कमजोर हुँदा हेप्थे, बलियो भएपछि सल्लाह माग्छन्


प्रकाशित मिति :2018-07-15 14:34:26

– ऋषि राई –

उदयपुर । कटारी नगरपालिका –४ उदयपुरकी विरु कायस्थ (४७) एकल महिला हुन् । जिल्लामा उनले लघु उद्यमी महिलाका रुपमा परिचय बनाईसकेकी छन् । स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा समेत निर्वाचित कायस्थले सानोतिनो संघर्षले यो परिचय स्थापित गरेकी भने होईनन् ।

२०६१ सालमा श्रीमान दिपकराज कायस्थको निधन भएपछिको जीवनको आरोह अवरोहमा कायस्थले धेरै अप्ठ्यारा घुम्तीहरू पार गरेकी छन् । ‘दुःखको के कुरा गर्नु सम्झिन पनि मन लाग्दैन्’ कायस्थ भन्छिन्, ‘अरुको के कुरा गर्नु घरपरिवारले नै कुरा काट्थे । राम्रो लगाएर हिंड्न समेत मिल्दैनथ्यो ।’

विरु कायस्थ

३ जना साना छोरा हुर्काउन पढाउन उनले धेरै पसिना बगाईन् । ‘श्रीमानको घडी मर्मत गर्ने पसल थियो, आफूसँग सीप थिएन आउने ग्राहकलाई पर्खाएर अन्तै बनाएर पनि दिएँ’ कायस्थले विगत सम्झिईन् ‘बाध्य भएपछि के गर्नु । जानीनजानी कति घडी आपैmले बनाएँ, कति बिगारेँ ।’

त्यसपछि विस्तारै दालमोठ भुजिया बनाउने तालिम लिईन् अनि व्यवसाय गरिन् उनले । तालिम दिन पनि थालिन् । एकल महिलाहरूलाई संगठित गर्ने काममा निरन्तर लागिन् । अहिले एकल महिला सञ्जाल कटारीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै छिन् ।

दालमोठ भुजिया, एकल महिलाहरूको कृषी फर्म सञ्चालनमा ल्याएपछि विस्तारै कायस्थ आत्मनिर्भर बन्दै गईन् । समाजमा संघर्ष गर्दै आफै आत्मनिर्भर बनेपछि समाज हार्दो रहेछ । ‘अहिले त कुरा काट्ने होईन । सीप सिक्नका लागि चाहिँ म कहाँ आउँछन् ।’ कायस्थले थपिन् ।

उनका अनुसार वडामा अन्य एकल महिलाहरूले पनि सामूहिक तरकारी खेतीबाट आम्दानी गरिरहेका छन् । कायस्थकै पहलमा वडामा एकल महिलाहरूको समूहले सामूहिक रुपमा तरकारी खेती गर्दै आएका छन् । समूहले गरेको आम्दानी बराबरी बाँडफाँड गर्ने गरेका छन् ।

समाजमा संघर्ष गर्दै आफै आत्मनिर्भर बनेपछि समाज हार्दो रहेछ । ‘अहिले त कुरा काट्ने होईन । सीप सिक्नका लागि चाहिँ म कहाँ आउँछन् ।’ कायस्थले थपिन् ।

१४ असारमा कटारी नगरपालिकाकै वडा नम्बर १ को वेलसोत बजार पुग्दा एकल महिला रिना विश्वकर्मा (३५)आफ्नै कस्मेटिक पसल तथा ब्युटीपार्लरमा एकजना किशोरको कपालमा पहेंलो मेहेन्दी लगाउँदै थिईन् ।

उनले तीन वर्षदेखि यही पेशाले घर व्यवहार टार्दै आएको बताईन् । श्रीमान् मदन विश्वकर्माले ८ वर्ष पहिले २७ वर्षको उमेरमा आत्महत्या गरेपछि रिना २७ वर्षमै एकल भएकी थिईन् ।

संकटकालका कारण नेपाली सेनाको जागिर छाडेर घरमै बसेका श्रीमानको मृत्युपश्चात रिनाले समाजको धेरै हप्कीदप्की सहनु पर्यो । ‘श्रीमानको कारोबार सम्हाल्न जोसँग बोल्यो उहीसँग लाग्यो भन्थे’ रिनाले विगत सम्झिईन्, ‘म माईतीको एक्लो छोरी । घरमा वृद्धा सासूससुरासहित २ छोरीको जिम्मेवारी काँधमा आयो ।’

आफ्नै ब्यूटीपार्लरमा रिना विश्वकर्मा

विस्तारै उनले ब्यूटिसियनको तालिम लिईन् । त्यसपछी २ लाख ऋण लिएर बजारमा पसल सुरु गरिन् । ‘पसलको ऋण पनि तिरेँ, घरव्यवहार टार्दैछु’ उनले भनिन् । आफै आत्मनिर्भर हुन थालेपछि समाजसँग प्रतिष्पर्धामा उत्रेकी रिनाले वडाको दलित महिला सदस्यमा समेत ६ सय ५८ मत ल्याएर जित हात पारिन् ।

कक्षा १० सम्म अध्ययन गरेकी उनले आधारभूत विद्यालय वेलसोतको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेकी छिन् । ‘एकल महिलाले पहिला त घरव्यवहार धान्ने क्षमता आपैmले राख्नु पर्ने रहेछ । त्यसपछि समाज चुप लाग्ने रहेछ’ उनले अनुभव सुनाइन् ।

रिना विधुवा भएपछि उनलाई धेरैले विहेको प्रस्ताव पनि राखे । तर छोरीहरूको भविष्य, परिवारका साथै समाजको जिम्मेवारी सम्हालेर अर्को विवाह नगर्ने निर्णयमा पुगेकी छिन् रिना । उनकै पहलमा वडामा रहेका अन्य एकल महिलाहरूले पनि समूहमा काम गर्ने गरेका छन् । ‘एकल महिलाहरूको समूहलाई सक्रिय बनाउन पहल गरिरहेकी छु’ उनले भनिन् ।

जिल्ला सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका –११ को सिर्जा ब्युटिपार्लर एण्ड ब्यूटिसियन टे«निङ्ग सेन्टरकी सञ्चालन सिर्जना पौडेल (२८) पनि एकल महिला हुन् । ७ वर्ष अघि एकल महिलाहरूको समूहमा बसेर सामूहिक तरकारी खेतिदेखि बगाहास्थित गाउँमै ब्यूटीपार्लर सञ्चालन गर्न थालेकी पौडेल अहिले गाईघाट सहरकै स्थापित ब्यूटीपार्लर सञ्चालक हुन् ।

गाउँमा २० हजार लगानीमा थालेको ब्युटिपार्लरलाई १४ महिनाअघि उनले सहरसम्म पुर्याइन् । अहिले उनको ब्यूटीपार्लरको आय ब्यय ४० लाखको हाराहारीमा छ । अहिले उनी अरुलाई पनि सीप सिकाउन थालेकी छिन् ।

‘बल्लबल्ल २० हजार जम्मा गरेर यो काम थालेकी थिएँ’ पौडेलले संघर्षका दिन सम्झिईन्, ‘अहिले यही व्यवसायबाट सक्षम बनेकी छु ।’ २०६५ सालमा श्रीमान बालकुमार पौडेलको निधनपछि उनले तरकारी खेती व्युटिसियन तालिम हुँदै आत्मनिर्भर हुन हरप्रयास गरिन् र त अहिले आफ्नै सीपमा रमाईरहेकी छिन् ।

२ छोरालाई काठमाडौंमा राखेर पढाइरहेकी सिर्जनाले एउटा बहिनीको जिम्मेवारी पनि सम्हालिरहेकी छन् । ‘समाजले जतिसुकै कुराकाटे पनि आफ्नो काम गर्दै गएँ’ उनले थपिन्, ‘अहिले घर व्यवहार टार्ने समस्या गौण भइसक्यो ।’

सरोकारवालाको पहल

उदयपुरमा एकल महिलाहरूको समूहका लागि काम गर्दै आएको सामुदायिक विकास तथा परिवर्तन केन्द्र उदयपुरले ७ वर्षदेखि एकल महिलाहरूलाई सीपमुलक तालिम दिने समूह निर्माण गरी सामूहिक तरकारी खेती लगायतका आयमुलक काम गर्दै आईरहेको छ ।

एकल महिलाहरूलाई अभैmं आत्मनिर्भर बनाउन थप प्रभावकारी कार्यक्रमहरू ल्याउने तयारीमा रहेको केन्द्रका महासचिव राजु तुलाधरले बताए ।

जिल्लामा ८ वटा एकल महिला समूहहरूको गठन गरी सीपमूलक र आय आर्जनमुलक क्षेत्रमा काम गर्दै आएको केन्द्रले कार्यक्रमलाई निरन्तरता दिने पनि तुलाधरले बताए ।

‘अभैm प्रभावकारी रुपमा सामूहिक तरकारी खेती लगायतका सीपमुलक कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छौं’ उनले भने– ‘हामीले जिल्लाका ८ समूहमा गरी १ हजार १ सय ४८ एकल महिलालाई सीपमुलक तालिम दिएका छौँ ।’

गठित एकल महिलाहरूको समूहलाई सामूहिक रुपमा काम गर्न स्थानीय तहले पनि सहयोग गर्ने गरेको छ । ‘सामूहिक तरकारी खेती गर्न कटारी नगरपालिकाले पनि सहयोग गरेको थियो ।’

वडा सदस्य समेत रहेकी एकल महिला विरु कायस्थले भनिन्, ‘एकल महिलाहरूका लागि सहयोग गर्न माग गर्दै आएका छौँ ।’ नगरपालिकाकै सहयोगमा नगरका महिलाहरूलाई सीपमुलक तालिमहरू आयोजना हुने गरेको पनि उनले बताईन् ।

एकल महिलाहरूका लागि गठित समूहहरूले आ–आफ्नै स्थानीय तहको सहयोगमा काम गर्दै आएका छन् । केन्द्रका महासचिव तुलाधरका अनुसार केन्द्रले तत्कालिन एक नगरपालिका र १० गाविसका एकल महिलाहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आगामी आर्थिक वर्षमा पनि एकल महिलाहरूका प्रभावकारी कार्यक्रमलाई सहयोग गर्ने गरी कार्यक्रम निर्माण गरिने कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतले बताईन् ।

‘महिलाहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कार्यक्रममा जोड दिएको छु’ राउतले थपिन्, ‘महिलामा पनि एकल महिला, दलित महिला उपेक्षित महिलाको अवस्था परिवर्तन गर्नु नगरको जिम्मेवारी पनि हो ।’

एकल महिला सञ्जाल उदयपुरका अध्यक्ष शोभा दाहालका अनुसार जिल्लामा ६ हजार एकल महिला रहेका छन् । पछिल्लो समय एकल महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोणमा सुधार आउँदै गएको उनको भनाई रहेको छ । आत्मनिर्भर भएसँगै सामाजिक परम्परा तोडिँदै जाने भएकाले पनि समाजले एकल महिलालाई दुव्र्यवहार गर्न नसक्ने उनले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: