–बिष्णुप्रसाद पोखरेल–
झापा । पाँच दिनअघि घरायसी झगडाको क्रममा श्रीमानले मट्टितेल खन्याएर आगो लगाइएकी लालीमाया दर्जीले उपचार पाएकी छैनन् । उनको शनिबार राती मात्रै उद्धार गरिएको थियो ।
१२ गते राती श्रीमानबाट जलाइएकी लालिमायालाई प्रहरी र स्थानीयले उद्धार गरी झापाकै बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना गराएका थिए ।
त्यहाँ उनको निशुल्क उपचार भएको थियो । अस्पतालले थप उपचारका लागि बाहिर लैजान भन्दै रेफर गरिदिएपछि अन्त लैजान पैसा नजुटेकाले झापाकै आम्दा अस्पतालमा लगिएको थियो ।
शरणार्थी महिला दर्जीले कमल ५ का भक्तिबहादुर दर्जीसंग विवाह गरेकी थिइन् । घरायसी झगडाका कारण भक्तिबहादुरले उनलाई मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।
आम्दा अस्पतालका मेसु डा.नबिन ढकालका अनुसार उनको करिब ४० प्रतिशत शरीरको भाग डढेको छ । यहाँ उपचार सम्भव नभएकाले धरान रेफर गरिएको उनले जनाए ।
झापामा उपचार सम्भव नभएपछि लालिमायालाई पत्रकार र लायन्सकर्मीहरुको सहयोगमा शनिबार राती वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, सुनसरी लगिएको छ । तर त्यहाँ पनि पैसा जम्मा गर्न नसक्दा आइसीयूमा राख्न नसकिएको बिरामीका आफन्तले बताएका छन् ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निशुल्क उपचार गर्न नसकनिे भन्दै त्यहाँबाट पनि अन्यन्त्रै रेफर गर्न लागिरहेको बिरामीका आफन्तले बताएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस बिषयमा आफूलाइ थाहा नभएको बताए । उनले भने, ‘यो बिषयमा मलाई कुनै जानकारी छैन ।’
इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले श्रीमान भक्तिबहादुरलाई पक्राउ गरिएको बताए । आर्थिक अभावले लालिमायाले उपचार नपाएको र सहयोग गर्ने संघसंस्था नभेटिएको उनको भनाइ छ ।
गाउँपालिकालाई आफूले सहयोगका लागि आग्रह गरेको पनि उनले बताए । तर लालिमायाको अहिलेसम्म उपचारको ब्यवस्था भने हुन सकेको छैन ।
Comment Here!