जमराको जुस बेचेर फेरिएको जीवन


साथसाथ संघर्ष

प्रकाशित मिति :2018-09-09 16:26:49

–सृजना अर्याल–

काठमाडौं । बिहानकोे झिस्मिसे । धर्तीमा मान्छे छुट्टयाउने उज्यालो आइसकेको छैन । एक महिला बानेश्वरको छक्कुबक्कु मन्दिर तर्फ मोडिइन् । उनको हातमा एउटा पोको थियो ।

उनी अगाडी बढिन् । मन्दिर छेउ पुगिन् । अनि आफ्नो पोको खोलिन् । पोकोभित्र टन्नै जमरा रहेछ । बैशाखमास, न त दशैं लागेको छ न कुनै विशेष पर्व । मन्दिर छेउ पुगे पनि उनले जमराको पोको खोलेर मन्दिरतर्फ भने गइनन् ।

उनले जमराको पोको खोलेर त्यसलाई पेलेर जुस पो निकाल्ने तयारी गरिन् । उनी वरपर झुम्मिए, बिहान ट्रयाक र सुटमा ‘मर्निङ वाक’ मा निस्किएका केही मानिसहरू ।

जमराको जुस पेल्ने महिला अर्थात निर्मला शर्मा । उनी ३७ वर्षअघि सिन्धुपाल्चोकको भोटेचौरमा जन्मिएकी हुन् । कर्मले आज जमरा बेच्न आइपुगिन् । आज यही पेशा नै उनको जीवन धान्ने मुख्य आधार हो ।

तिनै निर्मलासँग आफ्नैबाट हिंसा भोगेर संघर्षका पर्खाल भत्काएको लामो कहानी छ । उनलाई लाग्छ, संघर्ष आफ्नो जीवनको पर्यावाची हो ।

उनले ५ कक्षा मात्रै पढेकी छन् । आमा देवकी बस्ताकोटीका अनुसार पाँच कक्षामाथि पढ्ने विद्यालय घरभन्दा निकै टाढा थियो । त्यसैले छोरी भएकोले उनलाई टाढा पठाउन सकिएन । ‘त्यसबेला हामीलाई गाईवस्तु, मेलापात नै प्यारो थियो’ उनले थपिन् ।

२०५४ सालमा सिन्धुपाल्चोककै भोटेचौरमा उनको विवाह भयो । त्यतिबेला निर्मला भर्खरै १६ टेकेकी थिईन् । विवाह पछि बर्सेनी २ सन्तान जन्मिए । तर २०५९ सालअघि भने उनको वैवाहिक यात्रा अघि बढेन । श्रीमानको अपहेलनाले उनी घरमा बस्नै सकिनन् ।

लगातारको हिंसा सहनुभन्दा दुई सन्तानको जिम्मेवारी एक्लै काँधमा बोक्न तयार भइन् । ‘श्रीमानले वेवास्ता गरे पनि एक्लो ज्यान त जसरी नी पाल्थें’ उनले भनिन्, ‘बालबच्चा पनि साथमा छन् । के गरेर खुवाउने, पाल्ने पढाउने नानाथरिका चिन्ताले मन रुन्थ्यो ।’

उनले हिक्मत हारिनन् । संघर्ष गर्दै अघि बढिन् । काठमाडौं ठूलो सहर हो । यहाँ पसिना बगाउने ठाउँ थुप्रै हुन्छन् । श्रम गरेको ज्यालाले बच्चा पाल्न सक्छु भन्ने आँटिन् । अनि कलिला २ सन्तान च्यापेर काठमाडौं भित्रिइन् ।

काठमाडौंमा उनको हातले बेल्चा समात्यो । सजिलै काठमाडौमा पाउने काम ज्यामी नै थियो । त्यही गर्न थालिन् । ज्यामी काम गर्दा प्लम्बरको काम पनि सिकिन् । उनकी छोरी स्कुल जाने बेलाको भइसकेकी थिइन् । उनी काठमाडौ जोरपाटीमा भाडामा कोठा लिएर बसिन् ।

उनलाई आफूले पढ्न नपाएको रहर छोराछोरीबाट पुरा गर्छु भन्ने थियो । त्यसैले दुःख गर्दै दुवै सन्तानलाई बोर्डिङ स्कूलमा पढाईन् । उनको आम्दानीले बोर्डिङको शुल्क तिर्न पुग्दैनथ्यो । कहिले शुल्क तिर्थिन् । कहिले अनुनय गरेर शुल्क मिनाहा गर्न भन्थिन् ।

उता प्लम्बरको काममा एक्लो महिला भन्ने थाहा भएपछि ठेकेदारले कुदृृष्टीले हेर्न थाले । ठेकेदारसँग जुध्न साध्य थिएन । बरु उनले त्यो काम छोडिन् ।

ठेला किनेर मकै पोल्न शुरु गरिन् । मकै पोलेर जीवन निर्वाह गर्न गाह्रो भयो । त्यसपछि उनले मुलपानी डाँडामा बालुवा बोक्न थालिन् । ६ वर्ष जति बालुवा बोक्ने काम गरिन् । आम्दानी पनि राम्रै थियो ।

तर स्थानीय क्लबका युवाहरूले बालुवा बाेक्न रोक लगाए । त्यसपछि गार्मेन्टको लिलामी कपडा बेच्न थालिन् । त्यो व्यवसायबाट कमाई राम्रो भएन ।

अनि घ्यूकुमारीको जुस बेच्न थालेकी थिईन् । एक वर्षअघि निर्मलालाई पाठेघरको समस्या भयो । धेरै अस्पतालमा उपचारको लागि धाइन् । तर ठिक भएन । कसैले जमराको जुस खाए ठिक हुन्छ भने । उनले टेष्ट गरिन् । नभन्दै जमराको जुसले बिरामी सञ्चो बनायो ।

निर्मलाले आफूलाई ठिक बनाएको जमराको जुस बेच्ने काम आफ्नो पेशा बनाएकी छिन् । उनका अनुसार जमरा उत्पादनका लागि १८ आना जग्गासमेत भाडामा लिएकी छिन् ।

५ आना जतिमा त जमरा खेती शुरु नै गरिसकिन् । यो वर्ष भित्र बाँकी १३ आनामा पनि जमरा उत्पादन गर्ने योजना छ उनको । जमरा खेती र उत्पादनको लागि २ महिलालाई रोजगारी पनि दिएकी छिन् ।

झापाकी दीपा निरौला श्रीमानले साथ छोडेपछि ५ वर्ष अघि काठमाडौं आइन् । १७ वर्ष कै उमरेरमा विवाह गरेकी ३५ वर्षे दीपाका दुई छोरी छन् ।

२ छोरी भएपछि श्रीमानले हेला गर्न थाले । केही वर्षसम्म त उनले श्रीमानको साथ र माया पर्खेर बसिन् । तर श्रीमानले वास्ता गरेनन् । न त माया नै फर्कियो ।

त्यसपछि भने गुजाराको आधार खोज्दै काठमाडौं आइन् । २ नानी च्यापेर काठमाडाै‌ आउँदा उनको साथमा सात हजार रुपैयाँ थियो । उनले भनिन्, ‘काठमाडौ आइपुग्दा त सात हजारबाट घटेर २ हजार मात्र बाँकी थियो ।’

काठमाडौंमा काम खोज्न थालिन् । त्यही बेलामा उनले निर्मलालाई भेटिन् । आफ्नो जस्तै पीडा र संघर्षका कहानी सुनेपछि निर्मलाले दिपालाई पनि जमराको जुस बिक्री गर्न हौस्याइन् । अहिले निर्मलासँगै दीपा पनि जमराको जुस बेच्छिन् ।

अञ्जु धिमाल पनि जमराको जुस बेच्न थालेकी छिन् । उनको पनि कथा निर्मला र दीपाको भन्दा बेग्लै छैन । श्रीमानकै अवहेलनाबाट गुज्रिएकी महिला हुन् उनी पनि ।

अञ्जु स्नातक पढ्दैछिन् । उनकोे डेढ वर्षको छोरा छ । ३ वर्ष अघि उनको रौतहटमा विवाह भयो । तर गर्भवती भयपछि परिवारले वेवास्ता गर्न थाले ।

कुटपिट गर्ने, खान लाउन नदिने गरे । श्रीमानसहित सिंगै परिवारको अवहेलनापछि घरमा बस्न सकिनन् । परिवारले वास्ता नगरेपछि उनी माइतीमै बस्दै आएकी थिईन् । तर उनको आम्दानीको बाटो थिएन । उनले पनि निर्मला र दीपालाई भेटेपछि कमाउने बाटो रोज्ने आधार पाईन् ।

उनले जमरा बेच्न थालेको ४ महिना भयो । कमाई पनि राम्रै भएको छ । अब त एक्लै छोरा पाल्न सक्छु भन्ने साहस बढेको उनले बताईन् ।

राम्रो आम्दानी

जमरा व्यवसायमा लागेपछि निर्मलाको आम्दानी बढेको छ । अहिले मासिक खर्च कटाएर ५० हजार रुपैयाँसम्म कमाई हुन्छ । यही आम्दानीले कान्छी छोरीले देखेको डाक्टर बन्ने सपना पूरा हुन्छ भन्ने हिम्मत जुटेको छ उनमा ।

‘अब त छोरीलाई डाक्टर पढाउन सक्छु’ निर्मलाले भनिन् । सानोमा छोरीले डाक्टर बन्ने हो भन्दा निकै मन कुँडिन्थ्यो उनको । तर निरन्तरको संघर्षले सपना पुरा हुन्छ भन्ने लागेको छ । उनले भनिन्, ‘अहिले छोरी दाँतको डाक्टर बन्न डेन्टल पढ्दैछिन् ।’

दीपाको पनि ठूली छोरी पुजाले भर्खर एसइइ (ए) श्रेणीमा पास गरिन् । सानी छोरी लीजा ७ कक्षा पढ्दैछिन् । कहिले ठेलामा फलफूल त कहिले होटल व्यवसाय गरेकी दिपालाई पनि जमरा बिक्रीले बाँकी जीवन चलाउन सहज हुन्छ भन्ने लागेको छ ।

‘सानो होटल चलाउन थालेकी थिएँ । खान र कोठा भाडा तिर्नै ठिक्क हुन्थ्यो ।’ उनले भनिन्, ‘ठूली छोरी कक्षा १० सम्म त जेनतेन धानें । तर ११ देखि के गरि पढाउने भन्ने लाग्थ्यो । अब चाहिँ पढाउन सक्छु भन्ने लागेको छ ।’

अहिले दीपाको मासिक कमाई २५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ । उनले ठूली छोरीलाई होटल म्यानेजमेन्ट पठाउने भएकी छिन् । उनी आम्दानीले छोरी पढाउन सक्छु भन्नेमा ढुक्क छिन् ।  उनी भन्छिन् ‘हुन त पहिलादेखि नै चलाएको होटल व्यवसाय छोडेको छैन, तर कमाई जमराको जुसबाट नै राम्रो छ ।’

निर्मलाले जमराको जुसमात्रै बेच्नेले पनि २५ हजार त महिनाको सजिलै कमाउन सक्ने बताइन् । निर्मलाले जस्तै उत्पादन नै गर्न सक्ने हो भने त लागत सबै कटाएर ४५ देखि ५० हजार बचाउन सकेको बताइन् । अञ्जुले पनि बिहान जमराको जुस बेच्दा मात्रै दीपाको जस्तै २५ देखि ३० हजार रुपैयाँसम्म कमाउँछिन् ।

यसरी उत्पादन हुन्छ जमरा

जमरा उत्पादनका लागि मेहनत पनि अति नै चाहिन्छ । उनीहरूले गहुँ र जौको जमरा जुस बेच्ने गर्छन् । त्यो उत्पादन लागि गहुँ, जौ एकदिन भिजाएर बलौटे माटोमा छर्नुपर्छ । छरेको ७ देखि १३ दिनभित्र जमरा काटिसक्नु पर्दछ ।

किन उपयोगी छ जमराको जुस

आयुर्वेदाचार्य राधाकृष्ण ढुंगानाले जमराको रसको आयुर्वेदमा ठूलो महत्व रहेको बताए । उनका अनुसार जमराको जुसमा असाध्यै रोग निको बनाउने क्षमता हुन्छ ।

बिरामीको अवस्था हेरेर खाली पेटमा १ मुठी जमराको जुस पिउँदा स्वास्थ्यलाई फाइदा गर्ने ढुंगानाले बताए । उनका अनुसार २५ दिनसम्म नियमित सेवन गरेपछि हप्ता दिनमा एकपटक जुस पिउन सकिन्छ ।

उनका अनुसार जमरामा रोग प्रतिरोधात्मक क्षमताको साथै रगत शुद्ध गर्ने अत्याधिक गुण हुन्छ । उनी भन्छन्, ‘जमराको जुस पिउनुस्, निरोगी बन्नुस् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: