आँट, दिमाग र परिवार मिलेपछि…


प्रकाशित मिति :2018-07-24 14:24:49

–रामकृष्ण शर्मा–

धादिङ । पृथ्वी राजमार्गमा पर्ने आदमघाटको ठ्याक्कै पारी छ, पिपलटार । बीचमा बगिरहेको छ त्रिशुली नदी । राजमार्गका कारण वारी रहेका ठाउँहरूको चहलपहल बेग्लै हुन्छ । व्यापार व्यवसाय हराभरा नै छ, आउजाउ सहज छ ।

               –रामकृष्ण शर्मा–

तर, तरकारीको लागि प्रख्यात पिपलटार भने दुर्गम जस्तै छ । नदी माथि मोटर हिँड्ने एउटा पुल समेत नहुनाले पिपलटारबासीहरू     बत्तीमुनिको अध्याँरोमा बस्न बाध्य छन् ।

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका ७, कुम्पुरमा पर्ने त्यही पिपलटारमा बस्छिन् शुशिला श्रेष्ठ । भर्खर ३० वर्ष काटेकी सुशीलाका श्रीमान् वैदेशिक रोजगारीका लागि समुन्द्रपारी छन् ।

पाँच वर्षको छोरो छ । घरमा सासू र ससुरा डुब्न लागेका घाम झैं भएका छन् । वस्तुभाउ हेर्ने, खानापकाउने, सरसफाई गर्ने लगायतका घरायसी काम सकेर अनि छोरालाई स्कुल पठाएर बिहानको १० नबज्दै उनी स्थानीय हर्क नारायण श्रेष्ठको घर आइपुगेकी छन् ।

२०७२, बैशाख १२ को भूकम्पका कारण ध्वस्त भएको हर्क नारायणको घर पुनर्निर्माण हुँदै छ । त्यही पुनर्निर्मित घरमा गारो लगाउँदै, घण्टी मिलाउँदै, ढुंगा ठोकठाक पार्दै सुशीला दिन बिताउँछिन् । ‘दिनभरी काम गर्दा हजार रुपैयाँ कमाइन्छ’, मुस्कान फिँजाउँदै शुशीलाले सुनाईन् ।
घरको काम र डकर्मी काम सँगसँगै लैजान गाह्रो भएको छैन ? प्रश्न भुईँमा खस्न नपाउँदै उनी भन्छिन्, ‘३ कुरा मिलाइयो भने त्यो सजिलै हुन्छ ।’

ती तीन कुरा भनेका ‘आँट, दिमाग र परिवार’ रहेछन् सुशीलाका लागि । ‘गर्न नसकिने के छ र ? आँट हुनुपर्यो, त्यो आँटलाई व्यवहारमा रुपान्तरण गर्न दिमाग हुनुपर्यो, अनि घर परिवारलाई पनि खुसी राख्नु पर्यो । महिलाले नसक्ने भन्ने केही हुन्न’ सुशीला थप व्याख्या गर्छिन् ।

नेपाली ग्रामीण भेगका परिवारमा सासूससुराले घरबाहिरका काममा बुहारीलाई सहयोग नगर्ने, घरको काम एक्लैले सकोस् भन्ने चलन विद्यमान छ । तर, सुशीलाका लागि यो चलन लागु हुँदैन ।

जाँगरिली सुशीलाले एक दिनमा थुप्रै काम गर्न सकेकी छन् । ३ वर्षदेखि घर निर्माणका क्रममा पानी बोक्ने, ढुंंगा बोक्ने, माटो पुर्याएर पुरुष डकर्मीलाई सहयोग गर्ने सुशीला अहिले गारो लगाउँछिन् ।

आफै ढुंगा तिखार्छिन् र अन्य डकर्मीलाई अह्राउँछिन्, सिकाउँछिन् । ८ महिनाअघि अमेरिकी सहायता नियोगको सहयोगमा भूकम्पप्रविधि राष्ट्रिय समाज – नेपालले सञ्चालन गरेको बलियो घर कार्यक्रमबाट उनले डकर्मी तालिम लिएकी थिईन् ।

त्यसयता उनको दैनिक ज्याला ४ सयबाट बढेर १ हजार पुगेको छ । गाउँकै व्यस्त डकर्मी बनेकी छन् । महिलाले गारो लगाउने काम नगर्ने वा गर्न नदिने समाजमा उनको कामलाई कसरी लिएका होलान् ?

सुशीला नै थप्छिन्, ‘खै कसरी बुझ्छन् । तर मेरो घर बनाउन तँ नै आउनुपर्छ भन्छन् । सायद राम्रै मानेका होलान् ।’
सुशीला संलग्न भएर पुनर्निर्माण भइरहेको हर्क नारायणको घरमा अरु ४ जना डकर्मी पनि थिए । ती चारै जना महिला डकर्मी नै हुन् । ती मध्येकी एक पम्फा गौरी १ वर्ष अघिसम्म घरायसी काम र निर्वाहमूखी खेतीपातीमै दिन बिताउँथिन् ।

बलियो घर कार्यक्रम मार्फत स्थानीय लालश्री बल्कोटीको उनले ५० दिने कार्यगत तालिम लिईन् । तालिमको दौरानमा लालश्रीको घर पनि बन्यो । गौरी तालिम प्राप्त डकर्मी भएर निस्किइन् ।

अहिले घर बनाउने काममा खटिएकी उनी सन्तुष्ट पनि छन् । ‘पहिले खेतीपाती गर्दा भन्दा अहिले डकर्मी काम नै सजिलो लाग्यो मलाई त । पैसा पनि पाइने, सीपको पनि विकास हुँदै जाने । अब यसैलाई निरन्तरता दिन्छु’ गौरीले भनिन् ।

गौरीजस्तै स्थानीय अनु गौरी, देवकी विक, सिता बसेल पनि सोही घर निर्माणको चरणमा तालिम प्राप्त डकर्मी भएर निस्किए । जो अहिले पिपलटारको पुनर्निर्माणमा जुटिरहेका छन् ।

निर्मलाको जिन्दगी फेरियो

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ, सिम्लेमा अहिले धमाधम भूकम्प प्रतिरोधी घरहरू बनिरहेका छन् । ती घरहरू निर्माण गर्दै गरेकी भेटिन्छिन्, ३२ वर्षीया निर्मला श्रेष्ठ ।

भूकम्प अघि उनी घरायसी काममै दिन गुजार्थिन् । ‘दिनभरी सुत्यो या यताउति गर्यो, दिन त्यसै खेर जान्थ्यो’ निर्मला सम्झिन्छिन् । भूकम्पले उनको घर लडायो । उनीमात्रै होइन, सबै गाउँलेको घर ध्वस्त भए ।

भूकम्पपछिको दुई वर्ष भूकम्पले ध्वस्त बनाएका संरचना पन्छाउँदा, आफ्नो घर बनाउँदा बित्यो । तर अहिले उनी ढलेका घरहरू उठाउन कम्मर कसेर लागेकी छन् ।

८ महिनाअघि उनको गाउँ भन्दा अलि पर स्थानीय कुलबहादुर मगरको घर बनाउने क्रममा सञ्चालन भएको भूकम्प प्रतिरोधी कार्यगत तालिममा सहभागी भइन् ।

५० दिनसम्म डकर्मी काम सिकिन् । अहिले उनी ज्यामरुङ गाउँकी तालिम प्राप्त डकर्मी हुन् । फुर्सदमै गुज्रने दिनहरू अहिले निक्कै व्यस्त भएका छन् ।

‘डकर्मी तालिमपछि सिकेको सीपले समयको सदुपयोग भएको छ । दैनिक १ हजारको दरले कमाइ पनि भइरहेको छ । पहिलाको जिन्दगीमा तालिमले नयाँ बाटो पहिल्याइदियो ।’ निर्मलाले भनिन्, ‘घरमा सासू आमा पनि खुसी हुनुहुन्छ । बुहारीले कमाएर ल्याएकी छ भनेर । वास्तवमा अहिले मेरो जीवन फेरिएको छ ।’

३ छोराछोरीकी आमा निर्मलाले घरको काम र पुनर्निर्माणको काम सँगसँगै लगेकी छन् । ‘समय व्यवस्थापन गर्न जानियो भने सबैथोक भ्याईंदो रहेछ’ उनले सुनाइन् ।

क्षमता बढ्यो

भूकम्पले हाम्रा घर संरचनालाई अब फेरि नभत्कने गरी भूकम्प प्रतिरोधी बनाउने अवसर दिएको छ । गाउँबस्तीलाई सुरक्षित बनाउने मौका दिएको छ । भूकम्प गएका ३१ वटै जिल्लामा भूकम्प प्रतिरोधी समुदाय निर्माणको लागि अभियान नै चलेको छ ।

भूकम्पले घर संरचना सुरक्षाको अवसर दिएजस्तै सुशीला र पम्फा जस्ता कयौँ महिलाहरूलाई सीप तथा ज्ञान प्राप्त गर्ने अवसर पनि दिएको छ । डकर्मी काम गर्दै आइरहेकाहरूले विभिन्न तालिम मार्फत आफ्नो क्षमता र दक्षता अभिवृद्धि गरिरहेका छन् । तर भूकम्प गएका ३१ जिल्लामा मौजुदा डकर्मीले मात्रै पुनर्निर्माण सम्भव थिएन ।

नयाँ डकर्मी उत्पादन गर्ने हेतुले सरकारकै नेतृत्वमा विभिन्न संघसंस्थाको सहयोगमा कार्यगत तालिम ठाउँठाउँमा चलिरहेको छ । जसले गर्दा ज्यामरुङ वा पिपलटारका महिलाहरू जस्तै धेरै महिला तथा पुरुषहरूलाई रोजगारीको ढोका पनि खोलिदिएको छ ।

‘धेरै वर्ष खेतीपातीमा जीवन गुजारियो, तर जीवन सधैँ उस्तै रह्यो । अब हातमा सीप आएको छ, माटोसँग खेल्न सिकेकी छु ।’ पुनर्निर्माणमा संलग्न धादिङ कुम्पुरकी डकर्मी सिता बसेल भन्छिन्, ‘अब प्रगति होला कि ?’
उनले गाउँकै महिला सीपयुक्त डकर्मी भएपछि गाउँको पुनर्निमाण पनि चाँडो सकिने बताईन् ।

‘महिलाहरू इमान्दार र मेहनती’

तालिम प्राप्त भएर काममा लागेका महिला डकर्मीहरू पुरुष डकर्मीको तुलनामा इमान्दार र मेहनती भएको निर्माण प्राविधिकहरूको अनुभव छ ।
‘महिला डकर्मीहरूमा काम छल्ने, ढिला आएर चाँडै फर्कने वा कामको दौरानमा ठग्न खोज्ने जस्ता पुरुषमा देखिने समस्याहरू देखिएको छैन, उनीहरू निकै मेहनती र इमान्दार भेटेको छु ।’

धादिङको कुम्पुरमा निर्माण प्राविधिकको काम गर्दै आइरहेका हर्षनारायण श्रेष्ठले भने ।
एकचोटी सिकाएको कुरा दोस्रो पटक सिकाउन नपर्ने र सुन्दर ढंगले काम गर्ने हुनाले ठेक्का लिएका घरहरूमा महिला डकर्मीहरूको प्रयोग गर्न थालेको उनको भनाइ छ ।

भूकम्पपछि धेरै ठाउँमा महिला डकर्मीहरूको संख्या बढिरहेको छ । महिलाहरूले काम गरेको ठाउँमा निर्माणको गुणस्तरमा पनि प्रश्न गर्ने ठाउँ नरहेको पेशामा आवद्धहरू बताउँछन् ।

अवसरहरू दिने हो भने पुरुष सरह सक्षम ढंगले महिलाहरूले काम गर्न सक्छन् भन्ने देखिन्छ । तर महिलाहरूले तालिम लिएर मात्रै हुँदैन । एक दुई ठाउँमा काम गरेर मात्रै पनि हुँदैन । उनीहरूले पेशालाई कति निरन्तरता दिन्छन् भन्ने प्रश्न पनि अहम् छ । धादिङमा कार्यरत इञ्जिनियर प्रकाश श्रेष्ठको अनुभवमा महिला डकर्मीहरूप्रति समुदायको दृष्टिकोण र विश्वासले उनीहरूमा हौसला बढाउन सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: