–महिला खबर–
ललितपुर । रुपन्देहीकी समीक्षालाई जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई कारागार चलान गरिएको छ ।
२५ दिनसम्म ईलाका प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखिएका समीक्षाका बुवा तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी, र फुपू अमृता भनिने शोभा राना ठकुरीलाई पुर्पक्षको लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।
गत असार १० गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा आगोलागी गम्भीर घाइते भएकी रुपन्देहीको कञ्चन गाउँपालिका ५ कि १६ वर्षीया समीक्षा ठकुरीको गएको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।
समीक्षाको मृत्युपछि मामा र आमाले परिवारकै सदस्यले जलाएर हत्या गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गर्दै अनुसन्धान गरेको थियो ।
लामा समयदेखि मामा घरमा बस्दै आएकी समीक्षालाई गत वर्षको दशैमा मात्र उनका बुबाले आफ्नो घर लगेका थिए ।
घरमा लगेर पनि बुवा र अन्य परिवाले पटक पटक मानसिक यातना र कुटपिट गर्दै आएको मावली पक्षले आरोप लगाएका छन् ।
अनुसन्धानपछि परेको ज्यान मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले पक्राउ परेका तीनै जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक दिपेश बस्यालले बताए ।
अर्की अभियुक्त समीक्षाकै फुपू मधु ठकुरी थापा भने फरार रहेकी छन् । उनको खोजिकार्य जारी रहेको बस्यालले बताए ।
Comment Here!