‘आदर्श नारी समालोचक हुनै सक्दिनन्’


प्रकाशित मिति :2018-07-23 13:22:33

-ज्ञानु अधिकारी-

‘एउटी आदर्श नारी भएर र सबैको प्रिय बनेर कुनै पनि हालतमा समालोचक हुन सकिँदैन’ । लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेर हाल त्रिविको शिक्षाध्याक्ष भएकी सुधा त्रिपाठीले बारम्बार अलि जोड दिएरै भन्ने कुरा हो यो ।

हिन्दी साहित्यका प्रबुद्ध साहित्यकार महाश्वेतादेवी र महादेवी बर्माका अनुभूतिपरक लेखहरूमा पनि धेरैपटक पढिसकेको कुरा हो यो । अहिले भने आफैँलाई महसुस भइरहेको छ यही सत्य ।

नारी साहित्यकारले समालोचना क्षेत्रमा हात हाल्नु चानचुने कुरो होइन रहेछ । परिवारका लागि त यो कहिल्यै प्रियकर र सहज बन्नै नसक्ने क्षेत्र । लगातार दुईचार घण्टा अध्ययन र चिन्तन नगरी कुनै पनि कुराको दृष्टिकोण बनाउन र निष्कर्ष निकाल्न सकिँदैन ।

पारिवारिक उत्तरदायित्वमा पटक्कै कमी नहोस् भनेर सचेत हुँदै गरिने अध्ययन रमाइलो नभएर बोझिलो बनिदिँदो रहेछ । यस्तै मानसिक दबाबकाबीच काम गर्नु परेकै कारण नेपाली साहित्यको सृजना विधाका तुलनामा समालोचना विधामा नारीहरूको उपस्थिति हस्तक्षेपकारी हुन सकेको देखिँदैन ।

पछिल्लो समय साहित्यिक बजारमा नयाँ नयाँ कृतिहरू आइरहेका छन् र कृतिका साथै विभिन्न किसिमका हल्ला पनि भित्रिइरहेका छन् । यी सबैकुरामा अपडेट हुन र यथार्थ थाहा पाउन पढ्नैपर्छ । हरेक कृतिहरू पढ्न सधैँ लालायित भइरहन्छ मन, तर समय ?

कोर्स भन्दा बाहिरका कुरा पढ्नु र लेख्नुलाई परिवार र समाजले कहिल्यै कामको रूपमा हेर्दैन । यसलाई वैयक्तिक सोखका रूपमा लिइन्छ, अझ बढी आईमाईका हकमा ।

बाहिर र भित्रको दोहोरो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्दागर्दै यस्तो सोख आफैँ गौण बनिदिने रहेछन् । किनेर ल्याएका कति पुस्तकहरू समय अभावका कारण पढ्न भ्याइएको छैन । पढेका कयौँ कृतिमाथि चिन्तन र बहस गर्न पाएकै छैन ।

लेख्न प्रारम्भ गरेका कतिपय विषय र कृतिमाथिको लेख पूरा गर्न सकेको छैन । यी सबैका लागि (कसैका लागि पनि समय सहज र अनूकुल त नहोला नै तर ) समय निकाल्न नसक्नु आफ्नै वैयक्तिक कमजोरी हुन सक्छ । तर यो कमजोरीको कारक वा स्रोत के हो भन्ने सर्वविदित नै छ ।

यो अहिले म जे लेखिरहेकी छु, त्यो गुनासो होइन र गफ मात्रै पनि होइन । यो आजको दिनमा हरेक नारीको साझा अनुभूति हो र यो प्रसिद्ध समाजशास्त्री रेमण्ड विलियम्सले भनेको अनुभूतिको संरचना पनि हो ।

संस्कारका रूपमा हामीभित्र विकसित भएका परम्परित सोच नै संसारको सबैभन्दा शक्तिशाली बन्धन रहेछ र हामी त्यही बन्धनमा बाँधिएर दौडन खोज्दैछौँ र अगाडि पुग्न नसकेकोमा हतास हुन्छौँ ।

सारा बन्धन चुँडाएर निर्बाध र स्वतन्त्ररूपमा दौडन पनि सकिन्छ । तर त्यसरी सबैबाट निरपेक्ष भएर पाएको सफलताले कस्तो सन्तुष्टि देला ? वा देला कि नदेला ? यही प्रश्नको सुर्कनेमा झुण्डिरहेका छौँ हामी ।

बिहान उठेदेखि बेलुकासम्मको रुटिन हरेक दिनको उही हुन्छ । शनिबार बिहान किनेका पत्रिकाहरू ढुक्कसँग पढ्न रात नै पर्खनुपर्छ । दिनभरिमा पढेर प्रतिक्रिया समेत भाइरल भइसकेका लेख रचना सबैभन्दा पछि खिस्रिक्क पर्दै पढ्नुमा के को उत्साह ?

यहाँ कसैले नपढ भनेर भनेको पनि हुँदैन र खबरदारी गरेको पनि हुँदैन । तर कर्तव्य र जिम्मेवारीले यसरी थिचिदिन्छ कि, पारिवारिक खुसी भत्केला भन्ने डरमा यी सबैकुरा कम प्राथमिकतामा पर्ने गर्छन् ।

बाहिर साहित्यिक वा प्राज्ञिक कार्यक्रमहरूमा गएर फर्किँदा, कुनै बहस र सेमिनारहरूमा भाग लिँदा अनि बौद्धिक अन्तक्र्रियामा सहभागी हुँदा जुनखाले आत्मविश्वासले मन विभोर हुन्छ र यति त गरेरै छाड्छु भन्ने सङ्कल्प गरिन्छ । तर घरको ढोकाबाट भित्र छिरेपछि ती सब एकाएक सेलाउँछ ।

व्यग्र भएर पर्खिएका परिवारको आँखाको भाषा र छोराछोरीको अपेक्षाका अगाडि मन पूरै रूपान्तर हुन्छ, एउटी गृहीणीको भूमिकामा । पर्खिरहेको भान्छा, अव्यवस्थित कोठा, ओइलाउन थालेका गमलाका फूल, पट्याउन बाँकी लथालिङ्ग कपडा, असरल्ल छरिएका किताबकापी, खाजा खाएर छाडिएका जुठा भाँडा, नपट्याइ कोचिएका दराजका लुगा सबैसबैले हेरिरहेका हुन्छन् आफैँलाई । अनि दिनभरि गरेका सङ्कल्पहरू उडेर जान्छन् ।

एउटा शनिबार साहित्यिक कार्यक्रममा गएर फर्किदा ज्यादै अबेर भयो । बिहान भिजाएर राखेको कपडा धुन बस्दा रातको दस बजिसकेको थियो । मस्तले कपडा धुँदै थिएँ, फोन आयो । ‘सुतिसकेको हो कि ? के गर्दै ?’ चिसै हातले फोन उठाउँदै भनेँ, ‘के को सुत्नु नि ! लुगा धुँँदै ।’ बहुलाइस् कि क्या हो ? उता दिदी भन्दै थिई ।

मलाई पनि लाग्यो, हो त म बहुलाएकै त हो नि । दिनभरि घरमा बसेर लुगा धुने, सुकाउने, उठाउने, पट्याउने, आइरन लगाउने, थन्क्याउने नगरेर के को कार्यक्रम सार्यक्रममा डुलिहिँड्नु परेको होला ? आखिरीमा मलाई आफ्नै दिदीको त्यो फोनले सामाजिक यथार्थको धरातलमा ओरालेरै छाड्यो ।

यस्तैयस्तै अव्यवहारिक र अमिल्दो भइने रहेछ । केटाकेटी तथा घरका बडाबुज्रुकका अगाडि कामै छाडेर ल्यापटप समातेर बस्नु वा टेबुलमा लेख्न बस्नु त झन् कुनै ठूलै अपराध गरेजस्तो अनुभूति हुन्छ । यस्तो संस्कार पालेर बस्नुमा गर्वबोध गर्ने हो कि, हीनताबोध गर्ने हो कन्फ्युज्ड छन् आजका सचेत नारीहरू पनि ।

तीन चार घण्टाको बसाइ बिना समालोचना लेखन वा अनुसन्धान कार्यलाई अगाडि बढाउनै सकिँदैन । कृतिलाई पूरै पचाएर पढिसकेपछि पनि तर्क, वितर्क, प्रश्न उत्तर, सबलता, दुर्बलता जस्ता कुरामा अन्तरक्रिया गर्नु जरुरी हुन्छ ।

पाठसँग अन्तर्सम्वाद गर्नुका साथै त्यसको सापेक्षित रूपमा विवेचना गरेपछि मात्र, लेख्न प्रारम्भ गरेको समालोचनाले एउटा निश्चित गति र आकार लिन्छ ।

यसका लागि प्रशस्त समय र दबाबमुक्त मनस्थिति हुनु पर्दछ । के आम नेपाली नारीलाई यस्तो समय सजिलै उपलब्ध हुन्छ ? पेसागत कर्तव्य, संस्थाहरूमा आबद्धता, व्यवहारिक दायित्व र पारिवारिक जिम्मेवारी पूरा गरिसकेपछि बचेको रातको समय के यतिले पुग्छ ?

विभिन्न परिकारका खानेकुरा बनाएर खुवाउन, घर चिटिक्क पारेर सजाउन, करेसाबारी हराभरा बनाउन, बजार गएर सपिङ गर्न, इष्टमित्र र आफन्तको चित्त बुझाउन, परिवारलाई खुसी राख्न र छोराछोरीलाई समय दिन छाडेर अध्ययन अनुसन्धानमा घोत्लिरहने नारी कसरी परिवारको प्रिय हुन सक्छ र ?

नेपालको सन्दर्भमा त्यसरी समय पाउने नारीहरू कति होलान् ? जसले यस्ता बाधा र बन्धन विना परिवारमा बसेर स्वतन्त्र र उन्मुक्त रूपमा लेख्न पाएको होस् ? काम बित्यो भनेर मनमनै त्रास पालेर बस्नु नपरेको होस् अनि लेखिरहेको टेबलमा मौसम अनुसारको तातो वा चिसो पानी सहजै उपलब्ध होस् ।

केही अगाडि उषा शेरचनको कथासङ्ग्रह र कृष्ण गौतमको उपन्यास कलेजको लिजर टाइममा पढेर सकेँ । स्टाफ साथीहरूसँग हाँस्ने, बोल्ने र चिया पिउनेजस्ता रमाइलो अवसरबाट आफूलाई बञ्चित राखेर पढेका ती किताबका विषयवस्तुले मलाई राम्रै प्रभावित बनाए । लेख्छु भनेर केही टिपोट पनि गरेँ । शीर्षक उपशीर्षक पनि बनाएँ तर त्यसलाई मूर्त रूपमा ल्याउन मिल्ने गरी समयले मलाई कहिल्यै पनि पर्खेन ।

सरिता तिवारीको प्रश्नहरूको कारखाना, शारदा शर्माको समयको तस्वीर, मनिषा गौचनको वल्लीको डायरी, उमा सुवेदीको तोदा, अर्चना थापाको कठपुतला कृतिहरू पढेर लेख्नका लागि ड्राफ्ट बनाएका कृति हुन् ।

यी कृतिहरू मेरो टेबलमा छ सात महिना यसै बसिरहे । अन्ततः दुईटा रिसर्च आर्टिकल लेख्नमा नै मेरा बचाएर राखेका सारा समय सकियो र म हार मानेर खुम्चिएँ ।

व्यग्र भएर पर्खिएका परिवारको आँखाको भाषा र छोराछोरीको अपेक्षाका अगाडि मन पूरै रूपान्तर हुन्छ, एउटी गृहीणीको भूमिकामा । पर्खिरहेको भान्छा, अव्यवस्थित कोठा, ओइलाउन थालेका गमलाका फूल, पट्याउन बाँकी लथालिङ्ग कपडा, असरल्ल छरिएका किताबकापी, खाजा खाएर छाडिएका जुठा भाँडा, नपट्याइ कोचिएका दराजका लुगा सबैसबैले हेरिरहेका हुन्छन् आफैँलाई । अनि दिनभरि गरेका सङ्कल्पहरू उडेर जान्छन् ।

पद्मावती सिंह, भागीरथी श्रेष्ठ, माया ठकुरी नेपाली आख्यान साहित्यका सक्रिय स्रष्टा । उनीहरूको उमेर, समय र बाँचेको समाज उस्तै भएकाले पनि उनीहरूको आख्यानमा पाइने मूलभूत कुरा झट्ट हेर्दा उस्तै देखिन्छ ।

तर, विषय, शैली र प्रस्तुतिमा निकै फरक छन् । यिनै समानता र पृथक्ताका बारेमा जुन जोश र उत्साहले लेख्न सुरु गरेको थिएँ, त्यो समयाभावका कारण त्यसै थन्किएर बस्यो ।

लाइब्रेरीबाट ल्याएको Introducing critism at 21st century पढेर सक्न ठूलो त्याग नै गर्नुप¥यो । यस्तो महत्वपूर्ण कृति पढिसकेपछि यसका आधारमा मैले जे जति अभ्यास गर्नुपर्ने थियो र गर्छु भनेको थिएँ, ती केवल मनमा मात्र लेखिएका छन् ।

यसै सन्दर्भमा साहित्यमा सफल विश्वका सबैजसो नारीहरुको अनुभव र सङ्घर्षलाई हेर्ने हो भने पनि यही कुरा पाइन्छ । सन् १९२९ मा भर्जिनिया उल्फले लेखेको ‘अ रुम अफ वन्स वन’ कृतिमा यही अनुभूतिको अभिव्यक्ति पाइन्छ ।

नोवेल पुरस्कार बिजेता महिला साहित्यकारहरूको जीवनी पढ्ने हो भने पनि अधिकांश महिला कि त डिभोर्सी छन्, कि त अविवाहित ।

नेपालको सबैभन्दा ठूलो र चर्चित पुरस्कारका रूपमा चिनिएको मदन पुरस्कार पाउने नेपाली महिला साहित्यकारको कुरा गर्ने हो भने पनि अहिलेसम्म पारिजात, झमक र राधा पौडेल हुन्, जो अविवाहित नै देखिन्छन् ।

यसबाट सोझै प्रश्न उठ्छ – के विवाहित नारीहरू साहित्यिक क्षेत्रमा सफल हुन सक्दैनन् ? आखिर नारीहरूलाई साहित्यमा खुलेर लाग्न र सफल हुन बाधक हुने तत्व के पितृसत्ता नै हो ? परिवार, समाज र आफैलाई बिर्सेर निर्बाध र स्वच्छन्द रूपमा अध्ययन गर्ने र लेख्ने अवसर नेपालका कति नारीलाई प्राप्त होला ?

(लेखक पध्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: