समाचार प्रभावः द्वन्द्वपीडित अनुपालाई सहयोग
‘स्व. मनु दुलाल प्रसाई स्मृति अक्षयकोष’
–रुजु खतिवडा –
पाँचथर । अमेरिकामा निधन भएकी पाँचथरकी मनु दुलाल प्रसाईको स्मृतिमा द्वन्द्वपीडित र असहाय व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको छ ।
दुलालका श्रीमान नन्दिकेशर प्रसाई (नरेश)ले श्रीमतीको स्मृतिमा ‘स्व. मनु दुलाल प्रसाई स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् । उनले फिदिमको जनसेवा समाजको मातहतमा रहनेगरी सिभिल बैङ्कको फिदिमस्थित शाखामा २ लाख रुपैँयाको अक्षयकोष स्थापना गरेका हुन् । मंगलबार फिदिममा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना भएको जानकारी दिइयो ।

अक्षयकोष स्थापना समारोहमा अनुपालाई १५ हजार रुपैँया प्रदान गरिदैं ।
मनुको परिवारका आमाबुबा, बहिनी र भाइहरुसहित ५ जनाको २०५० साल जेठ ३० गते सामूहिक र विभत्स हत्या भएको थियो ।
छिमेकी तथा आफन्तबाटै गराइएको हत्या काण्डमा मनु र उनकी दिदी ज्ञानु बाँच्न सफल भएका थिए । परिवारसहित अमेरिका पुगेकी मनुको २ वर्षअघि हृदयघातका कारण निधन भएको थियो । मनुको दोश्रो वार्षिकीमा श्रीमान प्रसाईले उक्त अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष स्थापना समारोहमै द्वन्द्वपीडित अनुपा राईलाई १५ हजार रुपैँया सहयोग गरिएको छ ।
यस्तै मनुले अध्ययन गरेको विद्यालयकी जेहेन्दार छात्रा स्मिता नेम्वाङलाई ५ हजार रुपैँया सहयोग गरिएको छ । सहयोग पाएकी द्वन्द्वपीडित राई भीडन्तका क्रममा शरीरमा गोलीका छर्रा लिएर हिँड्न बाध्य छन् । उनको शरीरमा मस्तिष्कसहित केही संवेदनशील अंगमा रहेका छर्रा निकाल्न नमिल्ने अवस्था रहेको चिकित्सकहरुको भनाइ छ ।
यसअघि पत्रकार रविन्द्र काफ्ले लगायतको पहलमा उनको टाउको र घाँटीमा रहेका तीनटा छर्रा झापास्थित विएण्डसी टिचिङ हस्पिटलले निकालेको थियो । उक्त अस्पतालले सामाजिक सहयोग स्वरुप निःशुल्क रुपमा संवेदनशील उपचार गरिदिएको थियो ।
मंगलबार फिदिममा आयोजित अक्षयकोष स्थापना समारोहमा मनुका मामा गोपिकृष्ण शर्मा, काका एवं जिल्ला समन्वय समितिका उपप्रमुख डिल्लीराम दुलालले मनुको स्मरण गराए ।
पत्रकार लक्ष्मी गौतमले सहयोग पाएकी अनुपा राईका विषयमा प्रष्ट्याइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा र फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले उक्त कार्यको प्रशंसा गरेका थिए ।
http://mahilakhabar.com/news/2018/04/10/39550.html
http://mahilakhabar.com/news/2018/03/26/38963.html
Comment Here!