सामुदायिक वनले बनाएका महिला उद्यमी


प्रकाशित मिति :2018-07-26 11:45:45

–सम्झना रसाइली–

तनहुँ । तनहुँको दुर्गम गाउँ–बस्तीमा रहेका सामुदायिक वन विपन्न वर्गका महिलाको जीवनस्तर उकास्न सहयोगी बनेका छन् ।

वन पैदावारको प्रयोग र त्यसबाट प्राप्त आम्दानीलाई कोषको रूपमा जम्मा गर्न थालेपछि सामुदायिक वन क्षेत्रका महिला उपभोक्ताहरुको जीवनस्तर समेत माथि उठ्दै गएको छ ।

आफ्ना घरसँगै रेहका वन जंगललाई सामुदायिक वन समूह बनाई संरक्षण अभियान सञ्चालन पश्चात वन र वनसंग आश्रित स्थानीयको पनि जीवन स्तरमा सुधार आउन थालेको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ जुमडाँडाका बासिन्दाहरु वन जंगल जोगाउने अभियानका साथ २०६५ सालमा जिल्ला वन कार्यालयको सक्रियतामा जुमडाँडा झप्री सामुदायिक वन उपभोक्ता समिति गठन गरेका थिए ।

समिति गठनसंगै स्थानीय उपभोक्ताहरुले वन जंगल संरक्षण अभियानमा सक्रियताका साथ लागि परे । वन जंगलमा छाडा छोडी चरिचरण गरिने पशु चौपायहरु पनि गोठालो बसि हेर्नुका साथै घरमै बाँधेर घाँस काटी हाल्न थालेपछि वन जंगल संरक्षण हुँदा बोट विरुवा पनि हुर्कंदै गए ।

संरक्षण पश्चात वन जंगल हुर्कदै जाँदा विपन्न वर्गको आर्थिक, सामाजिक भौतिक, मानवीय र प्राकृतिक श्रोत साधानमा सहज पहुँच वृद्धि हुँदै गएको छ ।

सुरुमा ९० घर परिवार आवद्ध रहेको सामुदायिक वनमा अहिले १ सय ६ घर परिवार जोडिन पुगेका छन् । २ सय ९१ जना महिला र २ सय ९५ जना पुरुष गरी ५ सय ८६ जना सामुदायिक वनका उपभोक्ता रहेका छन् ।

सोही सामूदायिक वन अन्तर्गतका उपभोक्ता महिलाले आफ्नो जीवनस्तरमा आएको बारे महिला खबरसँग कुराकानी गरेका छन् ।

लक्ष्मी राना मगर (अध्यक्ष)

अहिले म बन्दीपुर–४ झप्री सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष हुँ । हाम्रो समूहमा दुई जना पुरुष सदस्य बाहेक सबै पदाधिकारी तथा अन्य सदस्यहरुमा महिलाहरु नै छन् ।

सुरुमा पुरुषको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता समुह गठन गरिएता पनि अहिले महिलाहरुकै नेतृत्वमा सामुदायिक वनको जिम्मेवारी छ ।

यहाँका महिलाहरु पहिला आफ्नो नाम समेत भन्न लजाउने, कोही नयाँ मानिस गाउँमा आउँदा बोल्न डराउने गथ्र्यौं । सामुदायिक वन सञ्चालनसंगै २०६८ सालमा हरियो वन कार्यक्रम मार्फत गाउँमा महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउने सशक्तिकरणका कार्यक्रम सञ्चालन पश्चात महिलाले नेतृत्वमा आउने आँट गरेका हौं ।

मेरो अनुभवमा प्राकृतिक श्रोत साधानमा बढि महिला नै निर्भर हुने र महिलाले नै वन संरक्षणका लागि योगदान दिन सक्छौं त्यसैले सामुदायिक वनमा पनि महिला नै नेतृत्वमा आएका हौं ।

सामुदायिक वनले उपभोक्ताको माग अनुसार घर बनाउने, गोठ बनाउने, बुंगुरको खोर, कुखुराको खोर, बाख्राको खोर बनाउने काठ पालैपालो उपलब्ध गराएका छौं ।

वन राम्रोसंग नहुर्किएको हुँदा माग अनुसार काठ उपलब्ध गराउन सकिएको छैन । त्यसैले १० जनाको निवेदन आएको छ भने एक वर्षमा ५ जनालाई र अर्को वर्ष ५ जनालाई गरी पालैपालो काठ उपलब्ध गराउँदै आएका छांै ।

लालीमाया गरजा मगर (उपाध्यक्ष)

सामुदायिक वन गठन पछि हरियो वन मार्फत विभिन्न आयमुलक कार्यक्रम सञ्चालन भए । हामी सिकाई केन्द्र भन्ने कार्यक्रममा सहभागि भयौं । त्यतिबेला २५ जना महिलालाई थियौं ।

पहिला हामीलाई आफ्नो नाम भन्न पनि गाह्रो हुन्थ्यो । तर, २÷३ हप्ताको सिकाईपछि हामी हाम्रो परिचय दिन सक्ने भयौं । पछि त्यही सिकाई केन्द्रमा हाम्रो सजिलोको लागि खाना पकाउन के गर्दा ठिक हुन्छ, कस्तो व्यवसाय तर्फ लाग्दा हामीलाई लाभ हुन्छ भनेर छलफल सुरु गर्यौं ।

सुरुमा बायो ग्याँसको कुरा ल्यायौं र त्यही सिकाई केन्द्रमा नै हामीले उद्देश्यहरु बनायौं । बायो ग्याँस बनाउने, सुधारिएको चुलो बनाउने, वनमा खेर गईरहेको पातहरुबाट दुना टपारी बनाउन सिक्यौं ।

जसले गर्दा बेरोजगार महिलाहरुलाई अलिअलि रोजगार मिल्यो । हरियो वन कार्यक्रम मार्फत टपरी बनाउने मेसिन पनि दिनुभयो । एक वर्षसम्म हामीले टपरी बनायौं पनि र बजार लग्दा हाम्रो टपारीको आकार ठुलो र दुना सानो भएकोले बिक्री हुन गाह्रो भयो ।

बजारमा नबिके पनि हामीले हाम्रै गाउँघरमा विवाह भएको बेला दुना टपारी बनाएर चलाईरहेका थियौ तर पछि मेसिनको तार जल्यो । मेसिन बनाउने प्रयास भइरहेको छ तर अझै बनाउन सकिएको छैन ।

यो सामुदायिक वनबाट अरु पनि धेरै कार्यक्रमलभईरहेको छ जसले गर्दा महिलाहरुमा आर्थिक आम्दानी भईरहेको छ ।

पहिले केही पैसाको लागि पनि श्रीमानको आशा गर्नु पथ्र्यो । तर, अहिले महिलाहरु आफै सक्षम बन्न पुगेका छन् । पहिले महिलाहरुले समूहमा जाम बनाउने गथ्र्यौं । र बेच्ने गर्दथ्यौं । पछि म आफैले जिम्मा लिएँ ।
फलफूल किनेर ल्याएर बनाउने त होइन सिजन अनुसारको फलफूल बेलाउती, आरुको जाम बनाएँ । त्यतिबेला महिनाको १० हजार रुपैयाँसम्म जाम बेचेर कमाएँ ।

त्यसबाट पनि मलाई बचत गर्न पनि अलि सजिलो भयो । अहिले बुंगुर पाल्ने, कुखुरा, बाख्रा पाल्ने तर्फ लागेको छु । समूहमा आवद्ध सबै महिलाहरु आफ्नो आर्थिक उपार्जनका लागि सकृय हुनुहुन्छ ।

सिकाई केन्द्रमा एक दिनको ३० रुपैयाँको दरले खाजाको पैसा दिनुहुन्थ्यो हामीले त्यो पैसा नखाई बचत गर्ने भनी प्रगतिशिल सिकाई केन्द्र आमा समूह बन्यौं । त्यतिबेला २५ जनाबाट सुरु गरेको आमा समूहमा अहिले ४२ जना छौं ।

अहिले हामीले महिनैपिच्छे बचत गर्छौं । २० रुपैयाबाट बचत सुरु गरेको थियौं । अहिले ५० रुपैयाँ भएको छ । अहिले समूहको बचत ६५ हजार जति भएको छ । गाह्रो साह्रो पर्दा आमा समुहकै सदस्यहरुले चलाउने गरेको र आवश्यक नपर्दा बैंकमा जम्मा गरेर राख्ने गरेका छौं ।

सुकमाया थापा (कोषाध्याक्ष)

सामुदायिक वनमा आवद्ध उपभोक्ता, बहिरी सहयोगबाट घुम्ति कोष सुरु गरिएको छ । एनजिओ नेटवर्क, डब्लुडब्लुएफ गरी दुई संस्था मार्फत जीविकोपार्जनका लागि १ लाख ८५ हजार रुपैयाँको घुम्ती कोष सञ्चालन गरिएको छ ।

महिला दिदीबहिनीलाई सहयोग पुग्ने हिसाबले सहकारी मार्फत ९ प्रतिशत ब्याजमा लगानी गरेका छौं । सहकारीले ६ प्रतिशत लिन्छ भने सामुदायिक वनलाई ३ प्रतिशत उपलब्ध गराउनु पर्ने सहमितका साथ आर्थिक कारोवार सञ्चालन गरिएको छ ।

जीविकोपार्जनका लागि सञ्चालन गरिएको घुम्ति कोषको कारण महिलाहरुले दुईचार रुपैयाँका लागि अरुसँग आशा गर्नु परेको छैन ।

मैले पन घुम्ती कोष र अन्यबाट आर्थिक श्रोत जुटाएर करिब एक लाख रुपैयाँको लगानीमा बंगुरको खोर बनाएँ । अनि बंगुर पाल्न सुरु गरें । अहिले बंगुर पालनबाट वार्षिक ५०÷६० हजार रुपैयाँ आम्दानी हुन्छ ।

गाउँमै पनि व्यवसाय गर्न सकिदो रहेछ भन्ने कुरा सामुदायिक वनले सिकाएको छ । आफ्नो जीविका, घरको आयआर्जन सुधार गर्न बंगुर, कुखुरा, बाख्रा पालेर पनि हुँदो रहेछ । पहिले ५०÷१०० रुपैयाँको लागि पनि श्रीमानको भर पर्नु पर्दथ्यो तर अहिले आफै स्वरोजगार बनेको छु ।

पहिले त बुढाले कमाउछ त्यसैले खाइन्छ भन्ने लाग्थ्यो । त्यो सोच गलत रहेछ । काम त जसले गरेपनि हुने रहेछ । अहिले बुढाले कमाएको पैसा त बचत गर्छौं । मैले कमाएको पैसाले घर खर्चमा धेरै मद्दत पुगेको छ ।

हाम्रो लागि जतिपनि राम्रो भयो सामुदायिक वन उपभोक्तमा आवद्ध भएपछि भयो । अहिले त म नडराई बोल्न, आफ्नो परिचय दिन सक्छु । पहिले घरमा मात्र बस्थें तर अहिले सामुदायिक वनको कोषध्याक्ष पनि बनें । समूहबीच बोल्न नि सक्छु निडरका साथ आवज उठाउन पनि सक्छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: