बेलायतमा पनि छाउपडी


प्रकाशित मिति :2018-07-25 11:28:26

–राजेश्वरी घिमिरे–

एक साँझ छोराले भन्यो–‘आज स्कुलमा प्युवर्टी (याैवनावस्था) का बारेमा पढ्यौँ, शिक्षकले भनेको यो बेलामा केटी मान्छेमा सुरु हुने मेन्सट्रेसन (महिनावारी) निकै महत्वपूर्ण कुरा रहेछ । यस्तो बेलामा केटी मान्छेलाई दुख्छ रे ? तपाईँलाई पनि दुख्छ ?’

एघार वर्षे छोराको यो कुराले म अवाक् भएँ । यो उमेरसम्म मलाई कसैले पनि महिनावारी हुँदाका मेरा अप्ठ्याराहरुका बारेमा सोधीखोजी गरेको थिएन । किशोरी उमेरमा समेत त्यसको बारेमा कसैले बताएको थिएन, न त विद्यालयमा न त परिवारमा ।

म हुर्किएको समाजमा यसका बारेमा कुनै छलफल गर्ने परम्परा नै थिएन । मानिसहरुको नजरमा यो छलफल गर्नुपर्ने विषय पनि थिएन । मेरो परिवार, छरछिमेकका महिलाले यसलाई चुपचाप संस्कारका रुपमा झेल्दैै आएका थिए । र, सोही अनुरुप मैले पनि आफ्नोे किशोरावस्थामा यो विषयलाई समाज र परिवारले तोकिदिएकै सीमामा रहेर झेलेको थिएँ ।

महिनावारीको चार दिन समाजका पुरुषहरुका निम्ति ‘अछूत’ हुनु थियो । यो अवस्थालाई झेलेर हुर्किएकी मलाई छोराको महिनावारीप्रतिको सकारात्मक बुझाइले भावुक बनाउनु स्वभाविक थियो ।

यो प्रसंग छोराले उठाएकै हप्ता न्यूयोर्क टाइम्समा नेपालमा छाउपडी प्रथाका बारेमा एउटा लामो फिचर प्रकाशित भएको थियो । यो समाचार त्यतिबेला प्रकाशित भयो जसको केही दिन अगाडि नेपाली सन्चार माध्यम र सामाजिक सन्जालहरुमा छाउ गोठमा सर्पले डसेर मारिएको भनिएकी १८ वर्षीय पार्वतीको मृत्युको दुखद खबर छाएको थियो ।

मेरो दृष्टिमा यो महिला विरुद्धको एउटा ठूलो अपराध हो र यो एउटा त्यस्तो कुसंस्कारको उपज हो जसमा महिलाको जीवनको कुनै मूल्य छैन । त्यसो त महिनावारी भएपछि छाउगोठमा राखिएका महिलाको मृत्यु हुनु अथवा उनीहरु बलात्कृत हुनु हामीकहाँ कुनै नौलो घटना होइन । लगभग महिनैपच्छिे यस्ता समाचारहरु आइरहेका हुन्छन्, अझ बाहिर नआएका यस्ता घटनाहरु कति होलान् ।

एउटी महिलालाई उसको प्रकृतिप्रदत्त शारीरिक प्रक्रियालाई लिएर गरिने अमानवीय अपराधको ज्वलन्त उदाहरण हो छाउपडी । सबैलाई थाहा छ, महिनावारी एउटी वयस्क महिलाको शरीरमा हुने महत्वपूर्ण शारीरिक प्रक्रिया हो । र, यो पनि थाहा छ कि मानिसको सृष्टिका लागि यो अपरिहार्य प्रक्रिया पनि हो ।

यतिहुँदाहुँदै पनि महिलाको यो अवस्था हाम्रो देशको निश्चित क्षेत्र र समुदायमा किन ‘पाप’ को रुपमा गनिएको छ ? यो प्रश्नले मलाई सधैँ रन्थन्याउँछ । यो अवस्थामा एघार वर्षको छोराले जुन चासो व्यक्त ग¥यो, त्यसले मलाई गौरवान्वित बनाउनु स्वभाविक नै थियो । कम्तिमा मभन्दा पछाडिको पुस्ताले मेरो परिवारमा यो अवस्था भोग्नुपर्ने छैन भनेर म एकदमै खुशी भएँ ।

छाउपडी ठूलो अपराध हो, यसबारेमा दुईमत हुन सक्दैन । तर के छाउपडी नेपालका कुनै क्षेत्रमा मात्रै सीमित छ त ? मेरो बुझाइमा छाउपडी नेपालको सबै ठाउँ र अरु देशमा छरिएका कतिपय नेपाली समुदायमा समेत प्रचलनमा छ । धेरै मानिसहरुले सामान्य ठानेको यो विषयमा चर्चा गर्नु मेरो यो आलेखको ध्येय हो ।

हाम्रो हिन्दू समाजमा कथित उच्च जात, उच्च वर्गीय एवम् उच्च शैक्षिक अवस्था भएका परिवारमा समेत छाउपडी जीवित छ । फरक यतिमात्र हो, यो घरभित्र छ, यो समुदायमा महिनावारी हुँदा महिलाले कुनै छाउघरमा जानु पर्दैन ।

१२ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा म डर र त्रासले आत्तिएकी थिएँ । मलाई घरमा बस्न नहुने भनेर आफन्तको घरमा पुर्याइयो जहाँ मलाई कुनै पनि हिसाबले सहजता महसुस भएन । मलाई आफ्ना अनुभव बताउने स्वतन्त्रता र आँट दुवै थिएन ।

अर्को सामाजिक संस्कारको हिसाबले म अछूत अवस्थामा कसैको घरमा लामो पाहुनाको रुपमा थिएँ । मलाई बताइए अनुसार नै यसलाई मैले ‘अछूत अवस्थाको रुपमा मात्रै बुझेको थिएँ । यो मेरो शारीरिक परिवर्तनको सबैभन्दा महत्वपूर्ण समय हो भनेर मलाई कसैले बुझाएको थिएन ।

यस्तो समयमा म आफ्नो परिवारसित थिइनँ । मेरो महिनावारी मेरा लागि एउटा सजायँ बनेको थियो र यो मेरो परिवारका पुरुष सदस्यभन्दा म एक दर्जा कम छु भनी प्रमाणित गर्ने आधार बनेको थियो । परिवारका पुरुष सदस्यले न त म जसरी ‘अछूत’ भएर बस्नुपथ्र्यो न त अरुको घरमा नै जानुपर्ने बाध्यता थियो ।

शहरमा बस्ने मेरै उमेरकी आफन्तकी छोरीले महिनावारी हुँदा म जसरी अरुको घरमा जानु परेको थिएन । उनी आफ्नै घरको एउटा कोठामा पुरुष सदस्यहरुबाट छेलिएर एघार दिनसम्म थुनिएर बसेकी थिइन् । यद्यपि उनले पनि महिनावारीलाई बार्नै परेको थियो तैपनि अहिले आएर सोच्दा, उनको सापेक्षतामा मेरो अवस्था पनि छाउघरमा बस्नुपरेको भन्दा कम थिएन ।

जब त्यही छोरी महिनावारी हुँदा ‘नछुने भइस्’ भनेर छुट्टै राखिन्छ, यसका दुईवटा अर्थ लाग्दछन् । पहिलो, हामीले छोरीलाई तिमी महिनावारीकै कारणले पुरुषभन्दा तल्लो दर्जाकी हौ भनेर महिलाको स्थान तोकिदिएका हुन्छौँ । दोस्रो, उसलाई त्यो अवस्थामा आवश्यक पर्ने सहयोग गरिरहेका छैनौँ ।

यो दुःखद अनुभवले होला, मलाई महिनावारी ठूलो सजायँ जस्तै लाग्थ्यो । यो प्रभावले मेरो मनमस्तिष्कमा यति गहिरोसित जरा गाडेको थियो कि मैले किशोरअवस्थाको अन्त्यसम्म पनि महिनावारीलाई निकै नकारात्मक प्रक्रियाको बारेमा बुझ्ने गरेको थिएँ ।

आफ्नो शिक्षा, पेशा र अनुभव सँगसँगै धेरै विषयहरुमा आफूमा धारणाहरु बन्दै जान थाले । समाज पनि परिवर्तन हुँदै गएको महसुस गर्न पाइयो । तर महिनावारीको बेलामा गरिने यो छूवाछूतको संस्कार भने लगभग यथावत नै रहिरहेको पाएँ ।

यतिसम्म कि बेलायतजस्तो विकसित देशमा बसोबास गर्ने नेपालीहरुको एउटा समुदायमा समेत कैयौँ परिवारमा महिनावारी हुँदा अछूतको रुपमा व्यवहार गरिएको प्रशस्तै देखेँ । कतिपय यस्तो पनि देखियो कि काममा जाने बेलामा सामान्य अवस्थामा जाने, तर घरभित्र पस्नेबित्तिकै पुनः छोइछिटो भोग्न बाध्य हुनुपर्ने ।

केही समयअगाडि म बेलायतको अत्यन्तै शिक्षित र सम्पन्न नेपाली परिवारमा पुगेको थिएँ । श्रीमतीको महिनावारी भएको कारणले त्यही घरमा डेरा गरेर बस्ने एक महिलालाई खाना बनाउन लगाएर घरका श्रीमान्ले खाना खुवाएका थिए । श्रीमतीचाहिँ एउटा छेउमा अलग्गै बसिरहेकी थिइन् । केहीबेरमा श्रीमती घरपछाडिको बगैँचामा निस्कन लाग्दा श्रीमानले कार्पेट उचालेर उनलाई बाटो बनाइदिएका थिए ।

आफूले एकदमै सुशिक्षित र प्रगतिशील मानेको त्यो परिवारमा देखिएको त्यो अनौठो व्यवहारले मलाई अत्यन्तै असहज महसुस गराएको थियो । बेलायत जस्तो विकसित देशमा पनि यो कुसंस्कारलाई निरन्तरता दिएर ती शिक्षित दम्पत्तिले कस्तो किसिमको धर्म र संस्कारलाई निरन्तरता दिइरहेका थिए, त्यो त मलाई थाहा भएन । तर नेपालको सापेक्षतामा ती महिलाले भोगेको यो अवस्था पनि छाउपडी संस्कारभन्दा कुनै पनि अर्थमा कम थिएन ।

सर्वप्रथम महिलाको प्रकृतिप्रदत्त शारीरिक संरचनाको विषयलाई लिएर हेर्ने हो भने हरेक महिलाको जन्मबाटै उसको संरचना तयार भएर आउँछ । न त पछि गएर महिलाले आफ्नै प्रयासबाट कुनै अंग थपेर महिनावारी हुने बनाएकी हुन्छे । यो महिलाहरुका लागि अपरिहार्य कुरा हो र सृष्टिको निरन्तरताका लागि पनि यो नभई नहुने कुरा हो । सृष्टिलाई अगाडि नबढाउने भए हामी यहाँ हुँदैन थियौँ । त्यसो हो भने सृष्टिलाई अगाडि बढाउनका लागि नभई नहुने प्रक्रिया कसरी पाप हुनसक्छ ?

दोस्रो कुरा, हाम्रो समाजमा हामी आमालाई ईश्वरको दर्जा दिन्छौँ र भन्छौँ – आमा जननी हुन् । त्यही आमा जसले सृष्टि गर्छिन्, त्यही सृष्टिको क्रममा हुने प्राकृतिक महिनावारी कसरी अछूतको अवस्था हुन्छ र देवताको स्थानमा राखिएकी आमा महिनामा चार दिन कसरी अछूत हुन्छिन् ? के यो आमाप्रतिको सम्मान हो त ? हामी साँच्चिकै आमाले सृष्टि गरिदिएबापत उनीप्रति आभारी छौँ त ? वा आमाको सम्मान केवल शब्दजाल मात्र हो ?

तेस्रो कुरा, हामी समाजमा समानताका कुरा गर्छौँ । छोरीलाई माया गर्छौं भन्छौँ । तर जब त्यही छोरी महिनावारी हुँदा ‘नछुने भइस्’ भनेर छुट्टै राखिन्छ, यसका दुईवटा अर्थ लाग्दछन् । पहिलो, हामीले छोरीलाई तिमी महिनावारीकै कारणले पुरुषभन्दा तल्लो दर्जाकी हौ भनेर महिलाको स्थान तोकिदिएका हुन्छौँ । दोस्रो, उसलाई त्यो अवस्थामा आवश्यक पर्ने सहयोग गरिरहेका छैनौँ ।

पढेलेखेका र अरुका निम्ति उदाहरण बन्नुपर्ने वर्गका घरमा महिनावारीको छोइछिटो सामान्य र स्वभाविक संस्कारका रुपमा मान्ने हाम्रो समाजमा छाउपडीप्रथाका विरुद्धमा कसले प्रभावकारी कदम चालिदिने ?

न त महिनावारी हुनु एउटी महिला पूर्ण महिला बन्नुको प्राकृतिक यथार्थ हो भनेर अवस्थालाई सहज बनाउनतिर लाग्छौँ, न त यो अवस्थामा ध्यान दिनुपर्ने विशेष सरसफाइ र शरीरको हेरचाह गर्नुपर्ने कुरामा सचेतता अपनाउँछौँ । यसले एकातिर उसको मनोबल कमजोर बनाउँदछ भने अर्कातिर विभिन्न किटाणुको संक्रमण हुने खतरा पनि त्यत्तिकै रहन्छ ।

शायद जे अनुभव मैले गरेँ त्यो अनुभव हाम्रा कलिला छोरीहरुले पनि गरिरहेका होलान् । छोरीको त्यो अत्यन्तै महत्वपूर्ण उमेरमा उनीहरुको मनोबललाई उकास्न होइन कि कमजोर बनाउने किसिमको संस्कार बनाउन हामी लागिपरेका छौँ ।

चौँथो, यसलाई गरिएको धार्मिक–सांस्कृतिकरण । जस्तो पन्चमी पूजा । यसमा विगत केही वर्षदेखि देखापरेको अनावश्यक आशक्तिलाई देख्दा लाग्छ नयाँ पुस्ता पनि झन् झन् यसको जालोमा फस्दै गइरहेको छ ।

यस्ता विषय पापधर्मसँग सम्बन्धित कुरा होइनन् । यो एक पितृसत्तात्मक सोच भएका पुरुषहरुले महिलाको शोषणका निम्ति तयार गरिएको एक सोच मात्र हो । हामी सबै त्यही पितृसत्तात्मक सोचको जकडमा परेर यसलाई मानिरहेका छौँ । महिनावारी न त पाप हो न त यसले पाप नै निम्त्याउँछ । न त पन्चमी पूजाले पाप नै पखाल्छ ।

अशिक्षा र अन्धविश्वासमा जकडिएका हाम्रो देशका कैयौँ समुदायले महिनावारीप्रति जुन सोच राखेका छन् त्यसैको माथिल्लो स्वरुप छाउपडी प्रथा हो । पढेलेखेका समुदायमा पनि महिनावारी छोइछिटोका रुपमा बारिन्छ र कैयौँ घरमा पन्चमी पूजा लगाएर पाप पखाल्ने क्रम जारी छ । हामीलाई थाहा छ महिनावारीको विषय हामी महिलामाथिको विभेद हो, यो विभेदको तिथिकै दिनलाई हामी कसरी ‘सेलेब्रेसन’ गर्न सक्छौँ ? के महिनावारी नबार्ने समुदायका महिला सबै नरक जान्छन् त ?

पाँचौँ, लैगिंकरुपमा छूवाछूतको अनुभव हाम्रो समाजमा कुनै पुरुषले परीक्षणको रुपमा मात्रै पनि हेर्नुपरेको छ ? महिनाको चार दिन सबैबाट अछूत भएर बस्दा के अनुभव हुन्छ, कुनै पुरुषले एकपटक परीक्षण गरेर हेर्नुस् त ?

एउटा स्वभाविक, प्राकृतिक शारीरिक अवस्थाको आधारमा महिलाप्रतिको भेदभावबाट हाम्रो समाज र परिवारमा महिलाको स्थान कहाँनिर छ भन्ने कुरा प्रस्ट देखिन्छ । जब छाउपडी प्रथाको बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले महत्वका साथ प्रसारण गरे, त्यतिबेला नेपाली समाजको एउटा ठूलो हिस्साको सांस्कृतिक हैसियतको वास्तविकता खुल्यो ।

नेपालबाहिरको अर्को समाजबाट हेर्दा हामीकहाँ खुब महत्व दिइएका यस्ता संस्कारहरु यति लज्जास्पद लाग्छन् कि मानौँ हामी अझै पनि ढुङ्गे युगमा नै छौँ । तर अझै हाम्रो समाजका शिक्षित र सम्पन्न वर्गले यसलाई निरन्तरता दिएको देख्दा त शिक्षाले मात्रै पनि यसलाई परिवर्तन गर्न नसक्ने देखाउँदछ । जबसम्म लैँगिक विभेदको अवस्था कायम भइरहन्छ, यो परिवर्तन हुन गाह्रो छ ।

आम महिलाहरु यस विषयमा कुरा गर्न समेत डराउँछौँ । महिनावारी पाप र यो एउटा लुकाउने विषय हुनुमा हाम्रो पितृसत्तात्मक सोचले हावी गरेको छ । प्रायः धेरै घरमा महिलाले महिनाको चार दिन अछूत हुनैपर्ने बाध्यता छ । जति लामो समयदेखि मान्दै आए पनि गलत कुराहरु संस्कार नभई कुसंस्कार हुन् र यस्ता कुसंस्कारलाई संस्कार बचाउने निहुँमा निरन्तरता दिनु, यिनका गलत पक्षमाथि आँखा चिम्लिनु अबको समयका लागि नसुहाउने कुरा हो ।

त्यसैले जबसम्म हामी कुनै कुरालाई गलत हो भनेर भित्रैबाट विश्वास गर्न सक्दैनौँ, तबसम्म सही परिवर्तन सम्भव छैन । पढेलेखेका र अरुका निम्ति उदाहरण बन्नुपर्ने वर्गका घरमा महिनावारीको छोइछिटो सामान्य र स्वभाविक संस्कारका रुपमा मान्ने हाम्रो समाजमा छाउपडीप्रथाका विरुद्धमा कसले प्रभावकारी कदम चालिदिने ?

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: