दाइजोमा हाकाहाकी मोलमोलाई


प्रकाशित मिति :2018-07-23 13:44:53

सुनसरी । २०७४ साउन ३१ मा दुहवी–७, चौधरी टोलकी २६ वर्षीया चौधरी महिलाले आत्महत्या गरिन् । चौधरी परिवारमा कान्छी बुहारी भित्र्याएको केही महिनामै जेठी बुहारीले आत्महत्या गरेकी थिईन् ।

‘आफूले लिएको ऋण तिर्न नसकेर जेठी बुहारी मरेकी हो’ भन्ने हल्ला फैलाइयो । तर, उनको मृत्युको कारण भने अर्कै निस्कियो ।

              -रुमा रिजाल-

आफूभन्दा केही वर्ष जेठी उनलार्ई त्यो परिवारको जेठो छोरोले मन पराएर विहे गरेका थिएनन् । उनका माइती पक्षले आठ कठ्ठा जग्गा दाइजो दिने कबुलेका रहेछन् । कबुल अनुसार माइतीले छोरीको नाममा जग्गा पनि दिए ।

विहे भएको केही महिनापछि उनको श्रीमान स्क्राप फोल्डिङको काम गर्न दुबई जाने भए । पतिलाई विदेश पठाउने खर्च जुटाउन उनले आफ्नो नामको जग्गा बेच्नुपर्ने भो, बेचिन् ।

दुबईमा उनको श्रीमानले पैसा कमाउन सकेनन् । यता भएको जग्गा पनि सकियो । चौधरी नेपाल फर्किए । त्यसपछि उनका पतिलाई अर्को देश पठाउन लाग्ने खर्च माइतीबाटै ल्याउनुपर्छ भन्दै उनलाई सासू–ससुरा र जेठाजुले दबाब दिन थाले ।

उनले ल्याउन सकिनन् । अनि सुरु भो कुट्पिट । हुँदा–हुँदा परिवारले भात पानी नै हटक गरिदिए । आम्दानी हुने कुनै काम नगर्ने, भएको पैसा उडाउने बानी भएका श्रीमानको उनीप्रति दया र मायाको व्यवहारै थिएन ।

‘माइतीबाटै चामल ल्याएर खान्थिन् । कोहीसँग बोले कुटपिट गर्थें’ उनकी देउरानी भन्छिन्, ‘ससुराले देउरानी–जेठानीको पनि बोलचाल हुन दिँदैनथे । खाली तोर बापु बतनाहा दानपुन देल्को जे ? (तेरो बाउले तेत्रो दाइजो दिएको थियो र ?) भन्दै पिट्थे । विचरीको माइतीबाट अरू सम्पत्ति आउन सक्ने अवस्था थिएन । परिवारले गरेको अपमान र हिंसा सहन नसकेर जेठानी मरेकी हुन् ।’

पटक पटक माइतीबाट दाइजो नल्याएका कारण घरेलु हिंसा सहन नसकेर उनी मरिन् । तर अझैं दाइजोको लोभी चौधरी परिवारको आँखा अझै खुलेको छैन ।

बरु उनलाई दिएको दबाब अर्की बुहारीतिर सरेको छ । कान्छी बुहारीलाई ‘जेठीको जति पनि दाइजो नल्याएको,’ भन्दै दाइजोको मात्रा बढाउन दबाब दिन थालेको छ ।

‘दिदीको (जेठानी) जस्तो समस्या मैले पनि भोग्नु परिरहेको छ,’ उनी भन्छिन्, ‘दाइजोको निहुँमा मलाई पनि परिवारले हेला गर्न थालेका छन् । तेरो पनि जेठीको हालत हुन्छ भन्दै धम्क्याउँछन् ।’

स्प्लेन्डर मोटरसाइकलले चित्त बुझेन

दुहवी–८ को एक खाँ परिवारमा रिपोर्टिङका क्रममा पुगियो । त्यहाँ पुग्दा एक अधबैँशे महिला बाहिर निस्किइन् । उनी त्यो परिवारकी ‘सासू’ रहिछन् ।

‘बुहारी (नाम लिएर) खोइ त ?’ अभियन्ता उर्मिला शिवाकोटीले बुहारीका बारेमा सोधिन् ।

‘घरमा छैन, फेक्ट्रीमा काम गर्न गा’की छ !’ एकछिन अक्मकिँदै सासूले बुहारी घरमा नभएको प्रतिक्रिया दिइन् । सासूको बानी थाहा पाइसकेकी अभियन्ता सिवाकोटी ‘होइन होला’ भन्दै घरभित्र पसिन् । नभन्दै बुहारी कोठामै बसिरहेकी रहिछन् ।

उनी १८ वर्षकी हुँदा खाँको परिवारबाट विहेको प्रस्ताव गएको रहेछ । उनका माइती पक्षले ‘माडवा घर’मा हुने विधिका बेला एउटा मोटरसाइकल, केही फर्निचरका सामान, टेलिभिजन र सात कठ्ठा जग्गा दिन सहमत भएछन् ।

दाइजोका रूपमा यतिका सामान पाउने भएपछि केटा पक्षले उनसँग विहेको कुरो छिन्यो । २०७२ साल माघ १७ गते उनको विवाह धुमधामसँग भयो ।

तर, घर गएको पहिलो दिन नै उनले ‘दाइजोमा पल्सर बाइक मागेको तर सुपर स्प्लेन्डर दिएर सम्धीले झारा टारे’ भन्ने सासूको असन्तुष्टि सुन्नुपर्यो ।

त्यसपछि त दाइजो कम भएको निहुँमा पति र परिवारका अन्य सदस्यबाट उनले अझ पनि बेला–बेलामा घोचपेच र टोकसो सुन्नुपर्छ । अहिले उनकी एक छोरी छिन् । माइती पक्षले दिन्छु भनेको सात कठा जग्गा दिन बाँकी छ ।

त्यही जग्गा पाउने आशामा त्यो परिवारमा बस्न र खान पाइरहेकी छन् । अन्यथा त्यो परिवारमा उनका लागि पति र परिवारका अन्य सदस्यबाट पाउनुपर्ने माया र सम्मानको वातावरण अलिकति पनि छैन ।

उनको अवस्था हेर्दा सात कठा जग्गा नपाउञ्जेलसम्मका लागि मात्रै जानकीले खाँ परिवारमा शरण पाएको जस्तो देखिन्छ ।

अभियन्ता शिवाकोटीले व्यङ्ग्यात्मक रुपमा भनिन्, ‘भने जति दाइजो दिएनन् भनेर बुहारीलाई परिवारमा हेला भएको जस्तो लाग्छ नि ?’

‘हामीले के हेला गर्नु ! विहेमा दिन्छु भनेका कुनै पनि कुरा भनेअनुसार दिएनन् । दिन्छु भनेको जग्गा पनि नदिएर उल्टै उनका बुबाआमाले हाम्रो परिवारको अपमान र हेला गरिरहेका छन् ।’ उनको सासूको जवाफ थियो ।

दाइजोका कारण दुहवीका झकरु साहकी छोरी ललिताको घरबारै उजाडियो । चार छोरीका बाबु झकरुले तीन वर्षभित्र भएको खेती बेच्दै छोरीको विहे गर्दै गरे ।

उनले समयअनुसार सकेको दाइजो दिँदै छोरीको विहे गरेका थिए । छोरी ललिताको विवाह गर्नका लागि झकरुले सात कठ्ठा जग्गा पनि बेच्नुपरेको थियो ।

‘सात कठ्ठा जग्गा बेचेर जसोतसो समय अनुसार सुहाउँदै दाइजोका सामान जुटाइदिएँ,’ झकरु भन्छन्, ‘तर पनि दाइजो कम भो भन्दै छोरीलाई घरमा बसी–खान दिएनन् ।’

दाइजोको निहुँमा बारम्बार कुटपिट हुन थालेपछि सहन नसकेर ललिता हिजोआज माइती मै बस्छिन् । दाइजोको दुष्चक्रमा परेर एकातिर झकरुको जग्गा–जमिन सकियो, अर्कोतिर छोरीको घरबार पनि भएन ।

लाउन खान रहर लाग्ने उमेरमा छोरीले भोग्नुपरेको दुःख देखेर झकरुको मन रोएको मात्रै छैन । उनको भविष्यको बारे ठूलो चिन्ता थपिएको छ ।

दाइजोकोे प्रतिकार

‘अनुहार आर्कषक । चिटिक्क परेको । मान्छे पढेलेखेको । लुगा पनि सफाचट लगाउने । तर, उसको विचार सफा रहेनछ ।’

दुहवी, दक्षिण टोलकी २४ वर्षीया अनुकला (नाम परिवर्तन)ले छ महिनाअघि आफूसँग विहे हुन निश्चित भएको केटाका बारेमा गरेको टिप्पणी हो यो ।

गत माघमा अनुकलाको विहेको कुरो चल्यो । महेन्द्र मोरङमा स्नातक पढ्दै गरेकी अनुकलालाई माग्न आउने केटो पनि महेन्द्र मोरङ मै स्नातक पढ्दै रहेछ । कलेज र पढाइ बराबर भए पनि केटाको परिवार अनुकलाको परिवारभन्दा केही धनी थियो ।

परिवारको सल्लाहमा सहमतिको जनाउ दिएकी अनुकलालाई हेर्न केटा पक्ष आयो । विहेको कुरा अघि बढ्यो । केटा पक्षका आफन्तले केटा–केटी दुवैको शैक्षिक योग्यता बराबर भएको र आफूहरूलाई अरूको सम्पत्तिको कुनै लोभ नभएको विचार राखे । त्यसपछि दाइजो लेनदेन नगर्ने सर्तमा विहे गर्ने सहमति भयो ।

माघमा छिनेको विहे वैशाखमा हुने पक्का थियो । यो तीन महिनाको समयमा अनुकला र हुनेवाला दुलाहाबीच पटक–पटक भेटघाट भयोे ।

अनुकलाको मनमा केटाप्रति प्रेमको मुना पलाउन सुरु भएको थियो । विहेको मिति आउन पनि एक साता मात्रै बाँकी थियो ।

एक दिनको भेटमा केटाले भने, ‘केही नलिई गरिने विहेले साथीहरूका माझमा मेरो र समाजमा परिवारको बेइज्जतै हुने भो । बुबालाई एउटा गाडी त दिनुपर्छ भन्नु ल !’

सुरुमा आदर्शका कुरा गर्ने केटाले विहेको मुखैमा आएर दाइजोको प्रस्ताव राखेपछि अनुकला छाँगाबाट खसेजस्तै भइन् । विराटनगरमा भएको त्यो पछिल्लो भेटमा केटाले राखेको प्रस्तावको कुनै जवाफ नदिई, निरास मन बनाएर अनुकला घर फर्किइन् ।

विहेको तिथि मुखमै आइसकेको थियो । आफन्त, छरछिमेकीलाई निम्तो भइसकेको थियो । अब के गर्ने ? केटाको माग कसरी पूरा गर्ने ? भनेर घर–सल्लाह हुन थाल्यो ।

तर अनुकलाले अड्डी लिईन्, ‘त्यो केटालाई म होइन, गाडी चाहिएको रहेछ । तपाईहरूले बेहुली बस्ने ठाउँमा त्यही गाडी सिँगारेर राखिदिनू, म चाहिँ बस्दै बस्दिनँ ।’

अनुकलाको कुरा सुनेर परिवारका सदस्यहरू छक्क परे । निम्तो बाँडिसकिएको विहे रद्द गर्नुहुँदैन । यस्तो बेलामा केटाको परिवारलाई केही फरक पर्दैन । तर केटीको परिवार र स्वयं केटीको बेइज्जत हुन्छ भन्दै आफन्तले निकै सम्झाउन खोजे । तर अनुकलाले मान्दै मानिनन् ।

‘जेसुकै होस्, म त्यो केटासँग विहे गर्दिनँ,’ भनेर अनुकलाले अडान लिईन् । अन्ततः हुनै आँटेको विहे रोकियोे ।

अनुकलाले विहे रद्द गर्नुको कारण खुलाईन्, ‘सुरुमा निकै आदर्शका कुरा गरे । तर, पछि हाम्रो परिवारलाई अप्ठेरोमा पारेर दाइजोको कुरा गरे । मलाई यो कुरामा चित्त बुझेन । केही दिनअघि मैले राज्जारानी भन्ने फिल्म युटुबमा हेरेकी थिएँ । त्यसमा सुरुमा केटीलाई फकाउन आफ्नो ज्यान दिन पनि तयार भएको केटाले विहे गरेपछि आमाको कुरा सुनेर दाइजो ल्याइन भनेर जलाएर मार्न खोज्छ । दाइजो ल्याइनस् भने एसिड हाल्छु भन्छ । यो कुराले पनि मलाई छोएको थियो । त्यसैले त्यो केटासँग विहे गर्न मन लागेन ।’

गाउँ–समाजमा दाइजोका नाममा कसैको विहे भाँडिएको, कोही महिलामाथि कुटपिट भएको र घरबार लथालिङ्ग भएको देख्दा, सुन्दा दुहवी–३ का दिलिप चौधरीको मन निकै कुँडिन्छ ।

सामाजिक अगुवा दिलिप आफ्नो छोरोको विहे एक पैसा दाइजो नलिई सामान्य तरिकाले गर्ने सोचमा छन् ।

‘अर्काले दिएको, आफ्नो मेहनत नभएको सम्पत्तिमा रमाउनुभन्दा आफू र छोरा–छोरीलाई सक्षम, आत्मनिर्भर बनाउनेतर्फ समाज लाग्नुपर्छ,’ दिलिप भन्छन्, ‘म एउटा यस्तो बुहारीको खोजीमा छु, जसको शैक्षिक र व्यावहारिक योग्यता भए पुग्छ । हाम्रो परिवारलाई दाइजो चाहिँदैन ।’

हाकाहाकी मोलमोलाई

विशेष गरी नेपालको तराई क्षेत्रमा दाइजो ‘ओपन सेक्रेट’ तथ्य हो । दाइजो लिन दिन नहुने भनिए पनि विभिन्न नाममा हाकाहाकी मोलमोलाई हुन्छ ।
अझ धनी, पढेलेखेका परिवारले त आफ्नो ‘स्तर अनुसार’ को दाइजो त चाहियो भन्छन् ।

धनी वर्र्गले छोरीको सुख–सयल, विहेपछि छोरीले दुःख पाउँछे कि भन्ने मनोवैज्ञानिक डरका आदि कारणले दाइजो दिने गरेको छन् । कतिपयले विहे गरेर जानासाथ नयाँ घरमा छोरीको अपनत्व बढोस् भनेर ।

फलानाले छोराको विहेमा यति सामान आयो भन्दै देखासिकी गर्ने प्रवृत्ति, धनको लोभ, सामाजिक अचेतनाका कारण समाजमा दाइजो कुप्रथाले प्रश्रय पाइरहेको बताउँछन्, सामाजिक अभियन्ता भेषराज पोखरेल ।

‘पढेलेखेकै परिवारबाट हाकाहाकी दाइजो लेनदेन र मोलमोलाइ हुन्छ,’ दुहवी क्षेत्रमा दाइजो िविरोधी अभियानमा संलग्न पोरखेल भन्छन्, ‘सार्वजनिक रूपमा सगौरव हामीले दाइजो लिएनौ पनि दिएनौ पनि भनेको सुन्न कमै मात्र पाइन्छ ।’

यहाँ छोरीको शिक्षामा पहुँच कम छ । बाबुआमा छोरीलाई ‘अर्काको घरमा जाने जात’ भन्दै पढाइमा लगानी गर्न नचाहने प्रवृत्तिको बाहुल्यता छ ।

‘छोरीको भविष्यका लागि सोचेको’ भन्दै अधिकतम बाबुआमाले कि जागिरे कि आफूभन्दा धनी केटालाई छोरीका लागि योग्यताको पहिलो सूचीमा राख्ने गर्छन् । यस्तो मनोविज्ञान बुझेको केटा पक्षले पढाइ, जागिर खाँदा वा वैदेशिक रोजगारीमा जाँदा लागेको खर्च दाइजोका रूपमा असुल–उपर गर्ने प्रवृत्ति बढ्दो छ ।

परम्परागत सोच, देखासिकी प्रवृत्तिका कारण दाइजो सामाजिक कुप्रथाकै रूपमा विकास भएको दुहवी–५ की महिला अगुवा नुनु मेहता बताउँछिन् ।

दुहवी नगरपालिका क्षेत्रमा बसोबास गर्ने चौधरी, रौनियार, हलुवाइ, मुस्लिम, यादव, मेहता, मारवाडीलगायत समुदायमा दाइजो कुप्रथा व्याप्त छ ।

उनका अनुसार विशेषगरी मिथिला समाजमा केटाको विवाह तथा जन्ती आउँदा–जाँदा लाग्ने सबै खर्च केटी पक्षले बेहोर्नुपर्छ भन्ने अघोषित मान्यता छ ।

‘जबर्जस्ती दाइजो माग्ने प्रचलन बढ्दै गएको छ,’ मेहता भन्छिन्, ‘यो कुप्रथाका कारण थुप्रै महिलाले घरेलु हिंसा भोग्नु परेको छ । दाइजो नल्याएकै कारण ज्यान गुमाउनु पर्ने सामाजिक परिस्थिति बन्नु निकै गम्भीर कुरा हो ।’

दाइजोको कारण घरेलु हिंसा

जिल्ला अदालत सुनसरीमा गत साल पाँच हजार सात सय ९४ मुद्दा दर्ता भएकोमा तीन हजार दुई सय फस्र्योट भए । तीमध्ये घरेलु हिंसाका १ सय ५० मुद्दा छन् ।

आर्थिक वर्ष २०७४–२०७५ को जेठसम्ममा दर्ता भएका छ हजार तीन सय ६८ मध्ये दुई हजार छ सय ६२ मुद्दा फस्र्योट भए । फस्र्यौट भएकामध्ये घरेलु हिंसासँग सम्बन्धित एक सय सात थिए ।

जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नवराज आचार्य भन्छन्, ‘घरेलु हिंसाका धेरैजसो मुद्दा दाइजो लेनदेनकै विषयसँग जोडिएका छन् ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीमा २०७४ साउनदेखि २०७५ असार पहिलो हप्तासम्म तीन सय ८१ वटा घरेलु हिंसाका उजुरी परेका छन् । घरेलु हिंसासम्बन्धी उजुरीमध्ये करिब ३५ प्रतिशत घटनामा दाइजो नल्याएको वा कम दाइजो ल्याएको निहुँ जोडिएको र सबै घटनामा महिला पीडित भएको महिला सेल प्रमुख बिनु बस्नेत बताउँछिन् ।

के भन्छ कानून ?

मुलुकी अपराध संहिताको १७४ दफामा ‘परम्परादेखि चलिआएको सामान्य उपहार, दक्षिणा, भेटी वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्नेले दुलहा–दुलहीका तर्फबाट कुनै किसिमको चल–अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेनको शर्त राखेर विवाह गर्न गराउन नपाइने’ उल्लेख छ ।

सोही दफाको उपदफा १ बमोजिम दाइजो लेनदेनको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनिएको छ ।

मुलुकी अपराध संहिता अनुसार कसैले विवाह गरिसकेपछि चल–अचल सम्पत्ति वा दाइजो माग गर्नु, त्यस्तो चल–अचल सम्पत्ति वा दाइजो नदिएको कारण दुलही वा निजका नातेदारलाई कुनै किसिमको हैरानी पार्नु, सताउनु वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्नु हँुदैन ।

यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा गरिएको छ । कुनै सम्पत्ति लिएमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुपर्ने कुरा अपराध संहितामा लेखिएको छ ।

नेपालमा कानुनले तोकेभन्दा बढी दाइजो लिने–दिनेलाई नियन्त्रण गर्ने त भनेको छ । तर कार्यान्वयनको अवस्था फितलो छ ।

दाइजो नियमन गर्न बनेका ऐन, कानुन समयसापेक्ष पनि नभएको अधिवक्ता स्यामिका महतोको बुझाई छ । कानुन फितलो हुनु र भएको कानुनको पनि प्रभावकारी कार्यान्वयन नहुनुले दाइजोको समस्या दिन–प्रतिदिन जटिल बन्दै गएको उनले भनिन् ।

(पत्रकार रुमा रिजाल सुनसरीबाट पत्रकारिता गर्नुहुन्छ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: