‘पापीनि आमा’ र म रिपोर्टर


प्रकाशित मिति :2018-08-22 16:07:02

-सन्दिप वि.क–

२०७४ साउन महिनामा धरानकी एक महिलाले आफ्नो फेसबुक स्टाटसमा लेखेकी थिइन्, ‘धरानको एक होटेलमा गर्भवती महिला बिचल्लीमा’ भनेर ।

समाचार कक्षमा काम गरिरहेका बेला त्यो स्टाटसले मेरो ध्यान तान्यो । मैले त्यतिबेलै बिचल्लीमा परेकी महिलाको बारेमा बुझ्नका लागि स्टाटस लेख्ने महिलासँग उनको नम्बर इनबक्समा पठाउन आग्रह गरे । चार दिनपछि मात्रै उनको रिप्लाई आयो ।

कुरा बुझ्दै जाँदा बिचल्लीमा परेकी महिला अहिलेकी ‘पापिनी आमा’ अर्थात ताप्लेजुङकी २० वर्षीया कमला वि.क थिइन् । कमलाको बारेमा बुझ्न उत्सुकता जाग्यो । उनले कमलाका आफन्तको नम्बर दिइन् । मैले उनका आफन्तलाई सम्पर्क गरे । त्यसैको आधारमा समाचार बनाए ।

बसमै जुम्ल्याहा जन्माएकी कमला विच्चलीमा

२०७३ माघमा कमलाले उदयपुरका रबि श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन् । रबि बसका चालक थिए । उनले कमलालाई भगाए । तर घर नलगी तेह्रथुममा आफन्तकोमा राखेका थिए । त्यतिबेलासम्म कमला गर्भवती भइसकेकी थिइन् ।

रबिले २०७४ साउन १३ गते गर्भवती कमलालाई धरानको एउटा होटेलमा राखेर सम्पर्कविहीन भए । सुत्केरी हुने डेट आइसकेका बेला अलपत्र बनेकी कमलालाई धरानका महिलाहरुले उद्धार गरे र प्रहरीमार्फत पुनः रबिलाई नै जिम्मा लगाएका थिए ।

त्यसपछि रबिले कमलालाई पहिलो पटक आफ्नो घर उदयपुर लगे । तर दलितकी छोरीलाई बुहारी मान्दैनौं भन्दै रबिका परिवारले घरमा समेत प्रवेश गर्न दिएनन् ।

त्यतिबेला मसँग कुरा गर्दै कमलाले भनेकी थिइन्, ‘वेपत्ता भएका श्रीमानलाई महिलाहरु र प्रहरीले सम्पर्कमा त ल्याइदिए । तर सासू सुसुराले तल्लो, नछुने जातको केटी ल्याएको भन्दै मलाई घरभित्र भित्र्याउन मानेनन् ।’ मसँग कुरा गर्दा निकै दुखी थिइन् उनी । चिन्ता थियो सन्तानको भविष्य र आफ्नै पनि ।

                                          कमला र उनका श्रीमान रवि

श्रीमानको घरमा प्रवेशै नपाएपछि कमला धरानमा आन्टिको घरमा बस्न थालिन् । त्यो बेलासम्म म निरन्तर उनीसँग फोन सम्पर्कमै थिएँ । परिवार र श्रीमानको साथ नपाए पनि उनले नागरिकता बनाइदिन रबिसँग आग्रह गरेकी थिइन् । तर रबिले नागरिकता पनि बनाइदिएका थिएनन् ।

म आफै पनि कुरा गर्न चाहान्थे उनका श्रीमानसँग । तर उनको फोन कहिले सम्पर्कविहीन, त कहिले स्विच अफ हुन्थ्यो । त्यति बेला कमलाले मलाई भनेकी थिइन् ‘श्रीमानले जहिले फोन स्विच अफ गर्छन् । फोन लाग्यो भने पनि जेसुकै गर, मलाई फोन नगर भनेर धम्की दिन्छन् । यो अवस्थामा म कता जानु’ भनेर बेदना पोखेकी थिइन् ।

निरन्तर फलोअप

कमलाको अवस्था देखेर म फलोअप मै थिए । उनी अन्टिको घरमै बस्दै आएकी थिइन् । सुत्केरी हुने दिन पनि आउँदै थियो । फोन गर्दा श्रीमानले आउँछु भनेर आश्वासन दिन्थे रे । सुत्केरी हुने समय आउँदा आफन्तको घरमा बस्न मन छैन भन्थिन् । आउँछु भन्ने श्रीमान नआएपछि उनी २०७४ भदौ ५ गते धरानबाट माइति गाउँ ताप्लेजुङ जान बस चढेकी थिइन् ।

बस चढ्दा कमलासँग न कुनै आफन्त थिए, न कुनै चिनेजानेका मान्छे । यात्रु सबै अपरिचित । बस इलामको फिक्कल बजार पुग्नै लाग्दा कमलालाई सुत्केरी व्यथाले च्याप्यो ।

एकछिन बसमा होहल्ला मच्चियो । त्यही उनले जुम्ल्याहा छोरी जन्माइन् । बसका यात्रुले उनलाई प्रहरीलाई जिम्मा लगाएर गन्तव्यमा लागे । उनलाई त्यहाँको एक आमा समूहले संरक्षण गरेर राखेका थिए । बाटोमै श्रीमती सुत्केरी भएको खबर पाउँदा समेत श्रीमती र छोरी भेट्न रबि नगएपछि ताप्लेजुङबाट कमलाका दाजु हिमाल बहिनीलाई लिन इलाम पुगे । उनले नै बहिनीलाई एम्बुलेन्समा राखेर घर पु¥याएका थिए ।

दाजुसँगको सम्पर्क

धरानका आफन्तले उनका दाजु हिमालसँग सम्पर्क गराइदिए । त्यो बेला उनी भर्खरै विदेशबाट फर्किएका रहेछन् । उनले कमलाको सबै अवस्थाबारे जानकारी गराएका थिए । हिमाल आफ्नो बहिनीलाई न्याय दिन चाहन्थे । सहयोगको अपेक्षा पनि गरेका थिए । त्यसकै फलोअपका लागि मैले हिमालकै सहायताले कमला र उनकी जुम्ल्याहा छोरीको फोटो पाएको थिएँ ।

त्यो बेला कमलासँग मेरो कुराकानी पनि भएको थियो । श्रीमानसँग फोन सम्पर्क भएको छैन भनेर सोध्दा उनी खासै बोल्न मानिन् । उनी छोरी जन्माएकोमा खुसी पनि थिइनन् । रबिले छोरी मेरा होइनन् भन्दै उल्टै आफ्नो चरित्रमाथि प्रश्न गरेको कुरा पछि मात्रै भनेकी थिइन् ।

छोरी हुर्काउने चिन्तामा थिइन् उनी

जुम्ल्याहा छोरी जन्मिएसँगै कमलालाई सन्तान हुर्काउने चिन्ता थियो । उनका श्रीमान सम्पर्कमा थिएनन् । त्यतिबेलासम्म पनि मसँग उनले भनेकी थिइन्, ‘माइत कति बस्ने, छोरीहरुलाई हुर्काउनुपर्‍यो, पढाउनुपर्‍यो । कसरी पाल्ने ।

श्रीमान वेपत्ता छन् । न त श्रीमानको परिवारले नै स्विकारेको छ । चिन्तामाथि चिन्ता थपिएको छ ।’ श्रीमानको साथ र सहयोग नहुँदा निकै समस्या भएको बताएकी थिइन् उनले ।

        एक वर्ष अघि दुई छोरीको साथमा कमला

एक वर्षपछि…

ताप्लेजुङ्मा कमला विक नाम गरेकी महिलाले जुम्ल्याहा छोरी शौचालयमा फ्याँकेर हत्या गरेको समाचारले म झसङ्ग भएँ । खबर सुन्नेवित्तिकै कमलालाई त्यही नम्बरमा फोन लगाएँ तर लागेन । उनका दाजुसँग कुरा गर्न खोजे त्यो पनि समभव भएनन् ।

कमला विकबारे छापिएको समाचार र फोटो देखेपछि मैले निरन्तर सम्पर्क गर्ने कमलाले नै यो घटना घटाएको एकिन गर्न सकेन ।

जीवनभर साथ दिने वाचा गरेर आमाबुबाको साथ छुटाएका रबिले अहिले साथ छोडे पनि कुनै दिन फर्केर आउछन् भन्ने विश्वास थियो उनमा । र आफ्ना छोराको उपहार (जुम्ल्याहा नातिनी) सासू ससुराले पनि एक दिन अपनाउँछन् भन्ने लाग्थ्यो उनलाई ।

साथै जुम्ल्याहा छोरीको लालन पालन, रेखदेख र भविष्यप्रति निकै चिन्ता थियो उनलाई । तर अन्ततः अबोध छोरीको प्राण लिने दुस्कर्म गरिछन् उनले ।

म एउटा दलितको छोरा । छोरा मान्छे भएर पनि जातिय विभेदको नराम्रो भोगाइ छ मसँग । अनि ती कमला जसले आफूभन्दा कथित ठूलो जातीसँग माया गरिन् । विवाह गर्ने साहस गरिन् । रबिले अहिलेको जमानामा पनि जातभातको कुरा ठूलो हो र भनेपछि उनका कुरामा विश्वास गरिन् । उनको गर्भ बोकिन । सन्तान जन्माइन् ।

अतः अबोध जुम्ल्याहा नानीहरु दिसा पिसावमा डुबाएर मारिनुको दोष एउटी कमलालाई मात्रै दिनु न्यायसंगत होइन् । आफैले जन्माएका छोरीलाई यति निर्मम तरिकाले मार्ने कमला निर्दोष हुँदै होइनन् । उनले माफी पाउनु हुन्न । तर उनलाई मायाजालमा पार्ने, विहे गर्ने, गर्भवती बनाउने, अलपत्र पार्ने रबि र कथित तल्लो जात भन्दै बुहारी स्वीकार नगरी घर प्रवेशमा रोक लगाउने उनका सासू ससुरा कमला भन्दा कम दोषी छन् र ?

कथित जातकै कारण श्रीमानको माया, रेखदेख र आश्रयबाट बन्जित उनी अपराधी नै थिइन् भने जन्मिएकै बेला छोरीको घाँटी निमोठ्न सक्थिन् । किन हुर्काउँथिन् एक वर्षसम्म ? किन चुसाउँथिन दूध ? यी विविध कुराले यो घटना कमलाले नियतवस् नै गरेको हो भन्ने सकिन्न । रबिको वेवास्ता, लापरवाही, आरोप र अपमानको फलस्वरुप अत्यन्त अप्रिय घटना भो । अनि राज्य ! कहाँ छ राज्य ? कमलामाथि जातकै कारण श्रीमान र परिवारबाट भएको अत्याचार बारे समाचार प्रकाशित हुँदा के गर्यो र राज्यले ?

यो पनि हेर्नुहोस्

अन्तरजातीय विवाहः पीडामा महिला

देश संवैधानिक रुपमै जातिय छुवाछुत मुक्त घोषणा भइसकेको अवस्थामा एउटी महिलाले विहे पश्चात श्रीमानको घरमा प्रवेश नपाउँदा, गर्भवती अवस्थामा श्रीमानले छोड्दा र बाटोमै सुत्केरी हुनुपर्दा रबि र उनका परिवारको खोजी गरी कानुनी कार्वाही गर्नु पर्छ कि पर्दैन ? त्यसकारण यो घटनाको मूख्य दोषी रबि, उनको परिवार र राज्य हो ।

यीनीहरु कसैले पनि पानीमाथिको ओभानो बन्न मिल्दैन । के, कति र कसका कारण अबोध बालिकाको हत्या भयो भन्ने कुराको सत्य तथ्य प्रमाणित गरी दोषीलाई कार्वाही हुनुपर्छ । कमला मात्रै एकल दोषी होइनन् । अनिमात्रै हामी जातिय छुवाछुत मुक्त राज्यका नागरिक हौं भन्ने कुरामा गर्व गर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: