रामबहादुरलाई कारबाही गर्न मन छ


प्रकाशित मिति :2018-07-23 10:51:56

–इन्द्रसरा खड्का–

ललितपुर । मेरो घर दोलखा हो । अहिले त्यो गाउँ, गाउँपालिकामा पर्छ की नगरपालिकामा पर्छ, था छैन । हामी ९ जना भाई बहिनी मध्ये जेठो सन्तान म नै हो । त्यो बेलामा छोरी पढाउने चलन नै थिएन । मैले पनि पढेलेखेको छैन ।

१४ वर्षको उमेरमा नजिकै गाउँको व्यक्तिसँग विहे भयो । सानैमा विहे गरिदिँदा घर व्यवहार कसरी गर्नुपर्छ, कस्तो व्यवहार गर्नुपर्छ भन्ने पनि थाहा थिएन ।

अहिले म कति वर्षकी भएँ भन्ने पनि थाहा छैन । ६० त पुगिसकेँ होला । १४ वर्षमै विहे गरियो भन्ने मात्रै थाहा छ । कुन सालमा विहे भएको हो भन्नेचाहिँ थाहा छैन ।

सानैमा विहे गरि पठाउँदा मैले बिहानै उठेर घरको काम गरी बारीको काममा जानुपर्दथ्यो । घरभित्र, बाहिर सबै जाने जतिको काम गर्थे ।
सासू ससुराले उतिबेलादेखि नै काम गर्न आउदैन भन्दै कचकच गर्थे । त्यो कचकच सहेर पनि श्रीमान सँगै बसेँ ।

जाने जति सबै काम गर्थेँ । तर सानै भएकाले केही काम बिग्रन्थ्यो पनि होला । के बिग्रन्थ्यो, के सप्रन्थ्यो भन्ने पनि थाहा थिएन । सासू ससुराले नराम्रो गरे पनि श्रीमानले राम्रै गर्थे । विहे गरेको ४ वर्षमै छोरा जन्मियो । हामी निकै खुसी थियौँ ।

तर मेरो खुसी धेरै दिन टिकेन । छोरा जन्मेको ३ महिनामै दैबले खोस्यो । मेरो कोख रित्तो भो । बाँचेको भए अहिले ४० वर्ष बढीको भइसक्थ्यो । ३ महिनामा काखमा खेलाईरहेको छोरा रोगनै नलागेर मरेपछि मलाई सही नसक्नुको पीडा भयो ।

छोरा गुमाउनु पर्दा मेरो जस्तै पीडा श्रीमानलाई पनि भयो होला । तर छोरा गुमाउँदाको पीडा सेलाउन नपाउँदै श्रीमानले दिने पीडा पनि त्यही दिनबाटै सुरु भयो । छोरा मर्नुको दोष मलाई नै लगाईयो ।

छोरा टोकिस् भन्दै छोरा बितेको ६ महिना नबित्दै श्रीमानले अर्को श्रीमती ल्याए । श्रीमानले अर्को विहे गरेपछि सासू ससुराको मप्रतिको व्यवहार झनै बद्लियो । कुटपिट समेत सुरु भयो । एकातिर छोरा बितेको पीडा ।

अर्कोतिर जन्मदिने आमा पनि खस्नुभो । त्यसैमाथी श्रीमानले सौता ल्याएपछि म पागल झैँ भए । सबै पीडा एकैपटक आइलाग्यो । आकास आफैमाथि खसे जस्तो भो । के गर्ने के नगर्ने भन्ने छुट्याउनै सकिन । दिमागले काम गर्नै छोड्यो ।

१ वर्षसम्म सौताको टोकसो सहेँ । मभित्र हुँदा बाहिर ताला लगाई दिन्थे । म बाहिर हुँदा भित्रबाट चुकुल लगाउँथे । घरमा श्रीमान, सासू ससुरा, सौता सबै एक भएर मलाई दिनहुँ यातना दिन थाले ।

यस्तो सहनु परेपछि न मर्न सकेँ । न बाँचेर केही गर्न सकेँ । यी पीडामा मैले आफूलाई सम्हाल्न सकिन । म बाहुँनकी छोरी । मैले सबै ठाउँबाट पीडा पाएपछि काठमाडौँको पशुपती आफ्नो पीडा पोख्न आएँ । श्रीमानलाई थाहै नदिएर काठमाडौँ आएपछि श्रीमान मलाई पिट्न काठमाडौं पुगे ।

चक्कु ल्याएर मार्छु भन्दै हान्ने बेला आफन्तहरूले छोपे । मार्न दिएनन् । त्यो बेला म पशुपतिनाथको दर्शन गरेर दोलखा फर्के ।

रामबहादुरले थप्यो पीडा

दोलखा चरिकोटको सिमपानीका राम बहादुर केसीसँग मेरो चिनजान थियो । गाउँ नजिकैका हुन् । मलाई बाहुनी बज्यै भन्दै बोलचाल गर्थे ।
यो २३ वर्ष अघिको घटना हो ।

मेरो पीडा देखेरै होला सायद राम बहादुर केसीले काठमाडौँमा एक जनालाई भान्छे बाहुनी चाहिएको छ । कोही भए खबर गर्नु भनेको छ । जाने हो भन्दै मलाई भने ।

उनीहरू पनि बाहुन । तर बुढाबुढी दुवैजना बुढो भइसकेकाले खाना पकाईदिने बाहुनकै छोरी चाहिएको कुरा सुनाएपछि घरको पीडामा बस्नुभन्दा उतै गएर खाना पकाउने भए पनि काम गर्छु भन्दै मैले हुन्छ भने । काठमाडौँमा ल्याएर राम बहादुर केसीले आफ्नो छोरीको कोठामा राख्यो ।

५ दिन छोरीसँगै राखेपछि भान्छे बाहुनी चाहियो भन्ने बुढाबुढी त बिदेश गइसकेछन् । अब के गर्ने भन्ने कुरा सुनायो ।
काठमाडौं पुगेको ६ दिनमा अब मेरो बहिनीलाई भेटाईदिन्छु । अहिले उसैसँग बस्नु भन्दै कुरा ग¥यो ।

म पनि हुन्छ भन्दै गएँ । उसले मलाई रत्नपार्कमा रहेको एउटा होटेलमा उसका छोराछोरीसँगै राख्यो । छोराछोरी बाहिर कतै निस्के । मलाई एकछिन बस्दै गर बहिनी आउँदैछे भन्दै चाउचाउ खान दिएर कोठामा बस्न लायो । एकछिनपछि त राम बहादुर केसी आएर मैमाथि नै आइलाग्यो ।

मलाई जबरजस्ती ग¥यो । हातमुख छोप्दै जवरजस्ती गरेपछि मैले केहि गर्न सकिन । उसले जे ग¥यो त्यो सबै सहनु भन्दा बाहेक मसँग अर्को विकल्प नै थिएन ।

१ घण्टा भन्दा बढी जवरजस्ती गरिसकेपछि मलाई रामबहादुर र उसका छोराछोरीले होटेलमै छोडेर गए । मेरो लागि बिरानो शहरमा बिराना मान्छे बाहेक आफन्त कोही थिएन । म बिचल्लीमा परेँ । मैले मसँग भएको गहना भाँडाकुँडा सबै ल्याएकी थिएँ । अलिकती पैसा पनि थियो । मेरो भएको सम्पति पनि उसैले खोसेर लग्यो ।

रत्नपार्कको होटेलमा अलपत्र पारेर जाँदा मेरो अन्त जाने बाटो नै थिएन । अरु अरुलाई सोध्दै जाँदा साँझ त उसैको कोठामा पुगेछु । राम बहादुरले ममाथि गरेको कर्तुत सबै उसैको छोराछोरीलाई भनिदिएँ ।

तर मैले भनेको कसले सुन्ने ? उल्टै उसका छोराछोरी सबै मिलेर मलाई पिट्नसम्म पिटे । टाउकामा तिनीहरूले हिर्काएको घाउको खाटा अहिलेसम्म पनि छ ।

कुटेर थिलोथिलो भएको शरीर अहिले पनि दुःखी रहन्छ । अहिले सञ्चो पनि छैन मलाई । टाउको दुख्छ बेस्सरी । पिनास पनि भएको छ । आन्द्रामा पनि घाउ भएको छ रे बिर अस्पतालमा डक्टरले भनेको ।

दिनहुँ अस्पताल जान्छु । पैसा हुँदैन । त्यत्तिकै उपचार कसले गरिदिन्छ । टाउकोको सिटीस्क्यान गर्न पैसा धेरै लाग्छ भन्दै डाक्टरले पनि फर्काए ।

काम गर्ने शक्ति छैन । जडीबुटीमा एउटा कोठा लिएर बसेकी छु । भाडा तिर्न नसकेको ३,४ महिना बढी भइसक्यो । घरबेटीले घरबाट गैजा भन्दै अनेक कुरा सुनाउँछन् । कहाँ जानु, के गर्नु । काम गर्न सक्ने क्षमता पनि छैन ।

कोठा वरपरका बहिनीहरू कहिले कोही, कहिले कोही खानेकुरा दिन्छन् । कहिले खान्छु । कहिले भोकै सुत्छु । छोरा बाँचेको भए यो दिन मेरो हुँदैन थियो होला । श्रीमानले यस्तो व्यहार गर्दैन थिए होलान् । त्यो राम बहादुर केसीले मेरो जीवन बर्बाद गरिदियो । यस्तो हालत बनाइदियो ।

त्यसका कारण आज सडकमा बास भएको छ मेरो । मलाई सडकमा ल्याउने राम बहादुर केसी भन्ने अहिले दोलखामा रमाएर बसिरहेको छ । अब गाउँ जानु कुन मुख लिएर जानु । माईती जान पनि ठाउँ छैन । काम गर्न सक्ने शक्ति छैन ।

मर्न त कति आँट गरे गरे, तर सकिन । अब त दिनहरू पनि ओरोलोतिर लाग्दै गए । शरीर बुढो भए पनि, ज्यानमा आराम नभए पनि पेटले त मान्दैन रैछ । भोक लाग्छ । खाना दिनहुँ कसलाई मागेर खानु । कसले हेर्छ मलाई ।

अब मेरो अन्तिम ईच्छा मलाई काठमाडौं ल्याएर अलपत्र पार्ने, मेरा यो हालत बनाउने राम बहादुर केसीलाई कार्वाही भएको हेर्न मन छ । मर्ने बेलामा त्यो पापीले कार्वाही भोगेको हेर्न पाए हुन्थ्यो । खोई कसले सुन्ला मेरो कुरा !

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: