–पूर्णप्रसाद न्यौपाने–
ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले सरकारी सेवालाई जनमैत्री बनाउने योजना अघि सारेकी छन् ।
जिल्लास्थित सामुदायिक रेडियो भिजन एफएमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले आफ्ना योजना सार्वजनिक गरेकी हुन् ।
पहिलो पटक जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी देख्दा धेरैले आश्चर्य मानेको बताउँदै वर्ग छुट्याएर भन्दा पनि जिम्मेवारीमा रहेर नमुना काम गर्ने उनले बताईन् । ‘म धेरै कुरा गर्छु भन्दिन । तर प्रमुख जिल्ला अधिकारीले के के गर्नुपर्ने हो त्यो काम जिम्मेवार भएर गर्छु’ उनले भनिन् ‘शुसासन र पारदर्शीता कायम गर्दै निकायगत जिम्मेवारी र उत्तरदायित्वलाई अझ प्रबद्र्धन गर्नेछु ।’
विगतमा सुरु भएका र आवश्यक देखिएका कामहरु स्थानीय सरकार, नागरिक समाज र अन्य क्षेत्रसँगको सहकार्यम अघि बढाउने योजना रहेको उनले सुनाईन् ।

मुनका न्यौपाने, प्रमुख जिल्ला अधिकारी
प्रभावकारी सेवा प्रवाहमा जोड दिने
विधिको शासन स्थापना गर्ने र परिणाममुखी प्रशासन सञ्चालन गर्ने उनले बताईन् । यसरी प्रशासन चलाउँदा सेवा प्रवाह प्रभावारी हुने उनको तर्क छ । ‘राज्यप्रति नागरिकको ठुलो अपेक्षा छ, म नागरिकका अपेक्षा र समस्या बुझेर अवस्था अनुसारको व्यवस्था गर्न लागि पर्नेछु ।’ उनले भनिन् ‘सबैले आ आफ्नो दायित्व निर्वाह गर्ने हो भने सिद्धिचरणले कल्पना गरेर कविता लेखेको जस्तो ओखलढुंगा बनाउन समय लाग्दैन तर कोही कसैको एक्लो प्रयासले यो सम्भव छैन ।’ विकास निर्माणमा प्रत्यक्ष भूमिका नभएपनि समन्वय गर्ने प्रमुख जिम्मेवारी आफ्नो भएकाले भष्ट्राचार र अनियमिताा रोक्न कडाईका साथ लाग्ने उनले बताईन् ।
हिंसा र कुरीति न्यूनिकरण अभियान चलाउने
महिला हिंसा र कुरीति न्यूनिकरणका लागि आफु लागिपर्ने उनले बताईन् ।
जिल्लाका सबै स्थानीय तहका न्यायिक समिति र प्रहरी प्रशासनले संयुक्त अभियान चलाउने भन्दै उनले भनिन् ‘न्यायिक समितिका पदाधिकारी विशेष गरी स्थानीय सरकारका उपाध्यक्षहरुलाई कानुनबारे जानकारी गराउने र न्यायमा नागरिकको सहज पहुँच पु¥याउने योजना छ ।’ निर्देशिकाले गरेको निर्देशन अनुसार सार्वजनिक सेवा प्रवाहमा जोड दिने र अनुगमनलाई कडाई गर्ने योजना रहेको उनले सुनाईन् ।
Comment Here!