‘श्रीमानको आयु घटाउने रंगको चुरा पाईंदैन ?’


प्रकाशित मिति :2018-07-30 11:04:35

-मिना बुढाथोकी-

साउन महिनाको शुरुमैै कामको सिलसिलामा शारदा नगरपालिकको एउटा गाउँमा पुग्दा घरेलु हिंसा पीडित एक महिला भेटिइन् । पाँच छोरीकी आमा उनको आर्थिक अवस्था एकदमै कमजोर छ ।

उनलाई हरेक दिन छोरीहरुको पालनपोषणको जोहो गर्ने चिन्ता हुन्छ । अझ त्यो भन्दा बढी श्रीमानको गाली बेइज्जती र कुटपिटबाट कसरी बच्ने भन्ने कुराको तनाव हुन्छ । गाईवस्तु चराउने, घाँस, दाउरामा नै उनले दिन बिताइरहेकी छिन् ।

सल्यानको शारदा नगरपालिकाभित्र बस्ने उनलाई श्रीमानले छोरा जन्माउन सकिनस् भनेर हरेक दिन कुट्छन्, अपहेलना गर्छन् । ‘मेरो पाँच छोरी छन्, जेठीको बिहे भईसक्यो । जेठी छोरीबाट पनि छोरी जन्मेकी छ’, उनले भनिन् ‘तर मेरो उहाँ (श्रीमान)लाई भने अझै छोरा चाहिएको छ ।’

उनले पछिल्लो पटक दुई महिना अघि गर्भमा छोरी भएकैले गर्भपतन गराईन् । योसँगै गर्भमा छोरी छुट्याएर गर्भपतन गराएको चार पटक भइसक्यो ।

‘कति पटक त उहाँ (श्रीमान)ले जाँच्न लगेर गर्भपतन गराउन लगाउनु भयो । कति पटक आफै कोख रित्तियो ।’ उनले भनिन्, ‘अहिले त शरीर नै कमजोर भईसकेको छ । पहिला जस्तो काम पनि गर्न सकिँदैन । घर गृहस्थी गर्न छाड्ने हो भने छोरीहरुको पिर लाग्छ । उहाँले भने चौबीसै घण्टा रक्सी खाएर कराउनु हुन्छ ।’

उनले दुःखका कुरा गर्दै जाँदा उनका नाडीमा आँखा पर्यो । अनि प्रश्न गरें, ‘सबैको हातमा हरियो चुरा छ, तपाईंंले लाउनु भएन ? साउनमा हरियो चुरा, हरिया कपडा लगाए श्रीमानको आयु लामो हुन्छ भन्छन् त ?’

पतिको यातनाले आजित उनले रुखो जवाफ फर्काइन्, ‘के को हरियो चुरा लाउनु र ! बरु श्रीमानको आयु घटाउने चुराको कुनै रंग हुन्छ भने त्यस्तो लाउने थिएँ ।’

उनको जवाफले मेरो मथिंगल हल्लायो । नेपाली समाजमा विवाहित महिलाको शौभाग्य श्रीमानको आयुसँग जोडिएको हुन्छ । साँचो अर्थमा भन्ने हो भने उनको जीवन तबसम्म रंगीन ठानिन्छ, जबसम्म श्रीमान यो धर्तीमा सशरीर उपस्थित हुन्छ ।

तर ती महिलाले श्रीमानको आयु घटाउने रंग खोजिन् । यसको अर्थ के हो त ? मलाई लाग्यो लगातारको पीडाबाट विक्षिप्त उनको अन्तरमनको अभिव्यक्ति हो । उनलाई पनि आफ्नो हदसम्मको स्वतन्त्रता आवश्यक छ । विवाहित हुनुको सिन्दुर पोते मात्रै उनको स्वतन्त्रता र रंगीन जीवनका पर्याय हुन् त ?

उनको प्रश्नले म पनि सोच्न बाध्य भएँ, एक महिलाले मानव भएर बाँच्न नपाएसम्म उपभोक्तावादी बजारले थमाइदिएका रंगहरुको चाङमा हराउनुको कुनै तुक छैन । न त त्यसले ती महिलाको जीवनमा रंग नै भर्छ । ती त केवल हामीलाई उपभोक्तावादको दास बनाउने उपाय मात्रै हुन् ।

मेरो मनमा एकैपटक हजारौं प्रश्न पनि जन्मिए । अनि उत्तर पनि स्वयं आए । यद्यपि यति मात्रै थपें, ‘किन दिदी ?

उनको आँखाबाट आँशु बग्न थाल्यो । रुन दिएँ । कम्तिमा आँशुले मनभित्रको उकुसमुकुसलाई केही हलुका त बनाईदिँदो हो । एकछिनमा रोकिइन् । अनि निरन्तर बोलिन्, ‘श्रीमानले माया गर्ने, छोराछोरी पाल्न कमाउने अनि मिलीजुली जीवन चलाउने भए पो उनको लामो आयुको कामना गर्नु । जुन श्रीमानसँग सुत्दा भोली बाँचिन्छ कि बाँचिदैन भन्ने डरका साथ ओच्छ्यानमा जानुपर्छ । भुसुक्कै निदाए घाँटी नै थिचेर मारदिन्छ कि भन्ने डरका साथ अनिदो रात बितेको पत्तो पाईंदैन । यस्ता श्रीमानको लामो आयुको कसरी कामना गरुँ । बरु छोटो आयुको कामना गर्छु म ।’

ती महिलाले श्रीमानको आयु घटाउने रंग खोजिन् । यसको अर्थ के हो त ? मलाई लाग्यो लगातारको पीडाबाट विक्षिप्त उनको अन्तरमनको अभिव्यक्ति हो ।

म प्रश्न गर्ने भूमिकामा न थिएँ । प्रश्न थपें, ‘तपाईंलाई श्रीमानले यस्तो दुख दिन्छ भने किन सहेर बसिरहनु भएको छ त ?

‘प्रहरीमा त गएकी छैन । यहाँ गाउँमा ठूलाबडा मान्छेहरुसँग त कति पटक छलफल भइसक्यो । उनीहरुका अगाडि अबदेखि यस्तो गर्दिन भनेर माफी माग्छ’ उनले थपिन्, ‘घर फर्किएपछि फेरि उहि कुटपिट अनि गाली गलौज शुरु हुन्छ ।’

प्रहरीसम्म जान नसक्नुको भने कारण रहेछ । भनिन्, ‘प्रहरीमा पनि केही दिनको सजाय भोगेर फेरि घरै त आउला । अनि यो घरमा बस्न दिँदैन । मेरो छोरीहरुको बिचल्ली हुन्छ भन्ने डरले जान सकेकी छैन ।’ आखिर आमा न परिन् । श्रीमानको यातना सहेरै पनि छोरीहरुको लागि बाँचिरहेकी छिन् ।

उनी मात्रै कहाँ हुन् र ! शिद्धकुमाख गाउँपालिका ३ की अर्की महिलाको हिंसा पनि श्रीमानबाटै छ । ३ वर्ष यता निरन्तर घरभित्रै हिंसा भोगिरहेकी छिन् । उनले श्रीमानले आफूलाई तीन वर्षदेखि बेवास्ता गरेको बताइन् ।

काठमाडौँमा बस्दै आएका श्रीमान घरमा आउँदैनन् । घरमै बस्दै आएकी उनलाई परिवारका अन्य सदस्यहरुले कुटपिट, गालीगलौज गरेर घरमा बस्न दिएनन् । परिवारका सदस्यहरुले घरमा बस्न नदिएपछि उनी माइतीको शरणमा गएकी छन् ।

उनको एक छोरा छ । श्रीमानले घरमा बसेमा ज्यान मार्ने धम्की दिने र घरमा बसेको बेला कुटपिट गरेको उनले बताइन् । ‘श्रीमानले घरमा बस्नै दिन्न । जता जान्छेस् जा । मलाई तेरो मतलब छैन भने ।’ उनले भनिन् ‘कम्तिामा पनि आफूलाई के कारणले श्रीमान वास्ता गर्न छोडेको भन्ने थाहा भए त चित्त बुझ्थ्यो ।

त्यसैले त उनले श्रीमानको दीर्घायुको कामना गरेकी छैनन् । हरिया रंगले रंगिएकी छैनन् । चारैतिर हरियाली भएको प्राकृतिक मौसम त उनलाई चैतमासको झैं उराठ लाग्छ । कृतिम हरियालीमा उनी कसरी रमाउन सकुन् । भनिन्, ‘हामी जस्तालाइ त के हरियो चुरा । के मेहन्दी । अनि के चाडवाड ।’

यी त केवल प्रतिनिधि महिला मात्र हुन् । नेपालमा दिनदिनै हिंसाबाट बिथोलिएका, यातना खेपेका महिलाको संख्या अनगिन्ती छ । जसले चाहेर पनि श्रीमानको दीर्घ जीवनको कामना गर्न सकेका छैनन् । सँगै जीवन अघि लैजाने नाममा आफ्नी बनाएर घर भित्र्याएका तिनै महिला छिनछिनमा त्यही श्रीमानबाट यातनाको सिकार हुन्छन् भने उनीहरु कसरी भन्न सक्छन्, ‘मेरो श्रीमान दीर्घजीवी बनुन् !

एक महिलाले मानव भएर बाँच्न नपाएसम्म उपभोक्तावादी बजारले थमाइदिएका रंगहरुको चाङमा हराउनुको कुनै तुक छैन । न त त्यसले ती महिलाको जीवनमा रंग नै भर्छ । ती त केवल हामीलाई उपभोक्तावादको दास बनाउने उपाय मात्रै हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानकै एउटा तथ्याङ्क हेरौं । गएको आर्थिक वर्षमा ६८ महिला न्याय पाउनका प्रहरीमा पुगे । तीमध्ये आधा उजुरी घरेलु हिंसाको छ । यसको अर्थ हिंसामा परेका मध्ये आधा महिला घरबाटै अझ बढी श्रीमानबाटै पीडित छन् । अब हामीले कुनै धर्मको हवला दिएर भनिएको वा मानिएको हरिया रंगमा रंगिए श्रीमान लामो आयुका हुन्छन् तपाईं भन्न सक्नुहुन्छ ?

त्यसैले म भन्छु, कसैको मृत्युको कामना गर्नु मानवता त पक्कै होइन । तर महिलाको मान्छे भएर बाँच्न पाउने हकमाथि सेकेण्ड सेकेण्डमा प्रहार गर्ने हक पनि कसैलाई छैन । महिला भएकै कारण मान्छेको जीवन बाँच्न नदिने व्यक्तिलाई पनि लामो आयुको हक छैन । सक्छाैं, हरेक महिलालाई मानव भएर जीउन सक्ने वातावरण बनाऔं । सक्दैनौं कृतिम रंगहरुको पछि लाग्न बाध्य पार्नेगरी उपभोक्तावादको दास बन्न प्रेरित नगरौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: