–महिला खबर–
ललितपुर । बलात्कारपछि विभत्स तरिकाले हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकाको आज दाह संस्कार गरिएको छ ।
जिल्लाको भुजेला घाटमा बालिकाको दाह संस्कार गरिएको अभिभावकले जानकारी दिएका छन् ।
शव यात्रामा बालिकाका आफन्त, नातागोता, स्थानीय, राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज, पत्रकार लगायत हजारौंको उपस्थिती रहेको बताइएको छ ।
बालिकाका आफन्तले शनिबार बेलुकी नै शव उठाउने मौखिम सहमति गरिसकेका थिए । तर दोषी पत्ता नलागेसम्म शव उठ्न नदिने र शव उठाउनेको घर जलाईदिने आन्दोलनरत समूहको धम्कीका कारण बालिकाको शव उठ्न सकेको थिएन ।
आइतबार विहान महाकाली अस्पतालको शव गृहबाट शव उठाउनै खोज्दा केही व्यक्ति आएर जसले शव उठाउछ, त्यसलाई पनि जिउँदै जलाउछौ भन्ने धम्की दिएपछि शव उठाउन नसकेको बालिकाका दाजुले महिला खबरलाई बताए ।
‘आज बिहान पौन सात बजे नै प्रहरीको बाक्लो उपस्थितीमा शव उठाएर दाह संस्कार गरी भर्खरै घर पुगेँ’ उनले महिला खबरसँग भने ।
घटनामा संलग्न व्यक्तिको चाँडो भन्दा चाँडो खोजी गरी कानुनी कार्वाही अगाडि बढाउने, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थल नजिक अस्थायी प्रहरी पोष्ट खडा गर्ने र बालिका हराएको सूचना दिँदा भोली खोजौला भन्दै वेवास्ता गर्ने प्रहरीलाई कार्वाही गर्ने सहमतिमा बालिकाको शव उठाइएको पनि उनले जानकारी दिए ।
शुक्रबार विहान बालिकाको शव फेला परेदेखि नै नेपाली काँग्रेस लगायत केही स्थानीयले बलात्कारीलाई फाँसीको माग गर्दै महेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनकारीले शव उठाउनेलाई समेत कार्वाहीगर्ने धम्की र नारावाजीसहित आज पनि महेन्द्रनगरमा जुलुस प्रदर्शन गरिरहेको खबर प्राप्त भएको छ ।
सीआईबीको टोली कञ्चनपुरमा
यसैगरी घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी) को टोली हिजो आइतबार नै कञ्चनपुर पुगिसकेको छ ।
यो पनि हेर्नुस्,
Comment Here!