न्याय माग्दै मुस्लिम महिला


प्रकाशित मिति :2018-07-27 12:04:28

– कल्पना तिवारी –

रुपन्देही । श्रीमानले दिँदै आएको यातना सहन नसकेपछि मर्चवारी गाँउपालिका–२ सोनवर्षाकी पुनम नाउ मुसलमानले अदालतको ढोका ढकढक्याइन् ।

जिल्ला अदालतमा रुपन्देहीमा सम्बन्धविच्छेद र अंशको माग गर्दै पुनमले श्रीमान विरुद्ध मुद्दा दर्ता गरेकी हुन् । २१ वर्षीया पुनमको नौ वर्ष अघि २०६६ सालमा सोनवर्षाका उमेश नाउ मुसलमानसँग विवाह भएको थियो ।

विवाह गर्दा उनको उमेर १२ वर्षको थियो । श्रीमान उमेश पनि १४ वर्ष मात्रै पुगेका थिए । दुवै पक्षका अभिभावकको सहमतिमा विवाह भयो ।
उनीहरु दुबै किशोरावस्थामा थिए । विवाह अघि उनीहरुबीच कुनै सल्लाह हुन पाएन । उमेर बढ्दै जाँदा श्रीमान—श्रीमतीबीच बेमेल बढ्दै गयो । पारिवारिक बेमेल कुटपिटसम्म पुग्यो ।

श्रीमानको कुटाइ सहन नसकेपछि तीन वर्षयता पुनम मायादेवी -३, गुण्डामा रहेको माइतीमा बस्दै आएकी छिन् । श्रीमानसँगको सम्बन्ध नसुध्रिने निर्णय गरी उनी सम्बन्धविच्छेद र अंशबण्डाका लागि अदालत गएको बताईन् ।

सामान्यतया मुस्लिम समुदायका महिला श्रीमान विरुद्द उजुरी गर्दैनन् । मुस्लिम समुदायका परिवार भित्र हुने गरेका हिंसाका घटना कम मात्रै बाहिर आउने गरेका छन् । तर, अमिरुन निसा ति महिला भित्र पर्दैनन् ।

सियारी गाउँपालिका–५ भुम्काकी अमिरुन निशाले पनि घरेलु हिंसा सहन नसकेपछि अदालत पुगिन् । अमिरनको २०५६ मा कमल अहमदसँग मागी विवाह भएको थियो । ३३ वर्षीय निशाका अहिले १३, ९ र ६ वर्षका तीन छोरा छन् ।

विवाह भएको पाँच वर्षसम्म रामै्र बितेको बताउने उनले त्यसपछिका दिन रुदैं कटाएको सुनाइन् । रोजगारीका लागि साउदी अरब गएका श्रीमान आफ्नो सहारा बन्छन् भन्ने उनको आशा व्यर्थ भयो । ‘श्रीमानले विदेशबाट पैसा त पठाएनन् । एक कल फोनसम्म मलाई सम्झेनन्’ उनले भनिन् ।

सातवर्षदेखि रोहिनी गाँउपालिका–४ स्थित माइतीमा बस्दै आएकी उनी मजदुरी गरेर छाक टार्दै छन् । आफन्त, गाउँका अगुवासँगको सल्लाहमा उनी जिल्ला कानूनी सहायता समिति रुपन्देहीमा पुगिन । त्यहीबाट उनको अंश, मानाचामल सम्बन्धी मुद्दा जिल्ला अदालतमा अघि बढेको छ ।

पुनम र अमिरुन मात्रै नभएर घरेलु हिंसा पीडित मधेसी मुश्लिम महिला चुपचाप सहेर बस्न छाडेका छन् । उनीहरु टोलछिमेकका अगुवाको सहयोगमा प्रहरी र अदालतसम्म पुगेर न्यायको लडाई लड्न थालेका छन् ।

मधेसी मुस्लिम महिला अधिकांश अशिक्षित छन् । निरक्षर भएपनि समाजमा आएको अधिकारप्रतिको जागरणले उनीहरुमा हिंसा सहेर बस्ने होइन्, न्यायका लागि प्रहरी र अदालतसम्म पुग्न हौसला मिलेको छ ।

अमिरुन निरक्षर हुन् । रुपन्देही जिल्ला अदालतमा श्रीमान विरुद्ध मुद्दा दर्ता गर्नको लागि भैरहवामा रहेको कानुनी सहायता केन्द्रमा अरुकै सहाराले दिएको निवदेनमा आंैठाछाप लगाइन् । तर, हिंसा पीडित उनी आफ्नो पीडा खुलेर राख्न सक्छिन् । समस्या सुनाएर सहयोगको आग्रह गर्न सक्छिन् ।

मुस्लिम महिलाका उजुरी बढ्दाे

जिल्ला कानूनी सहायता समिति रुपन्देहीका कानूनी सहायता अधिवक्ता बिष्णु प्रसाद भुसालका अनुसार जिल्ला कानूनी सहायता समिति रुपन्देहीमा मुस्लिम महिलाको उजुरी बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७०/०७१ मा समितिमा १ सय ३३ उजुरी परेको थियो । तिमध्ये ७ वटा उजुरी मुस्लिम महिलाको थियो । त्यसपछि आर्थिक वर्ष २०७१/०७२ मा पनि मुस्लिम महिलाको उजुरी अघिल्लो वर्षको तुलनामा बढ्यो ।

आर्थिक वर्ष २०७१/०७२ मा १ सय ८२ मध्ये १३ उजुरी मुस्लिम महिलाका थिए । त्यसपछि आर्थिक वर्ष २०७२/०७३ मा २१, आर्थिक वर्ष ०७३/०७४ मा २७ वटा उजुरी मुस्लिम महिलाका थिए ।

आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि चैत मसान्तसम्म ३१ जना मुस्लिम महिलाले समितिमा उजुरी गरेका भुसालले बताए । मधेसी मुस्लिम महिलालाई कानुनी उपचारका लागि सहजीकरण गर्दै आइरहेका अधिवक्ता शेषमान यादवले मधेसमा जागरण बढेकोले अहिले महिलाहरु न्यायको लागि कानूनी लडाई लड्न अग्रसर भएको बताए ।

सेलर्ड रुपन्देहीका कानून अधिकृत हेमा न्यौपानेका अनुसार, चालु आर्थिक वर्ष २०७४।०७५ मा संस्थामा आएका १ सय १४ निवेदन मध्ये अधिकांश मधेसी र मुस्लिम महिलाका उजुरी छन्, निःशुल्क कानूनी सेवा पाइने जानकारी पाएपछि मधेसी र मुस्लिम समुदायका महिलाको न्यायमा पहुँच बढ्दै गएको पाइन्छ ।

कानून बुझेपछि न्याय माग्दै

लुम्बिनी साँस्कृतिक नगरपालिका–१० भैसहीया की २५ वर्षीया प्रविन वानु सिद्धिकीको सात वर्षअघि मोहम्मद जीवन सिद्धिकीसँग विवाह भयो ।

उनका दुई सन्तान भए । २०६८ सालमा विहे भएको उनले श्रीमानबाट कहिल्यै सुख पाइनन् । ‘साँझ रक्सी पिएर घर आउने अनि सँधै कुट्ने गाली गर्ने गर्थे’ वानुले भनिन् ।

उनी हिंसा सहिरेकी थिईन् । यसैक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाले आयोजना गरेको कानूनी साक्षरता कार्यक्रममा सहभागी भइन् । त्यही उनले सामान्य लेखपढ गर्न मात्रै नभएर कानुनका आधारभूत कुरा समेत सिकिन् । कानुनी साक्षरता कक्षा लिएपनि नै उनले आफूमाथि भएको हिंसा भएको र त्यसको उपचार भएको बुझिन् ।

त्यसपछि इलाका प्रहरी कार्यालय लुम्बिनीमा उनले श्रीमानले गालीगलौज र कुटपीट गरेको भन्दै उजुरी दिइन् । प्रहरीले श्रीमान-श्रीमती दुवैलाई मिलापत्र गराएर पठायो । तर समस्या सुल्झिएन, फेरि बल्झियो । अहिले उनले श्रीमानसँग अंश माग्दै जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता गरेकी छन् ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार संजिव पोखरेलका अनुसार, जिल्ला अदालत रुपन्देहीमा आर्थिक वर्ष २०७०÷०७१ मा ३ हजार २ सय ५४ मुद्दा दर्ता भएको थियो ।

आर्थिक वर्ष २०७१/०७२ मा ३ हजार ६ सय २१, २०७२/०७३ मा ४ हजार, २०७३।०७४ मा ४ हजार ३ सय ४० मुद्दा दर्ता भयो । भने आर्थिक वर्ष २०७४/०७५ चैत मसान्तसम्म २ हजार १ सय ९४ वटा मुद्धा दर्ता भएका छन् ।

अदालतमा दर्ता भएका मुद्दामध्ये मधेसी र मुस्लिम महिलाको छुट्टै तथ्याङक छैन । यद्यपि, श्रेस्तेदार पोखरेल प्रत्येक वर्ष मधेसी मुस्लिम महिला अदालत आउने क्रम बढेको बताउँछन् ।

अदालतमा मात्रै होइन प्रहरीमा पनि मधेशी मुस्लिम महिलाको उजुरी बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकोे महिला सेल प्रमुख लक्ष्मण विकका अनुसार मुस्लिम महिलाको उजुरी बढ्न थालेको छ ।

प्रहरीमा आर्थिक वर्ष २०७१/७२ मा मधेसी मुस्लिम महिलाको १० प्रतिशतमात्रै उजुरी रहेकोमा आर्थिक वर्ष २०७४/०७५ को चैत मसान्तसम्म ४० प्रतिशत उजुरी मधेशी मुस्लिम महिलाको छ ।

विकले प्रहरीमा आएका ५ सय ५१ उजुरी मध्ये ३५ देखि ४० प्रतिशत मधेसी मुस्लिम महिलाका उजुरी परेको बताए । ‘हिंसा पहिले पनि हुन्थे तर प्रहरीसम्म आउन नसक्ने अवस्था थियो । विस्तारै महिलामा चेतनाको स्तर वृद्धि भएको छ । अहिले घटना हुने बित्तिकै प्रहरीलाई खबर गर्ने वा आफै प्रहरी कार्यालयमा आएर उजुरी दिने गर्दछन्’ महिला सेल प्रमुख विकले भने ।

(कल्पना तिवारी रुपन्देहीबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: