गरिबी निवारण कोषकोे यौन हिंसा प्रकरण मेलमिलापमा परिणत
समाचार फलाेअप
–महिला खबर–
ललितपुर । गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसी विरुद्ध यौन हिंसाको उजुरी गर्ने महिला कर्मचारी मेलमिलापको लागि राजी भएकी छिन् । सोही कार्यालयकी एक सहायक स्तरकी कर्मचारी महिलाले केसीलाई यौन हिंसाको आरोप लगाएकी थिइन् ।
मेलमिलापको लागि सहमती गरेर ती महिला र केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संयुक्त निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार यहि असार १७ गते मिलापत्रको लागि दुवैजनाको संयुक्त निवेदन दर्ता भएको छ ।
यद्यपि, जिल्ला प्रशासन कार्यालयले भने मिलापत्रको निवेदन उपर थप कारबाही अघि बढाएको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी बासुदेव घिमिरेले चारटा सर्तसहित मेलमिलापको निवेदन परेकोले मुद्दाको अन्तिम टुंगो लगाउनुअघि प्रशासन आन्तरिक छलफलमा रहेको बताए ।
‘चार बुँदाको सर्त सहित मेलमिलापको निवेदन आएको छ’ घिमिरेले भने, ‘हामी निवेदन उपर छानबिन गर्दै छौँ ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएको जेठ २२ गते ती महिलाले केसीले आफूमाथी छुट्टिको दिन काम छ भनी बोलाई यौन हिंसा गरेको भनी उजुरी दर्ता गरेकी थिईन् ।
गरिवी निवारण कोषका कार्यकारी निर्देशक विरुद्ध यौन हिंसाको उजुरी
उजुरी पछि जिल्ला प्रशासनले प्रतिवादी केसीको बयान र वादी महिलाको बकपत्र पनि गराइसकेको थियो । महिलाले दिएको बकपत्र र उजुरीको विवरण एउटै भए पनि मेलमिलापमा भने आफूमाथी कुनै अन्याय नपरेको उल्लेख भएको सहायक प्रजिअ घिमिरेले बताए ।
जिल्ला प्रशासन कार्यालयले असारको १२ गते उजुरी गर्ने महिलाको बकपत्र गराएको थियो । त्यसको पाँच दिनपछि अर्थात् असार १७ गते मेलमिलापको संयुक्त निवेदन दर्ता भएको हो ।
केसी र ती महिला भने प्रशासनको फैसला कुरेर बसेका छन् । मुद्दाबारे कुराकानी गर्न सम्पर्क गर्दा दुवै जनाले अन्तिम फैसला अघि केही नबोल्ने बताए । साथै उनीहरुले समाचार नलेखिदिन समेत आग्रह गरेका थिए ।
Comment Here!