जुम्ल्याहा छोरी चर्पीमा मिल्काउने ‘पापिनी आमा’ बारे


प्रकाशित मिति :2018-08-19 16:16:05

-अनुपा रेग्मी-

आज भोली हामी बीचमा यस्तो होडबाजी चलेको छ, जसले मनोविज्ञानलाई कमजोर मात्रै होइन, निरिह नै बनाईदिएको छ ।

हामीबीच यस्तो मनोविज्ञान हाबी हुँदै गएको छ कि एकले अर्कालाई तल झारेर आफ्नो भनाइलाई सही साबित गर्ने अनि कुनै पनि कुराको कारण खोज्न अथवा त्यो समस्याको समाधान के के हुनसक्छ भन्ने कुरा खोज्नतर्फ आफ्नो समय खर्चिनै चाहँदैनौं ।

मात्र जे सुन्छौ जे देख्छौ, कुरै नबुझी आफ्ना प्रतिकृयाहरू बिना सम्बेदनशील भई सतही रूपमा दिइरहन्छौ । मानाैँ म त्यो विषयको ज्ञाता नै हो । त्यसकारण जति सकिन्छ त्यस बारेमा टिप्पणी दिइहाल्नु पर्छ । हतार हतारमा ।

यसै हप्ता मूल धारका पत्रपत्रिकामा ताप्लेजुङकी एक २१ वर्षीया एकल आमा कमलाले वर्ष दिन नपुगेका आफ्ना जुम्ल्याहा छोरीहरूलाई कच्ची चर्पीमा फालेर गरेको हत्या सम्बन्धी समाचारले ठूलै स्थान पाए । घटनामा आधारित भएर ‘पापिनी आमा’ भन्दै सामाजिक संजाल लगायत सर्बत्र सतही बिरोध भइरहेको छ ।

यो देखेपछि म यो लेख लेख्न बाध्य भएँ । म आफूले करिब १४ वर्षसम्म प्रसूति र मानसिक अस्पतालमा एउटी नर्स भएर काम गर्दै गर्दा त्यस्ता आमाहरू देखें कि यदि उनीहरूले पनि समयमा उपचार नपाएको भए कमला जस्तै ‘पापिनी आमा’को उपनाम पाउथे होला ।

यो यस्तो समस्या हो जुन हाम्रो समाजमा खासै चर्चा हुँदैन । सामान्य जानकारी गराउने जमर्को मात्रै मैले यस लेखबाट गरेकी छु । आज कमलाको अवस्था यस्तै हो भन्न नसके पनि भोली अरु आमाहरूलाई कमला बन्नबाट जोगाउन सक्छौं भन्ने यो लेखको अभिप्राय हो ।

एउटी महिला आमा बन्दा एउटा नयाँ जीवनको खुशी संगसंगै आफूमा पनि केही परिवर्तन लिएर आमा बनेकी हुन्छे । जस्तै शारीरिक, मानसिक र हर्मोनमा हुने परिवर्तनहरूले सयुक्त रुपमा ममतामयी, खुशी, दुखी, रुची अनि कन्फ्युजन आदि परिवर्तनहरू ८० प्रतिशतमा देखिने गर्दछ । जसलाई “पोसनेटल ब्लू” पनि भनिन्छ । यो समयमा धेरै जसो आमाहरूले शिशुको स्याहार सुसारमा अप्ठेरो भएको महसुस पनि गर्छन् ।

सामान्यतया यस्तो समस्या शिशु जन्मिएको २ दिनदेखि २ हप्तासम्म रहन्छ्र । परिवार र पाटर्नरको उचित सहयोग पाएको अवस्थामा धेरै जसो आमाहरूमा “पोसनेटल ब्लू” भनिने समस्या केही हराएर जान्छ ।

तर कोही आमाहरू भने यस्तो अवस्थाबाट बाहिर निस्कन नसकी शिशु जन्मिएको १ वर्षभित्र कुनै पनि समयमा अझ जटिल अवस्था “पोसनेटल डिप्रेसन”को सिकार हुन सक्छन ।

यस विषयमा चितवन मेडिकल कलेजले आफ्नो जर्नल २०१५ मा अध्यन अनुसन्धान गरी रिपोर्ट बाहिर ल्याएको थियो । यसबाट विशेषगरी कम उमेरमा विवाह भएका नयाँ आमाहरूमा बच्चा हुर्काउन सक्छु भन्ने आत्मविश्वासमा विभिन्न कारणले कमी हुनु नै यस्ता समस्याको शुरुआती कारकको रुपमा पाईएको देखिन्छ ।

“पोसनेटल डिप्रेसन” जस्तो अवस्थामा आईपुग्दासम्म सो समस्यालाई चिनिएन अथवा उपचार गराईएन भने पोसनेटल साईकोसीस भन्ने अझ जटिल अवस्था आउछ ।

जुन अवस्था आएको कुरा स्वयं आमा आफूलाई त थाहा हुँदैन नै, यसको साथै परिवारले पनि त्यसलाई उपचारको आवश्यकता नै पर्छ भन्ने कुराको महसुस गरेकै हुँदैनन् ।

साधारण अवस्थामा शरीरका हर्मोनहरूमा हुने परिवर्तन हामी कसैले पनि रोक्न सक्दैनौ । तर त्यसको खराब असर देखिने अवस्था आउनबाट जोगाउनको लागि गर्भ अवस्थादेखि प्रसूति अवस्था पछीसम्मै यसको विषयमा जानकारी लिन जरुरी हुन्छ ।

पोसनेटल साईकोसीसको अवस्था आउनुको कारण र कारक तत्वहरूमा शुरुआती समयमा शरीरमा हुने शारीरिक, मानसिक र हर्मोनहरूमा आएको परिवर्तनलाई व्यवस्थित गर्न नसक्नु, फेरिएको जिम्मेवारी र जीवन पद्दति, तनाव, श्रीमान तथा परिवारको माया र सहयोग नपाउनु, उचित खानपान तथा पूर्ण निन्द्रको अभाव, गरिवी, कम उमेरमा आमा बन्नु, अनिक्षित गर्भका साथै आमा बन्नु पूर्व कुनै त्यस्तै मानसिक समस्या स्वयं आमालाई वा परिवारका सदस्यहरू कसैमा भए पनि यो अवस्था आउन सक्ने सम्भावना हुन्छ ।

यस्तो अवस्थामा आमाहरूले निन्याउरो मुख लगाउने, छिनछिनमै सोच बदलिरहने, छिनमै रुने, छिनमै हाँस्ने, झर्किने फर्किने, एक्लै बस्न रुचाउने, कोही धेरै बोल्ने, कोही बोल्दै नबोल्ने, सुत्न नचाहने, शंका गर्ने, ज्ञानिन्द्रियहरू भ्रमित भएको लक्षणहरू देखाउने गर्छन् ।

साधारण अवस्थामा शरीरका हर्मोनहरूमा हुने परिवर्तन हामी कसैले पनि रोक्न सक्दैनौ । तर त्यसको खराब असर देखिने अवस्था आउनबाट जोगाउनको लागि गर्भ अवस्थादेखि प्रसूति अवस्था पछीसम्मै यसको विषयमा जानकारी लिन जरुरी हुन्छ ।

विशेषगरेर श्रीमान, परिवार र शिशु जन्माउन सहयोग गर्ने व्यक्तिहरू सबैले आ–आफ्नो ठाउँवाट पूर्व तयारीका साथ बस्नु उपयुक्त हुन्छ । यस्तो अवस्थामा यी आमाहरूको घरपरिवारले कुरा सुन्ने, घरायसी कामकाजमा अनि शिशुको स्याहारमा सहयोग गर्ने, शान्त वातावरण र आत्मीय साथीहरूसंगको जमघटले पनि यस्ता समस्याहरूलाई कम गर्न सहयोग पुर्याउँछ ।

तर यहाँ ताप्लेजुङकी कमला विक यति सारै निर्दयी हुनुको पछाडि के कारण होला ? भन्ने कुरा त अनुसन्धानवाट अवश्य नै बाहिर आउला । फेरि पनि कमलाको हकमा कुरा गर्दा माथि उल्लेख गरिएका कारण र कारक तत्वहरू धेरैजसो मिल्न गएकोले यो पाटो पनि हामीले बुझ्न जरुरी छ ।

कमलालाई आरोप लगाउनु अगाडि उनको पाटर्नर, परिवार र समुदायले उनलाई हत्यारा हुनबाट जोगाउन कहाँ निर चुक्यो ? त्यस विषयमा सोच्न भ्यायौ ंत ? अहँ छैन । तर त्यो महसुस गर्नैपर्ने जरुरी पाटो हो ।

हाम्रो देशमा कम उमेरमा विवाह हुनु, विवाहलाई घर परिवारले मान्यता नदिनु, अनिक्षित गर्भ रहनु, एकल आमा हुनु, कुमारी आमा हुनु, गरिवीको चपेटामा रहनु आदि कारणले यस्ता घटनाहरू घटेको देखिन्छन् ।

विकशित देशहरूमा खासगरी एकल महिलाहरूबाट यस्ता घटनाहरू घटेको देखिन्छ । यसबाट पनि के भन्न सकिन्छ भने यो समस्या हाम्रो देशका महिलाहरूलाई मात्र हुने समस्या होइन । हाम्रो जस्तो विकासोन्मुख देशमा यस्ता घटनाहरू माथि उल्लेखित कारणहरूले गर्दा बढी भएको पाइन्छ ।

कमलाले जे गरिन् त्यो बिल्कुलै माफी दिन लायक छैन । जुन घटनाको प्रकृति हामीले सुन्दैमा पनि हाम्रा शरीर गलेका छन् । हातखुट्टा कापेका छन् । अनि आँखाहरू रसाएका छन् ।

यदि कमला सामान्य अवस्थाकी थिइन् भने चर्पीभित्र छोरी मिल्काउने कुरा कसरी सोच्न सक्थिन् ? उनको सोचमा यस्तो कुरा आउदा मात्रै पनि दुवै छोरीलाई बेस्कन अँगालोमा कस्थिन् होला । आँखा रसाउँथे । होलान् तिमीहरू पेटमै हुँदा छोडेर गएका बाउको म बाचुञ्जेल अभाव खड्किन दिन्न भन्ने प्रतिवद्धता गर्थिन् ।

तर स्वयं जन्म दिने आमाले आफ्ना मुटुका टुक्रालाई यति विघ्न कठोर र निर्दयी पाराले आफ्नै हातले हत्या दिसा र पिसावले भरिएको खाल्डोमा मिल्काइन् ।

सायद कापेनन् उनका हातहरू । बढेन मुटुको धड्कन । रसाएनन् ती आँखाहरू र सोचिनन् उनले त्यो दिसा र पिसाबभित्र निसास्सिएर मर्नुपर्दा छोरीहरूलाई कति कष्ट भयोे होला भनेर । अनि मिल्काइदिइन् छोरीहरू र भागिन् त्यहाबाट ।

“पोसनेटल साईकोसीस” भएका आमाहरूले आफू मर्न खोज्ने र आफ्नो बच्चालाई पनि मार्न खोज्ने लक्षण देखाउँछन् । पक्कै पनि सामान्य मानसिक अवस्थामा रहेकी कमलाले यो काम गरिनन् होला भन्ने मेरो ठम्याई हो यो ।

यती हुँदाहुँदै पनि कमलाको मानसिक आवस्था कस्तो थियो त भनिहाल्नु चै गलत हुन जान्छ । हाम्रा आँखा अगाडि “पोसनेटल साईकोसीस” भएर थुप्रै कमलाहरूको उदय हुन नदिनु चाहिँ हामी आम नागरिकको कर्तव्य पनि हो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: