बलात्कारीलाई फाँसीको माग, बालिकाको शव उठ्न दिइएन


प्रकाशित मिति :2018-07-29 15:47:56

–महिला खबर–

ललितपुर । कञ्चनपुरको भिमदत्तपन्त नगरपालिका २ की १३ वर्षीया बालिकाको शव आन्दोलनकारीले अझै उठाउन दिएका छैनन् । आन्दोलनकारीले बलात्कारीलाई फाँसीको माग समेत गरिरहेका छन् ।

बालिकाको शव बुझ्न आफन्त सहमत भइसकेका भए पनि घटना विरुद्ध आन्दोलन गरिरहेको नेपाली काँग्रेस लगायत केही स्थानीयले शव उठाउन नदिएको बालिकाका आफन्तले बताएका छन् ।

घटनाका दोषी पत्ता नलागेसम्म शव बुझ्न नदिने अडानमा रहेका आन्दोलनकारीले शव बुझेको खण्डमा मृतक बालिकाको घरमा आगो लगाइदिने धम्की दिएपछि आफन्तले शव उठाउन नसकेको बताएका छन् ।

आज विहानै शव उठाएर दाह संस्कारको तयारी गरिरहेका बेला आन्दोलनकारीबाट शव उठाएको खण्डमा डर जलाइदिने धम्की आइरहेको सुनेपछि पीडित परिवार शव बुझ्न सकिरहेका छैनन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बालिकाका आफन्त शव बुझ्न बुझ्न आतुर भएको बताए । उनले महिला खबरसँग भने, ‘पीडित परिवारले हिजो बेलुकी शव बुझ्ने मौखिक सहमति गरेको थियो । उनीहरु शब बुझ्न आतुर छन् । तर अरुले शब बुझ्न दिएका छैनन् । त्यही भएर रोकिएको छ ।’

प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार बालिकाको शव अहिले महाकाली अस्पतालको शव गृहमा छ राखिएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति हरी बोहराले हत्या गरिएकी बालिकाका बुबा पार्टीको संगठित सदस्य भएका कारण घटनाका दोषीलाई चाँडो भन्दा चाँडो पत्ता लगाउन प्रहरीलाई दवाव होस् भन्ने उद्देश्यले आन्दोलन गरेको बताए । तर यो आन्दोलन काँग्रेसको आन्दोलन हो भन्न नमिल्ने उनको भनाइ छ ।

यसरी भयो घटना

कक्षा ९ मा पढ्दै गरेकी बालिका बिहीबार बिहान ११ बजेतिर कापी, कलम बोकेर करिब डेढ किलोमिटर टाढा रहेको साथीको घरमा गइन् । त्यहाँ उनी साढे तीन घण्टाजति बसिन् । साथीको बारीमा रहेको रुखबाट अम्बा टिपिन् । दिउँसो ३ बजेतिर उनी त्यहाँबाट घर हिँडिन् । तर, उनी घर फर्किन भने पाइनन् । साँझसम्म घर नफर्केपछि बालिकाका परिवारले प्रहरी गुहारे ।

घटनास्थल उखुबारी र त्यसमाथि करिब एक फिट पानी जमेको स्थान भएकाले खुट्टाको डोब लगायतका केही पनि प्रमाण फेला पर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।
तर प्रहरीले रात पर्यो भनेर त्यही दिन बालिका खोज्न मानेन । भोलिपल्ट मात्रै खोजी सुरु गरेको पीडित परिवारको गुनासो छ । राती २ बजे खबर आएकाले दोस्रो दिन मात्र खोज्न सकिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार बालिका हराएको दोस्रो दिन शुक्रबार रोशनीको घरबाट पाँच सय मिटर पर भीमदत्तपन्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा नग्न अवस्थामा बालिकाको शव फेला पर्यो ।

घटना अनुसन्धानका लागि केही व्यक्ति नियन्त्रणमा लिइए पनि अहिलेसम्म दोषी पत्ता नलागेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए ।
बालिकाको शुक्रबार नै पोष्टमार्टम गरिएको थियो । पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि पनि घटना बारे केही आधार मिल्ने प्रहरी नायब उपरीक्षक सेठीले बताए ।

विरोध जारी

बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी बालिकाका हत्यारालाई कारवाहीको माग राख्दै नेपाली काँग्रेसले महेन्द्रनगरमा आज आइतबार पनि प्रर्दशन गरिरहेको छ । प्रदर्शनकारीले शनिबार दिनभरि महेन्द्रनगर बजार क्षेत्र ठप्प पारी चक्काजामसहित विरोध र्याली गरेका थिए ।
शुक्रबार प्रदर्शनकारीले दिनभरि नै भीमदत्त नगरपालिका घेराउ गरेका थिए । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।

लासमाथि राजनीति भएको टिप्पणी

यस्तै बालिकाको शव उठ्न नदिनु लासमाथि राजनीति भएको टिप्पणी सवत्र भइरहेको छ ।

मृतक बालिकाका आफन्त शव बुझ्न तयार भइसकेको अवस्थामा तेस्रो पक्षले शव उठ्न नदिनु लासमाथिको राजनीति भएको भन्दै सामाजिक सञ्जाल र मिडियामा आलोचना भइरहेको छ ।

महाकाली अस्पतालको शव गृह व्यवस्थित छैन । लास नसडोस् भन्नका लागि यत्रतत्रबाट जम्मा गरिएको बरफले मात्रै लास सड्नबाट रोक्न नसकिने भएकाले आफन्तहरु शव बुझ्ने सहमतिमा गएको बताइएको छ ।

गर्मी मौसम भएकाले लास सड्ने सम्भावना अधिक रहेको भन्दै बालिकाका आफन्त शव बुझ्न आतुर भएका बेला प्रतिपक्षी दल नेपाली काँग्रेसले शव उठ्न नदिएर पीडितको घाउमा नुन छर्केको आरोप लागिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: