–महिला खबर–
ललितपुर । लैंगिक हिंसा पीडितलाई एकै ठाउँबाट दिइने अस्पतालमा आधारित ओसीएमसी सेवा ४५ जिल्लामा पुगेको छ ।
लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सेवा काठमाडौंमा प्रसुति गृह थापाथली, भक्तपुरमा जिल्ला अस्पताल भक्तपुरका साथै काठमाडौं बाहिर जिल्ला तथा अञ्चल अस्पतालबाट प्राप्त गर्न सकिने स्वास्थ्य मन्त्रालय लैंगिक समावेशी तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख अरुण गौतमले बताए ।
ओसीएमसी सेवा आर्थिक वर्ष ०७४\०७५ मा १६ वटा थप भई ४५ वटा जिल्लामा पुगेको हो । निशुल्क पाइने यो सेवा लैंगिक हिंसाबाट पीडित महिला र पुरुष दुवैले पाउँछन् ।
धुलिखेल अस्पताल काभे्र, सुनसरी, पाँचथर, सोलुखुम्बु, सर्लाही, तनहुँ, नवलपरासी, बर्दिया, डोटी, प्यूठान, रामेछाप, सिन्धुली, बारा, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सुनसरी, बाँके, डोटी, रुपन्देही, चितवन, तनहुँ, प्यूठान र रौतहटलगायत जिल्लामा ओसीएमसी सेवा शुरु भइसकेको छ ।
ओसीएमसी सेवा अन्तर्गत स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, सुरक्षा, सेवा केन्द्र, कानुनी परामर्श र उपचार, पुनस्र्थापना र सूचना शिक्षा र सशक्तिकरणसमेत पर्दछ ।
ओसीएमसी संचालन निर्देशिका २०७४ का अनुसार, लैंगिक हिंसा पीडित र प्रभावितलाई सेवा संचालन भएको अस्पतालले चौबिसै घण्टा निशुल्क सेवा दिनुपर्छ । उनीहरुलाई चाहिने औषधिहरु चौबिसै घण्टा केन्द्रमा उपलब्ध हुनुपर्ने पनि निर्देशिकाले उल्लेख गरेको छ ।
नेपाल सरकारबाट स्वीकृत लैंगिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना सन् २०१० को उद्देश्यको बुँदा नम्बर (३) अनुसार एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालन निर्देशिका, २०६७ अनुसार यो सेवा शुरु गरिएको हो ।
यसै विषयमा रहेर सञ्चारिका समूहले उत्पादन गरेको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ ।
Comment Here!