दिनुपर्ने मनोरञ्जन, खेप्नुपर्ने हिंसा


प्रकाशित मिति :2018-08-27 15:15:10

-सन्दिप वि.क-

मेरो घर नुवाकोट हो । २०६६ सालमा एसएलसी दिएपछि काठमाडौं आइपुगे । त्यतिबेला १९ वर्षकी थिएँ । बाबु रोजगारका लागि विदेश हुनुहुन्थ्यो । काठमाडौंमा आफन्तकोमा बसेर कम्प्युटर सिक्न थाले । सामान्य परिवारकी म जीवन गुर्जान गाह्रो हुन थाल्यो ।

आफन्तले नै काठमाडौंको गंगबुमास्थित दोहोरी साँझमा वेटरको काम लगाइदिए । त्यहाँ ६ महिना काम गरेपछि अर्कोमा काम गर्न थाले । अनेकौ खालका ग्राहक आउँथे । गुण्डाहरु पनि आउँथे ।

त्यहाँ आउने मध्येको एउटा ‘डन’ भनिने केटाले मलाई अपहरण गरेर लग्यो । ऊसँग तीन जना अरु थिए । मलाई उम्काउन कोही लागेनन् । रमिता हेरेर बसे ।

अपहरणकारीले मलाई धुलिखेलमा एक महिना कोठामा थुनेर पोखरा लग्यो । मेरो शरीरसँग खेल्यो । चाहेको बेला प्रयोग गरे । त्यही सम्बन्धका कारण म गर्भवती भएँ । छोरा अहिले दश वर्षको छ । गर्भवती हुँदा, सुत्केरी हुँदा र छोरा हुर्काउने क्रममा मैले पाएको दुखको फेहरिस्त लामो छ ।

आफ्नो र छोराको जीवन निर्वाहका लागि म अहिले पनि रातको समयमा दोहोरी साँझमा काम गर्छु । दिउँसो आफ्नै व्यूटी पार्लर छ ।
मेरो बारेमा कसैले बोलिदिएनन् ।

अरु क्षेत्रमा काम गर्ने एउटा युवती अपहरणमा परेको भए धेरै हल्ला खल्ला हुन्थ्यो होला । अपहरणकारीको पहिचान हुन्थ्यो । कार्वाही हुन्थ्यो । अपहरणको विषय ठूलो हुन्थ्यो । तर मेरो लागि शहर बिरानो । आफन्त बिराना । कार्य क्षेत्र बिरानो भो । मलाई कुनै निर्जिव वस्तुसहर समेत गनिएन । कोही बोलिदिएनन् मेरो लागि ।

करिब दश वर्ष भयो यो क्षेत्रमा काम गरेको । तलब पहिलेकै जति छ । यो क्षेत्रमा क्षमता के छ हेरिदैन । खाली रुप, रंग र उमेर मात्रै हेरिन्छ । सरकारले कामदारलाई नियुक्तिपत्र दिनुपर्छ भनेको छ । तर यो क्षेत्रमा काम गर्नेले नियुक्तिपत्र के हो भन्नेसम्म पनि थाहा पाएका छैनन् । जति ग्राहकलाई खुसी पार्न सक्यो, त्यति नै साहु खुसी हुन्छ र जागिरको समय बढ्छ ।

सोच नै नराम्रो

मेरो घर मोरङ हो । अहिले काठमाडौंमै बसेर ११ मा पढ्दै छु । छिमेकी दिदीले मनोरञ्जन क्षेत्रमा काम लगाइदिइन् ।

अहिले वेइटरको रुपमा काम गर्दै छु । त्यहाँको काम राम्रो नराम्रो भन्ने हुँदैन । यहाँ आउने कतिपय व्यक्ति नकारात्मक सोच लिएर आएका हुन्छन् । यति सानो उमेरमा किन यहाँ काम गरेको भन्ने गर्छन् ।

तलब थोरै छ । विरामी हुँदासमेत विदा पाइदैन । खै हाम्रो क्षेत्रमा धेरै समस्या छ । तर कसैले केही गर्दैनन् । उद्दार भएर पनि हामी कहाँ जाने । रोजगार छैन । काम नगरी खान पाइदैन । पेट गुजाराकै लागि काम गर्नुपरेको छ । मजदुरका अधिकार र समस्या बारे मलाई केही थाहा छैन ।

‘अब फर्किन चाहन्न’

मेरो घर चितवन हो । १३÷१४ वर्षको उमेरदेखि नै मनोरञ्जन क्षेत्रमा काम गर्न थाले । शुरुमा क्याबिनमा काम गर्थे ।

साहुले त्यही कोठा दिएको थियो । गेष्टहरुलाई साहुले नै बोलाएर हामी कहाँ ल्याइदिन्थ्यो । गेष्टले दिएको पैसा आफूले कटाएर हामीलाई दिन्थ्यो साहुले ।

डान्स बारमा काम गर्दा पनि महिनावारी भएर असाध्यै पेट दुख्दासमेत छुट्टी पाइएन । उनीहरुको अनुसार हामीले अंगहरु देखाएर डाक्स गर्नुपर्ने । ग्राहकको दुव्र्यवहार सहनुपर्ने ।

आफ्नो इच्छाले कुनै काम गर्न पाइन । ग्राहकले चुरोटको धुवा हाम्रो मुखमा फाल्दिने । उनीहरुसँग मदिरा सेवन गरिदिनुपर्ने । नाइ भन्न नपाइने ।

यो क्षेत्रमा काम खोज्न जाँदा मालिकले अनुहार हेर्छ । अनुहार मन पर्यो राखिन्छ । नत्र काम छैन । सीपको कुरा त टाढाको विषय हो ।

मालिक र ग्राहकबाटै शारीरिक र मानसिक यातना हुन्छ । न पेसागत सुरक्षा छ न त शरीरको । सुरक्षित नभएकै कारण म काम छोड्न बाध्य भएँ । अहिले कलंकीमा पानी बेच्छु । पार्लर पनि सिकेकी छु । सायद अब यो क्षेत्रमा फर्किन्न । किनकी केटीहरुलाई गाह्रो छ यहाँ काम गर्न ।

‘न्याय पाइन’

एसएलसीपछि काठमाडौं आइपुगे । मलाई पढाएको शिक्षक काठमाडौंमै बस्नुहुन्थ्यो ।
उहाँले दोहोरी साँझ खोल्नुभएको रहेछ । त्यही काम गर्न आग्रह सुझाव दिए । माछापोखरीमा रहेको उहाँकै दोहोरी साँझमा काम गरे । तर एक दिन उहाँले मलाई होटेलमा लगेर बलात्कार गर्न खोज्नुभयो ।

उहाँलाई प्रतिकार गर्दै मैले बालाजु प्रहरीमा उजुरी हाले । प्रहरीले पक्राउ पनि गर्यो । एक रात राख्यो । भोली पल्ट छोडिदियो । मैले सजाय मागें तर प्रहरीले त्यसै छोडिदियो । मेरो चाहाना सोधेन ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने भएपछि जे भए पनि दोष हामीलाई मात्र दिइन्छ । मालिकले पनि हाम्लाई दोष दिने । मालिक र ग्राहकबाट भएका अन्याय बारे प्रहरीलाई भन्यो प्रहरीले पनि उजुरी लिनै मान्दैन । उजुरी लिए पनि दोषीलाई कारबाहि गरिदैँन ।

महिला नभई हुँदैन, हिंसा भने रोकिएन

मनोरञ्जन उद्योगहरुका रुपमा खुलेका डान्स बास, मसाज पार्लर, क्याबिन रेष्टुरा, दोहोरी साँझहरु महिला बिना चल्न मुस्किल छ । तर त्यहाँ कार्यरत महिलाको न सम्मान र न सुरक्षा ।

यी उद्योगहरुमा काम गर्ने महिलाको संख्या यति नै छ भन्ने कुरा नेपाल सरकारसँग आधिकारिक तथ्यांक नभए पनि काठमाडौंमा मात्रै करिब ६ सय मनोरञ्जन उद्योगहरु छन् । जहाँ २ हजार भन्दा बढी महिला एवम् बालिकाहरु नतर्की, वेटर, गायिका लगायत अन्य काम गरिरहेका छन् ।

यस्ता क्षेत्रमा काम गर्ने महिला तथा बालिकाहरु कुनै न कुनै हिंसामा पर्दै आएका छन् । उनीहरु आर्थिक रुपले ठगिएका छन् । यौन दुव्र्यवहार खेपेका छन् । शोषण, बेचबिखन तथा ओसारपसारको जोखिममा छन् । यद्यपि उनीहरुका सवालप्रति न राज्य संवेदनशील छ न समाज । जसका कारण अरुलाई मनोरञ्जन दिन काम गरिरहेका महिलाहरु आफै दमन र शोषणको शिकार हुँदा समेत उनीहरुका समस्याको सम्बोधन हुन सकेको छैन ।

यसो भन्छ निर्देशिकाले

श्रमजीवि महिलाप्रति कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका २०६५ अनुसार महिला कामदारहरुलाई सेवाग्राहीसँग बसी मदिरा खान बाध्य पारेमा, यौन एवम् उत्तेजक भाषा तथा उत्तेजक पोशाक लगाई नृत्य गर्न र गीत गाउन बाध्य पारिएमा प्रचलित कानून अनुसार कारवाही हुने उल्लेख छ ।

यसले बालिकालाई कुनै पनि नाममा शारीरिक वा मानसिक शोषण गर्नु दण्डनीय अपराधको रुपमा मानेको छ । तर अहिलेसम्म पनि यो कानुन प्रभावकारीरुपमा कार्यान्वयन नहँुदा बालिकाहरु शोषण भोग्न बाध्य भएका छन् ।

अधिकारकर्मी निलम शर्मा भन्छिन्, ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने बालिका तथा महिलाहरुलाई परिचय पत्र समेत दिइदैन । त्यस्ता क्षेत्रमा न्यूनतम आचार संहिता राखिएको हुनपर्छ । जसले गर्दा महिला कामदारले सुरक्षाको महशुस गर्न सक्छन् ।’

राष्ट्रिय मानव अधिकार आयोगकी यशोधा बन्जाडे मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालिकालाई ध्यानमा राखेर आयोगले अनुसन्धान गरिराखेको बताउँछिन् ।

उनी भन्छिन्, ‘आयोगले यस क्षेत्रमा काम गर्ने महिला र बालिकालाई लक्षित गरेर अनुन्धान गरिराखेको छ । त्यहाँ देखिएका समस्याको समस्या समाधान गर्न सरकारसँग पहल गरिरहेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: