श्रीमानबाटै चर्को हिंसामा समलिंगी महिला


प्रकाशित मिति :2018-07-20 15:35:28

–इन्द्रसरा खड्का–

ललितपुर । केही समलिंगी तेस्रोलिंगीहरू भन्छन्, ‘पुरुषको थिचोमिचो र विभेदबाट मुक्ति खोज्ने हो भने महिला–महिलाले विहे गर्नुपर्छ ।’

आफू हुँदाहुँदै लोग्नेले सौता भित्र्याउने, अरु महिलासँग सम्बन्ध गाँस्ने, दाइजोको निहुँमा घर निकाला गर्ने, जलाउने, मार्ने, कुटपिट गर्ने, चरित्रमा शंका गर्ने लगायत श्रीमतीले श्रीमानबाट पाइरहेका शारीरिक र मानसिक यातनाका केही उदाहरण हुन् यी ।

यीनै उदाहरण दिएर केही दिन अघि एक जना समलिंगी महिलाले एउटा कार्यक्रममा भनिन्, ‘पुरुषको यस्तो अत्याचारबाट मुक्ति पाउन समलिंगी विवाहले मान्यता पाउनुपर्छ हो ।’

उनको यो भनाइ सतही रुपमा बुझ्नेहरूलाई ठिकै लाग्यो । र लाग्छ पनि होला । तर यो कुराले मलाई झक्झक्यायो । के समलिंगी विवाह नै पुरुष महिलाबीच हुने वैवाहिक सम्बन्धमा आउने समस्याको विकल्प हो त ? के समलिंगी जोडीभित्र जो श्रीमतीको भूमिकामा छन्, उनीहरू साँच्चिकै ती समलिंगी महिलाले भने जस्तो श्रीमानबाट कुनै खालको विभेद र हिंसा सहँदैनन् ? के उनीहरू विपरितलिंगी जोडीका श्रीमती भन्दा सुख र खुसीको जीवन बाँच्न पाइरहेका छन् ?

यी प्रश्नले बारम्बार घोचेपछि एउटा पत्रकार हुनुको हैसियतले यो कौतुहलताको चिरफार गर्न मन लाग्यो । अनि वर्षौदेखि आफ्नै लिंगका व्यक्तिसँग वैवाहिक सम्बन्धमा रहेका समलिंगी जोडीभित्र भेट्ने निधो गरेँ ।

र, यसै हप्ता समलिंगी तेस्रोलिंगी हक अधिकारका लागि काम गरिरहेको संस्था निलहिरा समाजको काठमाडौंस्थित केन्द्रीय कार्यालय पुगेँ ।
पूर्व निर्धातिर समय अनुसार मेरो भेट भयो आफ्नै लिंगका व्यक्तिसँग विवाह गरेका सात जना समलिंगी तेस्रोलिंगीसँग । जसमा तीन जोडी नै थिए ।

कुराकानीको सुरुआत तपाईंको दैनिकी के हो ? भन्नेबाट सुरु भयो । र कुराकानी समलिंगी तेस्रोलिंगीका लागि भए गरेका ऐन कानुन भन्दा पनि विहे गरेर बसेका जोडीभित्र श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई गर्ने व्यवहारसँग मात्रै सम्बन्धित भयो ।

                               तेस्रोलिंगी पुरुष, भक्ती शाह ‘मिलन’

मेरो प्रश्नको उत्तर भुईंमा खस्न नपाउँदै एक तेस्रोलिंगी महिलाले श्रीमानबाट भोगेको शारीरिक र मानसिक यातनाको नालिबेली सुनाइन् । उनले वैवाहिक जीवनको एक दशकमा श्रीमानबाट पाएको यातनाको फेहरिस्तले झसङ्ग बनायो ।

काठमाडौंकै रैथाने उनी १० वर्ष अघि पश्चिम नेपालका व्यक्तिसँग काठमाडौंमा सम्बन्धमा बसिन् । एउटै लिंगका उनीहरूलाई परिवारले विहे गरेर अन्माउने र भित्र्याउने सम्भावना थिएन । उनीहरू परिवारको अनुमती बिना नै सँगै बस्न थाले । तर अहिले दुवैको परिवारले एक अर्कालाई ज्वाइँ र बुहारी स्वीकार गरिसकेका छन् । केटी पक्षले भने सम्बन्धको प्रचार नगर्न भनेका कारण उनले आफ्नो नाम समाचारमा उल्लेख गर्न चाहिनन् ।

उनी जब सम्बन्धमा बसिन्, अनि सुरु भयो आफ्नै लिंगका ‘श्रीमान’बाट हिंसाको श्रृंखला । ‘मैले कसैलाई फोन गर्ने, भेटघाट गर्ने, हाँसो मजाक गर्ने अवसर कहाँ मिल्थ्यो र ? सँगै बसिरहेका श्रीमानको मुखमै हेर्दै निडरताका साथ उनले थपिन्, ‘यीनले मलाई कुटेको, गाली गरेको, शंका गरेको कुरा लेख्ने हो भने एउटा मोटो किताब नै बन्छ ।’

‘हामी दुबै जनासँग योनी नै छ । चाहाना पो उनलाई केटा बन्ने र मलाई केटी नै बन्ने हो । तर पनि नेपाली समाजका अरु पुरुष जस्तै हुन खोज्ने चाहानाले उनले मलाई पनि विपरित जोडीका अधिकांश श्रीमान झैं शारीरिक र मानसिक हिंसाको कुनै तरिका बाँकी राखेनन्’ उनले सुनाइन् ।

घरको सबै काम गर्ने जिम्मा पनि उनकै रहेछ । उनका श्रीमान भने दिनभर सँगै काम गरे पनि घर कोठामा फर्केपछि थकाई लाग्यो भन्दै बेडमा ढल्किन्छन् । आराम गर्छन् । मोबाइलमा कुराकानी गर्छन् । अनि खाना पकाउने, जुठा भाँडा माझ्ने, ओच्छ्यान मिलाउने, चिया बनाउने, लुगा धुने सबै कामको जिम्मा उनकै थाप्लोमा हुन्छ ।

कुराकानीका क्रममा तेस्रोलिंगी पुरुष भक्ती शाह ‘मिलन’ले समलिंगी तेस्रोलिंगी जोडीभित्र श्रीमतीको भूमिकामा रहेका महिलाहरूले श्रीमानबाटै अनेक हिंसा खेपिरहेको स्वीकार गरे ।

करिब १० वर्षदेखि विहे गरेर श्रीमतीसँग बसिरहेका उनले आफूले पनि पुरुष बन्ने होडमा श्रीमतीमाथि निकै यातना दिएको सुनाए । उनले भने, ‘मैले श्रीमतीलाई कुटेको छु । शंका गरेको छु । अरु समलिंगी महिलासँग बोल्नै दिएको छैन ।’

विगत सम्झिदै मिलनले थपे, ‘मेरो बुबा, दाजुभाई, छिमेकी पुरुष र सहकर्मी पुरुषले आफ्ना श्रीमतीलाई गरेको व्यवहार मेरो मस्तिष्कमा गढेको रहेछ । म पनि पुरुष हुँ । मैले पनि त्यस्तै गर्नुपर्छ भन्ने लाग्थ्यो । अनि शुरु गर्थे श्रीमतीलाई अनावश्यक रुपममा आफ्नो नियन्त्रणमा राख्न ।’

यद्यपि अहिले आफूले गरेका ती सबै कूकार्यप्रति निकै हिनताबोध हुने उनले बताए ।

‘जब समलिंगी तेस्रोलिंगी हक अधिकारका लागि वकालत गर्न थाले । हिंसा र अपराधका बारेमा बुझ्दै गएँ । म आफै झसङ्ग भएँ,’ मिलनले भने, ‘अहिले म श्रीमतीलाई पहिले जस्तो गर्दिन । गर्नेवाला पनि छैन । तर म पुरुष हो । उ मेरो नियन्त्रणमा हुनैपर्छ भन्ने कुराको दम्भचाहिँ पुरुष बन्ने व्यक्तिमा हुँदोरहेछ ।’

उनले आफूले श्रीमतीलाई पहिले जस्तो नगर्ने र सम्बन्ध पनि निकै राम्रो रहेको बताए । उनले यसो भनिरहँदा उनको कुरामा उनकी श्रीमती पनि सहमत थिइन् । श्रीमानको व्यवहार फेरिएकोमा सन्तुष्ट पनि थिइन् ।

अर्की तेस्रोलिंगी महिला पनि सम्बन्धमा बस्न थालेको ६ महिना पुगेको रहेछ । यो जोडीले अहिले आफूलाई सार्वजनिक गर्न चाहँदैन । लुकेरै श्रीमान श्रीमतीको रुपमा बसिरहेका छन् ।

एञ्जल र सौरभको जोडी ।

आफूहरूको सम्बन्धलाई परिवारले स्वीकार गर्ने छाँटकाँट नदेखेपछि अझैं केही समय नखुल्ने योजना छ उनीहरूको । तर समलिंगी तेस्रोलिंगीहरूको हक अधिकारका लागि आफ्नो नाम गोप्य राखेरै वकालत गरिरहेका छन् ।

श्रीमतीको भूमिकामा रहेकी उनले आफ्ना श्रीमानले पनि अरु श्रीमान जस्तै बन्न खोज्ने बताइन् । ‘मैले उनका हरेक कुरा आँखा चिम्लेर मान्नु पर्छ भन्ने सोच्ने रहेछन्’ उनले भनिन्, ‘बिहानै उठ्छन् । अनि कता गफ गर्न जान्छन्, पत्तै हुँदैन । फेरि खाना बेला आइ पुग्छन् । खाना ठिक्क पार्नुपर्ने जिम्मा मेरै हुन्छ ।’

तर यसको ठीक विपरित उनका श्रीमान भने महिलाले बरालिएर हिँड्नु हुन्न भन्छन् । ‘बिना काममा बरालिनु त न पुरुषले ठीक हो, न महिलाले’ उनले थपिन्, ‘तर सबै ठाउँमा उनी जस्तै हिँड्डुल गर्न र सबैसँग बोलचाल गर्न मलाई छुट छैन । महिलाले यसो गर्नुहुन्न, उसो गर्नु हुन्न भन्छन् ।’

‘महिला’ नै काममा तम्सन्छन्

तेस्रालिंगी महिला एञ्जल लामा र सौरभ श्रेष्ठ सम्बन्धमा बसेको २ वर्ष पुग्यो । सँगै बस्न थालेपछि घरायसी कामको बोझ अलि बढी एञ्जलले नै बोक्ने गरेकी छन् । खाना पकाउने र भाँडा माझ्ने काम पनि उनैले गर्छिन् ।

‘आफैलाई अचम्म लाग्छ । सौरभले भाँडाकुडा माझेको, भान्साको काम गरेको मलाई मन पर्दैन । त्यो काम म आफैले गर्नुपर्छ भन्ने लाग्छ’ एञ्जलले भनिन्, ‘मलाई यस्तो लाग्नु सायद सामाजिकीकरणको कारण हो । हाम्रो समाजमा घरायसी कामको जिम्मा महिलाकै हुने परम्परा सिकेका कारण ममा यस्तो सोच आएको हो कि भन्ने लाग्छ ।’

सौरभ अलि बुझ्ने छन् । सिम पिंक २०१८ की विजेता एञ्जल अलि बढी व्यस्त हुन्छिन् । यसो हुँदा घरको काम गर्ने र एञ्जललाई सघाउन उनी भने पछि पर्दैनन् । सकेजति एञ्जललाई सहयोग गर्न तम्सिन्छन् ।

कानुन नहुँदा समस्या

आफूजस्तै सम्बन्धमा बसेका श्रीमानले श्रीमतीलाई गरेको हिंसा सुन्दा र देख्दा सौरभलाई पनि अचम्म लाग्छ । तर समलिंगी विवाहलाई नेपाल सरकारले कानुनी मान्यता नदिएका कारण यसरी बसेका जोडीहरू प्राय सार्वजनिक रुपमा नखुल्ने हुँदा श्रीमतीहरू नै थप अन्यायमा रहेको उनको भनाइ छ ।

‘सँगै बसेका हुन्छन् । श्रीमानले अनेकथरी आरोपमा श्रीमतीलाई हिंसा गर्छ । विवाह दर्ताको अधिकार नहुँदा विहे दर्ता हुँदैन । अनि कसले र किन हिंसा गर्यो भनेर श्रीमतीहरू न्यायका लागि कहाँ जाने ? एञ्जलले प्रश्न गरिन् ।

अधिकारकर्मी एवम् तेस्रालिंगी पुरुष भक्ती शाह ‘मिलन’ पनि विवाहको अधिकार नपाउँदासम्म सम्बन्धमा बस्ने मध्ये श्रीमतीको भूमिकामा रहेकाहरूले थप हिंसा खेप्नुपर्ने जोखिम रहेको बताउँछन् ।

समलिंगी तेस्रोलिंगीहरूलाई विवाहको कानुनी अधिकार भएको खण्डमा श्रीमानको भूमिकामा हुनेले यति विघ्न श्रीमतीमाथि हिंसा गर्ने हिम्मत नराख्ने उनको अनुभव छ । ‘यदि हिंसा गरेको खण्डमा श्रीमतीले उजुरी गर्दा कारबाही हुने डरले पनि उ हिंसा गर्न लालायित हुन्न’ मिलनले भने ।

जोडीको तथ्यांक नै छैन

नेपालमा समलिंगी जोडी यति नै छन् भन्ने कुराको कुनै आँकडा छैन । नेपाल सरकारले हालसम्म विवाहको मान्यता नदिएका कारण र विवाह गरेका जोडीहरू पनि खुल्न नसक्दा जोडीको संख्या यकिन नभएको निल हिरा समाजको भनाइ छ ।

निल हिरा समाजले २०१३ मा गरेको सर्वेक्षण अनुसार नेपालमा समलिंगी पुरुषको संख्या ०.०५ प्रतिशत, समलिंङ्गी महिला ०.३१ प्रतिशत, द्वयलिंङ्गी ०.१५, अंगपरिर्वतन २.१७ प्रतिशत र अन्तरलिंङ्गी १.३५ प्रतिशत छन् ।

यस्तै नील हीरा समाज र अमेरिकी संस्था विलियम्स इन्स्टिच्युटले सन् २०१३ मा गरेको एउटा अध्ययन अनुसार नेपालमा एलजीबीटीआईको संख्या करिब दश लाख रहेको उल्लेख छ ।

निर्वाचन आयोगकाअनुसार पछिल्लो प्रतिनिधीसभाको चुनाबसम्म १ सय ६७ जना तेस्रोलिंङ्गीको मतदाता नामावलीमा नाम रहेको छ ।

समाधान के त ?

सललिंगी जोडीका भोगाइ सुनेपछि विपरितलिंगी जोडीभित्र मात्रै श्रीमानले थिचोमिचो गर्छन् भन्ने भनाइ गलत साबित भयो ।

अझ माथिका केही उदाहरणले त समलिङ्गी जोडीबीच पुरुष बन्ने व्यक्तिको दम्भका कारण श्रीमतीबीच थप हिंसा हुने देखाउँछ । यसको अर्थ समान लिंगीबीचको सम्बन्धमा पनि पितृसत्ता हावी हुने रहेछ ।

त्यसैले समलिंगी जोडी होस् या विपरित लिंगी । दुई जनाबीचको सम्बन्धमा श्रीमान र श्रीमतीबिच तँ भन्दा म ठूलो भन्ने भावनाले दुवै जनालाई खुसी बनाउँदैन ।

अझ समाजले निर्धारण गरेको सम्बन्ध तोडेर समान लिंगीबीचको अधिकार खोजिरहेकाहरूबीच सामाजिक लिंग देखिएको त झन् सुहाउँदै सुहाउँदैन ।

त्यसैले श्रीमान श्रीमतीमा हिंसा गर्ने र हिंसा सहने कोही सुखी र खुसी हुन सक्दैन । एक अर्काप्रति विश्वास, समर्पण र प्रेम भएमात्रै सम्बन्ध प्रगाढ र दिगो हुन सक्ने कुरा सत्य हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: