-महिला खबर-
ललितपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई तत्काल कारबाहीको माग गर्दै कञ्चनपुरमा दोस्रो चरणको आन्दोलन शुरु भएको छ ।
नेविसंघ कञ्चनपुरको नेतृत्वमा शुरू भएको आन्दोलनमा सहभागी युवा महिलाले शनिबार महेन्द्रनगर बजार बन्द गर्नुका साथै चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
निर्मलाले न्याय नपाएसम्म आन्दोलन जारी रहने नेविसंघका केशवराज जोशीले जानकारी दिए ।
निर्मलाका वास्तविक हत्यारा पत्ता लगाउनु पर्ने, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूलाई कारवाही गर्नुपर्ने, प्रधानमन्त्रीले झुटो बोलेकोमा माफी माग्नुपर्ने, अनुसन्धानमा संलग्न सिआईबीको टोलीलाई कारवाही गर्नुपर्ने, लगायतका माग आन्दोलनकारीले राखेको छ ।
यस्तै अपराधीलाई सरकारले संरक्षण गरेको भन्दै आन्दोलनकारीले आपत्ती जनाएका छन् । निर्मलाको हत्या भएको शनिबार ५२ दिन पुगेको छ । तर, हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले प्रमाण नष्ट गरेको, अपराधीलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यहाँका नागरिक आक्रोसित बनेका छन् ।
Comment Here!