म गर्भाशयसहित घर फर्किएँ


प्रकाशित मिति :2018-08-14 09:30:49

–सावित्रा ढकाल–

मैले ईव इन्स्लरले लेखेका योनिका कथा पढेकी छु । कयौं कथा पढेर रोएकी छु । कयौं कथाले त अझ सशक्त बन्न प्रेरणा दिएका छन् ।
त्यसैबाट प्रभावित भएर आज म युटेरसको कथा लेख्दै छु । हो मेरो आफ्नै युटेरस (गर्भाशय)को यथार्थ कथाः

गएको जुलाई महिना मेरो गर्भाशयको परीक्षणको महिना थियो । मैले काठमाडौंका पाँच भन्दा बढी अस्पताल गर्भाशय परीक्षणको लागि चहारें । दश भन्दा बढी डाक्टरलाई मेरो गर्भाशयको लेखाजोखा गराएँ ।

युटेरसभित्र फाईब्रोईड (गर्भाशयको भित्तामा पलाउने ट्युमर) भएको तथ्य त मलाई केही वर्षदेखि नै जानकारी थियो । तर, यसपटक यसको आकार बढेर असामान्य अवस्थामा पुगेको तथ्य पत्ता लाग्यो ।

डाक्टरहरूबाट अझ गर्भाशय र फेलोपीयन ट्युब (डिम्ब निष्काशन हुने ट्युब) नै हटाउनका लागि सुझाब शुरु भयो । तपाईं तीस वर्षको युवती हो र ! युटेरसको माया गर्ने ?

समाजको चरित्र सामन्तवाद, पितृसतात्मक हुँदै पुँजीवाद र भन्नमा समाजवादसम्म आउँदा पनि महिलाको प्रजनन् अंगमाथिको प्रहार रोकिएको छैन ।

अरु सन्तान जन्माउनु छैन, युटेरस किन चाहियो ? महिनावारी बन्द भएपछि त झन् यसको कुनै काम नै छैन । रोग पालेर किन राख्ने ? यसलाई हटाएपछि न रहन्छ बाँस, न बज्छ बाँसुरी । तपाईलाई नै ढुक्क हुन्छ जस्ता प्रहारले आधुनिक चिकित्सा विज्ञानको सागरमा आफू शून्य शून्य महशुस गरायो ।

अस्पताल छिरेपछि मैले थाहा पाएँ, चिकित्सा विज्ञानले मेरो उमेरका महिलाको युटेरसलाई कसरी अवमुल्यन गरेको रहेछ । त्यसपछि मलाई लाग्न थाल्यो कि, मेरो युटेरसमाथि घेराबन्दी सुरु भएको छ ।

हुन त युटेरसमाथिको घेराबन्दी यो पहिलो पटक भने होइन । किशोरावस्थाबाट नै शुरु भएको हो । पहिलो महिनावारीलाई खतराको घन्टी बज्यो भन्दै हरपल होसियार रहनका लागि नैतिकताको घेराबन्दी ।

विवाह पश्चात वंश धान्नका लागि सन्तान, अझ छोरा जन्माउनका लागि सामाजिक घेराबन्दी । सन्तान जन्माई सकेपछि यो त रोगको घर हो जोखिम पालेर किन राख्ने ? यसलाई त हटाउनु पर्छ भन्दै चिकित्सा विज्ञानको घेराबन्दी ।

समाजको चरित्र सामन्तवाद, पितृसतात्मक हुँदै पुँजीवाद र भन्नमा समाजवादसम्म आउँदा पनि महिलाको प्रजनन् अंगमाथिको प्रहार रोकिएको छैन ।

जब यी वादहरू एक अर्कामा मिसिन्छन्, त्यसले महिलाहरूमाथि झन् भयावह स्थिति सिर्जना गर्ने रहेछ । यसको सबैभन्दा अनौठो उदाहरण चिकित्सा विज्ञान हात धोएर युटेरसको पुँजीकरणमा लागेको देखिन्छ, जसको एउटा उदाहरण स्वयं भएँ ।

यसकारण महत्व छ युटेरसको

धर्मशास्त्रले समेत मानेको छ, युटेरसमा महिलाको सबैभन्दा बढी शक्ति केन्द्रित हुन्छ । विज्ञानले पत्ता लगाएको छ, महिलाको शरीरमा युटेरस हुनाले उनीहरूमा हृदयघातको समस्या कम हुन्छ ।

युटेरसमाथि विभिन्न रोगको जोखिम बढ्नुमा यसको बनावट जिम्मेवार हो भन्ने मलाई पटक्कै लाग्दैन । युटेरसमाथिको यो जोखिम प्राकृतिक हुँदै होईन । यो सामाजिक हो, सांस्कृतिक हो, आर्थिक हो, राजनैतिक हो ।

मलाई अनौठो लागेको कुरा के भने, युटेरसबाट जीवन पाएका छोराछोरीहरू डाक्टर बने, वैज्ञानिक बने । तर, आमाको पहिचान जोगाउन होईन, पहिचान हरण गर्नमा उद्धत किन बने ?

अस्पतालको बेडमा रहँदा मेरो मनमा धेरै अनुत्तरित प्रश्नहरू आए । किन विज्ञान युटेरस जोगाउने प्रविधिको विकासमा लाग्न सकेन ? विज्ञानको चमत्कार किन यसको विनासमा केन्द्रित रह्यो ? आखिर विज्ञान के का लागि ? कसका लागि ? के आधुनिक छोराछोरीहरू आमाको अस्तित्व जोगाउन असफल नै भएका हुन् त ? किन हरेक घरमा आज युटेरस बिनाका आमाहरू छन् ?

मलाई अनौठो लागेको कुरा के भने, युटेरसबाट जीवन पाएका छोराछोरीहरू डाक्टर बने, वैज्ञानिक बने । तर, आमाको पहिचान जोगाउन होईन, पहिचान हरण गर्नमा उद्धत किन बने ?

म लैंगिकताको क्षेत्रमा काम गर्ने व्यक्ति । युटेरस महिलाको पहिचान हो । यो अस्थायी अंग होईन । यसको सम्बन्ध महिलाको शरीरसँग छ । मैले बुझेको सामान्य सत्य यही हो ।

रोगको सम्भावनाबाट शरीरका कुनै पनि अंग टाढा छैनन् । मैले बुझेको अर्को सत्य हो यो । त्यसकारण मैले आफ्नो युटेरसमाथिको निर्णय आफै गर्ने निधो गरें । मेरो निर्णयलाई साथ दिनुभयो, डाक्टर निरा सिंह श्रेष्ठले ।

उहाँले धेरै विकल्प मध्ये फाईब्रोईड मात्र हटाउन मिल्ने विकल्पमा सहमति गर्नु भयो । भोली के हुन्छ कसले के जानेको छ र ? आज उपलब्ध विकल्प मध्ये आफुलाई राम्रो लागेको विकल्प रोज्ने न हो ।

मैले त्यही गरें । यो विकल्प भोलीको लागि स्मार्ट च्वाइस (smart choice) नहुन पनि सक्छ । जोखिम जे आउँछ त्यसलाई जुधेर सामना गर्न त हामी महिलाले सायद गर्भमै सिकेर आएका छौं ।

म पनि भविष्यमा आउने जोखिमसँग जुध्न तयार छु । र, आज म युटेरससहित घर फर्किएको छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: