–शान्ता अधिकारी–
चितवन । महिला तथा बालबालिका माथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएकोले चितवनका अधिकारकर्मीले बलात्कार विरुद्द अभियान नै सञ्चालन गर्ने भएका छन् ।
महिला तथा बालिकामाथि अमानवीय रुपमा यौनजन्य हिंसा बढेपछि त्यसलाई निरुत्साहित गर्ने उद्देश्यले चितवनमा ‘यौनजन्य हिंसा बिरुद्धको साझा अभियान’ सुरु गरिएको हो ।
उक्त अभियानको लागि सञ्जाल निर्माण गरी आज बुधबार दबाबमूलक कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
अभियानकी संयोजक मिना खरेलले पत्रकार सम्मेलनमा बलात्कार तथा यौनजन्य हिंसा न्यूनिकरणको लागि संयुक्त रुपमा दबाबमुलक काम गर्ने उद्देश्यले संजाल निर्माण गरिएको बताईन् ।
संयोजक खरेलले पछिल्लो समय चितवनमा ४ वर्षको बालिकादेखि ८२ वर्षको हजुरआमासम्म बलत्कारमा पर्ने गरेको भन्दै यस्ता डर लाग्दा यौनजन्य हिंसाका घटना सचेत वर्गबाट नै लुकाउने गरिएको पनि बताईन् ।
उनका अनुसार यस आर्थिक वर्ष २०७४ ७५ मा मात्रै एघार वटा घटना परिवारबाटै लुकाईएको तर पनि जानकारीमा आएको थियो । विशेष गरी रात र साँझको समयमा यौनजन्य दुर्व्यवहारका घटना हुने भन्दै यसतर्फ परिवारका सदस्यले ख्याल गर्नुपर्र्ने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा अभियानकी सहसंयोक संगीता भट्टराईले भदौ ८ गते र्याली सहित भरतपुर महानगरपालिकामा ज्ञापन बुझाउने, प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र पठाउने कार्यक्रम रहेको पनि जानकारी दिईन् ।
भदौ ९ गते विद्यार्थीहरुसँग र्याली, कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरुलाई विद्यालयमा नै गएर सामाजिक पढाउने शिक्षकको साथमा यौन हिंसाबारे जानकारी गराउने र चितवनका सांसदहरुसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार चितवन जिल्लामा आर्थिक वर्ष २०७४ ७५ मा ६६ वटा जबरजस्ती करणीका घटना भए । जसमध्ये ४५ बलात्कार र २१ करणी उद्योगका घटना छन् ।
त्यसैगरी त्यस्तै चालु आर्थिक वर्षको २ महिनामा मात्रै ११ वटा बलत्कारको जाहेरी परेको प्रहरीको तथ्याकंमा उल्लेख छ ।
Comment Here!