान, छोराको रगत खाइसके । अब उपाय लाग्दैन भनेर आत्मसमर्पण गरेको हो छविलालले ।

मैले अन्न भात नखाएको ६ वर्ष पूरा भएर सात वर्ष हुन लाग्यो । तर पनि अहिलेसम्म म बोल्न सक्दैछु । सलाईन पानी लगाइएको छ । अक्सिजन दिइएको छ ।

यो शरीर कहिले सुक्छ । कहिले फुल्छ । तर कसरी बाँचेकी छु थाहा छैन । म न्याय पाएर मात्रै मर्ने हो । सानो पीडाले अनशन बसेकी होइन । अनशन बस्नु सामान्य कुरा हो भने ती अपराधीहरू आएर बसुन् मैले जसरी ।

(काठमाडौंको वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले छविलाल पौडेलले आत्मसमर्पण गर्नुभो । तपाईंले अनशन तोड्नु हुन्छ कि हुन्न् ? भन्ने प्रश्नमा बोलेको कुरा जस्ताको तस्तै ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: