–सन्दिप वि.क–
ललितपुर । पछिल्लो समय महिलाहरु बढी मानसिक हिंसाबाट पीडित हुने गरेका छन् । घरपरिवारबाट होस् वा समाजबाट उनीहरु कुनै न कुनै महिलाहरु हिंसा भोग्न बाध्य छन् ।
यस्ता महिलामाथि हुने हिंसाले मानसिक रोगी बनाउँछ । तर, महिलालाई मानसिक रोग लागिहालेमा परिवारले उपचारमा लैजादैनन् बरु अर्को हिंसा शुरु गर्छन् ।
छोरा बुहारीबाटै शारिरीक तथा मानसिक हिंसामा
काठमाडौं बस्दै आएकी ५८ वर्षीया महिला आफ्नै छोराबुहारीबाट शारीरिक तथा मानसिक हिंसामा परिन् । लामो समयदेखिका यातना सहन नसकेपछि उनी न्यायको लागि भन्दै राष्ट्रिय महिला आयोगमा पुगिन् । निवेदन पनि दिइन् ।
उनलाई सामाजिक मनोविमर्श पनि दिइयो । उनी भन्छिन्, ‘छोरा बुहारी मिलेर कपाल तान्ने, टाउको ढोकामा ठोक्काउने, लात्तिले हान्ने गर्छन् । बुढेसकालमा निन्द्रा लाग्दैन् । मनमा कुरा खेल्छ । के गर्ने ।’
ललितपुरको लगनखेल थापाहटीकी ७५ वर्षीया तारादेवी खड्की पनि यस्तै मानसिक हिंसामा छिन् । माइतीले दिएको पेवामा छोराबुहारीले आँखा गाडेपछि तारादेवी खड्कीलाई अहिले ज्यान जोगाउनै मुस्किल भएको छ ।
उनी आँखा पनि राम्ररी देख्दिनन् । गाला खुम्चिएर मुजा परिसके । तर बुढेसकालमा उनको मनमा शान्ति छैन । आफ्नै छोराले कतिखेर मार्ने हो । कति खेर पिट्ने हो भन्ने त्रास बोकेर बाँचिरहेकी छिन् ।
‘के गर्ने नानी, सम्पत्तिकै कारण अहिले छोराहरु सत्रु भएका छन् । कतिखेर मार्छन् थाहा छैन’ तारादेवीले आँशु चुहाउँदै भनिन् – ‘सम्पत्तिमै कुरा नमिल्दा छोरा मनोजले मार्ने धम्की दिन्छन् । चक्कु देखाएर यही चक्कुले काट्छु भन्छ । कुट्छ । लात्ताले छातीमा हिर्काउँछ ।’
छोराहरुको लगातारको दबाब र यातनापछि उनमा एक्लै बर्बराउने, एक्लै रुने, हाँस्ने समस्या देखिएको उनकी छोरी जानकी खड्कीले बताईन् ।
डेढ महिनादेखि हिंसामा किशोरी
विश्व साइकल यात्रीका रुपमा परिचित लोकबन्धु कार्की गएको असार १३ गते डेढ महिनादेखि एक किशोरीलाई शारीरिक तथा मानसिक हिंसा गरेको आरोपमा पक्राउ परे ।
कार्कीले मोरङकी १७ वर्षीया किशोरीलाई डेंढ महिनादेखि यौन शोषण र मानसिक यातना दिँदै आएका थिए ।
झापा घर भएका ४१ वर्षीय कार्कीले नाता पर्ने किशोरीलाई गएको वैशाख २५ गते काठमाडौं टोखास्थित गंगबुमा रहेको आफ्नै ट्राभल एजेन्सीमा काम लगाइदिन्छु भन्दै ल्याएका थिए । तर काठमाडौं ल्याएको एक हप्तादेखि नै उनले यौन शोषण र मानसिक यातना दिने गरेको युवतीले बताइन् ।
महिला खबरसँग कुरा गर्दै युवतीले भनिन्, ‘आएको एक हप्तादेखि नै ममाथि बलात्कार भयोे । कसैलाई भनिदिए मारिदिन्छु भन्दै अश्लिल शव्दहरु प्रयोग गर्दथ्यो ।’ अहिले किशोरीलाई काठमाडौंकै एक आवास गृहमा राखिएको छ ।
पक्राउ परेका कार्कीलाई प्रहरी वृत महाराजगञ्जले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिराखेको छ । परिवारका अनुसार किशोरीमा अहिले झोक्राएर बस्ने, टोलाउने समस्या देखिएको छ ।
डिप्रेसनको औषधी खान बाध्य
श्रीमानले रक्सी खाएर मानसिक तथा शारिरीक हिंसा गर्न थालेपछि काठमाडौंमा बस्दै आएकी सपना(नाम परिवर्तन) डिप्रेसनको औषधी खान बाध्य भइन् ।
अहिले उनी ४ महिनादेखि डिप्रेसनको औषधी खान बाध्य छिन् । श्रीमानबाटै हिंसा हुन थालेपछि उनी महिला आयोगमा पुगिन् । महिला आयोगले दुवै जनालाई राखेर मनोविमर्ष दियो । तर, श्रीमानबाट हुने हिंसा कत्ति घटेन ।
उनी भन्छिन्, ‘श्रीमानले रक्सी खाएर पटक–पटक कुटपिट गर्छन् । तथानाम गाली गर्छन्, ममाथी नचाहिने शंका गर्छन् । अनि यहाँ आउँदा केही गर्दिन भन्छन्, घरगएपछि पुन फेरि रक्सी खाएर कुटपीट गर्छन् ।’ श्रीमानले अनावश्यक दुःख दिएको कारण डिप्रेसनको औषधी खानु परेको उनको भनाई छ ।
टुंगियो सम्बन्ध
नुवाकोट घर भएकी एक महिला वैदेशिक रोजगारबाट फर्कीएका श्रीमानले शारिरीक तथा मानसिक हिंसा गर्न थालेपछि सम्बन्ध विच्छेद गर्न बाध्य भइन् ।
श्रीमानलाई दुःख गरेर कोरिया पठाइन् । तर कोरिया पुगेपछि उनको मन पनि परिवर्तन भयो । श्रीमतीलाई पैसा पठाउने, सहयोग गर्ने गर्न छाडे । उल्टो फोन गरेर चरित्रमा शंका गर्ने, धम्क्याउने गर्न थाले ।
उनले भनिन्, ‘ऋण खोजेर श्रीमानलाई कोरियन भाषा पढाएँ । कोरिया पठाएँ । तर त्यहाँ पुगसँगै उनको मन पनि परिवर्तन हुन थाल्यो । नेपाल फर्किएपछि पनि शारीरिक र मानसिक यातना दिन थाले । सहन सकिन र अहिले सम्बन्ध विच्छेद गर्न बाध्य भएँ ।’
परिवारबाटै मानसिक हिंसा
राष्ट्रिय महिला आयोगकी मनोविमर्सकर्ता पार्वती सुवेदी घरपरिवारबाटै शारीरिक तथा मानसिक हिंसा भोगेर आउने महिला धेरै हुने गरेको बताउँछिन् ।
उनी भन्छिन्, ‘काउन्सेलिङको समयमा धेरै महिलाहरुले यहाँ आएर मनको वह पोख्नुहुन्छ । अवस्था हेरेर हामीले उनीहरु दुवैलाई परामर्श दिन्छौं ।’
उनका अनुसार आयोगमा उजुरी लिएर पुग्ने अधिकांश महिलाहरुले हिंसाको कारण डिप्रेशनको औषधी प्रयोग गन गरेका छन् ।
विशेषगरी महिलाहरु बढी मात्रामा आफ्नै घरपरिवार, छरछिमेकबाटै बढी शारीरिक तथा मानसिक हिंसाको शिकार हुने गर्दछन् ।
महिला आयोगले सञ्चालन गरेको निःशुल्क हेल्पलाइन ‘११४५’ मा उजुरी गर्ने अधिकांश महिला बढी मात्रामा मानसिक हिंसाको शिकार हुने गरेको पाइएको छ ।
सम्बोधन परियोजनाकी संयोजक पलिता थापाका अनुसार हेल्पलाइनमा आएका उजुरीमध्ये ३८ प्रतिशत मानसिक हिंसाका छन् ।
यस्तै आर्थिक हिंसाका ३३ प्रतिशत, शारिरीक हिंसाका २५ प्रतिशत र यौन जन्य हिंसाका घटना ५ प्रतिशत रहेको पाइएको छ । उक्त सेवा ६ महिनादेखि सञ्चालनमा रहेको छ ।
यति मात्रै होइन संकल्प नेपालले सन् २०१६ को अन्त्यदेखि सन् २०१७ सम्म विभिन्न १३ जिल्लामा (इलाम, धनकुटा, सिराहा, मकवानपुर, कास्की, गोरखा, नवलपरासी, दैलेख, सुर्खेत, बाँके, डोटी, डडेलधुरा र कञ्चनपुर) मा गरेको अनुसन्धानको क्रममा २७ दशमवल २ प्रतिशत महिलाले १२ महिनाभित्र आफू शारीरिक तथा मानसिक हिंसामा परेको बताएका थिए । भने ५२ दशमलव ३ प्रतिशत महिलाले जीवनमा कुनै न कुनै समय शारीरिक तथा मानसिक शिक्षा भएको बताएका थिए ।
यस्तै सिएमसी नेपालका अनुसार नेपालमा मानसिक रोगी अथवा मानसिक स्वास्थ्य समस्या हुनेमा महिला धेरै छन् । सिएमसीको १३ वर्षको ३२ वटा जिल्लाको तथ्याङ्क अनुसार ७८ प्रतिशत महिला घरेलु हिंसाका कारण मानसिक रोगी हुने गरेका छन् ।
Comment Here!